उदयपुरमा कृषि, स्वास्थ्य र पूर्वाधारमा चुनौती

खानेपानीको चरम अभाव, अस्पतालको सीमित सेवा, घट्दो कृषि उत्पादन, विद्यालय छाड्ने समस्या र विमानस्थल निर्माण अलपत्र जस्ता समस्याले उदयपुर जिल्लाका बासिन्दाको दैनिक जनजीवनमा प्रत्यक्ष असर पुगेको छ ।

फाल्गुन १९, २०८२

राकेश नेपाली

Challenges in agriculture, health and infrastructure in Udayapur

What you should know

उदयपुर — कोशी प्रदेशको उदयपुर जिल्ला पहाड, बेंसी, टार र तराई समेतको भू–भाग समेटिएर बनेको छ । २०६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको जिल्लाको उत्तरमा भोजपुर, खोटाङ र ओखलढुंगा, पश्चिममा सिन्धुली र धनुषा, दक्षिणमा सिरहा र सप्तरी तथा पूर्वमा सुनसरी र धनकुटा रहेको छ ।

यस जिल्लामा महाभारत पर्वत श्रृंखला र पातलिएका बस्ती छन् भने महाभारत फेदिदेखि चुरे श्रृंखला बीचमा समथर फााट र दक्षिणी सिमाना चुरे क्षेत्रमा घना जंगल रहेको छ । त्रियुगा नदीको किनारमा चुरे र महाभारतको बीचमा रहेका भित्री मधेशका फााटमध्ये त्रियुगा नगरपालिका त्रियुगा उपत्यकाको नामले पनि चिनिन्छ । यही नगरपालिकामा अवस्थित गाईघाट (बोक्से) मा सदरमुकाम रहेको यो जिल्ला समुऽ सतहबाट ३६० मिटरदेखि २३१० मिटर उचाइसम्म रहेको छ । उदयपुरमा चार गाउापालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेका छन् । 

तथ्याकं कार्यालय उदयपुरका अनुसार हाल उदयपुरको जनसंख्या ३ लाख ४२ हजार ७ सय ७३ पुगेको छ । २०६८ को जनगणना अनुसार उदयपुरमा २५ हजार २ सय ४१ जना जनसङ्ख्या बृद्धि भएको हो । ०६८ मा उदयपुरको जनसंख्या ३ लाख १७ हजार ५ सय ३२ थियो । सेवासुविधाका लागि सहरतिर बसाइँ सर्ने क्रम बढेकाले पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दै गए पनि सहरी तथा तराई क्षेत्रको जनसङ्ख्या भने बढ्दै गएको छ । अहिले जिल्लामा महिलाको संख्या १ करोड ७७ लाख ७ सय ३९ र पुरुष १ करोड ६५ लाख ३४ रहेको छ ।  
जिल्लामा सबभन्दा बढी त्रियुगा नगरपालिकामा १ लाख ४ हजार ३ सय ७५ जनसङ्ख्या रहेको छ ।

सदरमुकामसमेत रहेको यस नगरपालिकामा २३ हजार १ सय ३८ घरधुरी छन् भने परिवार संख्या २५ हजार ९ सय २८ पुगेको छ । यस नगरपालिकामा महिलाको संख्या ५४ हजार ८ सय ६१ र पुरुषको संख्या ४९ हजार ५ सय १४ मात्र छ । 

कटारी नगरपालिकाको जनसङ्ख्या ६० हजार १ सय ६८ रहेको छ । १२ हजार ८ सय ४३ घरधुरी र १४ हजार २ सय ९६ परिवार सङ्ख्या रहेको कटारीमा ३० हजार ९ सय १८ जना महिला र २९ हजार २ सय ५० जना महिला रहेका छन् । १२ हजार १ सय ६२ घरधुरी रहेको चौदण्डीगढी नगरपालिकाको जनसंख्या ५३ हजार ५ सय ३७ रहेको छ । १२ हजार १ सय ७० परिवार सङ्ख्या रहेको यहाँ २८ हजार १ सय ४८ महिला र २५ हजार ३ सय ८९ जना पुरुष रहेका छन् । ११ हजार ६ सय ३३ घरधुरी र १२ हजार १ सय ७० परिवार संख्या रहेको बेलका नगरपालिकामा ५१ हजार ४ सय ५८ जनसंख्या पुगेको तथ्याकं कार्यालयले जनाएको छ । यहाा महिलाको संख्या २६ हजार ८ सय २७ र पुरुष २४ हजार ६ सय ३१ जना रहेको छ । 

गाउँपालिकातर्फ भने सबभन्दा बढी उदयपुरगढीमा जनसङ्ख्या रहेको छ । ६ हजार ६ सय ५० घरधुरी संख्या रहेको यहाँ ६ हजार ८ सय १० परिवार संख्या रहेको छ । १४ हजार ८ सय ३६ महिला र १३ हजार ९३ पुरुष रहेको उदयपुरगढीको जनसङ्ख्या २९ हजार ९ सय २९ पुगेको तथ्यांक कार्यालयले जनाएको छ ।

रौतामाई गाउँपालिकामा १० हजार ४ सय १ महिला र १० हजार १७ पुरुष गरी २० हजार ४ सय १८ जनसंख्या रहेको छ । २ हजार ८ सय ४३ घरधुरी संख्या रहेको ताप्ली गाउँपालिकाको जनसंख्या १३ हजार ३ सय १७ रहेको छ । २ हजार ८ सय ८४ परिवार संख्या रहेको यहाँ महिला ६ हजार ७ सय २९ र पुरुष ६ हजार ६ सय ४८ पुगेको छ । ४ हजार ९ सय ५२ महिला र ४ हजार ८ सय ३७ पुरुष रहेको लिम्चुङबु्ङ गाउँपालिकाको जनसंख्या ९ हजार ७ सय ८९ छ । २ हजार २ सय २९ घरधुरी संख्या रहेको लिमचुङबुङमा २ हजार २ सय ५७ परवार संख्या रहेको छ ।

दुई वटा संघीय निर्वाचन क्षेत्र रहेको उदयपुरमा २ लाख ३८ हजार ९ सय २६ मतदाता रहेका छन् । ७५ वटा वडा रहेको यस जिल्लामा १०३ मतदानस्थल र २ सय ७५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

Challenges in agriculture, health and infrastructure in Udayapur

त्रियुगा, चौदण्डीगढी र बेलका गरी तीन नगरपालिका रहेको उदयपुर–१ मा ३५ वटा वडा छन्, जसमा ५२ मतदानस्थल र १ सय ६० मतदान केन्द्र रहेका छन् । ताप्ली, लिम्चुङबुङ, उदयपुरगढी र रौतामाई गाउँपालिका तथा कटारी नरगपालिका गरी ५ स्थानीय तह रहेको उदयपुर–२ मा ४० वडा रहेका छन् । क्षेत्र नम्बर १ मा कुल १ लाख ४२ हजार ८ सय ४ मतदाता रहेकोमा पुरुष मतदाताको संख्या ७१ हजार ४ सय ५२ र महिला मतदाताको संख्या ७१ हजार ३ सय ५० र अन्य २ जना रहेको जिल्ला निर्वाचन अधिकृत दिपक दाहालले बताए ।

तराई, भित्रि मधेस र पहाडी क्षेत्र मिलेर बनेको उदयपुरका बासिन्दा मुख्यतया धान, मकै, गहुँ, तोरी, आलु, सुन्तला, कागती खेती तथा पशुपालन, साना तथा मझौला उद्योग, व्यापारलगायतका पेशा व्यावसाय गर्छन् । सिँचाइको अभावमा उदयपुरमा पछिल्ला वर्षमा धान उत्पादन घट्दै गएको छ । कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार आर्थिक वर्ष ०८२/८३ मा जिल्लामा १२ हजार ९१२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ३१ हजार ३१८ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लामा कुल खेतीयोग्य जमिन २२ हजार २१० हेक्टर रहेकोमा १३ हजार ११२ हेक्टरमा बर्खे धान खेति गर्ने गरिएको कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्रप्रसाद यादवले बताए । वरिष्ठ कृषि अर्थविज्ञ समेत रहेका उनले सिँचाइको अभाव र जलवायु परिवर्तनको असरका कारण धान उत्पादन घट्दै गएको बताए । उनका अनुसार आर्थिक वर्ष ०८१/८२ को तुलनामा चालू आर्थिक वर्षमा १८ हजार २७५ मेट्रिक टन धान उत्पादनमा कमी आएको हो । रोपाइँको समयमा पानी नपर्ने र सिँचाइको अभावका कारण धान उत्पादन घट्दै गएको उनले बताए । 

आर्थिक वर्ष ०७९/८० मा १३ हजार ३८० हेक्टरमा धान खेती हुँदा ५३ हजार ५२० मेट्रिक टन उत्पादन भएको थियो । ०८०/८१ मा १२ हजार ७९३.९५ हेक्टरमा खेती गर्दा ५१ हजार १७५.८ मेट्रिक टन धान उत्पादन भएको थियो । ०८१/८२ मा १३ हजार ३२६ हेक्टरमा ४९ हजार ५७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र उदयपुरको तथ्यांक छ । जिल्लामा ५ हजार हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको र बाँकी आकाशे पानीको भर पर्नुपर्ने ज्ञान केन्द्र प्रमुख यादवले बताए । 

सुन्तला उत्पादनमा बृद्धि
पछिल्ला वर्षमा उदयपुरमा सुन्तला उत्पादनमा बृद्धि भएको तथ्याकंले देखाएको छ । चालु आर्थिक वर्षमा ६ सय ३२ हेक्टर क्षेत्रफल जमिनमा सुन्तला खेती गरिएकोमा ३ हजार ९ सय ९५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । ज्ञान केन्द्रकी सूचना अधिकारी संगिता ज्ञवालीका अनुसार गत आर्थिक वर्ष ६ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा ३ हजार ५ सय १० मेट्रिक टन उत्पादन भएको थियो । चालु वर्ष क्षेत्रफल जमिन २ हेक्टरले मात्र बढे पनि उत्पादन भने ४ सय ८५ मेट्रिक टनले वृद्धि भएको ज्ञवालीले बताइन् । 

Challenges in agriculture, health and infrastructure in Udayapur

यस वर्ष करिब २८ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री वितरण भएको कार्यालयले जनाएको छ । उत्पादन हुने ३० प्रतिशत जति सुन्तला किसान आफैले खपत गर्ने र ७० प्रतिशत जति बजार जाने गरेको ज्ञान केन्द्रको तथ्याकंमा उल्लेख छ । आधुनिक प्रविधि, मलखाद, बोट व्यवस्थापन, रोगकीरा नियन्त्रणका लागि सरकारले सहयोग गरे उत्पादन अझ बढ्न सक्ने किसानहरुको भनाई छ । जिल्लाको कटारी नगरपालिकाको पहाडी भूभाग, लिम्चुङबुङ, ताप्ली र रौतामाई गाउँपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रुपमा सुन्तला खेती हुँदै आएको छ ।  

मूल्यमा सधैं स्थिरता, भण्डारण सुविधाको अभाव, ढुवानी खर्च बढी लाग्ने कारणले सोचे अनुसार आम्दानी गर्न नसकिएको किसानहरुले गुनासो गरेका छन् । सुन्तलासँगै यहाँका स्थानीय व्यावसायिक कागती खेतीमा आकर्षित भएका छन् । उदयपुरको ताप्ली गाउँपालिका–५ केराबारीका पारसमान मगरले व्यावसायिक रुपमा कागती खेतिी गर्न थालेको ३ वर्ष भयो । यस वर्ष मात्रै आफूले ३ लाख बराबरको कागती बिक्रि गरेको उनले बताए । ‘पहिला जस्तो सुन्तला उत्पादन हुन छाडेपछि कागती खेती सुरु गरेको हुँ, स्याहार गर्न सकियो भने कागतीबाट पनि राम्रो आम्दानी हुने रहेछ,’ उनले भने ।

उनी आफुले उत्पादन गरेको कागती बिक्रीका लागि कटारी, गाईघाट, सिरहाको लहान, मिर्चैया, काठमाडौंलगायतका सहरमा पुग्ने गरेको छ । ‘ताप्लीको कागतीको भनेर बेग्लै ब्राण्ड बनाएर बिक्री गर्ने गरेको छु, कोलमा पेलेर चुक बनाएर पनि बेच्ने गरेको छु,’ उनले भने । स्थानीय कृषकहरुलाई स्थानीय सरकार तथा सरोकारवाला निकायले अनुदान तथा उत्कृष्ट कृषकको रुपमा प्रोत्साहन गर्नुपर्ने उनले बताए । 

कृषकहरुले उत्पादन गरेको तरकारी, फलफुल, पशुपालन तथा दुग्धजन्य पदार्थहरु बजारसम्म पुर्‍याउन ताप्ली गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर संचालनमा ल्याइएको छ । गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाको ५१ लाख बजेट मार्फत २ वटा कृषि एम्बुलेन्स खरिद गरिएको छ ।

खेतबारी बाँझै, घट्दै उत्पादन 
गाउँका युवाहरु रोजगारीका लागि विदेशिन थालेपछि खेतीयोग्य जमिन बाँझै रहन थालेको छ । जिल्लाका पहाडी क्षेत्रका मानिसहरु अवसरको खोजीमा सहरतिर बसाइँ सर्ने गरेकाले गाउँको जमिन बाँझो हुन थालेको हो । पहाडी क्षेत्रमा बढीजसो उत्पादन हुने मकै, कोदोलगायतका बाली अचेल कमै मात्र लगाउने गरिएको पाइन्छ ।

उदयपुरगढी गाउँपालिका–४ ढुङ्ग्रेकी सितामाया मगर उमेरले ७० वर्ष लागिन् । छोराछोरीहरु सबैको बिहे भएर सहर बसाइँ सरिसके । उनी अहिले पनि आफ्नो बारीमा लगाइएको कोदो स्याहार्न व्यस्त छिन् । ‘अहिलेका केटाकेटीले कोदो मन पराउँदैनन्, पहिला हाम्रा खाना, खाजा सबै यही हुन्थ्यो, अहिलेकाले चामलबाहेक अरु मन पराउँदैनन्,’ उनी भन्छिन्, ‘अहिले त गाउँमा काम गर्ने जनशक्ति पनि छैन, केटाकेटी र बुढाबुढी मात्र हुन्, युव जति रोजगारीका लागि अन्यत्र छन्, अनि कसरी उत्पादन हुन्छ ?,’ 

१० वर्ष अगाडिसम्म जिल्लामा ७ हजार ८५० हेक्टर क्षेत्रफलमा कोदो उत्पादन हुँदै आएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा २ हजार ७६८ हेक्टर क्षेत्रफलमा मात्र कोदो खेती भएको कृषि ज्ञान केन्द्र उदयपुरकी सूचना अधिकारी संगिता ज्ञवालीले बताइन् । उनका अनुसार यस वर्ष सरदर २ हजार ६५० हेक्टरमा कोदो खेती भएको र झण्डै ४ हजार ७७० मेट्रिकटन मात्र उत्पादन भयो । २०६० सालसम्म उदयपुरमा लगभग १० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा कोदो खेती हुने गरेको ज्ञान केन्द्रको तथ्याकंमा उल्लेख छ । यहाँ कोदोको ढिंडो, रोटी, छ्याङ, तोङ्वालगायतका परिकार प्रख्यात छन् । 

चुरे र महाभारत पर्वतको बीच भाग भएर संचालनमा आएको मदन भण्डारी लोकमार्गले उदयपुरको अर्थतन्त्रमा राम्रो टेवा पुर्‍याएको छ । कटारीदेखि गाईघाट हुँदै बेलकाको चतरासम्म बाँस र टिनको छानो हालेर बनाएका टहराबाट गरिएको व्यावसायदेखि सुविधासम्पन्न होटल, रेस्टुरेन्ट संचालन भएका छन् । मदनभण्डारी लोकमार्गकै कारण बेल्टार, रामपुर जस्ता साना बजार पनि सहरोन्मुख हुन थालेको र उल्लेख्य मात्रामा आर्थिक कारोबार हुने गरेको व्यावसायीहरुको भनाई छ । 

Challenges in agriculture, health and infrastructure in Udayapur

काठमाडौंबाट पूर्व जाने निजी तथा सार्वजनिक सवारीसाधन बर्दिबास हुँदै घुमाउरो बाटो जानुको सट्टा भिमान–कटारी–गाईघाट–चतराको छोटो बाटो प्रयोग गर्दै आएका छन् । जसका कारण यात्रुले खाना, खाजा खाने स्थलका रुपमा यहाँका होटल, रेस्टुरेन्ट पर्ने गरेका छन् । लोकमार्गको छेउछाउमा होटल, रेस्टुरेन्ट संचालन गर्ने क्रम बढ्दै गए पनि यात्रुहरुलाई एकदिन उदयपुर नै राख्ने संरचना बनाउन नसकिएको होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका महासचिव ईश्वर राईले बताए । कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका तथा उदयपुरगढी गाउँपालिका क्षेत्रमा यो लोकमार्गले ठूलो परिवर्तन ल्याएको मुकुर्चीस्थित क्वालिटी होटलका सञ्चालक रमेश कार्कीले बताए । होटलहरुले जिल्लामा उत्पादन हुने कृषिजन्य उत्पादनहरु यही खपत हुने अवस्था सिर्जना भएको र होटलहरुले तिर्ने करले जिल्लाको अर्थतन्त्रमा समेत टेवा पुर्‍याएको बेलका नगरपालिकाकी उपमेयर जिरा राईले बताइन् ।

जिल्ला अस्पतालको भेन्टिलेटर र अक्सिजन प्लान्ट प्रयोगविहीन
जिल्ला अस्पतालमा रहेको भेन्टिलेटर र आइसीयू संचालनमा नहुँदा स्थानीय सेवाबाट बञ्चित छन् । दक्ष जनशक्ति र स्रोतसाधनको अभावका कारण ४ बेडको आइसीयू र २ बेडको भेन्टिलेटर प्रयोगमा नआउँदा बिरामी धरान, विराटनगरलगायत अयन्त्र जान बाध्य छन् । अस्पताल प्रशासनका अनुसार २०६७ सालदेखि २५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सञ्चालन गरिएको थियो ।

अहिले अस्पतालमा बिरामीको चाप बढेसँगै व्यवस्थापनमा समस्या हुन थालेको  अस्पताल प्रशासनले जनाएको छ । अस्पताललाई १५० शय्याको बनाउन २ वर्षअघि नै प्राविधिक सर्वेक्षण गरेर डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरेर सरकारसँग बजेट माग गरेको थियो । तर, अहिलेसम्म अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरिदिएको जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माले बताए ।

दैनिक १ हजार ५ सयदेखि २ हजारसम्म बिरामी आउने उदयपुरको अस्पतालको क्षमता बृद्धि नहुँदा बिरामी बढेका बेला भूइँमा सुताएर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिरेन्द्रकुमार मण्डलले बताए । ‘गर्मी महिनामा ज्वरो, टाईफाईड, निमोनिया, डेगीं, औलोलगायतका बिरामीको सङ्ख्या उच्च हुन्छ, सामान्य खालका बिरामीलाई औषधि र आवश्यक परामर्श दिएर घर पठाउने गरिएको छ तर जटिल खालका बिरामी भए भूँइमै सुताएर पनि उपचार गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

कोरोनाकालमा कोशी प्रदेश सरकारको ७९ लाख लागतमा जिल्ला अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्ट बिग्रिएको ३ वर्ष बितिसक्दा समेत मर्मत हुन सकेको छैन । जिल्लाको बेलका नगरपालिकामा रहेको अक्सिजन प्लान्ट समेत संचालनमा नहुँदा लहान, विराटनगरलगायतका स्थानबाट प्रतिसिलिन्डर ७०० तिरेर अक्सिजन ल्याउनुपर्ने बाध्यता छ ।

कोभिडको समयमा चौदण्डीगढी नगरपालिका–७ सातधारेमा निर्माण गरिएको अस्पताल हाल प्रयोगविहीन छ । अक्सिजन प्लान्टको बिग्रिएको सामान फेर्न ७ लाख लाग्ने र चीनबाट ल्याउनुपर्ने भएकाले मर्मत नगरिएको अस्पतालका प्रशासनको भनाई छ । अक्सिजन प्लान्टको क्षमता थप गर्न ५० लाख भन्दा बढी खर्च लाग्ने र पुरानो मर्मत गर्न समेत महंगो भएकाले बाहिरबाटै अक्सिजन ल्याएर काम चलाउने गरिएको अस्पतालका मेसु मण्डलले बताए । जिल्ला अस्पतालमै ९८ प्रकारका नि:शुल्क पाउनुपर्नेमा ५० देखि ६० प्रकारका औषधि मात्र पाइने गरेको अगुगमनका क्रममा देखिएको छ ।

जिल्लाका बर्थिङ सेन्टरहरुमा खानेपानीको अभाव, दुर्गन्धित शौचालय तथा पुराना उपकरणका कारण सेवा लिन आउने महिलाले समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ । भौगोलिक बिकटताको कारण बाह्रै महिना यातयातका साधन संचालन हुन नसक्दा पहाडी क्षेत्रका बासिन्दा स्वास्थ्य तथा प्रसूति सेवाबाट बञ्चित हुनुपरेको छ । जिल्लामा तीन वटा अस्पताल, १ सय ५६ प्राथमिक स्वास्थ्य केन्द्र, ४१ स्वास्थ्य चौकी छन् । २ सय ४३ वटा खोप केन्द्र छन् । 

अस्पताल निर्माणको काम सुस्त
संघीय सरकारले २०७७ मंसिर १५ मा एकैसाथ शिलान्यास गरेको अस्पताल निमार्णको गति सुस्त देखिएको छ । जिल्लामा पहिलो र दोस्रो चरण गरी ६ स्थानीय तहमा अस्पताल निर्माण सुरु गरिएको थियो । बेलका नगरपालिका–६ को जंगल क्षेत्रमा १० शय्याको अस्पताल भवन निर्माण कार्य अझै सकिएको छैन ।

सामुदायिक वनले दिएको मुद्दामा अदालतबाट तत्काल भवन निमार्ण सुरु नगर्न अन्तरिम आदेश आएकाले समयमै निर्माण कार्य नसकिएको नगरप्रमुख अशोक कार्कीले बताए । अदालतबाट कानुनी उल्झन सकिएर अहिले जग्गा प्राप्ति भइसकेको र टेन्डरको प्रक्रियामा रहेको मेयर कार्कीले बताए ।

चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा बन्दै गरेको १५ शय्याको अस्पतालको निर्माण कार्य ६५ प्रतिशत मात्रै भएको छ । ८ कठ्ठा ऐलानी जग्गामा निर्माण भइरहेको ३ तल्ले भवन निर्माणको काम अन्तिम चरणमा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताए । २०८० असार मसान्तसम्म निर्माण सक्ने गरी १३ करोड रुपैयाँमा भवनको ठेक्का लागेको थियो । बजेट अभाव र बिभिन्न प्राविधिक कारण देखाउँदै रोकिएको काम तीव्र गतिमा भइरहेको नगरप्रमुख कालुमान लामाले बताए ।

लिम्चुङबुङ गाउँपालिका–३ बाराहामा निमार्णधीन ५ शय्याको अस्पताल भवन निर्माण सकिएर संचालनमा आएको छ । स्थानीय लालबहादुर कार्कीले १९ रोपनी जग्गा निशुल्क उपलब्ध गराएपछि अस्पतालको नाम नै एलबी कार्की स्मृति बाराहा अस्पताल राखिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुष्पलाल राईले बताए । 
ताप्ली गाउँपालिका–५ कटहरेमा ५ शय्याको अस्पताल भवन निमार्णको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्माले बताए । भौतिक संरचना निर्माण र रंगरोगनको काम सकिएको र वायरिङलगायतका काम मात्र बाँकी रहेको उनले बताए । स्थानीयले चन्दा संकलन गरी चक्रबहादुर हमालको १० रोपनी जग्गा खरिद गरी पालिकालाई हस्तारन्तरण गरेका थिए । रौताहा कन्ट्रक्सनले ६ करोडमा ठेक्का लिएको भवन निर्माण सकिएर हस्तारन्तरण गर्न बाँकी रहेको पालिका अध्यक्ष विकले बताए । 

उदयपुरगढी र रौतामाई गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणको काम ६० प्रतिशत आसपास सकिएको छ । यता त्रियुगा नगरपालिकामा भने त्रियुगा नगरपालिका–५ देउरीमा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाइएको छ । नगरप्रमुख बसन्त बस्नेतले एक कार्यक्रमका बीच गत असोज ३ मा उद्घाटन गरेको नगर अस्पतालबाट ओपिडी, ईमरजेन्सी, ल्याबका साथै केही विशेषज्ञ सेवा दिइने जनस्वास्थ्य अधिकृत उपेन्द्र कार्कीले बताए ।

पहाडी क्षेत्रमा खानेपानीकै समस्या
जिल्लाका ताप्ली, लिम्चुङबुङ, रौतामाई लगायत पहाडी क्षेत्रका बासिन्दाले पानीको समस्या भोग्दै आएका छन्। स्थानीय खोलानाला, कुवा पँधेराबाट खानेपानी उपभोग गर्दै आएकोमा ०७२ सालको भूकम्पपछि पानीका मुहानहरु सुक्दा त्यसक्षेत्रका बासिन्दाले खानेपानीका लागि सास्ती सास्ती भोग्नुपरेको छ ।

Challenges in agriculture, health and infrastructure in Udayapur

उदयपुरमा खानेपानीकै समस्या कारण बसाइँ सर्नेहरु १३.९ प्रतिशत रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ । गाउँमा खानेपानीका लागि ३ घण्टासम्म पैदल जानुपरेको स्थानीयको गुनासो छ । बिहान ५ बजे उठेर खानेपानीको जोहो गर्न डेढ घण्टा टाढा रहेको कुवामा पानी लिन जानुपरेको र खानेपानीकै लागि दैनिक ३ घण्टा समय निकाल्नुपर्ने बाध्यता रहेको छ । पानीकै जोहोको कारणले यहाँका बालबालिकाले धेरै पटक विद्यालय छुटाउनु परेको छ । जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थल ताप्ली पाखरी आसपासका बासिन्दाले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । 

सुनकोसी लिफ्टिङ खानेपानी आयोजना मार्फत जिल्लाको रौतामाई, ताप्ली र लिम्चुङबुङ गाउँपालिकाका बासिन्दालाई स्वच्छ खानेपानी पुऱ्याउने लक्ष्यका साथ काम अघि बढाइएकोमा ठेकेदार कम्पनीको लापरबाहीका कारण बीचमै काम अलपत्र परेको छ ।

उक्त आयोजना नेपाल सरकारको १ अर्ब ५८ करोड, ९६ लाख ५५ हजार १८४ रुपैयाँको लागतमा आगामी २०८२ असार ३० सम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएकोमा म्याद सकिँदासम्म आधा भन्दा बढी काम भएको छैन । सुनकोसी खानेपानी आयोजनाको स्किम १ बाट लिम्चुङ्बुङ गाउँपालिका १ देखि ५  सम्म र रौतामाई गाउँपालिकाको १ देखि ३ वडाका ३ हजार २७२ घरधुरी खानेपानीको सुविधा उपभोग गर्न पाउने गरी काम अघि बढेको थियो ।

यस्तै, योजनाको स्किम २ अन्तर्गत ताप्ली गाउँपालिका १ देखि ५ सम्मका ३ हजारभन्दा बढी घरधुरीका १७ हजार ८७९ जना उपभोक्ताले ६ हजार ३२७ वटा धारामार्फत स्वच्छ खानेपानीको सुविधा उपभोग गर्न पाउने गरी सुरु भएको योजना हाल अलपत्र अवस्थामा रहेको छ । तीन वटै पालिकाको ६ हजार ३२७ घरधुरीका कुल ३७ हजार २० जना उपभोक्तालाई लक्षित गरी आयोजना तयार पारिएको विराटनगरस्थित कार्यालयका फिल्ड इन्जिनियर सुजित महतोले बताए ।

आयोजनाका लागि सरकारले थप बजेट सुनिश्चित नगरिदिएकाले बाँकी काम अलपत्र परेको आयोजना प्रमुख चोकप्रसाद धितालले बताए । ‘खानेपानी लिनकै लागि ३ घण्टा हिँड्नुपर्छ, गाग्रीमा पानी बोकेर उकालो आउँदा खुट्टा फतक्क गल्छन्,’ कटारी नगरपालिका–१० राम्चेकी ६२ वर्षीया विष्णुमाया परियारले भनिन् । सात वर्षको उमेरदेखि अहिलेसम्म उनले खानेपानीकै लागि दैनिक ७ घण्टा समय खर्चिदै आएको बताइन् । ‘अब त बुढेसकाल लाग्यो, शरीरले पनि साथ दिन छाड्यो, राम्रोसँग हिँड्न सक्दिन,’ उनी दुखेसो पोख्छिन् । 

विष्णुमायासहित राम्चेका १०४ घरपरिवार खानेपानीकै लागि ३ घण्टाको ओरालो बाटो हिँडेर सुनकोसी नदी पुग्नुपर्छ । ‘आफुलाई खान, गाईबस्तुलाई दिन, थालभाँडा माझ्न, शौचालयका लागि दिनमा ३/४ चोटी पानी बोक्नुपर्छ, कुवामा पालो पर्खिनुपर्छ,’ राम्चेकी धनकुमारी परियारले भनिन् । ‘यही ठाउँमा जन्मिए, हुर्किए । अब बुढेसकालमा कहाँ बसाइँ जानु ?’ खानेपानीकै लागि आधा दिन खर्चिनुपर्ने बाध्यताका कारण राम्चेबाट धेरै स्थानीय बासिन्दा अन्यन्त्र बसाइँ सरेर गएको उनले बताइन् । 

निर्वाचनका बेला सबै उम्मेद्वारले राम्चेमा खानेपानी पुर्‍याउने चुनावी नारा बनाउने गरे पनि चुनाव जितेपछि सबैले बेवास्ता गर्ने गरेको राम्चेबासीको गुनासो छ । राम्चेकी नरमाया सुनुवार भन्छिन्, ‘वडा, नगरपालिका, प्रदेश, केन्द्र सबै तहको निर्वाचनका उम्मेद्वारहरुले यहााको खानेपानी समस्या समाधान आफ्नो पहिलो प्राथमिकतामा छ भनेर भाषण गर्छन्, तर चुनाव जितेर गएपछि कोही फर्केर आउँदैनन् ।’ 

पानीको स्रोत भन्दा धेरै माथि बस्ती भएका कारण राम्चेमा खानेपानी पुर्‍याउन नसकिएको कटारी नगरपालिका १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए । ‘सोरुङ खोलाबाट राम्चेमा खानेपानी पुर्‍याउन नगर र प्रदेश स्तरबाटै प्रयास भयो तर धेरै उकालो र अत्याधिक दुरी टाढा भएका कारण सफल भएन,’ उनले बताए । ‘जनताको सबैभन्दा नजिकको जनप्रतिनिधि वडाध्यक्ष भएकाले सबैभन्दा बढी गाली मैले नै खानुपर्छ, वडाको बजेटबाट सम्भव छैन, प्रदेश र केन्द्र सरकारले चासो देखाएनन्,’ उनले भने । 

राम्चेमा खानेपानी पुऱ्याउन २०७९ सालबाटै सुरु गरिएको सुनकोसी लिफ्टिङ योजनाका संरचना गत वर्ष असोज ११ को बाढीले बगाएका कारण काम प्रभावित भएको कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले बताए ।  

विद्यालय छाड्ने समस्या
जिल्लाका पहाडी तथा ग्रामीण क्षेत्रका विपन्न परिवारका बालबालिका बीचमै विद्यालय छाड्ने गरेका छन् । कक्षा ८ देखि माथिल्लो कक्षाका विद्यार्थी पढाइ छाडेर कामको खोजीमा काठमाडौं, विराटनगर, पोखरालगायतका सहतिर जाने गरेको पाइएको छ । जिल्लाको ताप्ली, रौतामाई, उदयपुरगढी, लिम्चुङबुङ र कटारी नगरपालिकाको माथिल्लो क्षेत्रमा कक्षा छाड्ने समस्या रहेको स्थानीय तहको तथ्याकंमा उल्लेख छ ।

जिल्लामा ३ सय ३३ आधारभूत तह र १ सय १५ माध्यमिक विद्यालय छन् । जिल्लामा अपाङ्गतामैत्री विद्यालयको सङ्ख्या नौ वटा छ । पहाडी क्षेत्रका बालबालिका अहिले पनि १ देखि डेढ घण्टा हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ । वर्षातको समयमा खोलानाला र बाढीपहिरोका कारण बालबालिकाको पढाइ प्रभावित हुने गरेको छ। पहाडी क्षेत्रका विद्यालयमा स्वच्छ खानेपानी, बालमैत्री शौचालय, अपाङ्गमैत्री कक्षाकोठा, विज्ञान प्रयोगशाला, पुस्तकालय तथा कम्प्युटर ल्यावको पर्याप्त सुविधा नरहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) प्रकाशन गरेको रिपोर्टमा उल्लेख गरिएको छ । 

Challenges in agriculture, health and infrastructure in Udayapur

विमानस्थल निर्माणको नाममा १०५ हेक्टर वन विनास, ४ वर्षदेखि गौचरन  
विमानस्थल निर्माणका लागि १ सय ५ हेक्टर वन क्षेत्रमा रुख काटिएको ४ वर्ष बितिसक्दा समेत विमानस्थल बन्ने टुंगो छैन । उदयपुरको त्रियुगा नगरपालिका १ र २ मा पर्ने शिवालय धार्मिक वन, कंग सामुदायिक वन र मोतिहायी सामुदायिक वनको १५६.११ हेक्टर क्षेत्रफलमा सगरमाथा विमानस्थल निर्माण गर्ने भन्दै वन फँडानी गरिए पनि यो ठाउँ घाँसे मैदानमा परिणत भएको छ । 

सगरमाथा आन्तरिक विमानस्थलको भौतिक पूर्वाधार निर्माणका लागि १५६.११ हेक्टर वनक्षेत्र खाली गर्न अनुमति दिएको डिभिजन वन कार्यालय गाईघाटका प्रमुख घनेन्द्र श्रेष्ठले बताए । वनका काटिएका काठ सामुदायिक वन समूह मार्फत स्थानीय उपभोक्ताले समेत लिएको र त्यसभन्दा बढी काठ अन्यत्र बिक्रि गरिएको बताइएको छ । विमानस्थल निर्माण क्षेत्रमा अझै पनि काठ यत्रतत्र राखिएका छन् । लामो समयदेखि घाँसे मैदानमा वेवारिसे अवस्थामा राखिएका काठ नष्ट हुन थालेका छन् । फँडानी भएका बेला कति मात्रामा काठ उपभोक्तालाई वितरण गरियो र कति मात्रामा बिक्रि भयो भन्ने एकिन विवरण सामुदायिक वन र डिभिजन वन कार्यालय दुवैसँग तथ्यांक छैन ।

गौचरनमा परिणत भएको चौर अहिले संरक्षणको अभावमा अतिक्रमणको जोखिममा परेको छ । डिभिजन वन कार्यालयका गाईघाटले उक्त जग्गा नागरिक उड्ययन प्राधिकरणको नाममा गइसकेको भने पनि मालपोत कार्यालय उदयपुरका प्रमुख डुविन्द्रप्रसाद बरालले सगरमाथा विमानस्थलको नाममा जग्गा दर्ता नभएको बताए । ‘मालपोत कार्यालयमा अभिलेख रहने गरी सो ठाउँको जग्गा दर्ता भएको छैन,’ उनले भने । रुख काटेर उजाड भएको घाँसे मैदानको स्वामित्व नागरिक उड्ययन प्राधिकरणलाई हस्तारन्तण भइसकेकाले संरक्षणको जिम्मा पनि उसैको भएको डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले बताए ।

उनका अनुसार २०७८ माघ २४ मा वन ऐन २०७६, वन नियमावली २०५१ तथा राष्ट्रिय प्रथामिकता प्राप्त योजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने सम्बन्धी मापदण्डसहितको कार्यविधि २०७६ अनुसार नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वन तथा भूसंरक्षण विभाग र नेपाल नागरिक उड्यान प्राधिकरणविच सम्झौता भएपछि वन क्षेत्रका रुख काटिएको हो ।

तत्कालीन सरकारले बिना योजना हचुवाको भरमा विमानस्थल बनाउने भन्दै ठूलो परिमाणमा वन फँडानी गरेपछि यो क्षेत्र अहिले घाँसे मैदानमा परिणत भएको स्थानीयहरुले आरोप लगाएका छन् । सगरमाथा विमास्थल निर्माणको लागि स्थानीयस्तरबाट सहयोग गर्न बनेको प्रारम्भिक कमिटिका कोषाध्यक्ष समेत रहेका स्थानीय रुद्र अधिकारीले विमानस्थल निर्माणको प्रारम्भिक चरण ‘प्रि–फिजिविलिटी’ अध्ययन प्रतिवेदनलाई आधार मानेर प्रस्तावित सगरमाथा विमानस्थल निर्माणको नाममा वनक्षेत्र फँडानी गरिएको बताए ।

उम्मेदवारहरुले निर्वाचनका बेला वन फँडानी गराएर विमानस्थल बन्ने आश्वासन बाँड्ने गरेको घाँसे मैदानमा अहिले स्थानीयले गाईभैंसी चराउने गरेको उनले बताए । सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नतेले विनानस्थल योजानको डिपीआर नै नबनाई वन क्षेत्र उजाड बनाउनु दु:खद् भएको बताए । 

उदयपुरको कटारीदेखी घुर्मीसम्म ४६ किलोमिटर सडकको कालोपत्र भत्किएर एक दशकदेखि वर्खामा हिलो र हिउँदमा धुलोको कारण यसक्षेत्रका बासिन्दाले सास्ती भोग्नु परिरहेको छ । धुलोका कारण स्थानीयको स्वास्थ्यमा समेत गम्भीर असर परेको छ । उदयपुर–२ मा पर्ने यो लोकमार्ग भत्किएर जीर्ण भएको दशकौं भए पनि सरोकारवालाको नजर नपरेको पट्नाभञ्ज्याङका लिलबहादुर खत्रीले बताए । 

हिउँदमा हात्ती, बर्खा कोशीको डर
उदयपुरको बेलका नगरपालिका–२ बानडाँडाबाट गिदेरी खोलाको झोलुंगे पुल तरेपछि श्रीलंका टापु पुग्न सकिन्छ । पुल तरेर अलिक पर पुगेपछि बाँसको भाटा र खपटाको छानो भएको घरमा तेत्रु राजवशीं बस्दै आएका छन् । उनको स्थायी ठेगाना भने सुनसरीको प्रकाशपुर हो । तरकारी गोडमेल गरिरहेका राजवंशी भन्छन्, ‘दिनभरी करेसाबारीमा व्यस्त भइन्छ, राति हात्ती आएर सबै सखाप पारिदिन्छ । करेसाबारीमा लगाएको बालीनाली मात्रै हैन मान्छेको घरै भत्काउँछ, कतिको त ज्यान पनि लिइसकेको छ ।’ दिनभरी खेतबारीमा काम गरेर राति आनन्दले सुत्न समेत नपाइने उनले सुनाए । 

हात्तीको आतंक टापुक्षेत्रका बासिन्दाको प्रमुख समस्या हो । यहाँ हिउँदमा हात्ती र बर्खामा कोशीको डर हुने गरेको छ । गिदेरी खोलामा पानीको बहाव बढेपछि झोलुंगे पुलबाट पनि वारपार गर्न सकिँदैन । बर्खामा टापुमा बसोबास गर्नैहरु गाउँमै थुनिन्छन् । त्यसैले उनीहरुले बर्षायाम सुरु हुनुअघि नै आवश्यक खाद्यान्न, नुनतेललगायतका सामग्री खरिद गरिसक्छन् । यो बस्तीबाट प्रसूतिका लागि स्वास्थ्य संस्था पुर्‍याउने सम्भावना पनि त्यो बेला हुँदैन । ‘बर्खामा धेरै महिलाले घरमै बच्चा जन्माउछन्, गाउँकै सुडेनीले त्यो बेला सेवा गर्छन्,’ श्रीलंका टापुस्थित रामनगरमा बसोबास गर्दै आएका सुरज महतोले बताए । ‘स्वास्थ्य चौकी जानको लागि गिदेरी खोला तरेर तीन किलोमिटर टाढा भागलपुर पुग्नुपर्छ, वर्षायाममा त्यो सम्भव हुँदैन’, उनी भन्छन् ।

श्रीलंका टापुमा रामजानकी आधारभूत विद्यालय छ । जहाँ कक्षा ५ सम्म पढाइ हुन्छ । तर विद्यार्थीहरु भने खासै देखिँदैनन् । विद्यालयको प्रांगणमा स्थानीयले गाईभैंसी चराउँछन् । बेलका नगरपालिका–२ स्थित भागलपुर मावि पुग्न टापुक्षेत्रका बालबालिकालाई १ घण्टा समय लाग्छ । परिवारका सदस्यहरु खेतीपातीमै व्यस्त हुने हुँदा छोराछोरीलाई पनि विद्यालय भन्दा खेतबारीकै काममा लगाउने गरेको रामनगरका विजय महतो बताउँछन् । ‘आफुहरु खेतबारीमा व्यस्त हुँदा छोराछोरीले घरको काम गरिदियोस्, खाना पकाईदियोस् भनेर पनि यहाँका अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन रुची राख्दैनन्,’ उनी भन्छन् । 

श्रींलका टापुमा टेलिफोन समेत राम्रो टिप्दैन । भागलपुरमा राखिएको टावरले फोन मात्रै गर्न मिल्ने टुजी सेवा दिइरहेको स्थानीय बताउँछन् । खानेपानीका लागि एकमात्र विकल्प कल हो । हिउँदमा कल सुक्ने समस्याले पनि उनीहरु समस्यामा पर्ने गरेका छन् । टापुमा २ हजार भन्दा बढी घरधुरी रहेको बेलका नगरपालिका–२ का वडाध्यक्ष प्रेम दाहालले बताए । वडाध्यक्ष दाहालका अनुसार रामनगर क्षेत्रमा ३०० जनाको मात्र मतदाता परिचयपत्र छ । त्यसक्षेत्रका बासिन्दा मतदान गर्नका लागि बेलका नगरपालिका–२ स्थित सप्तकोशी माविमा रहेको मतदानस्थल आउनुपर्ने वडाध्यक्ष दाहालले बताए ।

सम्बन्धित अन्य समाचारहरु 

सडक, बिजुली र स्वास्थ्य सुविधाको पर्खाइमा हुम्ली

चितवनका चुनावी मुद्दा : निकुञ्ज, नदी कटान र पूर्वाधार

पूर्वाधार अभावले ओझेल परेको पाल्पाको कृषि र पर्यटन क्षेत्र

अछामको विकासका बाधक : अधुरा पूर्वाधार, बेरोजगारी र बसाइँसराइ

राजधानीसँगै जोडिएको काभ्रेमा विकास भने सहरमै सीमित

अरुणदेखि मकालुसम्म फैलिएको संखुवासभामा अपेक्षित विकास भएन

पूर्वाधारकै अभाव झेलिरहेको कालीकोट

बर्दियामा सधैंको चुनावी एजेन्डा: मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण र मल-बीउको व्यवस्थापन

आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको दोबाटोमा झापा

‘विपन्न’को परिचय फेरिने पर्खाइमा बाजुराबासी

सुनसरीका दुई मुहार: विकसित सहर, पछाडि परेका गाउँ

रामेछापमा जनसंख्या घट्दै, विकासका पूर्वाधार अधुरै

बझाङ: सम्भावनाको खानीभित्र समस्याले जेलिएको जिल्ला

रोजगारी र पूर्वाधार अभावले रित्तिँदै गोरखाका गाउँ

मधेश र हिमाल जोड्ने सेतु बन्दै धनकुटा

मधेशको महोत्तरीमा सधैंको एउटै मार- डुवान र खडेरी

बसाइँसराइ कम हुने डोल्पामा जडीबुटी र पर्यटनको सम्भावना

सुक्खा बन्दरगाह र महाकाली करिडोरले आस देखिरहेको कञ्चनपुर

खेतीमा बाँदरको अवरोध खेपिरहेको बागलुङ मासु चीन निर्यात गर्ने तयारीमा

पूर्वाधारकै अभावमा प्रदेश राजधानी सुर्खेत

बाँदर आतंक र पूर्वाधार अभावले रित्तिँदै स्याङ्जाका गाउँ

विकासका पूर्वाधार बढिरहेको मकवानपुरमा युवा टिकाउन सकस

लुम्बिनीको राजधानी दाङमा विकास अपुग

जाजरकोटमा सडक, रोजगारी, खानेपानी र विद्युतको समस्या उही, भूकम्पपछि थपियो पुनर्निर्माणको एजेण्डा 

 

पूर्वाधार विस्तारले डडेल्धुरामा बसाइँसराइ घट्ने आस

 जलविद्युत र पर्यटनले फेरिँदै लमजुङको मुहार

पर्यटनको प्रशस्त पूर्वाधार बोकेको कपिलवस्तु जहिल्यै सुनसान

तनहुँ: प्राकृतिक, ऐतिहासिक र ग्रामीण पर्यटनको संगम

 

अवसर र चुनौतीको दोसाँधमा कैलाली

बैतडीमा बसाइँसराइकै चुनौती

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully