सुनसरीका दुई मुहार: विकसित सहर, पछाडि परेका गाउँ

औद्योगिक, व्यापारिक र सहरी बस्ती विस्तार भइरहे पनि सुनसरीका नागरिकले खानेपानी, स्वास्थ्य, शिक्षा, जग्गाधनीपूर्जा, बाढी र रोजगारी समस्यासँग संघर्ष गरिरहेका छन्।

फाल्गुन १७, २०८२

एलिना राई

The two faces of Sunsari: developed city, backward village

What you should know

धरान — कोशी प्रदेशअन्तर्गत पर्ने सुनसरी पूर्वी नेपालको आर्थिक, औद्योगिक, कृषि तथा राजनीतिक दृष्टिले चर्चित जिल्लाका रूपमा चिनिन्छ । तराई भू–भागमा अवस्थित यो जिल्ला उर्बर भूमि, विकसित सहरी संरचना तथा बहुजातीय सामाजिक बनोटका कारण प्रदेशकै गतिशील जिल्लामध्ये एक मानिन्छ ।

जिल्लाको सदरमुकाम इनरुवा भए पनि व्यापार, शिक्षा, स्वास्थ्य र सेवा क्षेत्रका हिसाबले धरान र इटहरी प्रमुख केन्द्रका रूपमा विकसित भएका छन् ।

करिब १ हजार २ सय ५७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सुनसरी उत्तरमा उदयपुर, दक्षिणमा भारतको बिहार, पूर्वमा सप्तरी र पश्चिममा मोरङ जिल्लासँग जोडिएको छ । सप्तकोशी नदी प्रणालीको प्रभाव क्षेत्रभित्र पर्ने यस जिल्लाको भूमि कृषि उत्पादनका लागि उपयुक्त मानिन्छ । यही कारण धान, गहुँ, मकै, उखु तथा तरकारी यहाँको मुख्य कृषि उत्पादन हो ।  

सुनसरीको जनसंख्या २०६८ को जनगणना अनुसार ७ लाख ६३ हजार ४८७ थियो । २०७८ को जनगणना अनुसार ९ लाख ३४ हजार ४६१ पुगेको छ । जसमा पुरुष ४ लाख ५४ हजार ७५ र महिला ४ लाख ८० हजार ३८६ जना छन्।  

स्थानीय तह पुनर्संरचनापछि सुनसरीमा दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिका रहेका छन् । सुनसरीका १२ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या इटहरी उपमहानगरपालिकाको १ लाख ९८ हजार ९८ छ । तीमध्ये ९४ हजार ३०८ पुरुष र १ लाख ३ हजार ७०९ महिलाको संख्या रहेको छ । दोस्रो धेरै जनसंख्या भएको तह धरान उपमहानगरपालिका छ । धरानको जनसंख्या १ लाख ७३ हजार ९६ जना पुगेको छ। त्यसमध्ये ८२ हजार ६८३ जना पुरुष र ९० हजार ४१३ महिला छन्।  

यस्तै, तेस्रो धेरै जनसंख्या बराहक्षेत्र नगरपालिकाको ९१ हजार ८९१ रहेको छ। त्यसमध्ये पुरुष ४३ हजार १७८ र महिलाको जनसंख्या ४८ हजार ७१३ भएको छ। इनरुवा नगरपालिकाको जनसंख्या ७५ हजार ९२०, दुहबी नगरपालिकाको जनसंख्या ६७ हजार ५१, रामधुनी नगरपालिकाको ६३ हजार ३७८, हरिनगर गाउँपालिकाको ४९ हजार ५०१, भोक्राहा नरसिंह गाउँपालिकाको ४९ हजार ३७१ र कोशी गाउँपालिकाको ४८ हजार जनसंख्या रहेको छ । गढी गाउँपालिकाको जनसंख्या ३९ हजार ४७८, देवानगञ्ज गाउँपालिकाको ३९ हजार ३६७ र बर्जु गाउँपालिकाको ३५ हजार ५३३ रहेको छ । 

जिल्लामा विभिन्न जातजाति, भाषा र संस्कृतिको सहअस्तित्व पाइन्छ । थारु, यादव, मुस्लिम, राई–लिम्बुलगायत किरात समुदाय, ब्राह्मण, क्षेत्री तथा मधेसी समुदाय यहाँका प्रमुख बासिन्दा हुन् । नेपालीसँगै मैथिली, थारु, उर्दू तथा विभिन्न स्थानीय भाषा दैनिक प्रयोगमा रहेका छन् ।

धरान र इटहरी उपमहानगरपालिका जिल्लाको सहरी विकासको केन्द्र बनेका छन् भने इनरुवा प्रशासनिक केन्द्रका रूपमा परिचित छ । बराहक्षेत्र, दुहबी र रामधुनी क्षेत्र औद्योगिक तथा व्यापारिक गतिविधिका कारण विस्तार हुँदै गएका छन् ।

The two faces of Sunsari: developed city, backward village

सुनसरी पूर्वी नेपालको औद्योगिक करिडोरको महत्वपूर्ण भाग हो । धरान–इटहरी–दुहबी क्षेत्र उद्योग, व्यापार तथा सेवा व्यवसायका लागि प्रमुख मानिन्छ । जुट, कृषि प्रशोधन, साना तथा मझौला उद्योग, यातायात, शिक्षा तथा स्वास्थ्य सेवाले जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाएको छ । पूर्व–पश्चिम राजमार्ग जिल्लाबाट गुज्रिएकाले यातायात पहुँच सहज छ । कोशी राजमार्गमार्फत पहाडी जिल्ला तथा भारतसँगको व्यापारिक आवागमन पनि सक्रिय रहेको छ ।

धार्मिक तथा पर्यटकीय दृष्टिले पनि सुनसरी महत्वपूर्ण मानिन्छ । बराहक्षेत्र धाम हिन्दु धर्माबलम्बीको आस्थाको केन्द्रका रूपमा परिचित छ भने चतरा क्षेत्र धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको स्थल हो । धरान–भेडेटार क्षेत्र आन्तरिक पर्यटनको आकर्षण बन्दै आएको छ ।

राजनीतिक हिसाबले सुनसरी जिल्ला कोशी प्रदेशकै प्रभावशाली निर्वाचन क्षेत्रमध्ये पर्छ । प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्र रहेको यस जिल्लामा राष्ट्रिय राजनीतिका प्रमुख दलहरूबीच प्रतिस्पर्धा हुने गरेको छ । विशेषगरी धरान र इटहरी क्षेत्र राजनीतिक गतिविधि र जनचासोका दृष्टिले सक्रिय मानिन्छन् ।

कोशी प्रदेशको आर्थिक मेरुदण्डका रूपमा चिनिने सुनसरी जिल्ला बाहिरबाट हेर्दा तीव्र विकासको गतिमा अघि बढिरहेको देखिन्छ । औद्योगिक विस्तार, बढ्दो सहर, व्यापारिक गतिविधि र जनसंख्या वृद्धि यहाँको नयाँ पहिचान बनेको छ । तर यही विकासको सतहमूनि नागरिकले भोगिरहेका समस्या भने अझै समाधानको प्रतीक्षामै छन् । विकास र दैनिक संघर्षबीचको दूरी नै अहिले सुनसरीको वास्तविक कथा बनेको छ ।

धरान, इटहरी र दुहबी क्षेत्रलाई पूर्वी नेपालको आर्थिक केन्द्र मानिन्छ । नयाँ घर, सडक विस्तार, व्यापारिक कम्प्लेक्स र उद्योगहरू थपिँदै गएका छन् । तर आधारभूत सेवा व्यवस्थापन त्यही अनुपातमा विस्तार हुन नसक्दा नागरिक असन्तुष्टि बढ्दै गएको छ । विशेषगरी खानेपानी समस्या सहरी क्षेत्रकै सबैभन्दा ठूलो चुनौती बनेको छ । धरान उपमहानगरपालिका–१२ की पुनम राई भन्छिन्, ‘सहर विकसित भयो भनिन्छ तर बिहान उठ्दा पानी आउँछ कि आउँदैन भन्ने चिन्ता हुन्छ । हिउँद सुरु भएपछि दैनिक पानी आउँदैन, कुनेै बेला ट्याङकरबाट पानी किनेर चलाउने अवस्था आउँछ ।’

यो पूरै धरानवासीको मुख्य समस्या हो । हरेक निर्वाचनको एजेण्डा बनिरहेको खानेपानी समस्या हालसम्म भने यसको सामाधान भने भएको छैन् । तर एजेण्डा भने सबै राजनीतिक दलको हुने गरेको स्थानीय अर्का सुशीला राई बताउँछिन् । ‘हिउँदमा त पानीको हाहाकार हुने गर्छ । अहिले नै २ दिनमा पानी आउँछ, त्यो पनि ट्याङकीमा चढ्दैन् । खानेपानी आयोजना विस्तारका योजना पटक–पटक घोषणा भए पनि हामीले स्थायी समाधान अनुभूति गर्न सकेका छैनौं,’ उनले भनिन् । 

खानेपानी समस्या धरानभित्र मात्र होइन । यो समस्या जिल्लाको अन्य ग्रामीण क्षेत्रमा पनि उस्तै रहेको छ ।  शुद्ध खानेपानीका लागि सरकारले घरघरमा धारा ल्याइदिने भने पनि अहिलेसम्म पूरा हुन नसकेको बराहक्षेत्र नगरपालिका–५ भरौलका ३५ वर्षीय प्रबिन लिम्बु बताउँछन् । ‘बराहक्षेत्र नगरपालिकाको धेरै वडामा अहिलेसम्म पनि धारा जडान भएको छैन् र कुवाको पानी पिउनुपर्ने बाध्यता ज्यूँका त्यूँ छ,’ उनले भने ।   

धरानभित्रै विकासमा असमानता देखिनु अर्को प्रमुख विषय बनेको छ । धरान–४ का मनटार, सुमनटार, साउने, खोरियालगायत क्षेत्र अझै सडक, स्वास्थ्य, खानेपानी, फोन नेटवर्कजस्ता आधारभूत सुविधाबाट बञ्चित रहेको स्थानीयको गुनासो छ । उपमहानगरपालिका घोषणा भए पनि आफूहरूले त्यसको अनुभूति गर्न नसकेको स्थानीय बासिन्दाको भनाइ छ । सुमनटारका स्थानीय बब्लु मगर आफूहरूलाई धरान उपमहानगरपालिकावासी भन्ने अनुभूति नभएको बताए । उनी भन्छन्, ‘हाम्रा समस्यै समस्या धेरै छन् । बाटो, पहिरो, टावर, स्वास्थ्य चौकी पुग्न नै समय लाग्छ,’ उनले भने । 

पढ्नका लागि पनि बजार एरिया आउनुपर्ने बाध्यता रहेको स्थानीयको भनाई । घण्टौं हिँडेर विद्यालय जानुपर्ने समस्या अझै छ । नेताहरू भोट माग्ने बेलामा मात्र देखा पर्छन् । समस्या सामाधान गर्छु भनेर आश्वसन दिन्छन् तर चुनाव जितेपछि देखा पर्दैनन् । निर्वाचनका बेला  उम्मेदवारहरूसँग धरान–४ का स्थानीयले बाटो, खानेपानीे र फोनको नेटवर्कका लागि पहल गरिदिनुपर्ने माग राखेका छन् । 

The two faces of Sunsari: developed city, backward village

हरेक निर्वाचनमा अधिकांश दलहरूको घोषणापत्रमा हुने गर्छन् सुकुम्बासी समस्या । उनीहरुले यस समस्यालाई प्राथमिकताका साथ उठाउने गर्छन् । तर यसको सामाधान भने हुन सकेको छेैन् । जिल्लाका १२ स्थानीय तहमध्ये इटहरी उपमहानगरपलिका र इनरुवा नगरपालिकाबाहेक १० स्थानीय तहमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारको संख्या ४१ हजार ३४ रहेको पाइएको छ । भूमि समस्या समाधान आयोग सुनसरीका अनुसार जिल्लामा भूमिहीन दलित ५ हजार ६ सय ३९, भूमिहीन सुकुम्बासी १४ हजार ९ सय ५ र अव्यवस्थित बसोबासी २० हजार ४ सय ९० रहेका छन् ।

आयोगका अनुसार धरान उपमहानगरपालिका सबैभन्दा धेरै १३ हजार ३ सय २८ परिवार धनीपुर्जाविहीन रहेका छन् । जसमा भूमिहीन दलित १ हजार ३ सय ८७, भूमिहीन सुकुम्बासी ३ हजार ८ सय २१ र अव्यवस्थित बसोबासी ८ हजार १ सय २० रहेका छन् । त्यस्तै, बराहक्षेत्र नगरपालिकामा १० हजार ५ सय ९३, रामधुनी नगरपालिकामा ४ हजार १ सय ३८, दुहबी नगरपालिकामा २ हजार ८ सय ३५, कोशी गाउँपालिकामा २ हजार २ सय ५५, भोक्राहा नरसिंह गाउँपालिकामा १ हजार ९ सय १७, गढी गाउँपालिकामा १ हजार ३ सय ७७, बर्जु गाउँपालिकामा १ हजार ६ सय ३८, देवागञ्ज गाउँपालिकामा १ हजार १ सय २९ र हरिनगरा गाउँपालिकामा १ हजार ८ सय ३४ परिवार जग्गधनीपूर्जाविहीन रहेका छन् । दुई वटा पालिकाले विवरण नबुझाएकाले जिल्ला यकिन सुकुम्बासीको संख्या भने छैन्।

विकाससँगै बसाइँसरेर आउने क्रम बढ्दा अव्यवस्थित बस्ती विस्तार पनि तीव्र भएको छ । सार्वजनिक जग्गा, नदी किनार र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सुकुम्बासी परिवारको संख्या उल्लेख्य छ । इटहरीकी सीता देवी मण्डल भन्छिन्, ‘हामीलाई बस्न ठाउँ चाहिएको मात्रै हो । चुनाव आउँदा आश्वासन पाइन्छ, पछि कसैले खोज्दैन ।’ लालपूर्जा अभावले ऋण सुविधा र सामाजिक सुरक्षामा समेत समस्या हुने गरेको उनी बताउँछिन् ।

सप्तकोशी नदी सुनसरीको जीवनरेखा भए पनि यही नदी बाढीको स्थायी जोखिम बनेको छ । कोशी तटीय क्षेत्रका बासिन्दा हरेक मनसुनमा त्रासपूर्ण जीवन बिताउँछन् । यही नदीले हजारौं परिवारको जीवन धानेको छ। तर विडम्बना, जीवन दिने यही कोशी नदी तटीय क्षेत्रका बासिन्दाका लागि वर्सेनि विपत्तिको कारण बन्दै आएको छ । बाढी र नदी कटानका कारण कोशी किनारका बस्तीमा बसोबास गर्ने नागरिक सुरक्षित आवासको अनुभूति गर्न पाएका छैनन्।

बराहक्षेत्र नगरपािलकास्थित कोशी नदी र त्यसको पश्चिमी भागालोबीचमा एउटा टापु छ, ‘श्रीलंका’  यो टापु उदयपुरको बेलका नगरपालिका–२ र सुनसरीको वराहक्षेत्र नगरपालिका–६ र ८ मा पर्छ । पूर्वतर्फबाट टापु पुग्न डुंगा चढ्नुपर्छ भने कोशीको पश्चिम भागालोमा उदयपुरतर्फबाट झोलुंगे पुलबाट ।

कोशी नदीको भागालोमा अवस्थित श्रीलंका टापुसम्म पुग्न सडक यातायातका साथै भौतिक पूर्वाधारको अभाव छ। यसको पूर्वतर्फको प्रकाशपुरबाट डुंगामा कोशी तर्नुपर्छ भने सडकबाट उदयपुर जिल्ला हुँदै यहाँ जानुपर्ने अवस्था छ । 

बराहक्षेत्र–९ श्रीलंका टप्पु क्षेत्रमा बसोबास गर्ने स्थानीयका लागि मनसुन सुरु हुनु भनेकै त्रासको मौसम सुरु हुनु हो। वर्षा बढ्नासाथ नदीको बहाव तीव्र हुने, जमिन कटान सुरु हुने र बस्ती जोखिममा पर्ने समस्या यहाँ हरेक वर्ष दोहोरिन्छ। स्थानीय चौधरी कोशीसँगको निरन्तर संघर्षको जीवित उदाहरण हुन्। नदी कटानकै कारण उनले पटक–पटक बसोबास स्थान परिवर्तन गर्नुपरेको छ। ‘अहिलेसम्म पााच पटक स्थान परिवर्तन गरिसको, यो मेरो छैटौं घर हो,’ उनले दुखेसो पोखे, ‘घर बनायो, केही वर्ष बसियो, फेरि बाढी आयो र सबै जोखिममा पर्छ। बर्खा लाग्नासाथ परिवार कसरी बचाउने भन्ने चिन्ता सुरु हुन्छ। सरकारले कोशीमा बलियो तटबन्ध बनाइदिए सुरक्षित हुन्थ्यौं, वर्सेनि हुने कटान रोकिन्थ्यो।’ उनका अनुसार बाढी आउँदा पहिलो प्राथमिकता घर जोगाउने नभई ज्यान बचाउने हुन्छ। राति नदीको आवाज बढ्दा धेरै परिवार निदाउनै नसक्ने अवस्था रहने गरेको उनले बताए।

स्थानीय महिला ५९ बर्षीय रहिमा खातुन भन्छिन्, कोशी कटानले भविष्यप्रतिको भरोसा नै हराउँदै गएको बताइन्। ‘आज बनाएको घर भोलि रहन्छ कि रहँदैन भन्ने निश्चित हुँदैन,’ उनले भनिन्, ‘खेती गर्ने जमिन धेरै पटक बगिसक्यो। मेहनत गरेर लगाएको बाली एकै रातमा सकिन्छ। हरेक वर्ष डरले जिउनु पर्छ।’

स्थानीयका अनुसार नदीको धार परिवर्तन भइरहने भएकाले जोखिम झन् बढ्दै गएको छ । कोशी नियन्त्रणका लागि सरकारले विभिन्न समयमा योजना घोषणा गरे पनि तटीय बस्तीमा दीर्घकालीन सुरक्षा महशुष हुन सकेको छैन। सुरक्षित पुनस्र्थापना, बलियो तटबन्ध निर्माण र कटान नियन्त्रणका प्रभावकारी कार्यक्रम आवश्यक रहेको स्थानीयको भनाई छ ।

कोशी किनारका बासिन्दा अहिले राहत सामग्रीभन्दा स्थायी समाधान चाहिरहेका छन्। वर्सेनि घर बनाउने, गुमाउने र पुन: बसाइँ सर्ने बाध्यताको अन्त्य होस् भन्ने उनीहरूको अपेक्षा छ। जीवन धान्ने आधार बनेको कोशी नदी अब त्रास होइन, सुरक्षित सहअस्तित्वको प्रतीक बनोस् भन्ने चाहना श्रीलंका टप्पुका बासिन्दादे व्यक्त गरेका छन् ।

सप्तकोशी नदीले पाँच दशकदेखि हजारौं मानिसको जीवन मात्र होइन, उनीहरूको अधिकार पनि बगाइदिएको छ। हातमा लालपूर्जा र मालपोत तिरेको कागज भए पनि पीडितहरू अझै आफ्नो पुख्र्यौली जग्गामा अधिकार प्रयोग गर्न सकिरहेका छैनन्।

The two faces of Sunsari: developed city, backward village

बराहक्षेत्र, चतरा, महेन्द्रनगर र प्रकाशपुरका हजारौं परिवार कागजमा धनी, व्यवहारमा भूमिहीन बनेका छन् । पाँच दशकअघिको बाढीले घरबार र जमिन बगाएको थियो। तर अहिले पनि राज्यले क्षतिपूर्ति र स्थायी पुनर्स्थापना सुनिश्चित गर्न सकेको छैन।

बराहक्षेत्र–७ का ७० वर्षीय राजबहादुर राई २०४२ को कोशी बाढीले बिस्थापित भए । राज्यले दिएको लालपूर्जा हातमै छ तर त्यो जमिन अहिले सप्तकोशी नदीको पानीमूनि हराइसकेको छ । दशकौंअघि नदीले बगाएको जमिनको मालपोत आज पनि तिर्न बाध्य हुनु परेको यथार्थ सुनसरीका कोशी पीडितको जीवनकथा बनेको छ ।

राजबहादुर २ बिघा जमिनको मुआब्जा पाउने आशामा कर तिर्दै आएका छन्। ‘हातमा लालपूर्जा छ तर बैंकले धितो पनि मान्दैन न त खेती नै गर्न सकिन्छ। उपयोग नै गर्न नसकिने जग्गाको मालपोत भने तिर्नुपरेको छ,’ एक स्थानीयले भने । कोशीको डुबान र कटानले विस्थापित भएका हजारौं परिवार अहिले ‘कागजमा जग्गाधनी तर व्यवहारमा भूमिहीन’ बनेका छन् । पाँच दशकअघि बगेको जग्गाको स्वामित्व पुस्तान्तरण हुँदै आए पनि उपयोग गर्न नपाइने जमिनको कर भने राज्यलाई निरन्तर बुझाइदै आएको छ । बराहक्षेत्र नगरपालिका–१० का दुर्गा पौडेल परिवार यसको अर्को उदाहरण हुन् । ‘जग्गा नदीमै गइसक्यो, तर राज्यले क्षतिपूर्ति दिन्छ कि भनेर कर तिरिरहेका छौ,’ उनले भने, ‘न त जग्गा पाइयो, न राज्यबाट क्षतिपूर्ति नै ।’ कोशी कटानबाट प्रभावित सुनसरीका वराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, मधुवन, पश्चिम कुसाहा, श्रीपुर जब्दी र हरिपुर क्षेत्रका चार हजारभन्दा बढी घरपरिवार दशकौंदेखि क्षतिपूर्तिको प्रतीक्षामा छन् । पीडितले खेतीयोग्य जमिन, घर, बाली र जीविकोपार्जनको आधार गुमाएका छन् ।

अहिले सुकुम्बासी जस्तै भएर बस्नु परेको बाङ्गेका ५५ वर्षीय खग्रेन्द्र दाहाल बताउँछन् । ‘कोशीले जमिन बगायो । सरकारले जग्गा सट्टा भर्नामा बाढीपिडितलाई जमिन दिने भने पनि अहिलेसम्म नपाएको उनले बताए । ‘लालपूर्जा छ, जग्गा छैन । ७ पटक भोट दिँदा हामीलाई जहिले लालपुर्जा दिने भनेर आश्वासन मात्र दिए । निर्वाचन जितेर सांसद, मन्त्री भए तर हामीसित गरेको प्रतिबद्धता पूरा गरेनन्,’ उनले भने । 

त्यस्तै १७ वर्षसम्मदेखि बाढीपिडितहरु राहतको पखाईमा छन् । २०६५ भदौ २ मा सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेर बाढीले विनास गरेको १७ वर्ष बित्यो । तर बाडीपीडितको राहत र क्षतिपूर्तिको सुनवाइ भने अझैसम्म पूरा भएको छैन। बाढीले सुनसरी, सप्तरी र भारतको बिहार क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो । सुनसरीको श्रीपुर, हरिपुर र पश्चिम कुशाहाको ७ हजार ५ सय ६३ परिवारको उठीबास लागेको थियो । ६ हजार ८ सय बिघा जमिन कोशीको बाढीले कामै नलाग्ने गरी बालुवाले पुरिदिएको थियो । १७ वर्षदेखि बाढीपीडितहरुले अझैसम्म पनि राहत पाउने टुंगो छैन,’ स्थानीय पञ्चनारायण मण्डल भन्छन् । लहलह धान फल्ने खेतमा बालुवाको थुप्रो अझै छ । त्यही थुप्रोमाथि उनीहरू तरकारी र तरबुजा खेती गरेर गुजारा चलाउन बाध्य छन् । उनी भन्छन्, ‘अझै पनि १३ सय बिघामा बालुवा छ, त्यो बालुवा भएको स्थानमा खेती लगाउन सम्भव छैन ।’ सरकारले बालुवा हटाई दिने भने पनि पूरा नगरेको बताए ।  

पश्चिम कुशाहा ४ का मोहमद नुरको कोशीको बाँध फुटेर बस्तीमा बाढी पसेको केही बेरमै ५ विगाह जमिन बगर बनेको थियो । अहिले पनि उनको खेतको बालुवा उस्तै छ । उनले भने, ‘सरकारले बालुवा हटाइदिने भने पनि अहिलेसम्म हटाइदिएको छैन ।’ पहिला त्यो खेतमा उनको झन्डै तीन सय मन धान फल्थ्यो । अहिले धान रोप्ने स्थिति छैन । उनी अहिले आफ्नो खेतमा तरबुजा र लहरे तरकारी खेती गर्दै आएका छन् । सिँचाइ अभावले तरकारी खेती पनि मज्जाले सप्रिदैन् । 

स्वास्थ्य सेवा पहुँच विस्तार भएको सरकारी दाबी गरिए पनि सुनसरीका ग्रामीण तथा टप्पु क्षेत्रका नागरिकले अझै गुणस्तरीय उपचार सेवा सहज रूपमा पाउन सकेका छैनन् । स्वास्थ्य संस्था संख्या बढे पनि सेवा, उपकरण र विशेषज्ञ जनशक्तिको अभावका कारण उपचार अझै शहर केन्द्रीत बनेको स्थानीयको गुनासो छ । देवानगञ्ज गाउँपालिकाकी नजमा खातुन भन्छिन्, ‘स्वास्थ्य चौकीमा सामान्य औषधि मात्रै पाइन्छ । गम्भीर बिरामी भए धरान लैजानुबाहेक विकल्प हुँदैन ।’ आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यातायात र उपचार खर्च ठूलो बोझ बन्ने गरेको उनले बताइन् । समयमै उपचार नपाउँदा बिरामीको अवस्था झन् जटिल बन्ने समस्या यहाँ सामान्य जस्तै बनेको छ ।

सुनसरीका दक्षिणी तथा नदी आसपासका बस्तीमा स्वास्थ्य सेवा अझै न्यून अवस्थामा रहेको देखिन्छ । बराहक्षेत्र नगरपालिका अन्तर्गत पर्ने श्रीलंका टाप्पुमा करिब १२ हजार जनसंख्या भए पनि आधारभूत शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार अभावले स्थानीय दैनिक समस्या झेल्न बाध्य छन् । सामान्य बिरामी हुँदा समेत उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।

स्थानीय रामकुमारी चौधरीका अनुसार गाउँमा अस्पताल नहुँदा बिरामी पर्दा ठूलो समस्या हुने गरेको छ । ‘एम्बुलेन्स सेवा छैन । आकस्मिक बिरामी हुँदा झन् गाह्रो हुन्छ,’ उनले भनिन् । स्वास्थ्य संस्था अभावका कारण गर्भवती महिला, ज्येष्ठ नागरिक र दीर्घरोगी सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन् ।

कोशी नदीको भंगाल क्षेत्रमा अवस्थित यस टप्पु प्रशासनिक रूपमा बराहक्षेत्र नगरपालिकामा परे पनि सरकारी कामकाजका लागि उदयपुर जिल्ला हुँदै आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । नदीले घेरिएको भूगोलका कारण शिक्षा, स्वास्थ्य, सडक र यातायात पूर्वाधारको विकास अझै प्रभावकारी रूपमा विस्तार हुन सकेको छैन।

स्थानीय ४५ वर्षीय राम मगरका अनुसार उदयपुर जोड्ने स्थायी पुल नहुँदा वर्षायाममा आवतजावत पूर्ण रूपमा प्रभावित हुन्छ । ‘झोलुंगे पुलबाट पैदल हिँड्न त मिल्छ, तर बर्खामा सवारीसाधन चल्दैन । बिरामी परे ठूलो समस्या हुन्छ,’ उनले भने ।

त्यस्तै बराहक्षेत्र नगरपालिकाको सूर्यकुण्ड क्षेत्र पनि आधारभूत विकासका पूर्वाधारबाट अझै पछाडि परेको स्थानीयको गुनासो छ । धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र भए पनि यहाँ स्वास्थ्य, शिक्षा, सडक तथा भौतिक पूर्वाधारको पर्याप्त विस्तार हुन सकेको छैन ।

The two faces of Sunsari: developed city, backward village

सामान्य स्वास्थ्य सेवा लिनसमेत टाढाका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको स्थानीय २५ वर्षीय रेशु राई बताउँछिन्  । गाउँमै स्वास्थ्य संस्था नहुँदा बिरामी पर्दा समयमै उपचार पाउन कठिन हुने गरेको उनले बताइन् । सडक बिस्तार भए पनि यातायातको नियमित सुविधा नहुँदा घण्टौं हिँड्नु पर्ने अवस्था छ ।  

सुनसरीको अर्को गम्भीर समस्या मानव–हात्ती द्वन्द्व हो । वन क्षेत्रनजिकका बराहक्षेत्र, चतरा र कोशी आसपासका बस्तीमा जंगली हात्ती प्रवेश गर्ने घटना बढ्दै गएको छ । किसान टेकबहादुर चौधरी भन्छन्, ‘दिनभर खेतमा मेहनत गर्छौं, राति हात्ती आएर सबै सखाप पारिदिन्छ ।’ स्थानीयका अनुसार हात्ती धपाउन रातभर पालो बस्नुपर्ने अवस्था सामान्य बनेको छ । बालीको क्षतिपूर्ति दिए पनि झन्झटिलो प्रक्रियाको कारण रिर्पोट लेखाउन  मानिसहरु जाँदैनन् ।’

गत पुस २५ मा बराहक्षेत्र नगरपालिका–०३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट दुई स्थानीय महिला घाइते भएका थिए । ७२ वर्षीया मैया विक र ३४ वर्षीया पुजन विक नडाहा–धरान सडक खण्डनजिक कालिन्द्र सामुदायिक वनबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीको आक्रमणमा परेका परेका थिए । हात्तीका कारण स्थानीय त्रसित छन् । हात्तीका कारण सथानीयको ज्यान समेत गएको छ। स्थानीय सुजन चौधरीका अनुसार हात्ती घरभित्र पस्न नदिन स्थानीयले घरको बारमा प्लाष्टिक झुण्ड्याउने गरेको बताए । यसले हात्ती झुक्किएर घरमा पस्न नसक्ने बताउँछन् । तर यसले हात्तीको समस्या भने समाधान भएको होइन् । जंगल जाँदा वा बाटोम एक्लै हिँड्न पनि हात्तीको डर भएको उनले बताए ।

पूर्वी पहाडी जिल्लालाई जोड्ने मुख्यमार्ग र नेपाल–भारत खुला सीमाका कारण लागुऔषध कारोबार र प्रयोगको उच्च जोखिममा रहेका छ । यस क्षेत्रमा लागुऔषध मुख्य चुनौतीको रुपमा रहेको छ । सुनसरीमा विशेषगरी लागुऔषधको ट्रान्जिट मानिने धरान, इटहरी, दुहबी, इनरुवा तथा सीमावर्ती क्षेत्रमा लागुऔषधप्रयोगकर्ता बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पछिल्ला वर्षमा लागुऔषध सम्बन्धी मुद्दा निरन्तर बढ्दै जाँदा अवस्था चिन्ताजनक बन्दै गएको छ । प्रहरी तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा लागुऔषध सम्बन्धी ४३२ मुद्दा दर्ता हुँदा ६८५ जना पक्राउ परेका थिए । त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा मात्र ५१२ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन् । सो अवधिमा ८०२ जना पक्राउ परेका थिए । पक्राउ पर्ने मध्ये अधिकांश १६ देखि ३५ वर्ष उमेर समूहका युवा रहेको प्रहरीले जनाएको छ । त्यस्तै चालु आर्थिक वर्षको हालसम्म मात्रै ३५० भन्दा बढी मुद्दा दर्ता भई ५५० जनाभन्दा बढी पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीमा ब्राउन सुगर, गाँजा, ट्रामाडोल, नाइट्रोभेट, कोरेक्सलगायत लागुऔषध बढी प्रयोग हुने गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय इन्जेक्सनमार्फत लागुऔषध प्रयोग गर्ने युवाको संख्या समेत बढ्दै गएको पाइएको छ ।

सुनसरीमा अहिले लागुऔषध मुख्य चुनौतीको रुपमा रहेको धरान उपमहानगरपालिका–१५ बस्ने अधिवक्ता सागर चेम्जोङ बताउछँन् । सुनसरीमा लागुऔषध कारोबार र प्रयोगकर्ताको संख्या उल्लेख्य बृद्धि हुँदै गइरहेको र विशेषगरी युवाहरु यसको लतमा फस्दै गएको उनले बताए । उनी भन्छन्, ‘लागुऔषध प्रयोगकर्ता मात्रै होइन, ओसारपसारमा संलग्न युवाको संख्या पनि बढ्दो छ ।’

लागुऔषध दुर्व्यसनका कारण जिल्लामा चोरी, लुटपाट, घरेलु हिंसा तथा सामाजिक अपराधसमेत बढ्न थालेको स्थानीयको गुनासो छ । विद्यालय तथा कलेज अध्ययनरत युवासमेत यसको प्रभावमा पर्न थालेपछि अभिभावक र सरोकारवालाहरू चिन्तित बनेका छन् । सुरक्षा निकायले विद्यालय केन्द्रीत सचेतना कार्यक्रम, निगरानी वृद्धि तथा सीमाक्षेत्रमा कडाइ गरिए पनि लागुऔषध नियन्त्रण अझै चुनौतीपूर्ण बन्दै गएको सामाजसेवी लिला भुजेल बताउँछिन् । सुनसरीमा लागुऔषध समस्या अब सुरक्षा मुद्दामात्र नभई सामाजिक संकटका रूपमा देखिन थालेको उनी बताउँछिन् ।

The two faces of Sunsari: developed city, backward village

कोशी प्रदेशको उर्वर भू–भागमध्ये पर्ने सुनसरी जिल्ला कृषि उत्पादनका हिसाबले प्रदेशकै महत्वपूर्ण जिल्लामध्ये एक मानिन्छ । झापापछि दोस्रो ठूलो कृषि योग्य भूमि रहेको सुनसरीमा हजारौं परिवारको जीवन खेतीपातीमै निर्भर छ । जिल्लाभर फैलिएको समथर भूभाग, सिँचाइको सम्भावना र बजारसँगको सहज पहुँचका कारण यहाँ कृषि उत्पादनको ठूलो सम्भावना देखिए पनि किसानको दैनिक जीवन भने अझै संघर्षमै सीमित छ।

सरकारी कृषि तथ्यांकअनुसार सुनसरीमा करिब ८१ हजार ७५६ हेक्टर खेतीयोग्य जमिन रहेको छ। तीमध्ये करिब ७० हजार हेक्टरभन्दा बढी क्षेत्रमा नियमित खेती हुँदै आएको छ। जिल्लामा धान खेती सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको छ भने मकै, गहुा र तरकारी खेती पनि किसानको मुख्य आम्दानीको आधार बनेका छन्। हरियाली खेतहरूले उत्पादनको सम्भावना देखाए पनि किसानले भोगिरहेका समस्या भने वर्षौंदेखि उस्तै छन्।

भोक्राहा नरसिंह गाउँपालिकाका ६५ वर्षीय किसान अमिर आलम आफ्नो जीवनभर खेतीमै निर्भर रहे। उनका अनुसार यहाँका अधिकांश परिवार मकै, धान र तरकारी खेतीबाट जीविकोपार्जन गर्छन्। तर समयमा मल, उन्नत बीउ र पर्याप्त सिँचाइ नपाउँदा उत्पादन प्रभावित हुने गरेको उनी बताउँछन् । खेतमा राम्रो उत्पादन भए पनि गाउँका सडक स्तरोन्नति नभएकाले कृषि उपज बजारसम्म पुर्‍याउन कठिन हुने समस्या अझै समाधान हुन सकेको छैन।

गाउँका युवाको अनुभव पनि फरक छैन । स्थानीय युवा हरि मण्डलका अनुसार गाउँमा रोजगारीको अवसर नहुँदा दैनिकजसो युवा विदेश जान बाध्य छन्। खेतीलाई आधुनिक, व्यावसायिक र आम्दानीमुखी बनाउन नसक्दा नयाँ पुस्ता कृषि पेशाबाट टाढिँदै गएको उनको बुझाइ छ। उनी भन्छन्, यदि कृषि क्षेत्रमै स्थायी आम्दानीको वातावरण बने युवाहरू आफ्नै गाउँमा बस्न तयार छन् ।’ 

किसानका लागि सरकारले विभिन्न अनुदान तथा सुविधा घोषणा गरे पनि ती कार्यक्रम वास्तविक किसानसम्म प्रभावकारी रूपमा नपाएको उनीे गुनासो गर्छन् । गाउँपालिका–६ का ५८ वर्षीय किसान राज राईले पटक–पटक निर्वाचनमा भोट दिए पनि गाउँमा अपेक्षाअनुसार विकास नभएको बताउँछन्। कृषि उत्पादन बढाउन सिँचाइ, मलको नै अभाव छ । ‘सिजन अनुसार बाली लगाउँदा मल नपाएर वर्सेनि घाटा व्यहोर्नु परिरहेको छ । कृषकको मिहनेतको मूल्य पाइएको छैन् । बजारीकरणको उस्तै समस्या छ । मिहनेत गरेर उत्पालन गरेको तरकारी सस्तो मूल्यमा बेच्नु पर्ने बाध्यता छ,’ उनले भने । स्वदेशी उत्पादन सस्तोमा बेच्नुपर्ने र बाह्यबाट भित्रिएको उत्पादन महंगोमा बिक्रि हुने गरेको उनले सुनाए ।  

सुनसरीमा पर्याप्त खेतीयोग्य जमिन, उत्पादन क्षमता र श्रमशक्ति हुँदाहुँदै पनि कृषि क्षेत्र अझै संरचनागत समस्यासँग जुधिरहेको देखिन्छ । नीति निर्माणदेखि कार्यान्वयनसम्मको कमजोरीका कारण किसानले आफनो मिहनेत अनुसार प्रतिफल पाउन सकेका छैनन् । कृषि सुरक्षित, उत्पादनको मूल्य सुनिश्चित र गाउँमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको स्थानीयको भनाई छ ।

स्थानीय मुद्दा भने अझै पनि चुनावी केन्द्रमै छन् । बराहक्षेत्र–धरान जोड्ने नडाहा–धरान ९ किलोमिटरको सडक दशकौंदेखि चुनावी एजेण्डा बने पनि निर्माण सम्पन्न हुन सकेको छैन । वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण किसान, व्यापारी तथा बिरामीले सास्ती खेपिरहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्ने बिरामीहरू समेत सडक समस्याबाट प्रभावित छन् । बाटोको समस्याले बिरामीहरुले सास्ती खेप्नु परेको बराहक्षेत्र नगरपालिकाका स्थानीय शोभा देवान बताउँछिन् । उनी भन्छिन्,‘पाठेघरको समस्याले धरान धाइरहनु पर्ने भएकोले अहिले हप्तामा २/३ पटक नै आउनु पर्छ तर बाटो नराम्रो भएकोले हैरान र सास्ती हुने गर्छ, दुखाई भएको बेला झनै समस्या बढाउँछ ।’  

५४ वर्षीय शोभा सानैदेखि यो बाटो आवातजावात गरेको स्मरण गर्छिन् । उनको माटो र बासको घर पक्कीमा परिणत भए पनि यो बाटो भने जस्ताको त्यस्तै छ । बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती हुने गरेको छ । धरान र बराहक्षेत्रको सिमानामा रहेको यो सडक दशकौं बितिसक्दा पनि बाटो निर्माण हुन सकेको छैन् । जंगलको बीचमा १ किलोमिटर बाटो मात्रै कालोपत्र गरिएको छ ।

बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीका अनुसार संघीय सरकारबाट आएको ५० लाख बजेटमा रामधुनी नगरपालिका–६ र ७, बराहक्षेत्र नगरपालिका नडाहादेखि धरान जोड्ने बाटो भनेर आएको बजेटबाट कालोपत्र गरिएको उनले बताए । ६ किलोमिटर ठेक्का लागे पनि बजेट अभावले बाटो निर्माण अधुरै रहेको मेयर कार्कीले बताए ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully