आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको दोबाटोमा झापा

जनसंख्या वृद्धि, रेमिट्यान्स र व्यापारले आर्थिक गतिविधि त बढेको छ, तर युवा विदेश पलायन, खेतीयोग्य जमिन घट्दै जानु र सामाजिक विखण्डनले भविष्यप्रति चिन्ता बढाएको छ।

फाल्गुन ११, २०८२

पर्वत पोर्तेल

Jhapa at crossroads of economic, social and cultural transformation

What you should know

विराटनगर — पूर्वी तराईको उर्वर भूमि, खुला सिमाना, पूर्व–पश्चिम राजमार्गको चहलपहल र चिया बगानको हरियालीले झापालाई नेपालकै चलायमान जिल्ला बनाएको छ ।

पूर्वतर्फ भारतको पश्चिम बंगाल र दक्षिणतर्फ बिहारसँग सिमाना जोडिएको यो जिल्ला भौगोलिक तथा आर्थिक दृष्टिले रणनीतिक महत्व राख्छ । खुला सीमाका कारण यहाँ व्यापार, आवतजावत र सांस्कृतिक आदान–प्रदान निरन्तर भइरहन्छ ।

नेपालकै होचो भू–भाग मानिने केचना (कचनकवल गाउँपालिका) पनि यही जिल्लामा अवस्थित छ । यो स्थान समुद्री सतहदेखि करिब ५८ मिटर उचाइमा रहेको मानिन्छ । जसले झापाको भौगोलिक विशेषता अझ स्पष्ट पार्छ । तराईको समथर भू–भाग, उर्वर माटो र अनुकूल हावापानीका कारण कृषि उत्पादन यहाँको प्रमुख आधार बनेको छ।

जनगणना २०७८ का अनुसार झापाको कुल जनसंख्या ९ लाख ९८ हजार ५४ छ । भौगोलिक क्षेत्रफल १ हजार ६ सय ६ वर्ग किमी छ । यो जिल्ला १ हजार ४४ दशमलव ९ प्रतिशत क्षेत्र भारतसँगको खुला सीमाना छ । भौगोलिक रूपमा तराई भए पनि सामाजिक, आर्थिक र सांस्कृतिक दृष्टिले बहुआयामिक स्वरूपको छ ।

विगत १०–१५ वर्षमा झापाले उल्लेखनीय र तीव्र परिवर्तन अनुभव गरेको छ । जनघनत्व उल्लेख्य रूपमा बढेको छ। साना बजारहरू क्रमशः सहरमा परिणत भएका छन् । खेतीयोग्य जमिन घट्दै गएको छ झने घडेरी बिक्री–वितरणका कारण जमिन खण्डीकृत हुँदै गएको छ । यसैबीच, युवाशत्ति वैदेशिक रोजगारीतर्फ उन्मुख भएको छ ।

पूर्वी पहाडबाट तराई बसाइँसराइ क्रम जारी छ । पछिल्ला वर्षमा झापा विशेष आकर्षणको केन्द्र बनेको छ । यसको मुख्य कारण उर्वर भूमि, सहज यातायात पहुँच, भारतसंगको खुला सीमा र बढ्दो व्यापारिक सम्भावना रहेको अलैची व्यवसायी महासंघका पूर्वअध्यक्ष निर्मलकुमार भट्टराई बताउँछन् । ‘सर्वसाधारणले स्वास्थ्य, शिक्षा, मनोरन्जन जस्ता आधारभूत कुराको सहज पहुँचका लागि पनि पहाड छाडेर तराई झर्ने क्रम बढेको हो,’ भट्टराई भन्छन् । 

Jhapa at crossroads of economic, social and cultural transformation

पूर्व–पश्चिम राजमार्गले झापालाई देशका अन्य भागसँग सशक्त रूपमा जोडेको छ । साथै खुला सीमाले व्यापारिक गतिविधिलाई थप गति दिएको छ । काँकडभिट्टा, धुलाबारी, बिर्तामोड, भद्रपुर, सुरुङ्गा, दमक जस्ता ठूला व्यापारिक केन्द्रहरु तीव्र रूपमा विस्तार भइरहेका छन् । तर, विकासको यो गतिसँगै केही मूल्य पनि चुकाउनुपरेको छ ।
खेतीयोग्य जमिन प्लटिङमा परिणत हुँदै गएका छन् । ‘धान फल्ने खेतमा घर फल्न थालेका छन्’, बुद्धशान्ति गाउँपालिकाका स्थानीय प्रेम लुवागुन भन्छन्,‘प्लटिङले खेतीयोग्य जमीन घटाउँदा उत्पादन पनि स्वतः घटेको छ ।’ परम्परागत कृषि क्षेत्र शहरी विस्तारको दबाबमा परेको छ । जनघनत्व बढेसँगै सामाजिक सेवा, पूर्वाधार र प्राकृतिक स्रोतहरूमाथि समेत थप चाप सिर्जना भएको छ ।

झापाको अर्थतन्त्रको मेरुदण्ड कृषि नै हो । धान, चिया, तरकारी, केरा, सुपारीलगायत झापाका मुख्य उत्पादन हुन् । ‘चिया त मनग्ये फल्छ, तर लागत नै उठाउन गाह्रो छ,’ नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली भन्छन्,‘धेरैजसो चिया किसानले त फँडानी गरेर अरु नै खेती सुरु गर्न थालेका छन् ।’ झापा नेपालकै प्रमुख चिया उत्पादन क्षेत्रमध्ये एक हो । राष्ट्रिय चिया तथा कफि विकास वोर्डका अनुसार झापामा करिब ७ हजार १ सय ७५ दशमवल १५ हेक्टर क्षेत्रमा चिया खेती लगाइएको छ । जसबाट ८ करोड २५ लाख १७ हजार मेट्रिकटन चिया वार्षिक रुपमा उत्पादन हुँदै आएको छ ।  

साना किसानदेखि ठूला बगानसम्म चिया उत्पादन भइरहे पनि अन्तर्राष्ट्रिय बजार मूल्य, प्रशोधन खर्च र ढुवानी समस्याले किसान मारमा छन् ।  लागत बढेको छ, तर मूल्य स्थिर छैन । 

धान खेती पनि उस्तै चुनौतीपूर्ण छ । कुनै बेला झापाबाट धान–चामल भारत निर्यात गरिन्थ्यो । तर, अवस्था अहिले फेरियो । भारतलगायत देशवाट धान–चामल निरन्तर आयात भइरहेको छ । मल र बीउबिजन समयमै नपाइने, सिँचाइ सुविधा अपुग र श्रमिक अभावले खेतीलाई जोखिमपूर्ण बनाएको छ । युवा वैदेशिक रोजगारीमा गएपछि खेतमा बृद्धबृद्धा मात्र बाँकी छन् । झापाका कतिपय क्षेत्रमा त धान रोपाइँदेखि कटाईसम्म भारतीय श्रमिक प्रयोग गर्नुपर्ने बाध्यता पनि छ । श्रमिक अभावले वर्सेनि सयौं हेक्टर जमीन बाँझिने गरेको छ । ‘धान फल्ने धेरै जमिन बाँझो बन्ने गरेको छ’, कृषि प्राविधिक शालिग्राम भट्टराई भन्छन्,‘खेती नै नभएका कारण पनि धानको उत्पादन घट्दो छ ।’ 

कृषि ज्ञान केन्द्र झापाका अनुसार यो वर्ष ३ लाख ५० हजार मेट्रिकटन धान उत्पादन भएको छ । ७२ हजार ७ सय ४२ दशमलव ६५ हेक्टर जमीनमा धान खेती छ । प्रमुख सागर विष्ट भन्छन्,‘यो वर्ष क्षेत्रफलसँगै उत्पादन पनि घटेको हो ।’ अघिल्लो वर्ष ७५ हजार ४ सय ५९ दशमलव ९७ हेक्टर जमीनमा धान खेती हुँदा ३ लाख ८२ हजार ८ सय ११ दशमलव ९७ मेट्रिकटन धान उत्पादन भएको थियो । 

Jhapa at crossroads of economic, social and cultural transformation

पछिल्लो समय किसानहरुको नगदे बालीतर्फ झुकाव बढेको छ । तरकारी, केरा, कुखुरा पालन, डेरी व्यवसायलगायतमा सहकारीमार्फत साना उद्यम सुरु भएका छन् । तर अझै बजार सुनिश्चितता कमजोर छ । ‘हामीले उत्पादन गरेका वस्तुको उचित मूल्यको ग्यारेन्टी छैन’, मेचीनगरका पोल्ट्री व्यवसायी हरि तिम्सिना भन्छन्,‘यसको ग्यारेन्टी सरकारले लिइ दिए हामी अझै उत्साहित बन्ने थियौं ।’ 

धेरै गाउँमा घर एक्ला छन् । खेत बाँझै छन् । युवा सहर र विदेश गएका छन् ।  राम्रो शिक्षा, स्वास्थ्य सेवा र रोजगारीको खोजीमा सहरमुखी आकर्षण तीव्र छ । यसले गाउँको सामाजिक संरचना कमजोर बनाएको छ । सामूहिक श्रम, मेलापात, सामाजिक एकता घट्दै गएको छ । खेती घटेको छ, उत्पादन घटेको छ । तर, सहरमा पनि चुनौती कम छैन। अव्यवस्थित बसोबास, ट्राफिक समस्या, फोहोर व्यवस्थापन, पानी अभावलगायतका समस्या व्याप्त छन् । 

झापाका देहातमा घरका ढोका खुला छन्, तर युवाको उपस्थिति कम छ । खाडीमुलुक, मलेसिया, कोरिया, जापान तथा अष्ट्रेलिया र युरोपेली देशहरुमा झापाली युवाका सपनाका केन्द्र बनेका छन् । केही भारततिर पनि गएका छन्।

वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले घर बनाइएका छन् । निजी विद्यालयमा भर्ना बढेको छ, स्वास्थ्य सेवामा पहुँच विस्तार भएको छ । तर, यसको सामाजिक मूल्य ठूलो छ । ‘गाउँमा वृद्धवृद्धा र बालबालिका मात्रै छन्’, मेचीनगरका चुडामणि सापकोटा भन्छन्,‘कसैको मृत्यु भएमा मलामीसमेत भेट्न गाह्रो हुने अवस्था छ ।’ संयुक्त परिवार विघटन भएका छन् ।  सामाजिक जीवन कमजोर बनेको छ ।

झापामा साना उद्योग, यातायात सेवा, खुद्रा व्यापार र कृषि उद्यममा युवाको संलग्नता देखिन्छ । तर, बैंक ऋण प्रक्रिया जटिल, ब्याजदर उच्च र बजार प्रतिस्पर्धा तीव्र छ । अनौपचारिक व्यापार—कहिलेकाहीँ अवैध कारोवारसमेत सीमावर्ती जिल्लाको यथार्थ हो । भारतसँगको खुला सिमानाले वैध व्यापारसँगै अनौपचारिक गतिविधिलाई पनि स्थान दिएको छ । यसले राजस्वमा असर मात्रै परेको छैन, स्थानीय अर्थतन्त्रलाई अस्थिर बनाएको छ । 

झापामा सामाजिक सुरक्षा भक्ता कार्यत्रमको पहुँच तुलनात्मक रूपमा राम्रो छ । ज्येष्ठ नागरिक भत्ता, अपाङ्गता भत्तालगायतले बृद्धबृद्धालाई औषधि र दैनिक खर्चमा राहत दिएको छ । तर, सरकारी कामबाट सर्वसाधारण आजित बन्दै गएका छन् । ‘कागज नमिलेको भन्दै तीन पटक वडा धाउनुपर्‍यो,’ शिवसताक्षी नगरकी लक्ष्मीमाया दर्जी गुनासो पोख्छिन्,‘जनतालाई दुःख दिने काम अझै कम भएको छैन ।’

सेवा लिन प्रक्रियागत झन्झट अझै छ । कागजात नमिल्दा सेवा ढिलाइ हुन्छ । दुर्गम बस्तीमा स्वास्थ्य सेवा समयमै नपुग्ने समस्या छ । गम्भीर बिरामीलाई निजी अस्पतालमा जानुपर्ने बाध्यता छ, जसले खर्च बढाएको छ । मेचीनगर–६ की वडासदस्य सीमा रसाइली भन्छिन्, ‘सेवा छिटो दिन डिजिटल प्रणाली बढाउँदै छौ ।’ डिजिटल प्रणाली विस्तार भए पनि डिजिटल साक्षरताको अभावले सबैलाई समान लाभ पुगेको छैन । 

Jhapa at crossroads of economic, social and cultural transformation

झापामा सेवा लिन वडा कार्यालयदेखि नगरपालिका धाउनुपर्ने अवस्था छ । प्रक्रिया कागजमा स्पष्ट भए पनि व्यवहारमा ढिलासुस्ती देखिन्छ । जिल्ला प्रशासन लगायतका निकायले नागरिकता, राहदानी बनाउन जाने सेवाग्राहीलाई धेरै सास्ती दिने गरेका छन् । ‘चिनजान भए काम छिटो हुन्छ, नत्र त सानो काम गर्न पनि दिनै बित्छ,’ मेचीनगरका सेवाग्राही दिलिप थापा दुखेसो पोख्छन् । 

पहुँचवालाको काम छिटो हुने, पहुँच नभएकाको फाइल अड्किने गुनासो व्यापक छ । यसले सरकारप्रति जनविश्वास घटाएको छ । सर्वसाधारण निरास देखिएका छन् । सुशासनका लागि पारदर्शिता, डिजिटल सेवा र उत्तरदायित्व आवश्यक छ । तर, कार्यान्वयन कमजोर छ ।

झापा देशकै साक्षर जिल्लाको रुपमा चिनिन्छ । यहाँको साक्षर दर ८२ दशमलव ८३ प्रतिशत छ । शिक्षा विकास समन्वय इकाई झापाका अनुसार छात्रवृत्तिले गरिब तथा सीमान्तकृत समुदायका बालबालिकाको विद्यालय पहुँच बढाएको छ । कार्यालयका सूचना अधिकारी किरण अधिकारीका अनुसार पालिका र समन्वय इकाईले बेग्ला बेग्लै छात्रवृत्ति वितरण गर्दै आएका छन्।

मेचीनगर, गौरादहलगायतका कतिपय पालिकाहरुले त इन्जिनियरिङ र विद्यावारिधीलगायतका उच्च शिक्षा अध्ययनमा समेत छात्रवृत्ति उपलव्ध गराउँदै आएका छन् । विद्यालय छोड्ने दर केही घटेको छ । विगतमा ८ देखि १३ प्रतिशत रहेको ड्रप आउट दर अहिले घट्दो छ । तर, गुणस्तरीय शिक्षा, दक्ष शिक्षक र पूर्वाधार अझै चुनौती हुन् । झापामा ३ सय ७५ सामुदायिक, ४ सय ७८ संस्थागत र करिब ७५ धार्मिक विद्यालय संचालित छन् । 

पूर्वाधार विकास कार्यालय झापाका अनुसार झापामा हाल १२१ दशमवल २९ किमी सडक प्रदेश सरकार अन्तर्गत कालोपत्र भएको छ । पक्की पुल ९ र झोलुंगे पुल १५ वटा निर्माण सकिएको छ । झापाको मुख्य सडक सञ्जाल तुलनात्मक रूपमा सुदृढ छ । राजमार्ग र मुख्य बजार जोड्ने सडकहरू राम्रो अवस्थामा छन् । बिजुलीको पहुँच प्रायः सबै ठाउँमा पुगेको छ । 

तर भित्री सडकहरू धेरैजसो ग्राभेल छन् । वर्षायाममा हिलो र डुबानले जनजीवन प्रभावित हुन्छ । दमक–गौरादह भित्री सडक वर्षामा हिलोले भरिन्छ । विर्तामोड–भद्रपुरको निर्माणाधिन सडकको अवस्था पनि उही छ । भद्रपुर–विराटनगर जोड्ने हुलाकी सडक पनि ढिलाइ र कमजोर निर्माणको उदाहरण बनेको छ । यो राजमार्गमा १४ वर्षदेखि कनकाई खोलामा पुल वन्न सकेको छैन । पुल नहुँदा सर्वसाधारण वर्षायाममा डुंगा र हिउँदमा बाँसको फड्के तरेर गन्तव्यसम्म पुग्न बाध्य छन् । 

Jhapa at crossroads of economic, social and cultural transformation

प्रदेश मातहतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका अनुसार ९० प्रतिशत उपभोक्तामा आधारभूत रुपमा खानेपानीको पहुँच पुगिसकेको छ । कार्यालय प्रमुख विकास काफ्लेका अनुसार जिल्लामा हाल ८० बढी खानेपानीका योजना निर्माणाधीन छन् । ५० बढी योजना सम्पन्न भइसकेका छन् । तर, खानेपानीका धारा भए पनि गर्मीमा पानी अभाव हुने गरेको छ  । दक्षिण भेगका कतिपय क्षेत्रमा अझै ट्युवेलको भर छ । अधुरा योजना, ढिलासुस्ती र कमजोर निर्माण गुणस्तरले विकासको प्रभाव घटाएको देखिन्छ । 

झापाका मुख्य समस्या बेरोजगारी, कृषि बजार अभाव, बसाइँसराइ, अधुरा पूर्वाधार, हात्तीलगायत जंगली जनावारको आतंक जस्ता विषय हुन् । यी विषय नै हरेक निर्वाचनमा दोहोरिने नारा र प्रतिबद्धता हुन् । ‘हात्ती समस्या समाधान गर्छौं भन्ने नेतालाई हामीले धेरै पटक भोट दिइसक्यौं,’ झापाको बाहुनडाँगीकी स्थानीय उषा दाहालले भनिन्,‘तर, हाम्रो समस्या कहिल्यै समाधान भएन ।’ 

झापामा निरासा मात्रै छैन, सम्भावना पनि उत्तिकै छ । चिया उद्योग, कृषि आधुनिकीकरण, सीमावर्ती वैध व्यापार, युवा उद्यमशीलतालगायत । यदि बजार सुनिश्चितता, पूँजी पहुँच र पूर्वाधार सुधार भए झापा आत्मनिर्भर आर्थिक केन्द्र बन्न सक्ने मेचीनगरका पूर्वनगरप्रमुख विमल आचार्यको भनाई छ । स्थानीयको अपेक्षा छ, ‘स्वदेशमै  काम गर्ने वातावरण बनोस् ।’ यो अपेक्षा वर्षौंदेखि दोहोरिँदै आएको छ ।  तर, कार्यान्वयनको कमजोरीले विश्वास घटेको छ ।

झापा अहिले परिवर्तनको दोबाटोमा उभिएको छ । एकातिर जनसंख्या वृद्धि, बजार विस्तार र रेमिट्यान्सले आर्थिक गतिविधि बढाएको छ । अर्कोतिर कृषि संकट, श्रमिक अभाव, अधुरा पूर्वाधार र सुशासनको कमजोरीले दीर्घकालीन चुनौती खडा गरेको छ ।

कृषि र उद्योगबीच सन्तुलन, स्थानीय रोजगारी सिर्जना, पारदर्शी प्रशासन र गुणस्तरीय सामाजिक सेवा सुनिश्चित गरियो भने झापा तराईको नमुना जिल्ला बन्न सक्छ । नत्र, जनघनत्व र अव्यवस्थित विकासले भविष्यमा थप समस्या निम्तिन सक्ने विज्ञहरुको अनुमान छ । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully