जैविक विविधता, दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षण, देशकै लामो कर्णाली नदी, बर्दिया राष्ट्रिय निकुञ्ज, धार्मिक–भाषिक विविधता, अन्न भण्डार, विविध धार्मिक पर्यटकीय स्थल, धार्मिक सांस्कृतिक, सहिष्णु समाज समेतले बर्दियाको चिनारी दिइरहेको छ ।
What you should know
बर्दिया — पश्चिम नेपालको अन्न भण्डारको रुपमा बर्दिया चिनिने बर्दियाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्यको बहराईच जिल्ला पर्छ ।
दक्षिणतर्फ ८२ दशमलव ८ किलोमिटर भारतसँग खुल्ला सिमाना छ । बर्दियाको कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर छ । जसमध्ये ६८ दशमलव ७६ प्रतिशत भूभाग तराईको समथल जमिनले ओगटेको छ भने ३१.२४ प्रतिशत भूभाग चुरे पर्वतले ओगटेको छ । आदिवासी थारु समुदायको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिन बाहिरी जिल्लाबाट बसाइँसराईको क्रम बढेसँगै जातीय र सांस्कृतिक विविधता रहेको छ ।
जैविक विविधता, दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षण, देशकै लामो कर्णाली नदी, बर्दिया राष्ट्रिय निकुञ्ज, धार्मिक–भाषिक विविधता, अन्न भण्डार, विविध धार्मिक पर्यटकीय स्थल, धार्मिक सांस्कृतिक सहिष्णु समाज समेतले बर्दियाको चिनारी दिइरहेको छ । बर्दियालाई बाघले बर्दिया पनि चिनाएको छ । तर, वन्यजन्तुको उचित व्यवस्थापन हुन नसक्दा वन्यजन्तुको आक्रमणबाट बेलाबेलामा ज्यान गुमाउने घटना भइरहेका छन् । पछिल्लो समयमा वन्यजन्तुको आक्रमण बढ्दो छ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म वन्यजन्तुको आक्रमणबाट जिल्लामा १० जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले जानकारी दिए ।
वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सरकारले ठोस कदम नचाल्दा स्थानीयले ज्यान गुमाउन परिरहेको गुलरिया नगरपालिका–४ की उमा भण्डारीले बताइन् । ‘चितुवा दिनहुँ गाउँ वरिपरि देखिन्छ,’ उनले भनिन्,‘रातिमा बाहिर निस्कन सक्ने स्थिती छैन ।’ दिउसै खेत होस् वा वन क्षेत्र हुँदै जाने सडकमा एक्लै दुक्लै आउजाउ गर्न जोखिम छ ।
यस जिल्लाका मानिस गाई, भैंसी, बाख्रा पाल्ने र कृषि पेशामा बढी आबद्ध छन् । जसले गर्दा वनमा आश्रित छन् । गाईभैंसी र बाख्राको लागि सामुदायिक वनमा घाँस ल्याउन जाँदा वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् ।
निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुलाई वनमा आश्रित नभई आयआर्जन गर्न सक्ने कार्यक्रम ल्याउन जरुरी रहेको संरक्षणकर्मीहरुको भनाई छ । दक्षिण तर्फका पालिकाका बासिन्दा वन नहुँदा भारतीय वनमा जोखिम मोलेर चौपाया चराउन जानु पर्छ ।
लामो समयदेखि गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल अलपत्र अवस्थामा छ । पुल पुनर्निर्माण नहुँदा सास्ती व्यहोर्नु परेको बारबर्दिया नगरपालिका–६ का बिक्रम थारुले बताए । ‘गुलरिया काम गर्न आउँदा साँझबिहान डुङ्गाबाट वारपार गरेको रकम तिर्नुपर्थ्यो,’ उनले भने,‘उक्त कार्यको चर्को आलोचना भएपछि गएको माघ १५ देखि रकम लिन बन्द भएको छ ।’
हरेक पटक निर्वाचन आउँदा यो पुल चुनावी एजेन्डा बन्ने गरेको छ । २०७४ साउन २८ मा बबई नदीमा आएको बाढीले गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल उद्घाटन नहुँदै भाँसिएको थियो । २०७९ असोज २० को बाढीले भाँसिएको स्पान बगाउँदा आवागमन पूर्णरुपमा बन्द भएको थियो । पुल पुनर्निर्माण नहुँदा बारबर्दियाका बासिन्दा सदरमुकाम गुलरिया आउन डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उक्त पुल पप्पु कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको थियो ।
बबई नदीको कटान र बाढी न्यूनीकरणका लागि २०७४ मा बबई, भादा, औराही नदी व्यवस्थापन आयोजना स्थापना भएको थियो । तर काम पूरा नगर्दै गत साउनदेखि उक्त आयोजना कार्यालय बर्दियाबाट सरेको छ । २६ प्रतिशत काम बाँकी रहदै बबई नदी व्यवस्थापन कार्यालय डडेलधुरा स्थानान्तरण भएको हो ।
बाढी रोकथामका लागि पूर्णरुपमा काम सम्पन्न नहुँदा बर्दिया सदरमुकाम गुलरिया बर्खामा बबई नदीको बाढीको उच्च जोखिममा परेको छ । बबई नदी कटान र बाढी न्यूनीकरणका लागि स्थापना भएको बबई, भादा, औराही नदी व्यवस्थापन आयोजनाको काम अधुरै रहेपछि सदरमुकाम गुलरिया कटान र बाढीको उच्च जोखिममा परेको छ । करिब ७४ प्रतिशत तटबन्धको काम भएको आयोजनाको कार्यालय खारेज भएपछि यस क्षेत्रका बासिन्दा निकै चिन्तित भएका छन् ।
यहाँ उल्लेख्य मात्रामा ठूला उद्योग नहुँदा रोजगारी नभएर युवाहरु भारतलगायत खाडी मुलुकतिर जाने गरेका छन् । यस्तै निजी लगानीका फर्निचर, जुस उत्पादन, पानी, टायल, इँटा, चाउचाउ, क्रसर र कृषिजन्य उद्योग रहेका छन् ।
पछिल्लो समयमा पहिलाको भन्दा सडकलगायत पूर्वाधार विकासले बजारमा उल्लेख्य परिवर्तन आएको छ । जिल्लाको सदरमुकाम गुलरिया बजार, मैनापोखर, मधुवन र राजापुर बजार पहिला भन्दा विस्तार भएको छ । यस्तै गुलरियादेखि नेपालगंजसम्म हुलाकी सडक चार लेनमा बिस्तार भएपछि सडक किनारमा बस्ती बाक्लिँदै गएको छ ।
बस्ती बाक्लिँदै गएपछि सर्वसाधारणले सानोतिनो पसल थापेर व्यवसाय गरिरहेका छन् । यस्तै बर्दियामा समथर जमिन भएकोले अधिकांश ठाउँमा सडक पुगेकोले पहाडतिरबाट बसाइँसरेर आउने गरेको पाइन्छ । जिल्लाको मूल भन्सार, राजापुर प्रायः सुनसान छ । सडक निर्माण भएपछि कैलालीको खग्रोला भन्सारबाट कारोबार बढी भएपछि राजापुर भन्सार सुनसान हुन थालेको हो ।
गुलरियामा नाका राख्ने मुद्दा हरेक निर्वाचनमा हुन्छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल सन् २००९ अक्टुबर २७ मा भारत भ्रमणमा गएका बेला द्विपक्षीय सम्झौता अन्तरगत गुलरिया र भारतको मुर्तिहामा नाका राख्ने सम्झौता भएको थियो । सीमावर्ती भारतमा आरक्ष भएका कारण नाका सञ्चालनमा अवरोध भएको वर्षौं भयो । नाका सञ्चालन गरी छाड्ने चुनावी मुद्दा जहिले पनि उठाउने गरेको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताए ।
जिल्लाका बासिन्दाको मुख्य पेशा कृषि पेशा हो । तर सरकारले किसानलाई चाहिएका बेला बिउबिजन, सिँचाइ सुविधा र मल उपलब्ध गराउन सक्दैन । स्रोतसाधनको अभावमा बल्लतल्ल गरेको उत्पादनले बजार र मूल्य नपाउँदा किसान सधैं निरास हुनुपरेको गुलरिया नगरपालिका–८ का तरकारी उत्पादक किसान बालकराम लोधले बताए । ‘अभावका बीच गरेको उत्पादनले बजार मूल्य पाउन सकेको छैन,’ उनले भने,‘हाम्रो यहाँ मल, सिँचाइ गर्न डिजललगायत सबै चिज महंगो पर्छ । तर, छिमेकी देश भारतमा सबै चिज सस्तोमा पाइन्छ र त्यहाँका किसानको कम लगानी लाग्छ । खुल्ला नाकाबाट सहजै भित्रिने भारतीय तरकारीले हाम्रो उत्पादन ओझेलमा पर्ने गर्छ ।’
धान, गहुँलगायत खेती गर्ने सिजनमा किसानले मल नपाउने सधैंको समस्या रहेको गुलरिया नगरपालिका–५ का अरुण थारुले बताए । ‘सरकारले किसानलाई मल पुर्याउन सक्दैन,’ उनले भने,‘चुनावको बेला नेताहरुले समस्या समाधान गर्छु भनेर आउँछन् जितेर गएपछि किसानको समस्या बिर्सन्छन् ।’
कृषितर्फ आकर्षण गर्न सरकारले ठोस नीति नल्याउँदा युवाहरुको यस पेशामा संलग्नता न्यून हुँदै गएको छ । केही युवाले व्यावसायिक कृषि गर्न खोज्दा राज्यले सहुलियत ऋण उपलब्ध गराउन सकेको छैन । यस्तै ऋण र कृषि फर्म दर्ताको झन्झटिलो प्रक्रियाले युवाहरु छिटो हात हाल्न खोज्दैनन् ।
सीमावर्ती बजारबाट सस्तोमा सामान ल्याउँदा गुलरियाको व्यापार पछिल्लो समय हृवात्तै घटेको छ । व्यापारीहरुको कारोबार नहुँदा राज्यलाई तिर्ने कर पनि कम भएको छ । यस्तै स्वदेशी व्यापारीले आफ्नो व्यापारमा लगानी बढाउन पाएका छैनन् । यसले गर्दा स्थानीय स्तरमा रोजगारी सिर्जना नभएको सर्वसाधारणले बताउँछन् । पहिलाको भन्दा गुलरिया बजार उल्लेख्य रुपमा बिस्तार भए पनि व्यवसायको हालत खराब रहेको गुलरियाका सुनचाँदी व्यवसायी जयकुमार यादवले बताए । ‘बजार बिस्तार भए पनि व्यापार छैन,’ उनले भने,‘सुनचाँदीको मूल्य बढ्दा कारोबार ठप्प भएको छ । सीमापारिका बजारले गुलरियामा अन्य व्यापार पनि धारासायी बनेको छ । दिनभरि पसलमा कुरेर बस्दा कहिलेकाँही बोहनीसमेत हुँदैन ।’
बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका गरी आठ पालिका र ७५ वटा वडा छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि दुवै क्षेत्रमा ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
क्षेत्र नम्बर १ मा २१ र २ मा १५ गरी ३६ जना उम्मेदवार निर्वाचनमा होमिएका छन् । जनगणना २०७८ का अनुसार ४ लाख ५९ हजार ९ सय जिल्लाको जनसंख्या छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा ८३ हजार ८ सय ३ पुरुष, ८४ हजार २ सय २७ महिला र अन्य ४ गरी १ लाख ६८ हजार ३४ मतदाता संख्या छ । क्षेत्र नम्बर २ मा ७५ हजार ५ सय ८४ पुरुष, ७९ हजार ६ सय ४६ महिला र अन्य २ गरी १ लाख ५५ हजार २ सय ३२ मतदाता गरी जिल्लामा कुल ३ लाख २३ हजार २ सय ६६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ ।
