पर्यटनको प्रशस्त पूर्वाधार बोकेको कपिलवस्तु जहिल्यै सुनसान

कपिलवस्तु प्रशस्त पर्यटकीय सम्भावनाको आकर्षण बोकेको जिल्ला हो । त्यही भएर कपिलवस्तुलाई ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र प्राकृतिक स्थलहरूको संग्रहालय पनि भन्ने गरिन्छ ।

फाल्गुन १८, २०८२

मनोज पौडेल

Kapilvastu, which has abundant tourism infrastructure, is always deserted.

What you should know

कपिलवस्तु — शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु २५ सय वर्षअघिसम्म दक्षिण एसियाकै व्यवस्थित, योजनाबद्ध र सग्लो सहर थियो । १२ वर्षदेखि बेलायतको दुर्हाम युनिभर्सिटी, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका पुरातत्त्वविद् र विशेषज्ञ संलग्न टोलीले गरेको उत्खनन, अध्ययन र अन्वेषणले उक्त तथ्य फेला पारेका हुन् । 

बेलायती प्रयोगशालामा माटो, कार्बन डेटिङ लगायत परीक्षण गर्दा प्राचीनतम् भएको विवरण आएको हो । तर, यति महत्त्वपूर्ण पुरातात्त्विक र ऐतिहासिक विशेषता बोकेको स्थल भने अहिले जीर्ण, उपेक्षित र खण्डहरमा परिणत छ । 

उत्खननबाट व्यवस्थित सहर र घर पाइएका छन् । त्यस्तै तिलौराकोटभित्र बुद्धकाल आसपासका बाटो, नाली, सुरक्षा किल्ला पर्खाल र मानव बस्ती फेला परेका छन् । ठाउँठाउँमा ठूल्ठूला भवनका संरचना, इनार र पोखरी पनि पाइएका छन् । । पाँचौं शताब्दीमा आएका चिनियाँ यात्रीद्वय फायहान र सातौं शताब्दीमा आएका ह्वेङसाङले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका तथ्य भेटिँदै गएको छ । ऐतिहासिक रूपाकृतिमा सहर भेटिँदै तिलौराकोटको ऐतिहासिकता राम्ररी पुष्टि भएको वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यले बताए । 

भगवान् बुद्धको जन्म साढे २५ सय वर्षअघि भएको इतिहासमा उल्लेख छ । तर, त्यसअघि नै भगवान् गौतम बुद्धको बाल्यकाल र युवा अवस्था बितेको तिलौराकोटमा गाउँको स्वरूपमा मानवीय चहलपहल बढेर बस्ती बसेको पुष्टि भएको पुरातत्त्वविद् बताउँछन् । यहाँ ईसापूर्व आठौं शताब्दी (२८ सय वर्ष) अघि नै मानव बसोबास भएको पाइएको छ । त्यसको २ सय वर्षपछि ईशापूर्व छैटौं शताब्दीमा सहरीकरण भएको प्रमाण भेटिएको छ । त्यतिबेला घर बनाउन इँटको प्रचलन नै थिएन ।

खरको छानो, माटोका भित्ता र काठबाँसको खाँबो गाडेर घर बनाउने प्रचलन थियो । जुन यहाँ ठाउँठाउँमा त्यतिखेरको माटो र काठबाँसको प्वाल (पोस्ट होल) फेला परिसकेको छ । २०१५ मा वैज्ञानिक कालक्रम निर्धारण गर्न संकलन गरिएको नमुनाले ईसापूर्व आठौं शताब्दीदेखि नै यहाँ मानव रहनसहन र बसोबास भएको प्रमाणित भएको छ । तिलौराकोट उत्खननको हालसम्मको अन्वेषण र वैज्ञानिक परीक्षणले तिलौराकोट व्यवस्थित किल्लाबन्दीको सहर भएको दुर्हाम विश्वविद्यालय बेलायतका प्राध्यापक तथा प्रमुख पुरातत्त्वविद् डा. रबिन कनिङ्घमले बताए । 

यस्तो महत्त्वपूर्ण स्थल तिलौराकोट राजप्रासादमा आएका पर्यटक केहीबेर बसेर फर्किने गरेको अध्ययनले देखाएको छ । तिलौराकोट आउने पर्यटकसँग सोधपुछ गरिएको अध्ययनले चार प्रकारका पर्यटकले औसत ३९ मिनेट मात्र समय बिताउने गरेको देखाएको छ । जापानी ट्रस्ट इन फन्डको सहयोगमा बेलायतको दुर्हाम विश्वविद्यालय, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषको संयुक्त टोलीले उत्खननसँगै तिलौराकोट आउने पर्यटकको अध्ययन गरेको थियो । यहाँ आउने पर्यटकले केबल १ सय १० रुपैयाँ मात्र खर्च गर्ने गरेको र औसत १५ जनाको समूहमा आउने आगन्तुकमध्ये ९० प्रतिशत बढी केही समय बिताएर बाहिरिने गरेको तथ्य देखाएको छ । ७ प्रतिशत मात्र तौलिहवामा र बाँकी ७० प्रतिशत बढी लुम्बिनी फर्किने गरेका छन् । Kapilvastu, which has abundant tourism infrastructure, is always deserted.

कपिलवस्तु प्रशस्त पर्यटकीय सम्भावनाको आकर्षण बोकेको जिल्ला हो । त्यही भएर कपिलवस्तुलाई ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र प्राकृतिक स्थलहरूको संग्रहालय पनि भन्ने गरिन्छ । यहाँ राजा शुद्धोदनको राजप्रासाद तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवावस्था बिताएको स्थल तिलौराकोटका अतिरिक्त भारतीय सम्राट अशोक तीर्थाटन गर्न आउँदा कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा, शाक्यहरूको बधस्थल सगरहवा र बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक आफ्ना आमाबुवालाई भेट गरेको स्थल निग्रोधाराम (कुदान) पर्छन् । त्यस्तै अरौराकोट, धमनिहवा स्तुप, सिसहनिया र चेतहरदेही पनि यहीँ पर्छन् । २०१६ मा गरिएको अध्ययनले वाणगंगा नदी वारिमात्र १ सय ३६ वटा ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक महत्त्वका स्थल पाइएका छन् । शान्ति र आध्यात्मिक पर्यटनमात्र नभएर चराको स्वर्ग पनि कपिलवस्तुमै छ । मुलुकको दोस्रो पन्छी आरक्ष जगदीशपुर ताल यहीँ छ । यसले मुलुकमा सबैभन्दा धेरै पानी चरालाई आश्रय दिँदै आएको छ । त्यस्तै यहीँबाट तराईको लहलहाउँदो फाँटदेखि सेताम्य हिमशृंखला मज्जाले देखिन्छ । पर्यापर्यटनको आकर्षण उस्तै अद्वितीय छ । 

तर, यसबाट पनि कपिलवस्तु पर्यटकीय लाभ लिनबाट पूरै वञ्चित हुँदै आएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा २०२५ मा लुम्बिनीमा तेस्रो मुलुकका डेढ लाख पर्यटक आउँदा तिलौराकोटमा ४६ हजार मात्रै आए । २ लाख ७० हजार भारतीय पर्यटक लुम्बिनी आउँदा तिलौराकोटमा १९ हजार आए । त्यस्तै लुम्बिनीमा ७ लाख नेपाली आउँदा तिलौराकोटमा ४२ हजार आए । नेपालको संविधानले पर्यटनलाई राष्ट्रिय विकास, अर्थतन्त्र, सांस्कृतिक संरक्षण र रोजगारी सिर्जनासँग जोडिएको महत्त्वपूर्ण उद्योगका रूपमा स्विकारेको छ । तर, तिलौराकोटलाई लुम्बिनीसँग जोड्न नसक्दा पर्यटनबाट फाइदा लिन सकिएको छैन् । नीतिगत स्पष्टता, पूर्वाधार सुधार, सञ्जाल विस्तार र स्थानीय स्रोतको उपयोग नहुँदा तिलौराकोट बत्तीमुनिको अँध्यारो भएको छ । 

कसरी जोड्ने तिलौराकोटलाई लुम्बिनीसँग ?

सघन योजना बनाई कार्यान्वयन गर्नुपर्छ । लुम्बिनी आउने पर्यटकलाई तिलौराकोट जान उत्साहित गर्नुपर्छ । लुम्बिनी घुमाउदाखेरी पथप्रदर्शकले उनीहरूलाई तिलौराकोटका आकर्षणबारेमा जानकारी दिनुपर्छ । यसले गर्दा उनीहरू स्वयं घुम्न उत्प्रेरित हुन् । साथै लुम्बिनीमा आकर्षक बोर्ड झुण्ड्याउनु पर्छ । सूचना केन्द्र, क्युरियो पसलमा तिलौराकोटबारेका जानकारी र आकर्षणका परिचय पुस्तिका राखेर वितरण गर्नुपर्छ । मायादेवी मन्दिर प्रवेश गर्ने गेटबाट तिलौराकोटको ब्रोस्योर वितरण गर्नुपर्छ । त्यस्तै मायादेवी मन्दिर प्रवेशका लागि बेच्ने टिकटको पछाडि कपिलवस्तुका बुद्धस्थल पनि भ्रमण गर्न अनुरोध गर्नु पर्छ । यही टिकटले त्यहाँ जान सकिने कुरा प्रचारमा ल्याउनु पर्छ । लुम्बिनी बसपार्कबाट आधीआधी घण्टामा पर्यटक बस छुट्ने व्यवस्था गर्नु पर्छ । 

बाटोघाटो र हवाईको कनेक्टिभिटी बनाउनु पर्छ । तिलौराकोटनिरै भत्किएको बाटो राम्रो बनाउनु पर्छ । तिलौराकोटमा बस पार्क बनाउनु पर्छ । हरेक पूर्णिमामा बुद्धको जीवनसँग सम्बन्धित केही न केही गतिविधि भएको छ । त्यसलाई स्मरण गर्दै उत्सवका रूपमा मनाउने योजना र कार्यक्रम बनाउनु पर्छ । बुद्ध जन्मेपछि कपिलवस्तु ल्याउँदाको घटनालाई प्रसूति उत्सव भनेर हरेक वर्ष मनाउनु पर्छ । त्यस्तै बुद्धले दरबार त्यागेर निस्केको घटनालाई महाभिनिष्क्रमण दिवश भनेर मनाउनु पर्छ । असार पूर्णिमामा राजकीय धान मंगलोत्सव बनाउनु पर्छ । भगवान् बुद्ध ज्ञान प्राप्त गरेर राजधानी कपिलवस्तु फर्केको दिन फागुन पूर्णिमा निग्रोधाराम उत्सव मनाउनु पर्छ । Kapilvastu, which has abundant tourism infrastructure, is always deserted.

बुद्ध जन्मस्थल हेरेर मात्र बुद्धका बारे पर्याप्त जानकारी हुँदैन । त्यसकारण लुम्बिनीसँगै कपिलवस्तुको तिलौराकोट, निग्रोधाराम, निग्लिहवा, गोटिहवा र सगरहवा पनि हेर्नु पर्छ भन्ने जानकारी पर्यटकलाई दिने वातावरण बनाउनु पर्छ । निग्रोधाराम पनि बुद्धसँग सम्बन्धित स्थल हो । यहाँ राजकुमार सिद्धार्थले ज्ञान प्राप्त गरेपछि पहिलो पटक राजधानी कपिलवस्तु आउँदा आमाबाबुलाई भेटघाट गरेका थिए । निग्लिहवा र गोटिहवा कपिलमुनि र क्रकुछन्द बुद्धको जन्मस्थान हो । सगरहवामा शाक्यहरूको वधस्थल हो । कपिलवस्तु बुद्धस्थलको खुला संग्रहालय नै मानिन्छ । पर्यटक भुलाउन सुत्केरी मार्गले नयाँ विविधता थप्छ । अहिलेसम्म ओझेलमा रहेको सुत्केरी मार्ग पहिचान गरिएको छ ।

मायादेवी सुत्केरी भई शिशु बालकलाई लिएर राजमहल फर्केको बाटो हेर्न र माटो छुन धेरै उपासिकाहरू लालायित हुन्छन् । त्यसलाई राम्रो पर्यटन प्रोडक्ट बनाउन सकिन्छ । उक्त बाटोमा हिँड्ने योजना बनाउनु पर्छ । उक्त बाटोमा हिँड्न धेरै पर्यटक ओइरिन्छन् । बालक, युवा, अधबैंसे र पाको उमेर अनुसार दूरी तय गर्नुपर्छ । सानो बच्चालाई ७ पाइला । अली ठूलो बच्चालाई ७७ मिटर ७ सेमि । वयस्कलाई ७ किमि ७७ मिटर । वृद्धालाई ७ सय ७७ मिटर हिँडाउनु पर्छ । सबैलाई हिँडाउनुअघि ७ पाइला हिँडेर सुरु गराउनु पर्छ । भगवान् गौतम बुद्धको जीवनमा चार वटा ७ को महत्त्वपूर्ण अर्थ छ । सुत्केरी मार्ग ३६ किमिको छ । लुम्बिनीको शालको वृक्षमुनि जन्मेपछि पवित्र उद्यान हुँदै पडरियापछि कपिलवस्तुको कर्मा, दोहनी, अरौराकोट, निग्लिहवाको बाटो हुँदै राजदरबार तिलौराकोट भित्र्याइएको थियो ।

त्यस्तै पिस वाक पनि गराउनु पर्छ । म्याराथन, साइकल र मोटरसाइकल दौडहरू पनि गराउनु पर्छ । विभिन्न इभेन्टहरू वर्षैभरि गरिरहनु पर्छ । लुम्बिनीमा संचालन हुने कार्यक्रम तिलौराकोटमा समापन गर्ने योजना गर्नुपर्छ । तिलौराकोटमा गरिने कार्यक्रमका लागि विभिन्न सहुलियत र सहयोग गर्नु पर्छ । कोषले अधिकार सम्पन्न कार्यालय तिलौराकोटमा स्थापना गर्नुपर्छ । सरसफाइलाई निरन्तरता दिनुपर्छ । तिलौराकोटमा चारैतिर बौद्ध झण्डा र लुङ्दा टाँगेर शान्तिको वातावरण बनाउनु पर्छ । डिजिटल डिस प्लेका बुद्धको जीवनी देखाउन सके तिलौराकोटमा पर्यटक बढ्ने लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाँडेकाजीले बताए । 

उस्तै गरिबी

राम्रो पर्यटनको सम्भावना बोकेको जिल्ला उस्तै गरिबीको मारमा छ । राम्रो नीति, योजना बनाएर कार्यान्वयन गर्न सक्यौं भने पूरै पर्यटनबाटै कपिलवस्तुबासीलाई रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । नेपालको संविधान २०७२ को राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूअन्तर्गत धारा ५१ (ठ) मा उल्लेख छ, ‘नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाको पहिचान, संरक्षण, प्रवर्द्धन एवं प्रचारप्रसारमार्फत राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा पर्यावरणअनुकूल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवम् नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने ।’ 

तर, माल पाएर पनि चाल नपाउँदा बर्सेनि कपिलवस्तु गरिबीको मारमा पर्दै गएको छ । २०३८ मा २ लाख ७० हजार ४५ जनसंख्या रहेको जिल्लामा ४ दशकमा ३ गुना बढी ६ लाख ८२ हजार ९ सय ६१ पुगेको छ । जिल्लामा बर्सेनि गरिब बढ्दै गएका छन् । गत पुसमा सार्वजनिक ‘गरिबीको लघुक्षेत्र अनुमान– ०८२’ को सर्वेक्षणले नेपालमा गरिबको जनसंख्या रहेकामध्ये कृष्णनगर नगरपालिका मुलुकको नवौं बढी गरिब स्थानीय तहमा परेको छ । 

वार्षिक ७२ हजार ९ सय ८ रुपैयाँ खर्च गर्न नसक्ने व्यक्ति गरिबको सूचीमा परेका हुन् । २९ माघ ०८० मा सार्वजनिक भएको नेपाल जीवनस्तर सर्वेक्षणले ४३ जिल्लामा राष्ट्रिय औषत दरभन्दा बढी गरिबी हुने जिल्लामा कपिलवस्तु पनि छ । नेपालमा ०३४ बाट गरिबी सर्वेक्षण थाल्दा ३६ प्रतिशत गरिबी थियो । ०४८ मा भने गरिबी ४९ प्रतिशत पुगेको थियो । ०६६/०६७ मा २५.२ प्रतिशत गरिबी रहेकामा ०८० मा सार्वजनिक चौथो जीवनस्तर सर्वेक्षणले गरिबीको रेखामुनि २०.२७ प्रतिशत जनसंख्या रहेको देखाएको थियो । अर्थात् नेपालमा हरेक पाँच जनामध्ये एक जना गरिबीको रेखामुनि छन् । 

राष्ट्रिय योजना आयोगको १५ औं आद्यावधिक योजनाले ०८०/८१ सम्म निरपेक्ष गरिबी १० प्रतिशतमा झार्ने लक्ष्य लिए पनि पूरा हुन सकेन । ०८१ मा पारित १६ औं पञ्चवर्षीय योजनाले भने निरपेक्ष गरिबी आव ०८५/८६ सम्ममा १२ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । ०८० मा सार्वजनिक चौथो जीवनस्तर सर्वेक्षणले गरिबीको रेखामुनि कपिलवस्तुको कृष्णनगर नगरपालिकामा ४५ हजार ३१ जना, महाराजगन्जमा ४० हजार ९ सय ४ जना, शिवराजमा ३८ हजार ५ सय ८७ जना र कपिलवस्तु नगरपालिकामा ३६ हजार ८ सय २४ जना गरिबीको रेखामुनि रहेको देखाएको थियो । त्यतिखेर मुलुककै दोस्रो, सातौं, आठौं र नवौं बढी गरिब बसोबास गर्ने स्थानीय तहमा उक्त तह रहेका थिए । 

धन र गहुँमा आत्मनिर्भर

नेपालको कुल जनसंख्याको करिब ६५.६ प्रतिशत जनता कृषि पेसामा संलग्न भए पनि कपिलवस्तुमा ६९.६ प्रतिशत जनसंख्या कृषि पेसामा संलग्न छ । जिल्लामा ८८ हजार ९ सय ७३ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन भए पनि ८४ हजार ५ सय ९१ हेक्टरमा खेती भइरहेको छ । जिल्लामा धान, गहुँ, मकै उत्पादनमा आत्मनिर्भर भएर अन्य जिल्लामा निर्यात भइरहेको छ । ०८१/८२ मा प्रक्षेपित जनसंख्या ७ लाख १८ हजार ३ सय ७८ जनालाई जिल्लामा उत्पादन हुने धान, गहुँ, मकैले खान पुगेको छ ।

तर, विडम्बना ! यी उब्जनीको पोस्ट हारभेस्ट नोक्सानी ११ प्रतिशत हुँदा कृषकको लगानी खेर गइरहेको कृषि ज्ञान केन्द्र प्रमुख घनश्याम चौधरीले बताए । कुल खेती भइरहेको जमिनमा सबैभन्दा बढी ६६ हजार हेक्टरमा धान खेती हुन्छ । जिल्लामा उत्पादन हुने प्रमुख बालीको ४४ हजार ५ सय २३ मेट्रिक टन उब्जनी पोष्ट हारभेस्ट नोक्सानी भइरहेको छ । अर्थात् मुसा, किराफट्यांग्राले खाएर र ओसारप्रसार गर्दा खेर गइरहेको छ । त्यस्तै उत्पादित उब्जनीमध्ये २३.७४ प्रतिशत ९३ हजार ४ सय ५१ टन उब्जनी कुटानीपिसानी प्रशोधन गर्दा खेर गइरहेको छ । Kapilvastu, which has abundant tourism infrastructure, is always deserted.

त्यस्तै उत्पादित उब्जनीमध्ये १.९ प्रतिशत ७ हजार ४ सय ८१ टन बीउका लागि राख्ने गरिएको छ । पशुपन्छीको दानाका लागि करिब एक प्रतिशत ३ हजार ६ टन प्रयोग हुने गरेको छ । खानयोग्य ६२.२९ प्रतिशत २ लाख ४५ हजार १८ टन उत्पादन हुने गरेको छ । जिल्लाले उपयोग गरेर पनि प्रतिवर्ष १ लाख १५ हजार १ सय ५० टन उक्त बालीका उत्पादन बचत हुने गरेको छ । तर, निर्वाहमुखी कृषि खेतीका कारण कृषकले फाइदा पाउनेजति पाउन नसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रामसुरत पालले बताए । कृषकलाई हेर्ने नराम्रो दृष्टिकोण, समयमा मलखाद, बीउ नपाउनु र मूल्य निर्धारण व्यापारीको नियन्त्रणमा हुँदा कृषकले पर्याप्त फाइदा पाउन नसकेको उनले बताए । तराईको अन्न भण्डारका रूपमा रहेको जिल्लामा मुस्किलले ५० प्रतिशत खेतीयोग्य जग्गामा आंशिक सिंचाइ सुविधा रहेको छ । नियमित सिंचाइ १२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र छ । जिल्लाको अर्थतन्त्रको मेरुदण्ड कृषि नै हो । त्यसैले कृषिमा व्यवसायीकरण र विविधिकरण गरी कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गरी जनताको जीवनस्तर उकास्ने योजना बनाउन लागिहाल्नु पर्ने नागरिक समाज अध्यक्ष अर्जुनप्रसाद पोखरेलले बताए । 

चुरेडाँडादेखि समथर भूभाग

१ हजार ७ सय ३८ वर्ग किमिमा फैलिएको जिल्ला पूर्वमा रूपन्देही, उत्तरमा अर्घाखाँची, दक्षिणमा भारतको उत्तर प्रदेश र पश्चिममा दाङसँग सीमा जोडिएको छ । पूर्व–पश्चिम सरदर सीमा लम्बाइ ५४ किमि र उत्तर–दक्षिण ३२ किमि रहेको छ । उत्तरमा चुरे पर्वत शृंखलामा पर्ने चारकोसे झाडी, दक्षिणमा तराईका समथर भूमि, नदीनाला, रहेको जिल्लाको भूवनोट तीन भागमा बाँड्न सकिन्छ । उत्तरको चुरेडाँडा, मध्यको भावर प्रदेश र दक्षिणमा समथर भूमि रहेको छ । गर्मीमा अत्यधिक गर्मी र तातो लु चल्छ । जाडोमा अत्यधिक जाडो र शीतलहर चल्छ । 

२०७८ को जनगणना अनुसार जिल्लाको जनसंख्या पुरुष ३ लाख ३४ हजार ८७ र महिला ३ लाख ४८ हजार २ सय ७४ गरी ६ लाख ८२ हजार ९ सय ६१ रहेको छ । स्थानीय तह पुनर्संरचनापछि ६ नगरपालिका र ४ गाउँपालिका रहेका छन् । सबैभन्दा बढी जनसंख्या वाणगंगा नगरपालिकामा ९८ हजार ७ सय १४ रहेको छ । त्यसपछि कपिलवस्तु नगरपालिकामा ८८ हजार ८ सय ७४ र शिवराज नगरपालिकामा ८४ हजार ८ सय १० जनसंख्या छ । त्यस्तै बुद्धभूमि नगरपालिकामा ७६ हजार ५७ र कृष्णनगर नगरपालिकामा ७० हजार १ सय ११ जनसंख्या रहेको छ ।

महाराजगन्ज नगरपालिकामा ६४ हजार ६ सय ४६ र मायादेवी गाउँपालिकामा ५५ हजार ९ सय ७२ र शुद्धोदन गाउँपालिकामा ५२ हजार ६ सय ८२ जनसंख्या छ । त्यस्तै यशोधरा गाउँपालिकामा ४४ हजार ९ सय र विजयनगर गाउँपालिकामा ४३ हजार २ सय ९१ जनसंख्या रहेको छ । जिल्लामा बसाइँ सरी आउनुको मुख्य कारण ४९ प्रतिशत विवाह, २० प्रतिशत अरूमा आश्रित र काम तथा रोजगारीमा १० प्रतिशत रहेको छ । जिल्लामा विभिन्न जातजाति, भाषा र संस्कृतिको सहअस्तित्व पाइन्छ । विभिन्न १० धर्म मान्ने ८१ जातजातिको बसोबास रहेको जिल्लामा सबैभदा बढी १७ प्रतिशत मुस्लिम रहेका छन् । ११ प्रतिशत थारु, १० प्रशित यादव, पहाडी ब्रह्मण ७ र कुर्मी ६ प्रतिशत रहेका छन् । ६६ प्रतिशत अवधिभाषी र १९ प्रतिशत नेपालीभाषीको बसोबास गर्छ । Kapilvastu, which has abundant tourism infrastructure, is always deserted.

राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको साक्षरता दर ७१.८२ प्रतिशत छ । जसमध्ये पुरुष ७९.६३ र महिला ६४.३७ प्रतिशत छ । २०३८ मा १३.२ प्रतिशत साक्षरता भएको जिल्लामा अहिले झण्डै ७२ प्रतिशत पुगेको छ । लुम्बिनी प्रदेशको कुल सारक्षता दरभन्दा कपिलवस्तुको कम छ । लुम्बिनी प्रदेशको ७८.०८ प्रतिशत रहेको छ ।

जिल्लामा सबैभन्दा धेरै रोजागरी कृषि क्षेत्रले दिएको छ । कृषि क्षेत्रका दक्ष र अर्धदक्ष जनशक्ति ५६ प्रतिशत, सामान्य र प्राथमिक पेसामा कामदार २६ प्रतिशत, शिल्पकार र कारीगरसम्बन्धी व्यापार गर्ने ४.३२ प्रतिशत रहेका छन् । बस्तु तथा सेवा बिक्री गर्ने कामदार ३.८८ र व्यवस्थापक ३.२० प्रतिशत रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार औद्योगिक वर्गीकरण अनुसारको संलग्नता हेर्दा कृषि वन र माछापालन क्षेत्रमा ६४.७४ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ११.५३ प्रतिशत, निर्माण क्षेत्र ८.६९ प्रतिशत, अन्य सेवा प्रदान गर्ने क्रियाकलापमा ३.७७ प्रतिशत र औद्योगिक क्षेत्र २.६१ प्रतिशत रोजगारीमा संलग्न छ । 

भारतको राष्ट्रिय रेल नेटवर्कसँग नजिकको सम्बन्ध

चन्द्रौटा, जितपुर लगायतका ठाउँ जिल्लाको सहरी विकासको केन्द्र बनेका छन् भने सदरमुकाम तौलिहवा प्रशासनिक केन्द्रका रूपमा परिचित छ । चन्द्रौटा–कृष्णनगर सडक खण्ड औद्योगिक तथा व्यापारिक गतिविधिका कारण विस्तार हुँदै गएका छन् । मुलुकमै नाम चलेका सिमेन्ट र सरिया उद्योग पनि यही खण्डमा संचालित छन् ।

भारतसँग सबैभन्दा नजिकको राष्ट्रिय रेल नेटवर्कसँग कपिलवस्तु जोडिएको छ । सीमा बजार कृष्णनगरको बढनी नमुना रेल स्टेसन दशगजादेखि सय मिटरमै पर्छ । यसले भारत लगायत तेस्रो मुलुकसँग व्यापार व्यवसाय गर्न सहज बनाएको छ । तर, सुख्खा बन्दरगाह नहुँदा समस्या भइरहेको छ । हरेक चुनावमा सुख्खा बन्दरगाह चुनावी मुद्दा र आश्वासन बन्ने भए पनि बन्न सकेको छैन । कृष्णनगर नाका भारतका ठूला सहर पुग्ने मध्य पश्चिमको प्रमुख गन्तव्य बनेको छ । यहाँबाट रेल र बस भारतका प्रमुख सहर दिल्ली, मुम्बई, हरियाणा, पंजाब र कलकत्तासम्म पुग्ने गर्छन् । कृष्णनगर भन्सार नाका मुलुकको १० ठूला भन्सार नाकामा पर्छ । 

केन्द्रमा प्रभाव जमाउने नेताको कमी

जिल्लाबाट चुनिएर नेताले केन्द्रमा प्रभाव जमाउन नसक्दा पनि यहाँको विकासमा प्रभाव परेको हो । हुन त ०३८/३९ तिर राघवेन्द्रप्रताप शाह संचार राज्यमन्त्री भएका थिए । ०४३ सालमा हरिनारायण रजौरिया कृषि तथा कानुन मन्त्री भएका थिए । पंचायती व्यवस्थापछि कमलेशकुमार शर्मा, दीपकुमार उपाध्याय, मिर्जादिलसाद बेग, बृजेशकुमार गुप्ता, अकवाल अहमद शाह, वीरेन्द्रकुमार कानोडिया, ईश्वरदयाल मिश्र, दानबहादुर चौधरी र सुरेन्द्रराज आचार्य लगायत मन्त्री भएका थिए ।

बाबुराम भट्टराई मन्त्रिपरिषदमा जिल्लाका ३ जना मन्त्री भएका थिए । तर, कसैले उल्लेख्य काम गरेनन् । जित्ने, जाने आफ्नै नेता–कार्यकर्तालाई कसरी खुसी बनाउने बाहेक कुनै काम गरेनन् । जिल्लाबाट नेतृत्व गर्दै केन्द्रमा जानेले योजना र विकासका काम ल्याउन नसक्दा पुरानो जल्दोबल्दो सहर ओझेलमा पर्दै गएको स्थानीय जानकारहरू बताउँछन् । 

सिद्धदेखि बुद्ध पुरुषको जन्मथलो

संसारलाई शान्तिका लागि डोर्‍याउने सिद्ध पुरुषको जन्मथलोका रूपमा कपिलवस्तु चिनिन्छ । भगवान् गौतम बुद्धभन्दा अघि कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा र क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटहवा पनि यही पर्छ । चीनमा बौद्ध धर्मदेशना र प्रचारप्रसार गर्ने बुद्धभद्र पनि यहीँ जन्मिएका थिए । शाक्यवंशीय राजा अमृतोदानका वंशज भनिने उनी पाँचौं शताब्दीमा चीन पुगेका थिए ।

इतिहासकार विजयनारायण मानन्धरका अनुसार सम्भवतः उनी चीन जाने पहिलो नेपाली हुन् भनेर पुस्तकमा उल्लेख गरेका छन् । चिनियाँ बौद्ध धर्मको विकासमा बुद्धभद्रको ठूलो योगदान छ । नेपालका बुद्धस्थल भ्रमण गर्दै हिँडेका चिनियाँ पैदल यात्री फाहियानका उनी समकालीन हुन् । फाहियानले नै कपिलवस्तु लुम्बिनीका यात्रा विवरण लेखेर आधिकारिकता दिने काम गरेका थिए । लुम्बिनी र कपिलवस्तु पुष्टि गर्न उनको यात्रा विवरण बलियो प्रमाणका रूपमा छ । पछि दुवै जनाले चीनको नानचिङमा भेटेर संस्कृतमा लेखिएको बौद्ध धर्मग्रन्थ अनुवाद गरेका थिए । 

त्यस्तै सिद्ध सम्प्रदायको ३४ औं धर्मगुरु कुक्कुरीपा पनि तौलिहवामा जन्मिएका थिए । अवधी भाषाको आदिकवि मानिने कुक्कुरीपा चीनमा निकै सम्मानित व्यक्तित्वमा पर्छन् । उनी धर्मदेशना र बुद्ध शिक्षाको प्रचारप्रसार गर्दै चीन पुगेका थिए । विसं ईस ८०० साल तिर जन्मिएका उनी तिब्बत र चीनमा लामो समय बसेर शान्ति शिक्षामा लागे । अमरसिंह बाणाद्वारा रचित संस्कृत भाषाविज्ञानसम्बन्धी पर्यायवाची कोशको पुस्तक हो– अमरकोष । यसलाई विश्वको सबभन्दा प्राचीनतम शब्दकोश मानिन्छ । उक्त कोषका रचनाकार बाणा पनि तौलिहवामा जन्मिएको संस्कृतिविद् डा. गितु गिरीले बताए ।

नेपाली साहित्यमा छुट्टै छाप छाडेका भवानी भिक्षुको पनि जन्मथलो गोटिहवा हो । उनी मदन, साझा र त्रिभुवन पुरस्कार पाउने पहिलो नेपाली साहित्यकार हुन् । उनका धेरै पुस्तक पाठ्यपुस्तकका रूपमा प्रयोग भएका छन् । तर, उनलाई तौलिहवामा धेरैले नचिन्ने वरिष्ठ पत्रकार राजेन्द्र दाहालले बताए । ‘उनको पुस्तक अमेरिकाको विश्वविद्यालयमा खोज अनुसन्धान हुन्छ,’ उनले भने, ‘तर, गाउँठाउँमा उनी बिरानो छन् ।’ 

अपेक्षाकृत विकासले फड्को मार्न सकेन

२०१५ सालमा तौलिहवा पश्चिम नेपालको चल्तापूर्जा सहर थियो । त्यतिखेर राजा महेन्द्रको सवारी हुँदा यहाँका साहुमहाजनले चन्दा संकलन गरेर भव्य स्वागत द्वार बनाएका थिए । स्थानीयको स्वागत सत्कारबाट प्रभावित भएर राजा एकदिन यहीँ बसे । बजारमा राम्रा राम्रा घर देखेर बखान पनि गरे । ०१४/१५ सालताका तौलिहवामै अपिली कार्यालय (अहिले जिल्ला समन्वय समिति भवन)मा थियो । अहिले उच्च अदालतकै जस्तो काम यहाँबाट हुन्थ्यो । दाङ, अर्घाखाँची र बुटवलसम्मका मान्छे मुद्दा पुनरावेदन गर्न यहाँ आउँथे । ‘राजालाई स्वागत गर्न हामी विद्यार्थीका रूपमा चपरतल्लामा गएका थियौं,’ स्थानीय पशुपतिमणी त्रिपाठीले भने, ‘राजाको टोली यहाँको बन्दोबस्ती देखेर खुसी थियो । हामीले राजातिर हेर्न आदेश पर्खिनु पर्थ्यो । दायाँ हेर, देब्रे हेर भन्थ्यिो । अगाडि बढ्न आदेश दिइन्थ्यो । तर, मैले कसैले थाहा नपाउने गरी हेर्थें– राजा निकै खुसी देखिन्थे ।’ 

यही कुराले नै २०२०/२२ सालतिर तौलिहवा बजार कति विकसित थियो भन्ने तथ्य उजागर गर्छ । त्यतिखेरका भवन र पूर्वाधारका संरचनाले नै विकासको अवस्था कस्तो थियो भन्ने छर्लङ्ग देख्न सकिन्छ । जसका कारण तौलिहवा पश्चिम नेपालकै विकसित र आधुनिक सहरमा गनिन्थ्यो । चहलपहल उत्तिकै थियो । व्यापार व्यवसाय फस्टाएको थियो । यहाँ व्यापारीहरू व्यापार व्यवसायका लागि बुटवल, भैरहवासम्म पुग्थे । सबैका घोडा थिए । घोडाबाटै व्यापार गर्थे । अर्घाखाँचीबाट पनि व्यापारका लागि व्यवसायी तौलिहवा पुग्थे । ०१५/१६ सालदेखि ०३८ सम्मै यहाँ घोडा यातायात फस्टाएको थियो ।

०३२/३४ सालसम्म विकासमा फड्को मारेको सहर तौलिहवा त्यसपछि बिस्तारै ओझेलमा पर्दै गएको छ । समयनुसार विकासले फड्को मार्न सकेको छैन । जिल्लाबाट नेतृत्व गर्ने नेताको आपसी तानातान र समन्वयको अभावमा विकासको गतिलाई निरन्तरता दिन नसक्दा पछि पर्दै गएको छ । जसका कारण राणा शासनको अन्त्यपछि उदाउँदै गएको पुरानो सहर तौलिहवा अहिले बिरानो र उपेक्षित बन्दै गएको छ । ऐतिहासिकता हराउँदै गएको छ । त्यतिखेर विकासमा बुटवल र भैरहवाभन्दा अगाडि रहेको सहर अहिले निकै पछि छ । विकासमा ती सहरले मारेको फड्कोले तौलिहवाको पहिचान हराउन थालेको छ । 

बाटोघाटो राम्रो नहुँदा व्यापार व्यवसाय फस्टाउन सकेन । व्यवसायी पनि व्यवसायको विकासभन्दा जेनतेन घरगर्जो टार्न पाए पनि खुसी हुँदा समस्या थपिँदै गएको बताउँछन् । आवतजावत कम भयो । समस्या समाधान गर्न कहीँ प्रयास नगरिँदा बिस्तारै ओझेलमा पर्दै गयो । पोखरा–बुटवल–सुनौली बाटो बनेपछि बुटवल भैरहवामा धेरै संभावना देखियो । पहाडतिरबाट त्यतै झर्ने धेरै भए । व्यापार व्यवसाय र उद्योगधन्दा फस्टायो । शैक्षिक संस्था खुले । तर, यतातिर व्यापार व्यवसायदेखि उद्योग खुल्न सकेनन् । रोजगारी र शिक्षा नहुने भएपछि नयाँ मान्छे आउने बाटै बन्द भएको तौलिहवाका स्थानीय चन्दकान्त शर्माले बताए । त्यहाँदेखि पछि परेको तौलिहवा उठ्नै नसकेको उनले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully