कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

पहिरोको उच्च जोखिममा चेकेथुमवासी

भाद्र २३, २०८१
पहिरोको उच्च जोखिममा चेकेथुमवासी

खोटाङ — बाराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित चेकेथुमका स्थानीय पहिरोको उच्च जोखिममा परेका छन् । गाउँभन्दा मुनि रहेको मस्तपुखोलाबाट २०५६ सालमा सुरु भएको पहिरोले यहाँका स्थानीय जोखिममा परेका हुन् ।

वडाध्यक्ष पदम मगरका अनुसार २०५६ सालमा सुरु पहिरो २०७२ सालको भूकम्पपछि झनै बढेको हो । पहिरोले २५ वर्षको अवधिमा २८ घर-परिवार विस्थापित भइसकेको मगरले बताए ।

पहिरोबाट विस्थापित भएका मध्ये दण्डबहादुर तामाङ र डम्बरबहादुर तामाङ छिमेकी जिल्ला उदयपुरको राजाबास बसाइँ सरेका छन् भने अन्य २६ घरपरिवार गाउँभन्दा अन्यत्र जग्गा खरिद गरेर सरेका छन् ।

पहिरोका कारण हरेक वर्ष विस्थापित हुनेको स‌ंख्या बढ्दाे छ । यस वर्ष खड्गबहादुर थापामगर, पर्शुराम मगर र गोपाल मगरको घर उच्च जोखिममा परेको छ । उक्त ठाउँमा हरेक वर्ष भदौ र असोजमा पहिरो जाने गरेको मगरले सुनाए । पानी परेर घाम लाग्न थालेपछि चर्किदै जमिन बग्ने गर्छ ।

यहाँ जनचेतना आधारभूत विद्यालयसहित ६१ घर-परिवारको बसोबास छ । ‘पहिरो नियन्त्रण नभए चेकेथुम बस्ने विस्थापित हुनुपर्ने देखिन्छ,’ वडाध्यक्ष मगरले भने, ‘स्थानीय, प्रदेश र केन्द्रीय सरकारको ध्यानाकर्षण गराइयो तर कतैबाट कुनै सुनुवाइ भएन ।’

प्रकाशित : भाद्र २३, २०८१ १९:४५
×