कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

पुनर्निर्माण सम्पन्न भएकाे ५ महिना पुग्न लाग्दा पनि संचालनमा आएन चुरियामाई सुरुङ मार्ग

श्रावण २०, २०८१
पुनर्निर्माण सम्पन्न भएकाे ५ महिना पुग्न लाग्दा पनि संचालनमा आएन चुरियामाई सुरुङ मार्ग

Highlights

  • दक्षिण एसियाकै पहिलो सुरुङ मार्ग

हेटौंडा — दक्षिण एसियामै पहिलो मानिने चुरियामाई सुरुङ मार्गको पुनर्निर्माण सम्पन्न भएको ५ महिना पुग्नै लाग्दा पनि सर्वसाधारणका लागि खुला गरिएको छैन । प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण नगरेका कारण सुरुङका दुवैतर्फका ढोका बन्द छन् । वाग्मती प्रदेश सरकारको लगानीमा सुरुङको जोर्णोद्धार कार्य गत फागुनको अन्तिम साता सम्पन्न भएको हो ।

‘प्रदेश सरकारले उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने र उपमहानगरपालिकाले चुरियामाई संरक्षण विकास समितिलाई हस्तान्तरण गर्नुपर्नेमा अहिलेसम्म उक्त कार्य हुन सकेको छैन,’ चुरियामाई संरक्षण विकास समितिका अध्यक्ष प्रेम भोम्जनले भने, ‘उपमहानगरपालिकालाई पुनर्निर्माण गरिएको सुरुङ हस्तान्तरण गर्न ताकेता गरिरहेका छौं ।’ उपमहानगरपालिकालाई हस्तान्तरण भएपछि सम्बन्धित समितिलाई संचालनका लागि हस्तान्तरण गरिने नगर प्रमुख मीनाकुमार लामाले भनिन्, ‘पुनर्निर्माण गरिएको ५ महिना पुग्न लाग्दा पनि प्रदेश सरकारले हस्तान्तरण गरेको छैन ।’

ऐतिहासिक सुरुङ खुला गर्न सकेमा अवलोकनका लागि आन्तरिक एव बाह्य पर्यटक आउने समितिका अध्यक्ष भोम्जनले बताए । ‘अहिले यसो बाहिरबाट नियालेर फर्किन्छन, दुवैतर्फका ढोका बन्द छन्,’ उनले भने । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । मुलुककै ऐतिहासिक सुरुङको बीच भाग भासिएर अत्यन्त जोखिम अवस्थामा रहेको थियो ।

हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरसँगै उक्त सुरुङ मार्ग अवस्थित छ । करिब २२५ मिटर लामो सुरुङ मार्गलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार कार्य गरेको हो । २०७९ वैशाख १९ गतेसम्म १९८ मिटर लम्बाईको सुरुङ मार्ग पुनः निर्माण गर्ने भनिए पनि विविध कारणले निर्धारित समयभन्दा एक वर्षपछि मात्र सुरुङ मार्गको काम सम्पन्न गरिएको हो ।

ऐतिहासिक महत्त्वको सुरुङ मार्ग परिसरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकारले प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले सुरुङ पुनः निर्माणको लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र इकाइ दर ठेक्का अनुसार कुल ३ करोड ३६ लाख १३ हजार रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौंसँग सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार सुरुङको चौडाइ साढे २ मिटर र उचाइ ३ फिट हुने गरी पहिलेकै स्वरुपमा पुनःनिर्माण गरिएको छ ।

नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ मार्गको जीर्णोद्धार सम्पन्न गरी यातायात पूर्वाधार निर्देशनालय हेटौंडालाई हस्तान्तरण गरिएको छ । उक्त सुरुङ के कसरी संचालनमा ल्याउने भनेर छलफल भइरहेको निर्देशनालयका सूचना अधिकारी हरिप्रसाद ओझाले बताए ।

सुरुङ मार्ग सञ्चालनका लागि स्थानीय तह तथा सञ्चालन समिति निर्माण गरी हस्तान्तरण गर्ने निर्देशनालयको तयारी रहेको छ । निश्चित मापदण्ड तयार गरी सुरुङ मार्ग सर्वसाधारणका लागि खुला गरिने उनले बताए । सुरुङ मार्गभित्र विद्युतीय लाइट जडान गरिएको छ । सुरुङ मार्गको दुवै प्रवेशद्वारको ढोका अहिलेको अवस्थामा बन्द गरिएको छ ।

‘पुनर्निर्माण गरिएको सुरुङ मार्गमा सर्वसाधारणलाई खुला गरे पनि कुनै पनि सवारी साधन प्रवेश निषेध गरिन्छ,’ निर्देशनालयका सूचना अधिकारी ओझाले भने, ‘अपांगता भएकाहरूलाई के गर्ने भन्ने विषयमा छलफल चलाइरहेका छौं ।’ नेपालका प्रथम ग्राजुएट सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाको डिजाइनमा सुरुङ निर्माण गरिएको थियो ।

१ सय ७ वर्षअघि निर्माण गरिएको उक्त सुरुङको छेउमै सुरुङका डिजाइनर इन्जिनियर थापाको हेटौंडा उपमहानगरपालिकाले अर्धकदको सालिक निर्माण गरेको छ । इन्जिनियर थापाले अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गरेका थिए । अमलेखगन्ज र भीमफेदी सडकबीचमा पर्ने चुरिया सुरुङ खन्नुपर्ने वा बक्स कटिङ गर्नु पर्ने वाध्यता थियो ।

बक्स कटिङ गर्न उपकरण नभएकाले मानिसद्वारा सुरुङ खनिएको थियो । चन्द्रशमशेर राणाको आदेशमा सुरुङमार्ग बनाउन नेपाली सेनाको प्रयोग गरिएको थियो । थापा नेपाली सेनाकै इन्जिनियर थिए । चुरियामाई मन्दिर पनि इन्जिनियर थापाले नै बनाएको बताइन्छ । सपनामा उनले त्यसै स्थानमा देवी देखेको र पूजाआजा गरेर मात्र सुरुङ खन्नु भनेकाले विधिपूर्वक पूजा गरेर सुरुङ खन्ने काम गर्नुका साथै मन्दिर पनि बनाएको किंवदन्ती छ । सुरुङ मार्ग तत्कालीन प्रविधिसँगै माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको छ ।

७०० मिटर लम्बाइ, ९ फिट चौडाइ र १० फिट उचाइ रहेको उक्त सुरुङ मार्गको मालवाहक सवारी ‘लहरी’ छिर्ने आकारमा निर्माण गरिएको थियो । एक दशकसम्म उक्त सुरुङ मार्ग हुँदै साना हलुका सवारी साधन आवतजावत गरे । पथलैया–हेटौंडा सडक निर्माण भएपछि यो सुरुङ सञ्चालनमा आउन छाड्यो । सुरुङ मार्गका दुवैतर्फको प्रवेशद्वार खुला रहे पनि सुरुङको बीच भाग धसिएपछि अवरुद्ध भएको थियो । सुरुङको बीचमा करिब ४० मिटर धसिएको थियो । उक्त भागको मर्मत सम्भारपश्चात् अहिले सुरुङबाट वारपार गर्न सकिने भएको हो ।

बाराको अमलेखगन्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसँग जोड्ने सडक निर्माण गर्ने बेला यो सुरुङ निर्माण गरिएको हो । स्थानीयका अनुसार त्यतिबेला यस क्षेत्रका बासिन्दाले गीतै बनाएका थिए, हाम्रा राजा क्या अक्किल दारी, ल्याए मोटर चुरेमा भ्वाङ पारी । भीमफेदीबाट काठमाडौं आवत—जावत गर्न निर्मित उक्त सुरुङले त्यतिबेला नेपालीको जनजीवनलाई निकै सहज बनाएको थियो ।

‘त्यतिबेला यो सुरुङ नभएको भए भीमफेदीसम्म साना र हलुका सवारी साधन आवतजावत नै गर्न सक्ने थिएनन्,’ हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत भीम तिमल्सिनाले भने, ‘यही सुरुङ भएर विश्वविख्यात् भूगर्भविद् डा. टोनी हेगनले आफ्नो सानो गाडी छिराएर भीमफेदीसम्म आइपुगेका थिए । भीमफेदीबाट उनको गाडी बोकेर काठमाडौं लगिएको थियो ।

टोनी हेगनको ‘नेपाल’ पुस्तकमा चुरियाको सुरुङबारेमा पनि उल्लेख गरेका छन् । २४ अक्टोबर १९५० का दिन रक्सौल नाका हुँदै वीरगन्ज–अमलेखगन्जसम्म सानो रेल, अमलेखगन्जबाट सानो जीपमा भीमफेदी आउने क्रममा हालको मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरिया डाँडाको उकालो चढ्ने क्रममा देखेको मानव निर्मित सुरुङले आफू आठौं आश्चर्यमा परेको उक्त पुस्तकमा उल्लेख गरेका छन् । उक्त पुस्तकमा उनले लेखेका छन्, ‘नेपालभन्दा ठूलो भारतले पनि सुरुङ प्रविधि भित्र्याउन नसकेको अवस्थामा नेपाल सफल भएको छ ।’

तत्कालीन सडक विभागका चिफ इन्जिनियर दिप्तीजंग थापाद्वारा लिखित पुस्तकका अनुसार चिफ इन्जिनियर डिल्लीजंगले आफ्नो कार्यकालमा मुलुकमा १२ वटा महत्त्वपूर्ण भौतिक संरचनाको डिजाइनका साथै निर्माण गराएका थिए ।

चुरिया सुरुङ, हेटौंडा–काठमाडौं रोपवे, १९९० सालको भूकम्पपछि भत्किएको धरहरा र घण्टाघरको पुनर्निर्माण, काठमाडौंमा रहेका राणाजीहरूको दरबार, नेपालको प्रथम कार्यालय डिल्लीबजार चारखाल अड्डा, नेपालको प्रथम रेलवे जनकपुर–जयनगर रेलवे निर्माण गर्नुका साथै १९९० को भूकम्पबाट भत्केको शीतल निवासको पुनर्निर्माण गरेका थिए । जंगबहादुरका छोरीतिरका पनाति थापाले भारतको थमसन् कलेज अफ इन्जिनियरिङ देहरादुनमा अध्ययन गरेका थिए ।

पूर्व–पश्चिम राजमार्गको पथलैया–हेटौंडा सडक खण्डमा पर्ने चुरिया डाँडामा सडक बनाएपछि उक्त सुरुङको प्रयोग बन्द भएको हो । चुरिया डाँडा भएर मालवाहक सवारी साधन आवत–जावत गर्न समस्या भएपछि पछिल्लो चरणमा चुरिया डाँडालाई बक्स कटिङ गरिएको हो ।

सुरुङको कथा

मानव निर्मित सुरुङको इतिहास हेर्ने हो भने इसापूर्व ३६ मा बनेका इटालीको नेपल्स र पोजोली जोड्ने ४ हजार ८ सय फिट चौडाइ र ३० फिट उचाइको सुरुङलाई लिन सकिन्छ । युरोपमा सुरुङलाई सुरु सुरुमा मूलतः खानी उत्खनन र सामरिक उपयोगमा बढी प्रयोग गरिएको पाइन्छ भने १९ औं शताब्दीको सुरु अवधिमा सुरुङ निर्माण उपयोग व्यापक रुपमा गर्न थालिएको छ । तर अहिले विश्वभरि अत्याधुनिक उपकरण प्रयोग गरेर सुरुङ निर्माण गरिन्छ ।

नेपालमा सुरुङहरू भने विद्युत् उत्पादन प्रयोजनका लागि विदेशीले खनेका छन् । मेलम्चीको पानी काठमाडौं ल्याउन पनि सुरुङ खनिएको छ । अहिले पछिल्लो समयमा थानकोट–नौबीसेमा सवारी साधन आवतजावत गर्न सुरुङ खन्ने काम भइरहेको छ ।

तर १ सय ७ वर्षअघि सवारी साधन आवत–जावत गर्न दक्षिण एसियामै पहिलो पटक मानव निर्मित चुरिया सुरुङ मार्ग निर्माण गरिएको थियो । एक दशकभन्दा बढी समय यो सुरुङ मार्ग भएर साना र हलुका सवारी साधन आवतजावत गरेका थिए ।

प्रकाशित : श्रावण २०, २०८१ १४:५०
×