कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सांकेतिक भाषा पढाउनमै रमाइरहेकी सुधा मिस

भाद्र १५, २०८१
सांकेतिक भाषा पढाउनमै रमाइरहेकी सुधा मिस

Highlights

  • विकल्प नहुँदा भने कहिलेकाहीं समस्या

धनुषा — महोत्तरीको गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालय विद्यार्थीले खचाखच भरिएको छ । कहिलेकाहीं विद्यार्थी बढी हुँदा विद्यालय दुई सिफ्टमा सञ्चालन हुन्छ । विद्यार्थीको अत्यधिक चापले विद्यालय परिसरमा भीडभाड देखिन्छ । घण्टी लागेर शिक्षक बाहिर निस्किँदा होस् या टिफिन खान विद्यार्थी कक्षाबाट बाहिरिँदा विद्यालय परिसर संवाद र हसीमजाकले तरंगित नै बन्ने गर्छ ।

तर, त्यही विद्यालयको तल्लो तलाको दक्षिण कुनामा रहेको विशेष कक्षा भने त्यसभन्दा नितान्त भिन्न छ । सधैं शान्त रहने उक्त कक्षामा घण्टीपिच्छे शिक्षक पनि फेरिँदैनन् । बाहिरको कोलाहलले त्यहाँ पढिरहेका १३ जना विद्यार्थी र शिक्षिका सुधा गौतमलाई कुनै असर गर्दैन । सुस्त श्रवण (बहिरा) बालबालिकाकी एक्ली शिक्षिका हुन् गौतम । उनी आफू पनि सुस्त श्रवण भएकी छन् ।

विद्यालय आएपछि अन्य विद्यार्थीसँगै प्रार्थनामा सहभागी भएपछि एउटै कोठामा कक्षा ५ सम्मका १३ जना विद्यार्थी पढाउँदै गौतमको दिन बित्ने गरेको छ । आफ्नै लय र धुनमा बर्दिबास–३ की २९ वर्षीया शिक्षिका गौतम १० वर्षदेखि करारमा सुस्त श्रवण भएका विद्यार्थीलाई पढाउँदै आएकी छन् । सामान्य भन्दा यस्ता विद्यार्थी जिद्दी, झगडालु, भाग्न खोज्ने, रिसाउने बानीका हुने भएकाले सम्हाल्न मुस्किल हुने उनी बताउँछिन् ।

विद्यालयमा १६ जना यस्ता विद्यार्थीलाई पढाउन विशेष शिक्षा कक्षा सञ्चालन भए पनि यस वर्ष १३ जना मात्रै भर्ना भएका हुन् । ‘एक्लै विद्यार्थी सम्हाल्न सजिलो छैन । सांकेतिक भाषा अरुले बुझ्दैनन्,’ गौतमले लेखेरै भनिन्, ‘हामीहरू बोलेको सुन्न सक्दैनौं । लेखेरै सबै बुझ्न र बुझाउन सकिँदैन । विद्यालयमा दोभाषे आवश्यक भएको छ ।’ विद्यालयमा दोभाषे नहुँदा गौतमको विकल्प छैन । शिक्षिका गौमतलाई लेखेर जिज्ञासा राख्दा उनले यस्तो जवाफ लेखेरै दिएकी हुन् ।

विद्यालयमा बिदा बस्दा, अनुपस्थित हुँदा समान्य शिक्षकलाई विकल्प हुन्छ । खाली कक्षा अन्य विषयका शिक्षक पढाउँछन् । तर शिक्षिका गौतमलाई त्यस्तो सुविधा छैन । सामान्य परिस्थितिमा गौतम बिदा पनि पाउँदिनन् । बिदा बस्दा, बिरामी हुँदा, कतै जाँदा आफैंले वैकल्पिक शिक्षकको व्यवस्था गर्नुपर्ने हुन्छ । बहिरा क्षेत्रीय सचिवालयले इन्डोनेसियामा आयोजना गरेको विश्व महासंघको एसिया प्रतिनिधि बैठकमा सहभागी हुन जाँदा गौतमले सर्लाहीका साथी अपार भट्टराईलाई बोलाएर कक्षा सुचारु गरेकी थिइन् ।

अगस्त १५ देखि १८ सम्म चलेको कार्यक्रममा सहभागी भएर बुधबार मात्रै महोत्तरी फर्किएकी गौतम बिहीबार विद्यालयमा भेटिएकी थिइन् । विकल्प र दोभाषे ‘शिक्षक नहुँदा सर्लाहीका साथीको सहयोगमा कक्षा सञ्चालन गर्नु परेको हो,’ गौतमले भनिन्, ‘विकल्प नहुँदा पनि कक्षा नियमित सञ्चालन गर्दै आइरहेकी छु । तर, गाह्रो भइरहेको छ ।’

विशेष कक्षाका विद्यार्थीलाई दिनहुँ पढाउनुसँगै शिक्षिका गौतम जिल्ला, प्रदेश, राष्ट्रिय तहका संस्थामा आबद्ध भई अन्तर्राष्ट्रिय स्तरमा बहिराहरूको अधिकारकारका लागि वकालत गर्दै आएकी छन् । महोत्तरी बहिरा संघको अध्यक्ष, राष्ट्रिय बहिरा महासंघ मधेस प्रदेशको सचिव, राष्ट्रिय बहिरा महासंघको केन्द्रीय सदस्य, राष्ट्रिय अपाङ्ग महासंघ मधेस प्रदेशको सदस्यको जिम्मेवारीमा रहेकी गौतमले सांकेतिक भाषामै कक्षा १ देखि ४ सम्म सर्लाही, ५ देखि १० सम्म रौतहटको चन्द्रनिगाहपुर, कक्षा ११ र १२ पोखरा, नेपाली विषयमा बीएड सिरहाबाट अध्ययन गरेकी हुन् ।

त्रिभुवन माध्यमिक विद्यालय गौशालामा कक्षा ५ सम्म १३ जना बहिरा विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाइ भइरहेको छ । प्रतिविद्यार्थी ४ हजार रुपैयाँका दरले शिक्षा मन्त्रालयबाट आर्थिक सहयोग भइरहेको प्रधानाध्यापक विनोद महतोले बताए । यस्ता विद्यार्थीका लागि विद्यालय परिसरमै छात्राबास खोलेर पठनपाठन भइरहेको महतोले सुनाए । ५ कक्षामाथि पढ्न चाहने सुस्त श्रवण भएकाका लागि रौतहट र सिरहामा त्यस्ता विद्यालय रहेका छन् ।

प्रकाशित : भाद्र १५, २०८१ १७:५७
x
×