कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सरिफाको उत्पादनसँगै बढ्यो आम्दानी

भाद्र २३, २०८१
सरिफाको उत्पादनसँगै बढ्यो आम्दानी

धनकुटा — सरिफा फलाउने किसान बढेसँगै यो फलको बजार पनि विस्तार भएको छ । केही वर्षदेखि यो फल काठमाडौंलगायत पूर्वका विभिन्न बजारसम्म पुग्ने गरेको छ । विगतमा जंगलमा मात्रै सीमित सरिफालाई स्थानीयले आफ्ना खेतबारीमा रोपेर व्यावसायिक उत्पादन थालेसँगै यसबाट गतिलो आम्दानी पनि हात पार्दै आएका छन् ।

भदौ महिनादेखि स्थानीय बजारमा पाइने सरिफा यहाँ मात्रै झन्डै एकै किसान समूहमा उठाएर पाँच लाख बढीको बेच्ने स्थानीय व्यापारी बताउँछन् । यस्तै, स्थानीय कृषकसँग प्रतिकेजी औसत ५० रुपैयाँमा खरिद गरी काठमाडौं, विराटनगरलगायतका स्थानमा यहाँको सरिफा निकासी हुने व्यापारी जितेन्द्र राईले बताए । ‘अब सरिफाको व्यावसायिक कारोवार सुरु भएको छ,’ उनले भने, ‘स्थानीय बजारसँगै यहाँबाट निकासी हुने क्रम पनि बढेको छ ।’

त्यसो त उक्त फलको कारोबार गर्ने उनी एक्ला होइनन् । स्थानीय उत्पादकबाट खरिद गरेर जिल्लाबाहिर निकासी गर्ने अन्य कम्तीमा ६ जना व्यापारी रहेको राईले बताए । सबैभन्दा बढीको कारोबार गर्नेमा भने उनी रहेका छन् । एक्लैले पाँच लाख बढीको सरिफा बिक्री गरिरहेको उनी बताउँछन् ।

सरिफाको कारोवारमा जुटेका स्थानीय प्रेम होम्बारकले पनि मनग्य आम्दानी हात पारेको सुनाए । कोसेलीका रूपमा मानिसहरूले सरिफा किनेर जिल्लाबाहिर समेत लाने गरेको उनी बताउँछन् । धनकुटा नगरपालिका–८ सान्ताङ, तेत्रेदाङ, याक्ते लगायत क्षेत्रमा स्थानीयले व्यावसायिक उत्पादन गर्दै आएका छन् । ती स्थानमा सरिफा खरिदका लागि व्यापारी गाडी लिएर बोटैमा पुग्ने गरेको तेत्रेदाङका कृषक जिद्धबहादुर आठपहरियाले सुनाए । ढुवानी गरेर अन्यत्र लैजानु नपरेपछि स्थानीय कृषकले समूहमा खरिद गर्ने र किसानमार्फत नै बिक्री गर्दै आएका छन् ।

जंगलमा पाइने सरिफाको माग बढेपछि स्थानीय कृषकले खेतबारीमा विरुवा रोपेर व्यावसायिक उत्पादन दिन थालेका छन् । जंगलबाट विरुवा ल्याएर ६ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा उत्पादन गर्दै आएका आठपहरियाले स्थानीय सरिफा बेचेरै एक महिनामा ५० हजार रुपैयाँ कमाइ गरेको बताए ।

‘विगतमा भन्दा अहिले भाउ पनि राम्रै छ,’ उनले भने, ‘सरिफा किन्न बोटैसम्म आउँछन्, बोकेर बजार पनि पुर्‍याउने झन्झट छैन ।’ खासगरी बेंसी क्षेत्रका जंगलमा भदौदेखि दुई महिनाको अवधिमा सरिफा फल्ने गरेको स्थानीय देवकुमारी आठपहरियाले बताइन् । उनले ५० बोट सरिफाबाट ५० हजार हाराहारीमा आम्दानी गरिहेको जानकारी दिइन् ।

सरिफा पूर्णरूपमा अर्गानिक फल मानिएकाले बजारमा यसको माग बढी हुने गरेको स्थानीय देशमाया आठपहरियाले सुनाइन् । ‘बारीमा आफैं उम्रिने सरिफाबाटै अहिले त कमाइ पो हुन थालेको छ,’ उनले भनिन्, ‘वर्षौंसम्म खास मिहिनेत नगरी नै फल फल्ने भएकाले सजिलै छ ।’

अरु बालीनालीलाई जंगली जनावरबाट जोगाउन मुस्किल परे पनि सरिफा बेग्लै किसिमको फल भएको स्थानीय तीर्थ राईले बताए । ‘कम्तीमा सरिफालाई बोटैमा चढेर जंगली र अन्य कुनै जनावरले क्षति पुर्‍याएको पाइँदैन,’ उनले भने, ‘त्यसैले ग्रामीण क्षेत्रका हामी किसानका लागि यो आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ ।’

प्रकाशित : भाद्र २३, २०८१ १२:०९
×