कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

गोरखामा सामूहिक छोनाम मनाउँदै चेपाङ समुदाय

भाद्र १६, २०८१
गोरखामा सामूहिक छोनाम मनाउँदै चेपाङ समुदाय

हेटौंडा — चेपाङ समुदायले यस वर्षको छोनाम पर्व गोरखामा मनाउने भएको छ । आफ्नो पहिचानसँग जोडिएको महत्त्वपूर्ण यस पर्वलाई चेपाङ समुदायले हरेक वर्ष भदौ २२ मा मनाउने गर्दै आएकाे छ । यस वर्ष पनि सामूहिक रूपमा सोही दिन गाेरखामा मनाउने निर्णय गरिएकाे हो ।

यस वर्ष आफ्नाे समुदायको बाक्लो बसोवास रहेको गाउँबस्ती र थलोमा सामूहिक रूपमा छोनाम अर्थात् न्वागी पर्व मनाउने निर्णय गरेको नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए । चेपाङहरूले नयाँ अन्न खाने दिनका रुपमा यस पर्वलाई मनाउने चलन रहिआएको छ ।

भदौ ८ मा बसेको केन्द्रीय समितिको बैठकले गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भदौ २२ मा सामूहिक रूपमा न्वागी मनाउने निर्णय गरेको अध्यक्ष चेपाङले बताए । सामूहिक रूपमा तोमनडाँडामा मनाउने न्वागी पर्वमा चेपाङ संघका केन्द्रीय पदाधिकारी पुग्ने छन् भने उक्त कार्यक्रममा सरकारका प्रतिनिधिलाई पनि उपस्थित गराउने कार्यक्रममा रहेको छ । चेपाङ संघले गोरखामा सामूहिक रूपमा न्वागी मनाउन लागेको यो पहिलो पटक हो ।

चेपाङहरूको बाहुल्य रहेको क्षेत्रका रूपमा मकवानपुर, चितवन, धादिङ र गोरखा रहेका छन् । चेपाङ संघको पहलमा २०६३ सालदेखि सामूहिक रूपमा न्वागी पर्व मनाउँदै आएका हुन् । संघले २०६३ सालदेखि चितवनको टिकौलीबाट सामूहिक रूपमा न्वागी पर्व मनाउँदै आएको छ । भदौ २२ मा चेपाङ समुदाय बसेको थलोमा झाँक्री राखेर आ–आफ्नो किसिमले न्वागी मनाउने गरिन्छ ।

भदौ २२ मा सामूहिक रूपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुल अनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि भदौभरि न्वागी मनाउने परम्परा छ । ‘हामीले भदौ २२ मा न्वागी पर्व राष्ट्रिय रूपमा मनाउँदै आएका छौं,’ अध्यक्ष चेपाङले भने, ‘हाम्रो जातिमा पनि विभिन्न थर–कुल हुन्छन्, कुल अनुसार भदौको पूर्णिमादेखि महिनाभरि मनाउने चलन छ ।’

चेपाङ समुदायले पितृलाई नचढाइ र पूजाआजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, पिंडालु, निवुवालगायत अन्न र फलफूलले भूमि र पितृलाई चढाउने गरिन्छ । न्वागीका दिन पान्देले पूजाआजा गरेपछि चेपाङहरूले नयाँ फलफूल र खाद्यान्न खाने गर्छन् । चेपाङ भाषामा छोनाम र अरु भाषामा न्वागी भनिने यो पर्वमा देशभरका अगुवा चेपाङहरू एकै स्थानमा भेला भएर राती धुमधामका साथ मनाउँछन् । लामो समयदेखि जंगली कन्दमूल खाएर पेट भर्दै आएका चेपाङहरूले चेपाङ झाँक्रीको ढ्यांग्रोसँगै नयाँ अन्न र फलफूल खाने गर्छन् ।

वर्ष दिनमा कम्तीमा पनि नौ महिना जंगली कन्दमूल खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले भदौ २२ मा मिठोमसिनो खाएर मुख फेर्ने गर्छन् । भिरपाखामा बस्ने यो जातिले पाखोपखेरामा लगाएको मकैलगायत अन्न र फलफूल भदौमा पाक्ने भएका कारणले भदौमा छोनाम (न्वागी) पर्व धुमधामसँग मनाउने गरेका हुन् ।

छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग पनि जोडिएको छ । उनीहरू कहाँ बस्छन र के खान्छन् भन्ने कुरा यो पर्वले चिनारी दिन्छ । ‘यो चेपाङ जातिको सबैभन्दा ठूलो पर्व हो,’ अध्यक्ष चेपाङले भने, ‘नयाँ अन्न र फलफूल भूमि र पितृलाई नखुवाएसम्म खान नहुने भएकाले भूमि र पितृलाई खुवाउने गरिन्छ ।’ खोलाको शिर र जंगलको पुछारमा बस्ने चेपाङ जातिको पाखो र भिरालो जमिनमा उत्पादन भएका मकै, धान, पिंडालु, घिरौला तथा विभिन्न अमिला फलफूल छोनामका पितृलाई चढाएर खाने गर्छन् । छोनाम (न्वागी) को दिन एकपाखे ढ्यांग्रो ठोकेर झाँक्रीहरूले मन्त्रोच्चारण गर्छन् । झाँक्रीलाई चेपाङहरूले पान्दे भन्ने गर्छन् । ती पान्देहरू पनि चेपाङ नै हुने गर्छन् ।

‘छोनामको दिन यसरी ढ्यांग्रो ठोकिएन र मन्त्रोच्चारण गरिएन भने पितृ र देवता रिसाउँछन्,’ ७० वर्षीय सोमदास चेपाङले भने, ‘यसरी विधि पुर्‍याएपछि मात्र नयाँ अन्न र फलफूल खाने बाटो खुल्छ ।’ विधि नपुर्‍याईकन आफ्नो खुसीमा नयाँ अन्न खाएमा पितृ र देवताले दुःख दिने किंवन्ती रहेको उनले सुनाए ।

न्वागी चेपाङ जातिको पहिचान, जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो । प्रकृति पूजक रहेका चेपाङ समुदायमध्ये केहीले अन्य धर्म अँगालेका छन् । अन्य धर्म अँगालेका चेपाङहरूले पनि न्वागी पर्व मनाउने गरेका छन् । चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा वाग्मती प्रदेश सरकारले वि.सं. २०७९ देखि चितवन, मकवानपुर र धादिङमा भदौ २२ मा सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

२०७८ सालको जनगणना अनुसार मुलुकमा चेपाङको जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ । तीमध्ये मकवानपुरमा २३ हजार ६ सय ५०, चितवनमा ३५ हजार ६ सय ३७, धादिङमा १७ हजार १ सय ६० र गोरखामा ४ हजार २ सय ६८ जना चेपाङको बसोबास छ । चेपाङहरूको वसोवास अहिले २६ जिल्लामा फैलिएको बताइएको छ ।

प्रकाशित : भाद्र १६, २०८१ १४:५८
x
×