कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

'यमगज'ले पछ्याउँदा निकुञ्जका हात्ती जंगलमै

भाद्र २, २०८१
'यमगज'ले पछ्याउँदा निकुञ्जका हात्ती जंगलमै

पर्सा — जंगली किशोर मत्ता यमगजको आतंकले पर्सा राष्ट्रिय निकुन्जको अमलेगन्ज हात्तीसारबाट गत वर्ष अन्यन्त्र स्थानान्तरण गरिएका सबै पालुवा हात्ती हात्तीसारमा फर्किन सकेका छैनन् । हात्तीसारमा अहिले नारायणगज, कामिनीकली, राप्तीकली, चिसेनलकली र महेशगज गरी ५ वटा मात्र हात्ती फर्किएका छन् । 

निकुन्जको गडुवालाइन पोष्टमा मेनकाकली, भाठा पोष्टमा पवनकली र चम्पाकली तथा प्रतापपुर पोष्टमा भीमाकली र सिताष्माकली राखिएका छन् । निकुन्जको हात्तीसारमा कूल १० हात्तीको दरबन्दी रहेकोमा बिगतको जस्तै दरबन्दीका सबै हात्तीलाई एक साथ हात्तीसारमा फिर्ता ल्याइएको छैन ।

निकुन्जका संरक्षण एवम् सूचना अधिकृत सन्तोष कुमार भगत यमगज मत्ता अहिले पनि अमलेगजन्ज हात्तीसार वरपरनै सक्रिय रहेको बताउँछन् । ‘यमगजकै कारण हात्तीसारका हात्तीलाई लामो समय अन्यत्र लगेर राख्नुपर्‍यो,’ उनले भने, ‘अब त नआउँला भनेर हात्तीसारका हात्ती फिर्ता ल्याउन थालियो, तर यमगज अझै वरपरनै घुमिरहेको छ ।’

२ वर्षअघि यम पन्चकका दिन बाराको अमलेखगन्जमा एउटा महिलाको ज्यान लिएकाले उक्त जंगली हात्तीको नाम ‘यमगज’ राखिएको हो । त्यसयता उसले बारा, रौतहट र मकवापुरमा समेत गरी आधा दर्जन सर्वसाधारणको ज्यान लिइ सकेको छ । यमगजले निकुन्जको अमलेखगन्ज हात्तीसारका ८ पोथी हात्तीको पछि लाग्न नछाडेपछि सोही वर्षको मंसिर महिनामा निकुन्जको हात्तीसारबाट ती हात्तीलाई करिब २५ किमी पश्चिम निकुन्जको कोर एरिया मानिएको रामभौरीभाठा पोष्टमा लगि राखिएको थियो ।

त्यहाँ पनि यमगज पुगेर हत्ते गर्न थालेपछि त्यहाँबाट ती ढोइलाई थप करिब ३७ किमी पश्चिम मकवानपुरको प्रतापपुर पोष्टमा स्थानान्तरण गरिएको थियो । प्रतापपुर पोष्ट वरपर अर्को मत्ता हात्तीसँग यमगज २ पटक जुधेको थियो । सोही मत्ताले यमगजलाई खेदे पछि यमगज पर्सा, बारा र मकवानपुर र रौतहटको बिभिन्न क्षेत्रमा २ वर्ष यता घुमिरहेको छ ।

लामो प्रवासपछि गत वर्ष माघको पहिलो साता क्रमशः ढोइहरुलाई उनीहरुको पुरानै बासस्थान हात्तीसार फर्काउने योजना अनुरुप फर्काउन पनि थालिएको थियो । तर यमगज फेरिपनि हात्तीसार वरिपरिनै घुमिरहेको भगत बताउँछन् ।

२ वर्ष अघि अमलेखगन्जमा निकुन्जको मध्यवर्ती क्षेत्रमा बाख्रा चराउने क्रममा एक महिलाको ज्यान लिएको यमगजलाई त्यति बेला राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा चितवनको प्राविधिक टोलीले आएर २०७९ कात्तिक ४ गते डार्ट गरी यमगजको दुबै दाह्रा काटेको थियो । उदण्डता कम हुने आशामा यमगजको दाह्रा काटिएपनि उसको उदण्डतामा कमी आएन ।

२ वर्षअघि पनि अमलेखगन्ज हात्तीसार वरीपरीनै बसेर यमगज रातको समयमा हात्तीसारमा प्रवेश गरेर सबै ढोईसंग जबरजस्ती संसर्ग गर्ने र त्यहाँ रहेको मत्ता नारायणगजसँग जुध्ने गर्दथ्यो। दिउँसो हात्तीसार पछाडि बस्ने र नजिकको मानव बस्तीहरुमा पसेर खाद्यान्न चोर्ने गर्दथ्यो । हाल करिब १६ वर्षको किशोर यमगजले २ वर्ष अघि हात्तीसारमा ५ वर्षीया ढोई भीमाकली बाहेक सबै ढोईसंग जबरजस्ती संसर्ग गरेको थियो ।

भीमाकलीलाई बलात्कार गर्न सक्ने सम्भावना देखेर हात्तीसारका कर्मचारीले भीमाकलीलाई जोगाएका थिए । हात्तीसारमा निकुन्ज आउने पर्यटकलाई जंगल सफारी तथा निकुन्जमा गस्ती प्रयोजनका लागि हात्ती पालिन्छन् । उनीहरुको सरकारी दरबन्दीनै हुन्छ । त्यसै अनुरुप उनीहरुको सेवाटहलका लागि प्रत्येक हात्तीमा एउटा माउत, फनैत र पछुवाको दरबन्दी हुन्छ । उनीहरुले दैनिक रासन पनि पाउँछन् ।

जंगली हात्तीको समूहले वर्षेनि झापादेखि चितवन राष्ट्रिय निकुन्ज सम्मको लामो यात्रा गर्ने र एउटा निश्चित समय पछि पुनः फर्कने गरेका छन् । तर २ वर्ष अघि भने झापाबाट आएकामध्ये ३ वटा हात्ती लामो समय यतै बसेका छन् । उनीहरु यतैको रैथाने बन्न सक्ने सम्भावना छ । प्रायः असारको अन्त्यतिर हात्तीको समूह धान र मकै बाली खाँदै मानव बस्तीको छेउछाउ चुरे पवर्तको सिरानको आफ्नो परम्परागत मार्ग प्रयोग गरेर यसरी लामो यात्रा गर्ने गर्छन् ।

प्रकाशित : भाद्र २, २०८१ १५:४८
x
×