कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

एक वर्षमै बागलुङका १७ युवाले गुमाए वैदेशिक रोजगारीका क्रममा ज्यान

श्रावण ३०, २०८१
एक वर्षमै बागलुङका १७ युवाले गुमाए वैदेशिक रोजगारीका क्रममा ज्यान

बागलुङ — जैमिनी नगरपालिका–७ का ३१ वर्षीय राजकुमार परियार साउदी अरबमा रहेको अलफायद जनरल कम्पनीमा काम गर्दागर्दै दुर्घटनामा परे । गम्भीर घाइते परियारको गत माघ २७ मा उपचारका क्रममा मृत्यु भयो ।

आप्रवासी स्रोतकेन्द्रमार्फत दूतावासमा सम्पर्क गरेर फागुन ३ मा शव झिकाइयो । तर राजकुमार विदेश जाँदाको ऋण तिर्ने र मजदुरी गरेर छोराछोरी हुर्काउने जिम्मा अब पत्नी सुशीलाको काँधमा आइपरेको छ । १० वर्षकी छोरी र काखे छोरा च्यापेर सुशीला मजदुरी गर्छिन् । घरबाट सदरमुकाम पुग्न एकतर्फी जिपको भाडा मात्रै ७ सय रुपैयाँ बढी लाग्छ । जसका कारण परियारको दुर्घटना बिमा, वैदेशिक रोजगार बोर्डले दिने राहत तथा बिमा रकम पाउन धेरै सास्ती व्यहोर्नु पर्‍यो ।

स्रोत केन्द्रको पहलमा उनले अहिलेसम्म २१ लाख रुपैयाँ बिमा र राहतस्वरूप पाइन् । कन्सुलर मार्फत पाउनुपर्ने थप रकम पाउन अझै धेरै प्रयास गर्न बाँकी छ । एक्लै धाउन नसक्दा उनलाई केन्द्रले साथ दिएको छ । तर घरपरिवार चलाउने कामले सुशीला राहतकै लागि पनि धाउन सकेकी छैनन् ।

घर बनाएको ऋण तिर्न वैदेशिक रोजगारीमा साउदी गएका बागलुङ नगरपालिका–९ का ३० वर्षीय सुधन बोसेल गत वर्ष भदौमा काम गर्दागर्दै बिरामी परे । साथीहरूले अस्पताल पुर्‍याए पनि बचाउन सकेनन् । घटनाको १२ दिनपछि सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को आप्रवासी स्रोत केन्द्रको पहलमा बोसेलको शव आइपुग्यो । केन्द्रकै पहलमा उनलाई पनि २१ लाख बिमा रकम दिलाइयो । उनीहरू दुवै जना श्रम स्वीकृति लिएर काममा गएका थिए । स्विकृति नपाएकाहरूको सामान्य राहत रकम उपलब्ध गराउन पनि कठिन हुने केन्द्रकी परामर्शकर्ता गंगा शर्मा रिजालले बताइन् । गत कात्तिक १० गते साउदीमै मृत्यु भएका काठेखोला गाउँपालिका–२ का ३४ वर्षीय ऋषिराम शर्माको पनि समयमै शव ल्याएर राहतका लागि केन्द्रले नै पहल गर्‍यो । रिजालका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा मात्रै बागलुङका १७ युवाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ । अधिकांश साउदीमै मृत्यु भएकाहरू छन् ।

रिजालका अनुसार ०८०/०८१ मा बागलुङबाट वैदेशिक रोजगारीमा गएका १ सय ५६ जनाको समस्याबारे केन्द्रमा निवेदन दर्ता भएको थियो, तीमध्ये १ सय ३७ पुरुष र १९ महिला थिए । वैदेशिक रोजगारीमा गएर बेपत्ता भएका १० जनामध्ये केन्द्रबाटै खोजी भएर ६ जनालाई परिवारको सम्पर्कमा ल्याइएको छ । ४ जना अझै हराइरहेका छन् । ‘कागजात नभएकाले अलपत्र परेकाहरूको उद्धारमा ढिलाइ भए पनि उद्धारको काम भने निरन्तर भइरहेको छ,’ रिजालले भनिन्, ‘त्यसका लागि दूतावास र बोर्डले सहयोग पुर्‍याइरहेका छन् ।’ विदेशमै रहेका बेला भएका बिभिन्न घटनामा परेका १४ मध्ये ११ जनालाई उद्धार गरेर ल्याइसकिएको र ३ जना बाँकी रहेको सामीका संयोजक मीनप्रसाद उपाध्यायले बताए ।

वैदेशिक रोजगारीमा मृत्यु हुने, घाइते र अप्ठ्यारोमा पर्ने अवस्था बढ्न थालेपछि केन्द्रले हरेक नागरिकलाई राहदानी बनाउने बेलैमा श्रम स्विकृति लिएर मात्र जान, आवश्यक कागजातको एक प्रति घरमा छाड्न र घरका सदस्यको स्पष्ट फोन नम्बर उपलब्ध गराउन आग्रह गर्न थालेको छ । ‘जिल्ला प्रशासनमै परामर्श दिने कक्ष छुट्याइएको छ,’ उपाध्यायले भने, ‘समयमा खोजी नगरे अप्ठ्यारोमा परेर ज्यान जोखिममा पर्ने डर हुन्छ ।’ त्यसका लागि परामर्शकर्ताहरूले रातीमा पनि विदेशमा सम्पर्क गर्छन् ।

केन्द्रकै पहलमा मलेसियामा मृत्यु भएका निसीखोला गाउँपालिका–२ का प्रेमबहादुर दमाई, दुबईमा मृत्यु भएका सोही स्थानका गोकुल कार्की, बरेङ गाउँपालिकाका ४४ वर्षीय जीवन थापालगायतको शव ल्याउने काममा वैदेशिक रोजगार बोर्डले सहकार्य गरेको थियो । अघिल्लो आर्थिक वर्षमा ७ युवाको शव ल्याउन पहल गरेको केन्द्रले गत वर्ष १७ जनाको शव ल्याएको हो । बागलुङबाट वैदेशिक रोजगारीमा जानेको संख्या बर्सेनि बढ्दो छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङबाट एकै वर्षमा नागरिकता लिने भन्दा राहदानी लिने ५ हजारले बढी छन् । प्रशासनको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ८ हजार ४ सय ११ जनाले नागरिकता बनाएका छन् भने सोही अवधिमा १३ हजार ५९ जनाले राहदानी बनाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । यो अवधिमा १ हजार २ सय ३७ जनाले नाबालक परिचयपत्र पनि बनाएका छन् । नाबालक परिचयपत्र बनाउनेहरू युरोपलगायतका देश जानेहरू हुन् भने राहदानी बनाउने अधिकांश वैदेशिक रोजगारीमा पुग्छन् । खाडी मुलुक बाहेकमा जानेको तथ्यांक भने केन्द्रले राख्दैन ।

प्रकाशित : श्रावण ३०, २०८१ १५:१६
x
×