कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

वडा कार्यालय टाढा भएपछि टोलमै सेवा कार्यालय

भाद्र १६, २०८१
वडा कार्यालय टाढा भएपछि टोलमै सेवा कार्यालय

काठमाडौँ — वडा कार्यालय टाढा हुँदा सेवाग्राहीलाई सेवा प्राप्त गर्न असजिलो भएको गुनासो आउन थालेपछि गण्डकी गाउँपालिका–२ ले टोलमै सेवा कार्यालय खोलेको छ । वडाध्यक्ष यमबहादुर थापाले वडा कार्यालयले दिने सेवा लिन टाढाका बासिन्दालाई सहज होस् भनेर टोलस्तरमै पुगेर सेवा दिने उद्देश्यले अस्थायी सेवा कार्यालय स्थापना गरेका हुन् ।

उनले भने, 'आपटारमा अस्थायी सेवा कार्यालय स्थापना गरेका छौँ । यहाँबाट साविकका वडा नं. ८ र ९ का स्थानीयवासीलाई वडा कार्यालयको सेवा लिन सहज हुनेछ । हामी हरेक महिनाको तीन दिन यहाँबाट सेवा प्रवाह गर्छौँ ।'

स्थानीय पशुपति प्रजा प्राविमा सेवा कार्यालय स्थापना गरिएको वडाध्यक्ष थापाले बताए । ‘यस क्षेत्रका स्थानीयवासीलाई पातीस्वाँरामा रहेको वडा कार्यालय पुग्न दुई घण्टा बढी समय लाग्छ,’ उनले भने, ‘सेवा प्रवाहमा सहजताका लागि कार्यालय स्थापना गरेका हौँ ।’

परीक्षणकालको रुपमा हाल तीन दिन आँपटारबाट सेवा प्रवाह हुने उनले बताए । महिनाको ५, १५ र २५ गते तीन सेवा कार्यालयबाट सेवा दिइने गरी व्यवस्थापन मिलाइएको छ ।

‘तोकिएको दिन सार्वजनिक बिदा परे त्यसको भोलिपल्ट सेवा दिन्छौँ,’ उनले भने । सेवा कार्यालयका लागि गाउँपालिकाले कम्प्यूटर तथा फर्निचरको सामाग्री उपलब्ध गराएको थापाले बताए ।

‘वडाले दिने हरेक काम सेवा कार्यालयबाट हुन्छ,’ उनले भने,‘टोल सुधार, वडा समितिको निर्णय गराएर कार्यपालिकाबाट अनुमोदन गरी सेवा थालेका हौँ ।’ उक्त सेवा कार्यालयबाट आँपटार, दलभञ्ज्याङ, गोर्दी, फुर्के डाँडा, भलायोडाँडा लगायतका क्षेत्रका वासिन्दालाई सहज हुने अपेक्षा गरिएको छ ।

सेवा कार्यालयको आइतबार गाउँपालिका अध्यक्ष दिपक तिमल्सिना, उपाध्यक्ष ललिता अधिकारीको उपस्थितिमा उद्घाटन गरिएको छ ।

प्रकाशित : भाद्र १६, २०८१ १८:३४
x
×