बैतडीमा बसाइँसराइकै चुनौती

बाँदर-बँदेलको आतंक, गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधाको खोजी र रोजगारी अभावले बैतडीका गाउँमा युवाको उपस्थिति घट्दै गएको छ, जसले बस्ती सुनसान हुन थालेका छन्।

फाल्गुन १९, २०८२

मोहन चन्द

The challenge of migration in Baitadi

What you should know

बैतडी — सुदूरपश्चिम प्रदेशको १ हजार ५१९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पहाडी जिल्ला हो बैतडी । यसको सिमाना भारतसँग जोडिएको छ । यहाँ ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह छन् । दशरथचन्द नगरपालिका र शिवनाथ, पञ्चेश्वर गाउँपालिकाको सिमाना भारतसँग जोडिएको छ ।

भारतसँग जोडिएका स्थानीय तहका बासिन्दा दैनिक उपभोग्य सामान र औषधि उपचारको लागि सीमापारि भारत जाने गर्दछन् । यो जिल्लामा देवीदेवताका मन्दिर धेरै रहेकाले यसलाई देवभूमि भनेर पनि चिन्ने गरिन्छ । यो सहिद दशरथचन्दको जन्मभूमि पनि हो । यही जिल्लाबाट २०१५ सालमा पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीले राजनीतिक प्रतिनिधित्व गरेकी थिइन् । यहीबाट राजनीति गरेका लोकेन्द्रबहादुर चन्द पञ्चायतकाल र बहुदलकालमा पनि चार पटक प्रधानमन्त्री भइसकेका छन् ।  

निर्माण हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना पनि यसै जिल्लामा पर्छ । भारत र बैतडीको सिमाना महाकाली नदीले छुट्याएको छ । यहाँका बासिन्दाको मुख्य पेशा भनेको कृषि र मजदुरी हो । संघीयतापछि बैतडीका १० वटै स्थानीय तहका केन्द्रमा सडक पुगेको भए पनि सबै वडामा यातायातको सुविधा उपलब्ध छैन्। सबै वडामा विद्युत विस्तार नभए पनि सबै स्थानीय तहको केन्द्रमा विद्युत सेवा पनि पुगेको छ । 

The challenge of migration in Baitadi

जिल्लामा बसाइँसराइ जानेको संख्या उच्च रहेको छ । बसाइासराइका मुख्य दुई कारण रहेको देखिन्छ, एक गुणस्तरीय शिक्षा र स्वास्थ्य नहुनु र खेतीपातीमा जंगली जनावारको आतंक । राष्ट्रिय जनगणना २०६८ को भन्दा २०७८ मा जिल्लाको जनसंख्या ८ हजार ७४१ ले घटेको छ । अहिले जिल्लाको जनसंख्या २ लाख ४२ हजार १५७ जना रहेको छ । बैतडीको जनघनत्व १६५ जना प्रतिवर्ग किलोमिटर छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार बैतडीमा बसाइँसरेर आउने भन्दा बसाइँसरेर जानेको संख्या ९ गुणाले बृद्धि भएको पाइएको हो । २०८० वैसाखदेखि २०८२ कात्तिकसम्मको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्यांकमा बसाइँसरेर आउनेको संख्या ४ सय १ देखिएको छ । बसाइँसरेर जानेको संख्या ३ हजार ६४२ देखिएको छ ।

१० स्थानीय तह मध्ये बसाइँसराई जाने गाउापालिकामा सबैभन्दा बढी दोगडाकेदारबाट ५ सय ४४ र दशरथचन्द नगरपालिकाबाट ७ सय २१ रहेको छ । दशरथचन्द जिल्ला सदरुमकाम भएको नगरपालिका हो । धेरैजसो कागजात नलगेरै बसाइँ सर्ने गरेकाले यो संख्या अझै ठूलो हुन सक्ने पञ्चेश्वर गाउापालिका पञ्जीकरण शाखा प्रमुख प्रिया चन्दले बताइन् । ‘बसाइँसरी गरेको ठाउामा केही कामपरे मात्र दर्ता गराउाछन्,’ उनले भने, ‘बसाइँसराइको दर तीब्र भए पनि धेरैजसो कागजात नगलेर जाने भएकाले कम देखिएको हो ।’ 

बसाइँसराइका कारण अधिकांश गाउँका घरहरु खाली भइसकेका छन् । केही वर्ष पहिले जिल्ला सदरमुकाममा छेउछाउका गाउँमा बस्नलाई भाडामा कोठानै पाइदैन्थे । अहिले ती कोठा नपाइने घर बाँझा भइरहेका छन् । गाउँमा युवा छैनन् । बुढापाकामात्र भेटिन्छन् । तराईतिर बसाइँ सर्ने होडबाजी नै चलेको छ । बाँदरले लगाएको अन्नबाली, फलफूल सखाप पार्न थालेपछि स्थानीयले खेती गर्न छोडिसकेका छन् । बारीमा अन्नबाली लगाउन छोडेपछि बाँदरले भित्र राखेको खाद्यान्न समेत खान थालेपछि वाक्कदिक्क भएर धेरै परिवार गाउँ छोडेर बसाइँ सरिसकेका छन् ।

स्थानीयले खेतीपाती गर्न छाडेपछि बाँदर घरभित्रै राखेको खानेकुरा खान झ्याल ढोका तोडेरभित्र जाने गरेको दशरथचन्द नगरपालिका–५ का स्थानीय घनश्याम भट्टले बताए । ‘बारीमा केही खानेकुरा नपाएपछि बन्द गरेका ढोका तोडेरै भित्र जान्छन्,’ उनले भने, ‘बाँदरकै आतंकले हाम्रो गाउँका ६० बढी परिवार तराई गइसके।’ 

दशरथचन्द नगरपालिकामा बँदेल भन्दा पनि बाँदर आतंक बढी रहेको छ । जिल्लाका अरु स्थानीय तहमा बँदेल आतंक रहेको छ । लगाएको अन्नबाली पाक्ने समयमा बँदेलबाट बचाउनको लागि रातभरी जाग्राम बस्नु पर्ने मेलौली –५ की जन्तरा भट्टले बताइन् । वर्षभरी मिहनेत गरेर फलाएको अन्नबाली बँदेलले सखाप पार्न थालेपछि अहिले खेती गर्नै छोडेको उनले बताए । खेतीपाती नगरेपछि खानलाई तराईबाट आएकै रासनको भरपर्नु पर्ने हुँदा गाउँका आधाभन्दा बढी परिवार तराई बसाइँसरेर गइसकेको उनले बताए । 

जिल्लाको पञ्चेश्वर–२ को मटेला गाउँमा केही वर्ष पहिले ६६ परिवार बसोबास गर्थे । गाउँमा निकै चहलपहल भइरहन्थ्यो । कामको सिजन र चाँडपर्वको बेलामा त त्यो गाउँमा मजदुरी गर्न गएका र अन्य कामको सिलसिलामा बाहिर गएका सबै गाउँ फर्किने भएकाले चहलपहलसँगै रमाइलो भइरहन्थ्यो । तीदिन सम्झिँदै स्थानीय ७६ वर्षीय करबीर चन्द भन्छन्, ‘अहिले गाउँमा कोही छैनन्, गाउँ सुनसान छ । घर खाली भइसके, गाउँघरमा हामी बुढापाखा मात्रै छौं ।’ बसाइँसरेर गएकाहरु वर्षमा एक पटक पूजापाठको लागि मात्रै आउँछन् । मेलापर्व र कामको सिजनमा कोही नआउने गरेको उनले बताए । 

६६ परिवार बस्ने मटेला गाउँमा तीन/चार वर्षयता बसाइँसरेर ३२ परिवार मात्र छन् । धान हुने खेत बाँझो भइसकेका छन् । यो गाउँमा प्राय: बालबालिकालाई निजी विद्यालय पढाउनको लागि तराई (कैलाली, कञ्चञ्पुर) बसाइँ सरेका छन् । गाउँमा रहेका बाँकी परिवारका पनि बुहारी नातिनातिना पढाउनको लागि कोठा भाडामा लिएर तराई बस्ने गरेको चन्दले बताए । 

दुई छोरा, दुई बुहारी र नातिनतिना भएको परिवारमा अहिले आफु एक्लै भएको स्थानीय ६३ वर्षीय एकल महिला सेतु चन्दले बताइन् । ‘छोरा दुईटै भारतमा जागिर गर्छन्, बुहारी नातिनतिना पढाउन महेन्द्रनगर (कञ्चन्पुर) गइन्,’ उनले भनिन्, ‘घरमा म एक्लै छु खेतीपाती गर्न सक्दैन । यस्तै बसेकी छु ।’ 

गाउँमा मान्छे नै नभएकाले छोडेर गएका घरखेत हेर्ने पनि कोही नभएकाले घरखेत बाँझा बनेका छन् । गाउँमा रहेको कक्षा पाँचसम्म पढाइ हुने भरर्कोटी आधारभूत विद्यालय कक्षा ३ मा झरेको छ । ३ कक्षासम्म पनि पढ्ने विद्यार्थी नभएकाले विद्यालय बन्द हुने स्थितीमा पुगेको विद्यालयका प्रअ झुपुरसिह मंगोलाले बताए । ‘गत वर्षदेखि बालविकासको कक्षामा केही भर्ना नै भएका छैनन्,’ उनले भने, ‘बालविकासमा नै भर्ना नभएपछि माथिल्लो कक्षामा कहाँबाट विद्यार्थी हुन्छन् ।’ सबै निजी विद्यालय पढाउन तराईतिर जाने गरेको उनले बताए । 

यो भर्कोटी आधारभूत विद्यालयको अवस्थामात्र नभइ समग्र जिल्लाको सामुदायिक विद्यालयको अवस्था यस्तै रहेको छ । ११/१२ कक्षा र क्याम्पसमा पनि विद्यार्थीको संख्या न्यून रहेको छ । जिल्लामा ५ सय ३८ सामुदायिक र २४ संस्थागत विद्यालय र १३ क्याम्पस छन् । क्याम्पसमा विद्यार्थी भर्ना हुन नआएपछि क्याम्पसका सबै शिक्षक नयाँ शैक्षिकसत्रमा विद्यार्थी खोज्न गाउँगाउँ पुगेको सदरमुकाममा रहेको जगनाथ बहुमुखी क्याम्पस प्रमुख सुरेन्द्र बमले बताए । यति गर्दा पनि विद्यार्थी नपाएको उनले बताए ।

अभिभावकहरुको निजी विद्यालयप्रतिको आकर्षण र सामुदायिक विद्यालयप्रति विश्वास घटनुका साथै उच्च बसाइँसराइले बैतडीका सामुदायिक विद्यालय र क्याम्पसमा विद्यार्थी संख्या न्यून रहेको शिक्षा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए । विद्यार्थी बाहिर जानबाट रोक्नमा जिल्लाका सामुदायिक विद्यालयको गुणस्तर सुधार्नुपर्ने र बसाइँसराइ कम हुने खालका योजना ल्याउनु पर्ने उनले बताए । 

जिल्लामा सुविधासम्पन्न अस्पतालको भवन निर्माण गरिएको पनि दरबन्दी अनुसारका चिकित्सक नभएर जिल्लाबाट स्वास्थ्य उपचारको लागि छिमेकी जिल्ला डडेल्धुरा, तराईको धनगढी र भारततिर जाने गरेका छन्। जिल्ला अस्पताल बैतडीमा १३ जना स्थायी चिकित्सकको दरवन्दी भए पनि ५ जनामात्र चिकित्सक रहेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।

छात्रबृत्ति करारका चिकित्सक आउनेजाने क्रमले पनि विरामीले सधैं सबै प्रकारको सेवा नियमति नपाइने हुादा जिल्ला अस्पतालप्रति सेवाग्राहीको विश्वास घटेको उनले बताए । ‘चिकित्सक नहुादा विरामीलाई रिफर गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यहा गएर रिफर गर्ने त हुन् त्यो भन्दा सिधैं अर्को ठाउा जाादा खर्च कम होला भनेर यता आउँदैनन् ।’

The challenge of migration in Baitadi

जिल्लाका धेरैजसो युवा रोजगारीको लागि भारतलगायत खाडीमुलकतिर गइरहेका छन् । हिउँद सुरु हुने बित्तिकै यहाँको प्राय: पुरुषहरु कामको खोजीमा भारततिर जाने गरेका छन् । यहाँको मुख्य पेसा कृषि भए पनि कृषकले उत्पादन गरेको तरकारीलगायत अन्नबालीको उचित मूल्य नपाउनाले पछिल्लो समय यो पेशाप्रतिको आकर्षण पनि  घटिरहेको छ । आफुहरुले उत्पादन गरेको भटमास र कोदोको बजार मूल्य नपाएर सिमापारि भारतको व्यापारीसँग बिक्री गरेको पञ्चेश्वरका स्थानीय किसान रामसिंह मंगोलाले बताए । 

यस्तै आफुहरुले उत्पादन गरेको तरकारीको बैतडीमा बजार मूल्य र खरिद गर्ने व्यापारी नपाएर तराईको धनगढीको व्यापारीलाई बिक्री गरेको पाटन–८ का स्थानीय कृषक हेमराज पन्तले बताए । जिल्लामा तरकारी उत्पादन हुने भए पनि कृषकहरुले कोल्ड स्टोर नभएर संचित राख्न पाएका छैनन् । फलस्वरुप सिजनमै मूल्य भन्दा सस्तोमा बेच्नुपर्ने बाध्यता छ । यसले गर्दा कृषिप्रतिको आकर्षण घट्दो बेरोजगारी र आर्थिक अभाव सृजना भइरहेको छ ।  

जिल्लाका दशरथचन्द नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाको सिमाना भारतसँग जोडिएको छ । यहाँका बासिन्दा औषधि उपचारदेखि दैनिक उपभोग्य बस्तु किनमेलका लागि भारतीय बजार जाने गर्दछन् । दशरथचन्द नगरपालिकाको जुलाघाटमा महाकाली नदीमाथि अंग्रेजका पालमा बनेको जीर्ण झोलुंगे पुल छ भने शिवनाथ र पञ्चेश्वरका बासिन्दा जोखिमपूर्ण यात्रा गर्दै महाकाली नदीमाथि डुंगामा चढेर वारपार गर्ने गर्दछन् ।

जिल्लाका मुख्य सडक निर्माण भए पनि स्तरोन्नति र कालोपत्र हुन सकेका छैनन् । प्रदेश गौरवको योजना अन्तर्गत सतबाँझ–श्रीभावर हाट दार्चुला सडक आयोजनाको काम २०७५।७६ देखि संचालनमा छ । बजेट थोरै थोरै आउने भएकाले काम पनि त्यसै अनुसार भइरहेकाले अहिलेसम्म पूरा हुन नसकेको पूर्वाधार कार्यालय बैतडीका प्रमुख धिरेन्द्र भट्टले जानकारी दिए ।  

सम्बन्धित अन्य समाचारहरु 

सडक, बिजुली र स्वास्थ्य सुविधाको पर्खाइमा हुम्ली

चितवनका चुनावी मुद्दा : निकुञ्ज, नदी कटान र पूर्वाधार

पूर्वाधार अभावले ओझेल परेको पाल्पाको कृषि र पर्यटन क्षेत्र

अछामको विकासका बाधक : अधुरा पूर्वाधार, बेरोजगारी र बसाइँसराइ

राजधानीसँगै जोडिएको काभ्रेमा विकास भने सहरमै सीमित

अरुणदेखि मकालुसम्म फैलिएको संखुवासभामा अपेक्षित विकास भएन

पूर्वाधारकै अभाव झेलिरहेको कालीकोट

बर्दियामा सधैंको चुनावी एजेन्डा: मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण र मल-बीउको व्यवस्थापन

आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको दोबाटोमा झापा

‘विपन्न’को परिचय फेरिने पर्खाइमा बाजुराबासी

सुनसरीका दुई मुहार: विकसित सहर, पछाडि परेका गाउँ

रामेछापमा जनसंख्या घट्दै, विकासका पूर्वाधार अधुरै

बझाङ: सम्भावनाको खानीभित्र समस्याले जेलिएको जिल्ला

रोजगारी र पूर्वाधार अभावले रित्तिँदै गोरखाका गाउँ

मधेश र हिमाल जोड्ने सेतु बन्दै धनकुटा

मधेशको महोत्तरीमा सधैंको एउटै मार- डुवान र खडेरी

बसाइँसराइ कम हुने डोल्पामा जडीबुटी र पर्यटनको सम्भावना

सुक्खा बन्दरगाह र महाकाली करिडोरले आस देखिरहेको कञ्चनपुर

खेतीमा बाँदरको अवरोध खेपिरहेको बागलुङ मासु चीन निर्यात गर्ने तयारीमा

पूर्वाधारकै अभावमा प्रदेश राजधानी सुर्खेत

बाँदर आतंक र पूर्वाधार अभावले रित्तिँदै स्याङ्जाका गाउँ

विकासका पूर्वाधार बढिरहेको मकवानपुरमा युवा टिकाउन सकस

लुम्बिनीको राजधानी दाङमा विकास अपुग

जाजरकोटमा सडक, रोजगारी, खानेपानी र विद्युतको समस्या उही, भूकम्पपछि थपियो पुनर्निर्माणको एजेण्डा 

 

पूर्वाधार विस्तारले डडेल्धुरामा बसाइँसराइ घट्ने आस

 जलविद्युत र पर्यटनले फेरिँदै लमजुङको मुहार

पर्यटनको प्रशस्त पूर्वाधार बोकेको कपिलवस्तु जहिल्यै सुनसान

तनहुँ: प्राकृतिक, ऐतिहासिक र ग्रामीण पर्यटनको संगम


अवसर र चुनौतीको दोसाँधमा कैलाली


मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully