बाँदर आतंक र पूर्वाधार अभावले रित्तिँदै स्याङ्जाका गाउँ

बसाइँसराइ, वैदेशिक रोजगारी र जीर्ण पूर्वाधारका कारण स्याङ्जाको कृषि, पर्यटन र अर्थतन्त्रमा दीर्घकालीन असर परिरहेको छ।

फाल्गुन १६, २०८२

प्रतीक्षा काफ्ले

Villages in Syangja are becoming deserted due to monkey terror and lack of infrastructure

What you should know

स्याङ्जा — ‘गाउँ गाउँ जस्तो छैन,सहर सहर जस्तो छैन् ।कसकसले केके गर्दिए कुन्नि,आफू जन्मिएको ठाउँ नै चिनिँदैन् ।’

कवि हेम हमालको कवितामा भनिएझैं तीव्ररुपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिँदै जाँदा गाउँ गाउँजस्ता रहेनन् भने सहर पनि मिश्रित हुँदै जान थालेका छन् । संघीयतापछिसुनसान बन्दै गएको जिल्ला सदरमुकाम पनि सहर जस्ता छैनन् । 

ठूला दुई सहर पोखरा–बुटवलको बीचमा पर्ने स्याङ्जा पहाडी भूभागमा अवस्थित जिल्ला हो । कृषि क्षेत्रमा प्रख्यात स्याङ्जा भारत र चीनको नाका जोड्ने सिद्धार्थ राजमार्ग यही पर्दछ । यो राजमार्ग वर्षौंदेखि स्तरोन्नतिको प्रतीक्षामा छ । 

पर्यटकीय राजधानी पोखरासँगै जोडिएको स्याङ्जा कृषि उत्पादका लागि महत्वपूर्ण मानिन्छ । यो जिल्लाका अधिकांश मानिस कृषि पेशामा निर्भर छन् । यहाँबाट पर्यटकीय सहर पोखरामा दूध, तरकारी, कुखुरा तथा अण्डा अधिकमात्रामा निर्यात हुने गरेको छ । दूधमासमेत आत्मर्निभर बन्न लागेको स्याङ्जाको सुन्तला खेती अर्थतन्त्रको मेरुदण्ड हो । यहाँका अधिकांश मानिसको मुख्य आम्दानीको स्रोत नै सुन्तला बनेको छ । सुन्तला उत्पादनका लागि देशभर परिचित स्याङ्जा आज पूर्वाधार विस्तार अभाव र तीव्र बसाइँसराइको चुनाैतीबीच गुज्रिरहेको छ । 

वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले धेरै घरधुरीको चुलो बलिरहेको छ । पछिल्ला वर्षमा गाउँगाउँमा खानेपानी, विद्युत् र सडक पुगेका छन् । सरकारी विद्यालयको स्वरूप फेरिएको छ । तर यी सुविधाहरु पर्याप्त भने छैनन् । जीर्ण राजमार्ग, उद्योग–कलकारखानाको अभाव, सार्वजनिक सेवामा ढिलासुस्ती र बढ्दो बसाइँसराइले स्याङ्जालाई ओझेलमा पारेको हो ।  

Villages in Syangja are becoming deserted due to monkey terror and lack of infrastructure

यहाँबाट पोखरा र बुटवललगायतका सहरतिर बसाइँ सर्नेको लहर नै चलेको छ । जिल्लाका ग्रामीण क्षेत्रका पालिकाको जनसंख्या र मतदाताको तथ्यांक हेर्ने हो भने पनि ती पालिकाका धेरैजसो मानिस अस्थायीरुपमा सहरी क्षेत्रमै बस्ने गरेको पाइन्छ । 

परम्परागत खेतीबाट किसानहरु आधुनिक तरिकाले खेतीपाती गर्न थालेका छन् । तर, उत्पादन भएको वस्तुले बजार नपाउँदा किसानको मर्का भने ज्यूँका त्यूँ छ । गाउँगाउँमा बिजुली र इन्टरनेट सेवा पुगेको छ । तर, बसाइँसराइले गर्दा गाउँका खेतीयोग्य जमिन भने बाँझो हुने क्रम बढ्दो छ । 

समुन्द्री सतहबाट ८५० मिटर उचाइमा रहेको पुतलीबजार यस जिल्लाको सदरमुकाम हो । यो जिल्ला समुन्द्री सतहबाट ३६६ मिटर (केलादी) देखि २५ सय १२ मिटर (पञ्चासेको लेक)सम्मको उचाइमा छ । यस जिल्लाको पूर्वमा तनहुँ, पश्चिममा गुल्मी, उत्तरमा पर्वत र कास्की तथा दक्षिणमा कालीगण्डकी नदीसँग पाल्पा जिल्लाले सिमाना छुट्याएको छ । मुग्लिन–नारायणगढ सडक निर्माण नहुँदै सुनौली–पाल्पा–स्याङ्जा–पोखरा–काठमाडौंसम्म पुग्ने नेपालको मुख्य लोकमार्गको रुपमा सिद्धार्थ राजमार्गलाई लिइन्थ्यो । अहिले यो राजमार्ग जीर्ण बन्दा व्यापार, पर्यटन र दैनिक आवागमन प्रभावित बनेको छ ।

स्याङ्जामा नेपालको सबैभन्दा ठूलो जलविद्युत परियोजना–कालीगण्डकी ए (१४४ मेगावाट), सबैभन्दा ठूलो पहाडी सिँचाइ योजना चापाकोट टार सिँचाइ योजना (१ हजार हेक्टर), नेपालको पहिलो नमुना ग्रामीण पर्यटन गाउँ (सामुदायिक होमस्टे) सिरुबारी पर्दछन् । जसले आन्तरिक तथा बाह्रय पर्यटन भित्र्याउन मद्दत पुगेको छ । 
राष्ट्रिय जनगणना २०७८ अनुसार स्याङ्जामा २ लाख ५३ हजार २४ जनसंख्या छ । हाल यस जिल्लालाई ५ नगरपालिका र ६ गाउँपालिका गरी ११ स्थानीय तह र ९७ वटा वडामा विभाजन गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २०७९ मा २ लाख ४४ हजार ८९० मतदाता रहेको यसपाली ८ हजार २ सय ५५ मतदाता थप हुँदा २०८२ मा २ लाख ४८ हजार ८१९ मतदाता कायम रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
 
चुनावमा आश्वासनमात्रै, कार्यान्वयनमा भने मौन 
२०६४ देखि मुलुकमा नियमितजसो निर्वाचन भइरहेका छन् । हरेकपटक उम्मेदवारहरु आश्वासनले भरिएका घोषणापत्र लिएर चुनावमा उत्रन्छन् । तर, कार्यान्वयन भने फितलो छ । किसानको बाहुल्यता रहेको स्याङ्जामा सबैभन्दा बढी मारमा किसान नै छन् । यहाँका किसानले बजार नपाउँदा समस्या हुने गरेको गुनासो गर्दै आएका छन् । सिद्धार्थ राजमार्ग स्तरोन्नति भएमा मात्रै जिल्लाको कृषि उपज विक्रि र पर्यटक भित्र्याउन सहज हुने स्थानीयको माग छ । राजनीतिक दलहरुले सिद्धार्थ राजमार्गलाई सधैं चुनावी एजेण्डा बनाए पनि स्तरोन्नतितर्फ ध्यान नदिएको यहाँका व्यवसायीको गुनासो छ।   

Villages in Syangja are becoming deserted due to monkey terror and lack of infrastructure

पुतलीबजार नगरपालिका–४ गौतमडााडाका घनश्याम गौतम भन्छन्, ‘स्याङ्जामा नेताले मात्र होइन कर्मचारीले मात्रै चाहने हो भने पनि विकासले गति लिन्छ । यहाँ त भाषण मात्रै ठूला काम शून्य भएर हो ।’ यसपटक मतदाताले सिद्धार्थ राजमार्गलाई चुनावी एजेण्डा बनाउनेलाई भोट नदिने बताउँदै आएका छन् । स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेकाहरुले सिद्धार्थ राजमार्गको स्तरोन्नति प्रमुख बुँदामा समेटेका छन् । यसो त, निजामति क्षेत्रमा पनि स्याङ्जा अगाडि नै छ । स्याङ्जा घरभएका अधिकांश प्रशासनिक क्षेत्रको नेतृत्व तहसम्म पुगेका उदाहरण छन् । तर, यहाँबाट प्रशासनिक नेतृत्वमा पुगे पनि आफ्नै जिल्लाको मुहार फेर्न नसकेको गौतमले बताए ।  

जिल्लामा विशेषगरी सुन्तला खेती कृषकहरुको प्रमुख आयस्रोत मानिन्छ । स्याङ्जाका बारीमा मात्र नभई भीर पाखामा पनि सुन्तला खेती गरिन थालेको छ । कृषक मीनप्रसाद कोइरालाले सुन्तला खेतीबाट राम्रो आम्दानी गर्न सकिने बताए । ‘वर्षमा दुई/तीन पटक समय दिए हुन्छ,’ कोइराला भन्छन्, ‘दुःख गर्न सके लाखौं रुपैयाँ घरमै बसेर कमाउन सकिन्छ ।’ 

कृषि क्षेत्रमा आबद्ध परिवारको जीवनयापन सामान्य रूपमा चल्दै आए पनि उत्पादनको बजारीकरण, उद्योग–कलकारखानाको अभाव र युवाशक्ति विदेश पलायनका कारण दीर्घकालीन आर्थिक आधार कमजोर बन्दै गएको देखिन्छ । वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्सले धेरै घरपरिवार धानेको छ । तर त्यसलाई साना घरेलु उद्योग र कृषि व्यावसायीकरणमा रूपान्तरण गर्न नसक्दा स्थानीय अर्थतन्त्रमा स्थायित्व आउन नसकेको कृषि विज्ञ रामकृष्ण भट्ट बताउँछन् । 

स्याङ्जामा ५६ हजार ८३६ मेटिक टन खाद्यान्न उत्पादन हुने रहेको छ । खाद्य उपलब्धताको हिसाबले जिल्ला खाद्य सुरक्षित रहेको छ । ४४ प्रतिशत घरधुरीलाई आफ्नो उत्पादनले वर्षैभरि खान पुग्ने र ९ प्रतिशत घरधुरीलाई मात्र ३ महिना भन्दा कम अवधिको लागि आफनो उत्पादनबाट खान पुग्ने गरेको तथ्यांक छ ।  

पछिल्ला वर्ष गाउँगाउँमा खानेपानी, विद्युत र सडक पूर्वाधार विस्तार भएका छन् । सामुदायिक विद्यालयको भौतिक अवस्थामा सुधार हुँदा शिक्षाको गुणस्तर पनि क्रमिक रुपमा राम्रो हुँदै गएको देखिएको छ । तर जीर्ण सडक अवस्थाका कारण व्यापार, पर्यटन र आवागमनमा प्रत्यक्ष असर परेको जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रविन्द्र श्रेष्ठ बताउँछन् । श्रेष्ठ भन्छन्, ‘ठूलादेखि साना व्यावसायीसमेत कर तिर्न पोखरै धाउनुपर्छ । यसरी कसरी विकास मानिन्छ ? खै संघीयता जिल्ला आएको ?’ 

नेपाल एकीकरणपूर्व हालको स्याङ्जा जिल्ला विगतमा चौविसे राज्य अन्तर्गत रहेका भुरे टाकुरे राज्य रजौटाहरु–गह्रौ, भिरकोट, सतौ, नुवाकोट, ढोर र पैयुं राज्यमा विभाजित थियो । पछि ढोर र पैयुंका धेरै जसो भाग तनहुँ र पर्वतमा गाभिन गई बाँकी ४ राज्य गह्रौ, सतौं, नुवाकोट र भीरकोट मिलेर स्याङ्जा जिल्लाको निर्माण भएको इतिहास छ । 

कालीगण्डकी नदी, कालीगण्डकीले बनाएका चापाकोट, रत्नपुर जस्ता उर्वर भूमिहरु, आँधीखोलाको प्राकृतिक छटा तथा किनारका फाँट, पन्चासे लेक, कोल्मा बराहचौर, चन्द्रकोट, चित्रे भन्ज्याङको गृहकोट र पञ्चमूलको सिरुवारीबाट देखिने पहाडी तथा हिमश्रृंखलाको दृश्य, निबुवाखर्कको ताम्केकोटबाट देखिने पाल्पा, पर्वत, गुल्मी, तराईको केही भाग र हिमाली दृश्य र अन्य कैयौं स्थान जहाँबाट सूर्योदय र सूर्यास्त भएको दृश्य देख्न सकिन्छ । यी स्वरुपहरु नै यहाँका प्राकृतिक पर्यटकीय स्थल हुन् । 

स्याङ्जा विगतमा भृगु ऋषिको तपोभुमिको रुपमा रहेको मानिन्छ । अयोध्याका राजा दशरथ र श्रवणकुमारसँग जोडिएका किंवदन्तीमा आधारित अन्धा–अन्धी दह तथा श्रवणकुमार समाधिस्थल जस्ता धार्मिक भूमिको रुपमा पनि स्याङ्जालाई लिने गरिन्छ । त्यस्तै स्वस्थानी व्रतकथामा सतीदेवीलाई भगवान शिवले बोकेर हिँड्दै गर्दा उक्त शवको शेष अंग पतन भएको ‘छायाक्षेत्र’ पनि यसै जिल्लामा रहेको धार्मिक मान्यता छ । मुक्तिनाथ हुँदै कालीगण्डकी र सोही किनारमा विभिन्न चक्र कुँदिएको सेतीबेनीमा विशाल शालीग्राम, राम्दीघाट, केलादीघाट, उत्तर गंगालगायत धार्मिकस्थलद्वारा स्याङ्जाले नेपालमा मात्र नभई विश्वमै पहिचान बनाएको छ । छायाक्षेत्र छाङछाङ्दी, पंचासे धाम, चण्डीकालिका, मनकामना, केलादीघाट, हुँगीघाट, राम्दीघाट, गह्रौंकालिका, जगत्रदेवी जस्ता अन्य मन्दिर, बौद्ध गुम्बा र मस्जिद पनि यहाँका पर्यटकीय स्थल हुन् । 

स्याङ्जामा रहेका विभिन्न जातजातिको रहनसहन, चाडपर्व, खानपान तथा भेषभुषा सबैको अध्ययन गर्ने थलो बनेको छ । खासगरी जिल्लाका आदिवासी तथा जनजाति जस्तै गुरुङ, मगर र कुमाल समुदायको मातृभाषा, चाडपर्व, भेषभुषा र रहनसहनको अध्ययन अनुसन्धान तथा अवलोकन भ्रमण गर्न अनुकुल छ । लोक संस्कृतिको धनि नेपालकै उत्कृष्ट सांस्कृतिक सम्पदा भएको यस जिल्लामा नेपालको एकमात्र शालीग्राम पाइने कालीगण्डकी नदी क्षेत्र र यसमा गरिने जलयात्रा बिश्व प्रख्यात जलयात्राको रुपमा मानिन्छ । 

स्याङ्जा प्याराग्लाईडिङका लागि पनि उपयुक्त जिल्ला हो । यहाँ नेपालकै पहिलो र एकमात्र प्याराग्लाइइिङ अध्यापन गर्ने विद्यालय छ । २०७४ मा स्याङ्जाको स्वरेकमा अन्तराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता पनि सम्पन्न भइसकेको छ । स्याङ्जा भएर पोखराबाट लुम्विनी/भैरहवा जाने र लुम्विनी/भैरहवाबाट स्याङजा हुँदै पोखरा अथवा मुक्तिनाथ आउने पर्यटकका लागि स्याङजा प्रवेशद्वारका रुपमा रहे पनि होटल, रेस्टुरेन्ट जस्ता पूर्वाधारको राम्रो प्रबन्ध नहुँदा जिल्लाले यस्ता पर्यटकबाट फाईदा लिन नसकेको पर्यटन अभियान्ता गणेशमान गुरुङ बताउँछन् । ‘व्यवस्थित पर्यटन विकासको अभावमा पर्यटकीय आकर्षणका प्राकृतिक एवं सांस्कृतिक सम्पदा ओझेलमा परेका छन्,’ उनी भन्छन् ।  

Villages in Syangja are becoming deserted due to monkey terror and lack of infrastructure

यो जिल्ला पहाडी क्षेत्रमा अवस्थित भएकाले बिभिन्न किसिमको भूबनोट पाइन्छ । मुख्यतः महाभारत पहाडले ढाकेको यस जिल्लाको उत्तर र मध्यभागमा पञ्चासे, स्वरेक, डहरेदेउराली, नुवाकोट भालुपहाड, पेल्काचौर मनकामना, चित्रेभञ्ज्याङ्, गह्रौकोट जस्ता उच्च पहाड चट्टानबाट निर्माण भएको पाइन्छ । यहाँको केही पहाडी भागमा स्लेट, चुनढुंगा, मार्वल, सुन, फलाम खानी जस्ता खनिज पाइने भनिए पनि अनुसन्धान हुन सकेको छैन । यसो त, माटो परीक्षण नहुँदा पनि कृषक के खेती गर्दा उत्पादन बृद्धि हुन्छ भन्नेमा नै अनविज्ञ जस्तै छन् । स्याङ्जमा प्रमुख नदी कालीगण्डकी र आँधीखोला, ज्याग्दीखोला, सेतीखोला र दरौंखोला रहेका छन् । स्याङ्जामा ७२४ खोल्सा र ४२३ वटा कुवा रहेको तथ्यांक छ । 

बसाइँसराइ र बाँदर आतंकले रित्तिँदै गाउँ
२०७८ सालको जनगणना अनुसार जिल्लाको जनसंख्या वृद्धिदर घट्दो छ । गाउँहरू रित्तिँदै गएका छन् । युवा पुस्ता वैदेशिक रोजगारीमा गएको छ भने बाँदर आतंकका कारण कृषिमा निराशा बढ्दै गएको छ । बाँदरकै कारण गाउँबस्ती रित्तिँदै गएको ् वालिङ नगरपालिका–१० का ध्रुव पंगेनी सुनाउँछन् । पूर्ववडाध्यक्षसमेत रहेका पंगेनीले आफ्नो वडामा बाँदरकै कारण धेरै जना तराइतिर बसाइँ सर्न बाध्य भएको बताए । ‘रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको पहुँच खोज्दै गाउँबाट सहरतर्फ पलायन हुनु स्वभाविक रहे पनि बाँदर व्यवस्थापन गर्न नसक्दा स्थानीय पलायन हुन बाध्य छन्,’ उनले भने ।  

Villages in Syangja are becoming deserted due to monkey terror and lack of infrastructure

गाउँमा खेतीपाती गरेर जिविकोपार्जन गर्दै आएकी गल्याङ नगरपालिका–१ की सुष्मा क्षेत्रीले विद्यालय, बिजुली, इन्टरनेट जस्ता सुविधा पुगे पनि बाँदरका कारण गाउँमा खेती भित्र्याउन नपाइने गरेको बताइन् । ‘गाउँ भए पनि सरकारी विद्यालयमा सुधार आएको छ । बाटो, बिजुली र इन्टरनेटको सुविधा छ । तर, खेती लगाएर पाक्ने बेलासम्म बाँदरले सकिहाल्छ । खेतबारीमा अलिअलि रहेको घरमा ल्याऐ त्यही पनि बाँदरले राख्दैन्,’ उनले भनिन् । उनले बाँदर घरभित्रै आएर अन्नपात खाइदिन थालेपछि बसाइँ सर्ने अवस्थामा पुगेको बताइन् ।

स्याङ्जामा दुई वटा वृद्धाश्रम र एउटा बालगृह सञ्चालनमा छन् । जिल्लाको एक मात्र बालगृह मुठ्ठी दानबाट संचालन भइरहेको छ । ४६ जना बालबालिका रहेको यो बालगृह कमला पराजुलीको नेतृत्वमा १५ वर्षअघि संचालनमा आएको हो । यहाँका एकल महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरू सामाजिक सुरक्षा भत्तामा निर्भर छन् । तर अझै पनि केही नागरिक नागरिकता र सामाजिक सुरक्षा भत्ताबाट बञ्चित छन् । अपांगता भएका बालबालिकालाई विद्यालय प्रवेशमा समस्या छ भने विशेष कक्षाको व्यवस्थापन प्रभावकारी हुन नसकेको सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेल बताउँछन् । जिल्लाका ५२ हजार घरधुरीमध्ये धेरैजसो स्वास्थ्य बिमामा आवद्ध भए पनि सबै नागरिक समेटिन सकेका छैनन् ।

पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचारविरुद्धका मुद्दा बढ्दो क्रममा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा यहाँका सार्वजनिक निकायमा भएका कामको उजुरी संख्या वृद्धि भएको छ । महालेखा परीक्षणको प्रतिवेदनले बेरुजु अपेक्षित रूपमा घट्न नसकेको देखाएको छ ।  

एकातिर पूर्वाधार विस्तारको कमीले कृषिजन्य उत्पादन बिक्रिमा समस्या भोगिरहेको जिल्लाको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । अर्कोतर्फ बसाइँसराइ, जीर्ण राजमार्ग, सार्वजनिक सेवाप्रति असन्तुष्टि र सुशासनको चुनौती छ । स्वदेशमै रोजगारी, पारदर्शितासहितको शासन प्रणाली र सीमान्तकृत समुदायको राज्यका विभिन्न तहमा पहुँच नै स्थानीयबासीको अपेक्षा छ । सिद्धार्थ राजमार्गको समयमै स्तरोन्नति, कृषि व्यावसायीकरण, धार्मिक पर्यटन प्रवर्द्धन र युवालाई आन्तरिक रोजगारी सिर्जना गर्न सके मात्र स्याङ्जाले आफ्नो सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न सक्ने व्यावसायी एवं जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्रेष्ठ बताउँछन् ।

प्रतीक्षा

Link copied successfully