पूर्वाधार अभावले ओझेल परेको पाल्पाको कृषि र पर्यटन क्षेत्र

स्वराेजगारको रुपमा कृषिमा लागेका युवालाई स्थानीय उत्पादनको बजारसम्मको पहुँच कम हुनु, बिचौलियाको भर पर्नुपर्ने बाध्यता छ । मूल्य नपाउने समस्याले कृषिमा लागेका युवाहरु पेसाबाट विस्थापित हुनु परेको छ ।

फाल्गुन १, २०८२

माधव अर्याल

Palpa lags behind despite ample potential in agriculture and tourism

What you should know

पाल्पा — पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको पर्याप्त सम्भावना भएर पनि पाल्पा विकासमा पछि परेको छ । पाल्पाली ढाका र करूवा मात्र होइन, अम्लिसो, अकबरे खुर्सानी, अदुवा, गेडागुडी, मासु, दालचिनी, कफीका लागि पछिल्लो समय ख्याती कमाएको जिल्ला हो ।

तर विचौलियाका कारण यहाँका किसान उत्पादन छाड्ने र विदेशिने क्रम बढेको छ । ‘बजारको पहुँच र व्यवस्थापन गर्न नसक्दा कतिपय व्यवसायिक किसान र उद्यमी काम गर्न छाडेर विदेश पलायन भएका छन्,’ त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक कृष्णबहादुर जीसी भन्छन्, ‘यसका लागि राजनीतिक अस्थिरता प्रमुख कारण हो ।’ 

राष्ट्रिय कृषि गणना २०७८ का अनुसार पाल्पाका ४९ हजार ७४२ घरपरिवारमध्ये ३६ हजार १७९ परिवार कृषि कार्यमा संलग्न छन् । कृषि उत्पादनबाट भएको आम्दानीले मात्र वर्षभरि खान नपुग्ने कृषक परिवार संख्या २३ हजार ३०४ रहेको छ । परिवारलाई १० देखि १२ महिना खान नपुग्ने अवधि अनुसार कृषक परिवार संख्या पाल्पामा १३६ रहेको छ । 

पछिल्लो जनगणना अनुसार पाल्पाका ७३.१९ प्रतिशतले कृषिलाई आफ्नो रोजगारीको प्रमुख आधारको रूपमा लिएका छन् । कृषि ज्ञान केन्द्रको तथ्यांकमा भने पाल्पामा खाद्यान्न बचतको अवस्थामा देखिन्छ । केन्द्रको ज्ञान तथ्यांकमा अन्नबाली, नगदेबाली, फलफूल खेती (सुन्तला), अकबरे खुर्सानी, मौरीपालन, कुखुरापालन, कफी, बाँस र बाँसबाट बनेका सामान, अम्लिसो, अदुवा खेती उल्लेखनीय रहेको छ । मासु, मह, दुध, मौसमी, बेमौसमी तरकारी उत्पादन हुन्छ । जिल्लामा युवा रोजगारी छैन । सरकारी सेवा, व्यापार व्यवसाय, बैदेशिक राजेगारमा पनि छन् । पाल्पाका ३९ हजार युवा कामका लागि विदेशमा छन् ।  

पाल्पाको मुख्य समस्या बेरोजगारी हो । योसँगै स्वराेजगारको रुपमा खेतीपातीमा लागेका युवाहरुलाई स्थानीय उत्पादनको बजारसम्मको पहुँच कम हुनु, बिचौलियाको भर पर्नुपर्ने बाध्यता रहेको छ । मूल्य नपाउने समस्याले कृषिमा लागेका युवाहरु पेशाबाट विस्थापित हुनु परेको छ । 

सिँचाइ, मल, बीउको अभाज पनि किसानले भोगेको अर्काे समस्या हो । पाल्पाका फाँट, टार, बेंसी क्षेत्रका खेतबारीमा ४० प्रतिशत मात्र सिँचाइ सुविधा उपलब्ध छ । कृषकले सिँचाइबाहेक बीउबिजन र मलका लागि पनि समस्या भोग्दै आएका छन् ।  रैथाने बाली हराउँदै गएपछि हाइब्रिड बीउको भर पर्नुपर्छ । गाईवस्तु पाल्न छाडेपछि गोबर मल पाइदैन । रासायनिक मलको सधैं अभाव खेप्नुपरेको छ ।

यद्यपि अम्लिसो, फलफुल, गेडागुडी, तरूल, तरकारी खेती, अकबरे खुर्सानीलगायतका खेतीबाट स्थानीय कृषकले राम्रो आम्दानी गरिरहेका छन् । तर यी वस्तुको उचित बजारीकरण र राम्रो भाउ नपाउँदा युवा जनशक्ति पेशा छाडेर विदेश जान बाध्य छन् । ‘गाउँमा बसेर कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्ने त हो,’ बौघापोखराथोकका युवा किसान रूकविर रेश्मीले भने, ‘तर काम गरेकालाई प्रोत्साहन भन्दा पनि पहुँचको आधारमा हुने भएकाले सबै युवा आकर्षित हुन सकेको पाइएको छैन ।’ पाल्पामा गत वर्षमात्र ५२ हजार ५९८ मेट्रिक टन दुध उत्पादन भएको थियो ।

Palpa lags behind despite ample potential in agriculture and tourism
लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पा प्राकृतिक स्रोतसाधन, संस्कृति, शिक्षा, कला, सभ्यता, रहनसहन र जैविक विविधताले समृद्ध छ । यहाँ विविध जातजाति र भेषभुषा भएको समुदायको बसोबास छ । ऐतिहासिक विरताको गाथा बोकेको यो जिल्लामा कोट, गढी, किल्ला, दरबार, तालतलैया, मन्दिर र ऋषिमूनिका तपोकेन्द्रसहितका पुरातात्विक धरोहरहरू पनि छन् । 

इटालीका विद्धान तथा इतिहासकार प्रोफेसर जोशेफ टुचीको भनाई अनुसार जिल्लाको अस्तित्व ईसाको पाँचौ शताब्दीतिर थियो । त्यस समयमा भारत वर्ष र चीन प्रदेशको ठूलो क्षेत्र मंगोलियाको आधिपत्यमा रहेको थियो । उनको भनाईमा मंगोलियन शब्द बाल्बा जसको अर्थ सीप कला र कालीगढबाट अपभ्रंश भएर पाल्पा बन्न गएको हो । पछाडिबाट पढ्दा उही शब्द पाल्पा नै बन्ने र बीचको अक्षर हटाउँदा मिठो खाने कुरा ‘पापा’ बन्ने जिल्ला हो ।

भारतमा मुगलहरूको आक्रमण सहन नसकी तुथारय सेनले पैयागबाट धपिएर बुटवलको बाटो भएर रिङ्सिङ लेक (हाल रिब्दीकोट र तिनाउ गाउँपालिकाको सिमाना) लामो समयसम्म बसेपछि रिब्दीकोटमा (कुसुमखोला, पालुङमैनादी, ठिमुरेको साँधमा) आफ्नो स्वतन्त्र राज्य स्थापना गरेको इतिहास छ । तानसेन (हाल सदरमुकाम) आउनुअघि सेनवंशीय राजाहरू शिलाङ्थोक (भैरवस्थान र खस्यौलीको सिमाना) को नजिकमा रहेको पुरानाकोट (पूर्णाकोट) हाल रिब्दीकोट–४ भैरवस्थानलाई राजधानी बनाई शासन गरेको इतिहासमा उल्लेख रहेको यसका जानकार पुष्करराज रेग्मीले बताए । 

विसं १३६३ मा तुथारय सेनदेखि नै प्रारम्भ भएर चन्द्र सेनका छोरा पाल्पा राज्यको संस्थापक मानिने सेनवंशका दशौं पुस्ताका राजा रूद्र सेनले विसं १५६३ मा पाल्पा राज्यको स्थापना गरेका थिए । मुकुन्द सेन प्रथमको नेतृतवमा पाल्पाले काठमाडौं, धनकुटा र भोजपुरसम्म पाल्पा राज्यको विस्तार गरेको उल्लेख छ । झण्डै ४९८ वर्षसम्म शासन गर्ने पाल्पाली सेन राजाहरू मध्ये पछिल्ला पृथ्वीपाल सेनको पालामा बहादुर शाह र भीमसेन थापाको रणनैतिक चतुर्‍याईले पाल्पा राज्य विसं १८६१ मा नेपाल राज्यमा गाँभिएको हो ।  

पछिल्लो प्रशासनिक संरचना अनुसार पाल्पामा तानसेन (२००७) र रामपुर नगरपालिका (२०७१ वैसाख २५) रहेको छ । जिल्लामा आठ वटा गाउँपालिका छन् । ८१ वडा रहेको पाल्पामा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ वटा छन् । क्षेत्र १ मा ३७ र क्षेत्र २ मा ४४ वडा पर्छ । २०७३ फागुनपछि संघीय संरचना अनुसार निस्दी गाउँपालिका, पूर्वखोला, रम्भा, माथागढी, बगनासकाली, तिनाउ, रिब्दीकोट, रैनादेवी छहरा गाउँपालिका बनेको हो । यसअघि ६० गाविस र दुई नगरपालिका थिए । रामपुर नगरपालिका बन्नुअघि ६५ गाविस थिए । 

यो जिल्लाको महाभारत श्रृंखलामा ८२ प्रतिशत भू–भाग रहेको छ । चुरे पहाडमा १८ प्रतिशत पर्छ । जिल्लाको अधिकांश पहाडी भूवनोटको कारण विकट छ । पाल्पामा सरदर वार्षिक वर्षा १९०३.२ मिलिमिटर हुन्छ । रामपुर, दर्छा, गेझा, हुँगी, माडी, अर्गली, अरूणखोला, पूर्वखोला, कचल, दर्पूक, दैलातुङ् जस्ता फाँट र कालीगण्डकीका टारबाहेक अन्य भाग कृषि उत्पादनका लागि कम उपयुक्त छन् । 

यहाँ रानीमहल, श्रीनगरडाडाँ, भगवती मन्दिरलगायत मठमन्दिर, बगनास, रूरूक्षेत्र, रामपुर तालपोखरा, सीताकुण्ड, रम्भादेवी, राम्दी जस्ता धार्मिकस्थलसमेत छन् । 

स्थानीय तह अन्तरगत संचालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संघीय सरकारले पठाएको बजेटबाट वार्षिक बढीमा एक महिनाबाहेक अन्य रोजगारीको अवसर छैनन् । रामपुर नगरपालिकाले युवा स्वरोजगार अन्तर्गत विना धितो ऋण लगानी गरेको नगरप्रमुख रमणबहादुर थापाले बताए । उनका अनुसार वार्षिक एक करोड बढी युवाले लगेको ऋणको व्याजमा खर्च हुने गरेको छ । 

जिल्लामा स्वास्थ्य क्षेत्र अन्तरगत लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पताल छन् । पाल्पा र रामपुर अस्पताल छन् । तर जटिल रोगका लागि जिल्लामा विशेषज्ञ चिकित्सक नहुँदा बुटवल, पोखरा र काठमाडौं जानुपर्ने बाध्यता छ । चिकित्सक सुरेन्द्र गैरेका अनुसार जटिल रोग लाग्यो भने बाहिर जिल्ला जानुपर्छ ।ग्रामीण भेगमा उपचारका लागि अझै बढी समस्या भोग्नुपरेकाे छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस छ । केही नयाँ विषय थप भए पनि विद्यार्थी संख्या भने निरन्तर घट्दो छ । विपन्न वर्गका लागि कतिपय पालिकाले निःशुल्क स्वास्थ्य बिमा गरेका छन् । रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार यसवर्ष पनि विपन्न, दलित, अपांगता भएकाका लागि स्वास्थ्य बिमा पालिकाले निःशुल्क गरिदिएको छ । 

मालपोत, करदाता सेवा कार्यालय, यातायात सेवा व्यवस्था कार्यालय, नापी कार्यालयमा विचौलिया बिना कामै नहुने सेवा लिन गएकाहरु गुनासाे गरिरहेका हुन्छन्। जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नै गुनासो राख्दासमेत सुनुवाई नभएको तानसेनका युवा जिवन पाण्डेयले बताए । ‘बिचौलियाले हाकाहाकी घुस माग्ने गरेको विषय सार्वजनिक सुनुवाईमै राखेको हो,’ उनले भने । 

स्थानीय तहमा पनि विचौलियामार्फत् काम गराउनुपर्ने बाध्यता रहेको गुनासो सर्वसाधारणको छ । सामाजिक सुरक्षा भत्ताले भने ज्येष्ठ नागरिकलाई सहज तुल्याएको छ । ‘काम गर्नका लागि गाउँमा युवा छैनन्,’ रिब्दीकोट गाउँपालिका–२ देउरालीका कृष्णप्रसाद ढकालले भने, ‘सामाजिक सुरक्षा भत्ताले घरखर्च, मसला, नुन किन्न सहज बनाएको छ ।’

Palpa lags behind despite ample potential in agriculture and tourism

जिल्लाको मुख्य सडक सिद्धार्थ राजमार्गमा खाल्डैखाल्डा छन् । नियमित मर्मतसम्भार गरे पनि टिकाउ छैन । कालीगण्डकी करिडोरको रिडीदेखि बाँकामलाङ्मध्ये राम्दीदेखि रानीमहल सम्पन्न हुन बाँकी छ । सालझण्डीदेखि सुंगुरेढुंगा जोड्ने सडक वर्षौदेखि सम्पन्न हुन सकेको छैन । बाँसटारी झडेवा दुम्कीबास सडक, रामपुर मित्याल, अरूणखोला सडकको अवस्था जीर्ण छ । आर्यभन्ज्याङदेखि ताँहु हुँदै जब्गादी रामपुर जाने सडक वर्षौंदेखि मर्मत भएको छैन । 

हार्थोकदेखि छहरा सडक धुलाम्मे बनेको छ । ग्रामीण सडकमा करोडौं बजेट विनियोजन हुन्छ तर मुख्य सडकमा कहिल्यै सुधार नहुने हुमीनका आशिष श्रेष्ठले बताए । तानसेन र रामपुरको खानेपानीमा सुधार भएको छ । 

ग्रामीण भेगमा लिफ्टिङ खानेपानीको व्यवस्था बढेको छ । प्रायः सबै स्थानमा विद्युत् र संचारका पहुँच पुगेको छ । कतिपय कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलमा ढिलाई भएको छ । कालीगण्डकी नदी अन्तर्गत पाल्पाको बगनासकाली ६ यम्घा दर्पुक  र स्याङ्जाको कालीगण्डकी गाउँपालिका जोड्ने मोटरेपल पक्की पुल वर्षौदेखि अलपत्र परेको हो । पक्की पुलको २०७४ मंसिर २२ गते ठेक्का सुरू भई २०७७ मंसिर २१ गते सकिनुपर्ने थियो । तर निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिएको ५ वर्ष बित्न लाग्दासमेत ४५ प्रतिशत पनि भौतिक प्रगति भएको छैन । यम्घा दर्पुकस्थित बाासटारी पक्की पुलको ४५ प्रतिशत र वित्तिय प्रगति २८ प्रतिशत मात्र भएको पुल सेक्टर पोखराले जनाएको छ । 

स्थानीय तहले बजेटको अवस्था हेरेर हरेक गाउँघरमा विकासका पूर्वाधार पुर्‍याउने कोशिष गरिरहे पनि नागरिक भने सुविधा खोज्दै सहरतिर लाग्ने क्रम रोकिन सकेको छैन । स्थानीय तहहरूले सडक, विद्युत्, खानेपानीलगायतका सुविधा नागरिकका घरघरमा पुर्‍याउन हरेक वर्ष लगानी बढाएकै छन् । तर नागरिकको गाउँबाट सहरतिर ओइरिने क्रम जारी रहेको पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । 

जिल्लाभर अघिल्लो आर्थिक वर्षमा मात्र १ हजार १ सय ३ जना बसाइँ सरेर भित्रिँदा ३ हजार ९४ जना बाहिरिएका छन् । पूर्वखोलामा गएको वर्ष २१ जना गाउँपालिकामा भित्रिँदा ३ सय २५ जना बाहिरिएका छन् । निस्दीमा १३ जना भित्रिँदा २ सय १९, रम्भामा ३३ जना भित्रिँदा २ सय ९९ जना बाहिरिएका छन् ।

बगनासकालीमा ३५ जना भित्रिँदा २ सय ८१ जना बाहिरिएका छन् भने तिनाउमा ६६ जना भित्रिँदा २ सय १ जना बाहिरिएका छन् । रिब्दीकोटमा ४४ जना भित्रिँदा ३ सय ४० जना बाहिरिएका छन् भने रैनादेवी छहरामा ४८ जना भित्रिँदा ३ सय ९३ जना बाहिरिएका छन् । 

तानसेन नगरपालिकामा ४ सय २ जना भित्रिँदा ५ सय १ जना बाहिरिएका छन् । अन्यत्र भन्दा रामपुर नगरपालिकामा फरक छ । यहाँ ३ सय ३३ जना भित्रिँदा २ सय ५० जना बाहिरिएका छन् । ग्रामीण क्षेत्रका बासिन्दा शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर खोज्दै बसाइँ सर्ने त्रम बढेको छ । ११०३ भित्रिँदा ३०९४ बाहिरिएको तथ्यांक पालिकाको छ । जिल्लाबाट तराईका जिल्लाका साथै पोखरा, काठमाडौंलगायतका स्थानमा जाने बढी छन् । 

जिल्लामा शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार, रोजगारका विषयलाई हरेक निर्वाचनमा प्रायः सबै दलका घोषणापत्रमा उल्लेख हुन्छन् । तर ती घोषणापत्रमै सीमित रहन्छन् । 

राजनीतिक दल, तिनका उम्मेदवारले समृद्ध पाल्पाको आधार, कृषि, पर्यटन, गुणस्तरीय शिक्षा र पूर्वाधार भन्ने नारा लगाउने गरेको आफूले पाएको तानसेन–४ का मतदाता करूण थापाले बताए । युवाहरूलाई उद्यमशीलतासित जोड्ने, बालबालिका, युवा, महिला, दलित, जेष्ठ नागरिक, अपांग, एकल महिलालगायतको हकहितको रक्षा, आदिवासी जानजातिको पहिचान तथा संस्कृतिको जगेर्ना गर्ने भन्ने नारा जहिल्येसुकै हुने उनले बताए ।

तानसेन–बुटवल सडकखण्डलाई मृत्यूमार्गबाट जीवनमार्गको रूपमा बदल्दै जिल्लाभित्रका सहायक मार्गको स्तरोन्नति गर्न, तराइ जोड्ने द्रुतमार्गहरूको यथाशीघ्र निर्माण गर्न, रूरू, रानीघाट तथा माण्डव्य सरोवर क्षेत्रमा जलाशय निर्माण गरी आयमूखी परियोजना सञ्चालन गर्ने जस्ता योजना अघिल्ला निर्वाचनमा ल्याएको उनलाई सम्झना छ ।

ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण र विकासका साथै आवश्यक पर्यटन पूर्वाधार निर्माण गर्न, व्यवसायमुखी कृषि तथा पशु उद्यमशीलताको सुरूवात गर्न ठूला परियोजना सञ्चालन गर्दै बजार सुनिश्चित गर्ने नारा जहिलेसुकै हुन्छन् । बाँदर, दुम्सी, बँदेललगायतका वन्यजन्तु व्यवस्थापन गर्ने नीति ल्याएर किसानलाई सहयोग पुर्याउने भन्ने नै हुन्छ तर त्यस अनुसारको काम भएको पाइदैन । 

Palpa lags behind despite ample potential in agriculture and tourism

पाल्पालाई प्राविधिक शिक्षाको केन्द्रको रूपमा विकास गर्नका लागि प्राविधिक विश्वविद्यालयको स्थापना गर्ने भन्ने पहिले सुनेको उनले बताए । स्वास्थ्य सेवा प्रभावकारी बनाउन पाल्पा अस्पतालको स्तरोन्नतिका साथै स्वास्थ बिमाको सेवा विस्तार गर्ने सुनिए पनि सुधार नभएको तानसेनका हरि बस्यालले बताए । अझ वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई उद्यममा जोड्ने भनिने गरे पनि काम केही नभएको उनले बताए । 

जिल्लाको कुल जनसंख्या २ लाख ४२ हजार ४२३ रहेको छ । जसमा पुरूष जनसंख्या १ लाख ११ हजार ९४० र महिला जनसंख्या १ लाख ३० हजार ४८३ छ । जिल्लामा ५६ हजार २ सय ७५ घर संख्या रहेको छ । तथ्यांक कार्यालका अनुसार यहाँ परिवार संख्या ६४ हजार ३ सय १८ रहेको छ । परिवारको औसत आकार ३.७७ रहेको छ । जनघनत्व १७७ रहेको छ । धेरै जाातजाति, धर्मालम्बी र भाषाभाषीहरूको बसोबास रहेको पाइन्छ ।

२०७८ सालको जनगणना अनुसार यहाँ ४० बढी जातजातिको बसोबास रहेको छ । यहाँको प्रमुख जातजातिमध्ये मगर सबैभन्दा धेरै (५२.६०) रहेको छ । मगर समुदायको मात्र संख्या कुल जनसंख्याको ५२.६ प्रतिशत रहेको छ । यो १ लाख २७ हजार ४ सय ५० रहेको छ । जनगणनाका अनुसार २० प्रकारका भाषभाषी मध्ये जिल्लाभित्र बोलिने प्रमुख मातृभाषा नेपाली (६२.०८) र त्यसपछि मगर (३४.०६) नेवारी (१.९७) छ । अन्य १६ बढी भाषा मातृभाषाको रूपमा बोलिने गरेको पाइन्छ । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully