कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

लागूऔषध तस्करी नियन्त्रण गर्न चार जिल्लाका सुरक्षा अधिकारीबीच समझदारी

असार ३१, २०८१
लागूऔषध तस्करी नियन्त्रण गर्न चार जिल्लाका सुरक्षा अधिकारीबीच समझदारी

सुनसरी — जलमार्गबाट लागूऔषधको कारोबार बढेको भन्दै सप्तकोसी नदीमा निगरानी बढाउने र सुरक्षाकर्मीलाई अधिकतम बल प्रयोग गर्न दिन चार जिल्लाका सुरक्षा अधिकारी सहमत भएका छन् ।

जिल्ला प्रसाशन कार्यलयको आयोजनामा सोमबार भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा पछिल्लो समय लागूऔषध कारोबारीले जलमार्गबाट तस्करी बढाएपछि सुरक्षाकर्मीलाई अधिकतम बल प्रयोग गरी नियन्त्रण गर्न अनुमति दिने निर्णय गरेको हो ।

भेडेटारमा सम्पन्न अन्तर जिल्ला सुरक्षा बैठकमा सुनसरी, उदयपुर, धनकुटा र भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र कोशी प्रदेशका तीन वटै सुरक्षा निकायका प्रहरी नायब महानिरीक्षक डिआइजी सम्मिलित बैठकले रातिको समयमा सप्तकोशी नदीमा मोटरबोट तथा डुंगा सञ्चालनमा रोक लगाइने निर्णय पनि गरेको छ ।

सप्तकोशी नदीमा पानीको बहाब बढेपछि एक महिनायता मोटरबोट तथा डुंगा सञ्चालन भएका छैनन् । बहाब घटेपछि सप्तकोशी नदीमा रातिको समयमा मोटरबोट, ढुंगा तथा अन्य साधनहरु सञ्चालनमा रोक लगाइने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

पछिल्लो समय पूर्वी पहाडी जिल्लाबाट गाँजा लगायतका लागूऔषधको ओसारपसार सप्तकोशी नदीको जलमार्गबाट बढेको भन्दै कारोबारीलाई नियन्त्रणमा लिन नदी आसपासकाका जिल्लामा खटिने सुरक्षाकर्मीलाई गोली हान्न सक्ने सम्मको अधिकार दिइएको प्रजिअ तिवारीले जानकारी दिए ।

लागूऔषध कारोबारीले मोटरबोट, डुंगा, ट्युब र बांसको चाङभित्र लुकाएर गांजा भारत तर्फ तस्करी हुने गरेको छ । तस्करहरुले रातिको समय र बिहान फिसमिसेमा बढीजसो तस्करी गर्ने गरेको सुरक्षाअधिकारीहरुको भनाई छ ।

प्रकाशित : असार ३१, २०८१ १८:०२
x
×