कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

नातिनीसँगै १ कक्षामा पढ्दै हजुरआमाहरू

आश्विन ३, २०८१
नातिनीसँगै १ कक्षामा पढ्दै हजुरआमाहरू

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा दुई ज्येष्ठ नागरिक स्थानीय सरस्वती माविमा कक्षा १ मा पढ्न थालेका छन् । ७८ वर्षीया धनकुमारी राई र ५२ वर्षीय पुजन दर्जी स्थानीय सरस्वती माविमा कक्षा १ मा भर्ना भएका हुन् । रहर भएर पनि पढ्न नपाउँदा जिन्दगीभरि अध्यारोमा बस्नु परेको दर्जी बताउँछिन् ।

‘पढ्ने कस्तो रहर थियो, तर बाउ–आमाले दिएनन्,’ दर्जीले भनिन्, ‘नपढेपछि जिन्दगी अन्धकार हुँदो रहेछ, जिन्दगी अध्यारैमा बिताइयो, मर्ने बेला पढ्न थालिएको छ ।’

पढ्न नपाएपछि मोबाइल चलाउनदेखि सामाजिक सञ्जाल हेर्न पनि नसकेको दर्जीको भनाइ छ । ‘यसो दुई/चार अक्षर जानियो भने मोबाइल चलाउन र युट्यूब, फेसबुक हेर्न सकिन्छ कि भन्ने लागेको छ,’ उनले भनिन्, ‘अक्षरै नजिनेपछि मोबाइल चलाउन नजानिने रैछ ।’

दर्जी उक्त विद्यालयमा बालविकास केन्द्रमा अध्ययन गर्ने नातिनी स्नेहसँगै विद्यालय आएर पढ्ने गरेकी प्रधानाध्यापक उत्रप्रसाद राईले बताए । त्यस्तै, ७८ वर्षीया धनकुमारी पनि बालविकास केन्द्रमा अध्ययनरत नातिनी परिशासँग विद्यालय आएर पढ्ने गरेकी राईले सुनाए । उनले पनि कक्षा १ मै भर्ना भएर अध्ययन गर्न सुरु गरेकी हुन् ।

मोबाइल फोन चलाएर सामाजिक सञ्जाल हेर्ने धोको भएको राई बताउँछिन् । ‘तर आँखै नदेख्ने रैछु तै पनि पढेर मोबाइल चलाउने धोको छ,’ राईले भनिन् । बेलामा पढ्न नपाए पनि बुढेसकालमै भए पनि उच्च मनोबलका साथ विद्यालय आउने गरेको प्रधानाध्यापक राईले बताए ।

‘पढ्ने चाहना कत्रो रैछ, बुढेसकालमा मिहिनेत गरेर पढिरहनु भएको छ,’ राईले भने,‘उहाँहरू पहिलेदेखि नै नातिनीहरूसँग विद्यालय आएर पढ्नु हुन्थ्यो, हिजोदेखि चाहि भर्ना भएरै पढ्न थाल्नु भयो ।’

उनीहरुको पढाईप्रतिको इच्छाशक्तिले अरुलाई पनि हौस्याएको राई बताउँछन् । नेपाली साँवा अक्षरदेखि अंग्रेजीमा केही शब्द भन्न सक्ने भएको राईले सुनाए । ‘उहाँहरूको पढ्ने इच्छाशक्तिले अरुलाई पनि हौस्याएको छ,’ राईले भने,‘यो विषय गाउँमा उदाहरणीय बनेको छ ।’

प्रकाशित : आश्विन ३, २०८१ १९:०९
×