मधेशको महोत्तरीमा सधैंको एउटै मार- डुवान र खडेरी

तथ्याङ्क समन्वय कार्यालय धनुषाका अनुसार महोत्तरीका मुख्य १७ वटा सडकमा महेन्द्र राजमार्ग, ढल्केवर–भिट्ठामोड, बर्दिबास–सिन्धुली, बर्दिबास–जलेश्वर, जलेश्वर–मटिहानी र जलेश्वर–सम्सी–गौशाला गरी ६ राजमार्ग मात्र कालोपत्र भएका छन् । बाँकी ११ राजमार्ग ग्राभेल/कच्ची छन् ।

फाल्गुन १६, २०८२

सन्तोष सिंह

Floods and drought are the constant scourge in Mahottari, Madhesh.

What you should know

महोत्तरी — जिल्लामा प्रत्येक वर्षामा डुवान र हिउँदमा खडेरीले सताउने गरेको छ । डुवान र खडेरीको मारमा जनवीवन मात्र छैन । जिल्लाको आर्थिक मेरुदण्डका रूपमा रहेको कृषि उत्पादन पनि प्रभावित भइरहेको छ । भौगोलिक रूपमा यो जिल्ला चुरे भावर र समथर भूभागमा बाँडिएको छ । यहाँको पुरानो सदरमुकाम जलेश्वरपछि नयाँका सहरका रूपमा बर्दिबासले महत्त्व पाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रहेको बर्दिबास पहिले ओझेलमा थियो । संघीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको बीपी राजमार्ग सञ्चालन आएपछि बर्दिबासले विकासमा फड्को मारेको हो । सडक सञ्चालनमा आएपछि बर्दिबासमा होटल, अस्पताल, राम्रा विद्यालय खुले । नयाँ सहरमा विभिन्न जिल्लाका बासिन्दा बसाइँ सरेर आउने लहर छ । ‘हुनेखाने वर्ग’ र बालबच्चाको शिक्षाका लागि बर्दिबास झरेर घर बनाउनेको संख्या दिनानुदिन बढ्दै गएको छ ।

जिल्लामा बर्दिबासभन्दा पुराना बजार अझै सहरमा परिणत हुन सकेका छैनन् । सहरीकरणका लागि सडक सञ्जाल जरुरी हुने स्थानीय बताउँछन् । स्थानीय तहमा स्वास्थ्य, शिक्षा र किसानका उत्पादन बेच्ने हाटबजारमा विकास पुग्न सकेको छैन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारको साख खस्कँदो अवस्थामा छ । बजार आवतजावत गर्न सडक निर्माण हुन सकेका छैनन् । 

शिक्षा र रोजगारीका लागि गौशाला आएर बसेकाहरू पनि पलायन हुने क्रम बढेको छ । गौशाला जस्तै सहरीकरणको सपना देखेका रामगोपालपुर, औरही, बलवा, सरपल्लो र सम्सी बजारमै सीमित छन् । त्यहाँका सडक पक्की छैनन् । नदीमा पुलको अभाव छ । जनप्रतिनिधिले पनि आवश्यक योजना लागू गर्न चासो दिएका छैनन् । जसले गर्दा नागरिकको जीवनस्तर उकासिन सकेको छैन ।

समथर र सुगम भएकाले जिल्लास्थित १५ वटै स्थानीय तहमा सहज पहुँच छ । तर, कुशल राजनीतिक नेतृत्व नहुँदा छिमेकी जिल्ला धनुषा र सर्लाहीभन्दा पछि परेको गौशालाका युवा दीपलाल महतो बताउँछन् । उत्तरमा सिन्धुली र दक्षिणमा भारतको बिहार राज्यसँग जोडिएको जिल्लाका किसानलाई सिँचाइ नहुँदा बर्सेनि खडेरीको सामना गर्नुपरेको छ । सुक्खाको प्रभावले उत्पादनमा गिरावट आइरहेको छ । ‘धानको माइती’ मानिने जिल्लाको उत्तरी क्षेत्रमा उखु र तरकारीको व्यावसायिक उत्पादन भइरहेको छ । उखु र तरकारी तथा दक्षिणी भेगमा धान, गहुँ, मकै र आलु खेती हुने गरेको छ । तर, खेतीपाती गर्ने किसान सिँचाइँ उपलब्ध नहुँदा पानीका लागि संघर्ष गर्न बाध्य छन् । यहाँ उपलब्ध सिँचाइँ आयोजना पनि हिउँदमा सुक्ने गरेका छन् । भूमिगत सिँचाइ बोरिङ र आकासे पानीको भरमा किसानले खेती गरिरहेका छन् । वर्षभरि पानी उपलब्ध हुने नहर महोत्तरीमा छैनन् ।Floods and drought are the constant scourge in Mahottari, Madhesh.

जिल्लाको अलिपट्टीकी ६२ वर्षीया हीरा देवीले असारमा धान रोप्न सडक छेउको पानी पम्पसेट चलाएर सिँचाइ गरेको बताइन् । बिग्ही नदीमा पानी सुकेको र आसपासको बोरिङ्गबाट सिँचाइ गर्न पालो नपाएको उनको गुननसो छ । ‘सडक छेउछाउको पानीले धान रोपेकी थिए,’ उनले भनिन्, ‘ धान काटने बेलामा बिग्हीमा आएको बाढीले धान ढुब्यो ।’ फलेको आधा धान मात्रै भित्रिएको उनले बताइन् । गौशाला–११ लक्षि्मनिया टोलमा कमला सिँचाइ पोर्ताहाको बजेटले जडान गरिएको डीप ट्युबवेल गाडिएको दुई वर्ष भयो । तर सञ्चालन हुन सकेको छैन । विद्युत् प्राधिकरणले मापदण्ड नपुर्याएको भन्दै बिजुली नजोड्दा किसान सुख्खाको समयमा सिँचाइबाट वञ्चित भएको स्थानीय देविन्दर सिंहले बताए । 

जिल्लास्थित खेतीयोग्य ५९ हजार ४ सय १७ हेक्टर क्षेत्रफलमध्ये ३३ हजार ९ सय ३९ हेक्टर मात्र सिँचाइँ पुगेको छ । सडक राम्रो नहुँदा कृषि उत्पादन बजारसम्म पुर्‍याउन समस्या भइरहेको जलेश्वरका युवा सन्तोष साहले बताए । जिल्लामा नहरबाट सिँचाइ गर्ने कुनै योजना नहुँदा भूमिगत (बोरिङ्ग) बाट सिँचाइ गर्दा कृषकलाई लगानि बढी लाग्ने र सुख्खामा बोरिङ सुक्दा खेती प्रभावित हुने गरेको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द रायले बताए । ‘भूमिगत सिँचाइ गर्न खेतखेतमा विधुतीकरण हुनुपर्ने हो,’ उनले भने, ‘तर खेतमा किसानका लागि विद्युत् पुग्न सकेको छैन । भूमिगत सिँचाइ विकासका लागि बजेट अभवा र झन्झटिलो प्रक्रियाले समस्या समाधान हुन सकेको छैन ।’ 

भूमिगत सिँचाइ सुक्दा खडेरीको बेला किसान धान रोप्न समस्या हुने गरेको छ,' प्रमुख रायले भने,‘उन्नत प्रविधि, उन्नत विउ बिजन र मलको समस्या बर्सेनि भइरहेको छ ।’ कार्यालयले ६५ लाख बजेट राखेर बोरिङको सूचना निकाल्दा २ हजार ५ सय ६९ आवेदन परेको उनले बताए । बजेट कम तर माग अत्यधिक भएपछि सूचना नै कृषि ज्ञानकेन्द्रले रद्द गर्नुपरेको थियो । 

तथ्याङ्क समन्वय कार्यालय धनुषाका अनुसार महोत्तरीका मुख्य १७ वटा सडकमा महेन्द्र राजमार्ग, ढल्केवर–भिट्ठामोड, बर्दिबास–सिन्धुली, बर्दिबास–जलेश्वर, जलेश्वर–मटिहानी र जलेश्वर–सम्सी–गौशाला गरी ६ राजमार्ग मात्र कालोपत्र भएका छन् । बाँकी ११ राजमार्ग ग्राभेल/कच्ची छन् ।

सडक निर्माणका लागि न्युन बजेट बिनियोजन हुँदा जिल्लामा सडक निर्माण सुस्त भएको सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख दरोगा प्रसाह साहले बताए । ‘१० किलोमिटर सडक योजनामा तीन करोड बजेट राखिएको छ,’ प्रमुख साहले भने,‘कतिपय सडकमा बजेट छैन भने कतिपय सडक कसले बनाउने टुंगो छैन । स्थानीय, प्रदेश र संघ सरकारले सडक बनाउने योजना छनौट गर्न सकेको छैन ।’ राजनीति दल र जनप्रतिनिधिले पहल गरेको सडक बजेट अभावमा अगाडी बढन सकेको छैन, उनले भने । सडक योजना छनौट, राजनीति नेतृत्व, सडकहरू प्राथमिकतामा नपर्नु र सडकहरूको वर्गिकरण नहुदा महोत्तरीको सडक निर्माण सुस्त भएको हो, उनले भने । 

प्रभावकारी स्वास्थ्य सेवा नहुँदा यहाँका बासिन्दा उपचार सेवाका लागि छिमेकी जनकपुरमा निर्भर हुनुपरेको छ । यहाँ रहेका स्वास्थ्य चौकीदेखि जलेश्वरको प्रादेशिक अस्पतालसम्म रेफरल सेन्टरमा परिणत भएका छन् ।  स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी भए पनि सेवा भरपर्दो हुन सकेको छैन । बर्सेनि अस्पतालमा भवन थपिए पनि सेवा सुधारका लागि पहल नभएको सेवाग्राही बताउछन् । ७ लाख ६ हजार ९ सय ९४ जनसंख्याका लागि महोत्तरीमा ५१ जना डाक्टरको दरबन्दी रहेको छ । १५ शय्याका २ अस्पताल, ५ प्राथमिक स्वास्थ्य केन्द्र, ७० स्वास्थ्य चौकी र ६० आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् ।Floods and drought are the constant scourge in Mahottari, Madhesh.

शिक्षा क्षेत्र झन् अस्तव्यस्त छ । विद्यालयको भौतिक संरचनामा सुधार भएपनि कतै विद्यार्थीको अनुपातमा शिक्षक छैनन् भने कतै शिक्षक भएपनि विद्यार्थी छैनन् । स्थानीय, प्रदेश र संघीय सरकारले विद्यालयमा भौतिक संरचना तथा प्राविधिक शिक्षा थप गरे पनि गुणस्तर सुधारका लागि कुनै पहल भएको छैन । मधेश प्रदेशका ८ जिल्लामध्ये क्षेत्रफलमा यो सानो जिल्ला हो । तथ्याङ्क समन्वय कार्यालय धनुषाले २०८२ मा प्रकाशित गरेको तथ्याङ्कअनुसार साक्षरतामा ७६ औँ स्थानमा छ । महोत्तरीको कुल साक्षरता दर ५९.८ प्रतिशत रहेको छ ।

मुद्दामा सीमित मणिपाल

जलेश्वर–बखरी सडकखण्डमा रातु नदी नपुग्दै ३५ बिघा जग्गा तारजालीले घेरेको तीन दशक पुग्यो । उब्जाउ जग्गामा झाडी उम्रिएको देख्दा जो कोही आश्चर्य मान्छन् । यहाँका राजनीतिक दल, तिनका नेता र निर्वाचित जनप्रतिनिधिलाई भने उक्त जग्गाप्रति कुनै सरोकार छैन । इन्जिनियरिङ कलेज सञ्चालनका लागि प्रतिकट्ठा १० हजार दरले खरिद गरिएको ३५ बिघा जमिन अलपत्र छ । 

उक्त जग्गामा वर्षातमा धान र सुख्खामा गहुँ फल्थ्यो । इलेक्टि्रकल, सिभिल, कम्प्युटरलगायत पाँच विषयको इन्जिनियरिङ कलेज सञ्चालन हुने भएपछि जलेश्वर, बजराही र रतबाराका किसानले आफ्नो खेत सस्तो दरमै मणिपाल एजुकेसन ग्रूपलाई बिक्री गरेका थिए । जलेश्वरको भविष्य देखेर किसानले जग्गा बेचेको तीन दशक बितिसक्दा पनि कलेज सञ्चालनको आधार देखिएको छैन ।

महोत्तरी क्षेत्र नं. ३, अन्तर्गत जलेश्वरमा प्रस्तावित मणिपाल इन्जिनियरिङ कलेज हरेक निर्वाचनमा उम्मेदवारको एजेन्डा बन्छ । निर्वाचनपछि यो विषय सेलाउँछ । यहाँ सञ्चालन हुने आन्दोलनका क्रममा सरकार समक्ष राखिने प्रमुख मागमा यो कलेज पनि पर्छ । तर, आन्दोलनको रापताप घटेपछि हराउने गरेको छ ।

भारतको ब्याङ्लोरमा मुख्य कार्यालय रहेको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रूप प्रालिले २०५१ सालमा सरकारसँग जलेश्वरमा कलेज सञ्चालन गर्ने सम्झौता गरेको थियो । हाल बतास समूह अन्तर्गतको बापो होल्डिङ्सद्वारा सञ्चालित मणिपाल एजुकेसन तथा मेडिकल ग्रूपले जग्गा ओगटेर राखे पनि इन्जिनियरिङ कलेज सञ्चालनका लागि कुनै काम अघि बढाएको छैन । पोखरामा मणिपाल कलेज अफ मेडिकल साइन्सेज र मणिपाल टिचिङ हस्पिटल सञ्चालनमा छन् ।

जलेश्वरको मणिपाल कलेजजस्तै निर्वाचन क्षेत्र नं. १ मा बर्दिबास मेडिकल कलेज पनि पछिल्ला दुई निर्वाचनमा मुद्दा बन्ने गरेको छ । तर निर्वाचनपछि प्रतिबद्धता भुल्ने गरिएको छ । बर्दिबास मेडिकल कलेजका लागि वन विभागसंग जग्गा प्राप्ति सम्झौतामा ढिलाइ हुँदा काम अगाडि बढ्न नसकेको बर्दिबास मेडिकल कलेज पूर्वाधरा निर्माण विकास आयोजनाका निर्देशक निर्मल घिमिरेले बताए । 

अलपत्र धार्मिक स्थल

उम्मेदवारले निर्वाचनका बेला जिल्लास्थित चर्चित धार्मिक स्थलको व्यवस्थापन गर्ने वाचा गरेपनि पूरा हुँदैनन । जलेश्वरनाथ महादेव मन्दिरमा आउने पर्यटकलाई जलेश्वरमै एक रात बस्ने संरचना निर्माण गर्ने तथा मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने प्रतिबद्धता बारम्बार दोहोरिन्छ, तर कार्यान्वयन हुँदैन ।

स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा उम्मेदवारले जलेश्वरनाथ महादेव मन्दिरमै पुगेरै संरक्षण र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउने गरेका छन् । पडौल स्थान र रौजा मजारपनि निर्वाचनमा चर्चामा आउँछन् । जलेश्वरनाथ महादेव, पडौल स्थान, सोनामाई, रौजा मजार, राइमण्डला, पञ्चधुरा र टुटेश्वर महादेवजस्ता पर्यटकीय सम्भावना बोकेका स्थलहरूको व्यवस्थापन अझै प्रभावकारी बन्न सकेको छैन ।

सुख्खा बन्दरगाहको ‘ललिपप’

जलेश्वर भन्सार नाकामा सुख्खा बन्दरगाह (आईसीडी) र एकीकृत जाँच चौकी (आईसीपी) निर्माण अलपत्र परेको विषय महोत्तरी क्षेत्र नं. ३ का उम्मेदवारको साझा मुद्दा बनेको छ । निर्वाचित भएपछि सुख्खा बन्दरगाह बनाउने प्रतिबद्धता जनाइए पनि काम अघि बढ्न सकेको छैन ।

आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको नीति तथा कार्यक्रममा सन् २०२७ सम्म योजना सम्पन्न गर्ने लक्ष्यसहित जलेश्वर भन्सारमा सुख्खा बन्दरगाह सञ्चालन गर्ने योजना ल्याइएको थियो । तर प्रक्रिया अघि बढ्न सकेको छैन । भारतको सीतामढी जिल्लाको भिट्ठामोडमा भारतीय पक्षले जग्गा अधिग्रहण गरी पर्खाल निर्माण गरिसके पनि नेपाली पक्षमा प्रक्रिया सर्वेक्षणमै सीमित छ ।

प्राकृतिक स्रोत संरक्षण

मधेशमा खानेपानीको संकट बढ्दो छ । सिँचाइका मुहान सुक्दै गएका छन् । नदीमा पानीको बहाव घटदो छ । ग्रामीण क्षेत्रमा स्थानीय तहले ट्यांकरबाट पानी वितरण गर्नुपरेको छ । वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुने गरेको छ । सुख्खाग्रस्त क्षेत्र घोषणा गरिए पनि दीर्घकालीन योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।

चुरे संरक्षण तथा प्राकृतिक स्रोतको दोहन रोक्ने विषय निर्वाचनमा प्राथमिकतामा पर्दैन । बर्दिबास नगरपालिका क्षेत्रमा पर्ने चुरेमा जोखिम बढेको छ । बर्दिबास, गौशाला र भंगहा नगरपालिकाबाट बग्ने नदीहरूमा क्रसर उद्योगद्वारा भइरहेको अवैध उत्खननले बस्ती र पानीका मुहान प्रभावित भएका छन् । बाके, मरहा, जङ्गहा र रातु नदीमा अवैध उत्खननले समस्या बढाएको स्थानीय सुनाउछन ।

सामाजिक चुनौती उस्तै

महोत्तरीमा प्रतिबन्धित लागूऔषधको दुर्व्यसनले समाजिक जोखिम बढाएको छ । दुर्व्यसनको लतमा फसेका युवा कुनै रोजगारी गर्न नसक्ने र दैनिक खर्च जुटाउन चोरी, डकैती, लुटपाट गर्न थालेका छन् । नेपाल–भारत खुल्ला सिमनाका कारण नेपालमा प्रतिबन्धित लागुऔषध भारतमा सेवन गर्ने र नेपालमा अपराधिक गतिविधिका घटानमा संलग्न हुने गरेको छ ।

भारतबाट प्रतिबन्धित औषधि र नेपालबाट गाँजा भारततर्फ ओसारपसारमा युवा पुस्ता सक्रिय भइरहेको प्रहरीको भनाई छ । सेवन गर्नेलाई प्रहरीले कारवाहि गर्न सकेको छैन । 

तर सूचना पाएर जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले दिन्हु जसो लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने गरेको छ । पछिल्लो तीन वर्षमा मात्रै महोत्तरीमा लागुऔषधको १ सय ५० मुद्धामा २ सय ३ जनालाई नियन्त्रण लिएर कारबाही गरेको छ ।

अभिभावक वैदेशिक रोजगारमा रहेको, मोटर साइकल सहज उपलब्ध हुनेहरू दुर्व्यसनमा लागेको र पछि कारोबारी बन्ने गरेको प्रहरीको अनुसन्धानमा देखिन्छ । लागू औषधको कारोबार तथा दुर्व्यसनले समाजमा जोखिम बढाएको छ । मधेशका गाउँगाउँको समस्या लागुऔषध दुर्व्यसन भए पनि निर्वाचमा उम्मेदवारहरूले  मुद्धा बनाउन सकेका छैनन् । 

लागूऔषधको दुर्व्यसन, तस्करीले मधेशका गाउँहरू जोखिम बढाए जस्तै दिनै पिच्छे हुने आत्महत्याको घटना न्युनिकरण गर्ने मुद्धा उम्मेदवारले उठाउन सकेको छैन । महोत्तरीमा पछिल्लो ३ वर्षमा ४ सय २१ जनाले आत्महत्या गरेको घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । चार निर्वाचन क्षेत्र रहेको जिल्लामा ४ लाख ३१ हजार २ सय ८२ मतदाता छन् । 

महोत्तरीमा चारवटै निर्वाचन क्षेत्रको साझा समस्या खानेपानी, सिँचाइ, सडक, गुणस्तरी शिक्षा र प्रभावकारी स्वास्थ्य सेवा हो । विगत निर्वाचनमा जस्तै यस वर्ष पनि उम्मेदवारहरूले साझा समस्या समाधान गर्न फेहरिस्त बनाएका छन् । सडक निर्माण, सिँचाइ आयोजना, विद्यालयको भवन, अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाइरहेका छन् । विकास निर्माणका योजना बाँड्दै हिँडने उम्मेदवारहरूले समाजिक सवाल उठाउन सकेको छैनन् । लागूऔषध, आत्महत्या, चुरे संरक्षण, प्राकृतिक श्रोतको संरक्षण, महिला, ज्येष्ठ नागरिक, अपाङ्ग, अल्पसंख्यकका सवाल उम्मेदवारको मुद्दा बन्नै सकेको छैन ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully