पूर्वाधारकै अभावमा प्रदेश राजधानी सुर्खेत

जनगणना अनुसार चार लाखभन्दा बढी जनसंख्या रहेको सुर्खेतमा सडक, खानेपानी, स्वास्थ्य, रोजगारी, लालपुर्जा वितरण जस्ता आधारभूत समस्या अझै समाधान हुन सकेका छैनन् ।

फाल्गुन १६, २०८२

तृप्ति शाही

Surkhet, the provincial capital, lacks infrastructure

What you should know

वीरेन्द्रनगर — कर्णाली प्रदेश राजधानीको रुपमा रहेको सुर्खेत जिल्ला ९ वटा पालिका मिलेर बनेको छ । जिल्लामा ५ नगरपालिका र ४ गाउँपालिका छन् । २ हजार ४ सय ५१ वर्ग किलोमिटर क्षेत्रफल भएको यो जिल्ला सुर्खेत नामाकरण हुनअघि दोभानचौर नामले परिचित थियो ।

२०७८ को राष्ट्रिय जनगणना अनुसार जिल्लाको जनसंख्या ४ लाख १५ हजार १ सय २६ छ । जिल्लामा २ लाख ४८ हजार ९३८ मतदाता रहेका छन् । जिल्लामा महिला मतदाताको संख्या पुरुषभन्दा बढी छ । १ लाख २७ हजार ५४ महिला मतदाता रहेकोमा १ लाख २१ हजार ८८९ पुरुष मतदाता छन् ।

सुर्खेतका बासिन्दाको ठूलो हिस्सा कृषि पेशामा संलग्न छ । परम्परागत रुपले नै कृषि गर्ने यहाँका बासिन्दा पछिल्लो समय भने आधुनिक रुपमा पनि कृषि गरिरहेका छन् । आफूलाई खानको लागि मात्र खेतीपाती गर्ने स्थानीय पछिल्लो समय आफ्ना उत्पादन बजारसम्म पुगाएर आत्मनिर्भर पनि बनिरहेका छन् ।

सुर्खेतको सुगम स्थानमा व्यवसायिक रुपमा कुखुरापालन बढिरहेको छ । योसँगै मौरीपालन, तरकारी, मकै तथा बिउबिजन उत्पादन जिल्लामा प्राथमिकताका बाली भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णालीले जनाएको छ । पशुपन्छीहरुमा भैंसी, भेडा, बाख्रा र कुखुरा प्राथमिकतामा राखेर पालिरहेको मन्त्रालयले जनाएको छ । कृषिमा आवद्ध नागरिकले पछिल्लो समय एकल वा समूह बनाएर कृषि गरिरहेका छन् । केहीले तरकारी खेती गरिरहेका छन् । तरकारी खेती मौसमी, बेमौसमी एकैपटक गर्न सकिने र आम्दानी पनि सन्तोषजनक भएपछि तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

सुरुमा थोरै टमाटर, काउली, बन्दालगायतका तरकारी लगाउनेहरु अहिले समूह बनाएर च्याउ खेती गरिरहेको वीरेन्द्रनगर नगरपालिकाकी राधीका चौधरीले बताइन् । ‘१८ जना महिला मिलेर च्याउ खेतीसँगै अगरबत्ती पनि उत्पादन गरिरहेका छौं,’ उनले भनिन् । सुर्खेतको चिंगाड गाउँपालिकामा कार्यरत कर्मचारीले सामूहिक तरकारी खेती गरिरहेका छन् । कार्यालय समयमा सरकारी सेवामा रहने उनीहरू बिहान र साँझको समयमा भने खेतीपातीमा लागिरहेका छन् । कर्मचारीहरूले जमिन भाडामा लिएर सामूहिक तरकारी खेती थालेका हुन् ।

१५ जना कर्मचारी मिलेर बन्दा, काउली, टमाटर, सिमी, सागलगायत बेमौसमी–मौसमी तरकारी खेती गर्दै आएका छन् । कृषिको कुरा गर्ने तर यसमा काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि आफूहरूले यो योजना ल्याएर काम गरिरहेको पालिकाको सहायकस्तर पाचौं तहमा कार्यरत कर्मचारी खड्क चन्दले बताए ।

सुर्खेतमा ५२ हजार ४ सय ४० हेक्टर जमिन खेतीयोग्य भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णालीको तथ्यांक छ । ३५ हजार १० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ भने १७ हजार ४ सय ३० हेक्टर जमिन बाँझै छ । १२ हजार ३ सय ५१ हेक्टर क्षेत्रफलमा मात्र वर्षभरि सिँचाइ हुन्छ । १० हजार ४ सय ८९ हेक्टर क्षेत्रफल आंशिक रुपले मात्र सिंचित छ ।

कर्णालीको कुल खेती भइरहेको मध्ये १९ प्रतिशत क्षेत्रफलमा मात्र वर्षभरि सिँचाइ सुविधा छ । सिँचाइ असुविधाकै कारण स्थानीयलाई खेतीपाती गर्नको लागि समस्या भइरहेको बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी बताउँछन् । उत्पादन राम्रो नहुने भएपछि परिवारै भारत जाने गरेका उनले बताए । उनका अनुसार पालिकामा सिजन अनुसार काम गर्नको लागि अधिकांश बासिन्दा भारत जाने गरेका छन् ।

२०७८ को जनगणना अनुसार जिल्लामा आर्थिक रुपमा सक्रिय जनसंख्या २ लाख २६ हजार ६ सय २२ भएकोमा कृषि, वन तथा माछापालन जस्ता प्राथमिक स्तरको आर्थिक गतिविधिमा १ लाख ३१ हजार ८ सय ३४ अर्थात आर्थिक रुपमा सक्षम जनसंख्याको ५८ दशमलब १७ प्रतिशत संलग्नता रहेको छ । २०६८ को जनगणनामा ५३ दशमलब ७७ प्रतिशत कृषि पेशामा संलग्न भएकोमा २०७८ मा ६१ दशमलब १७ प्रतिशत रहेको देखिन्छ । 

खाद्यान्नमा आत्मनिर्भर जिल्ला सुर्खेतमा वर्षमा ९४ हजार ९ सय ८७ मेट्रिकटन खाद्यान्न उत्पादन हुने गरेको छ । सुर्खेतमा ७ हजार ४ सय १ मेट्रिकटन खाद्यान्न मौज्दात रहने गरेको तथ्यांक छ । यहाँ धान, गहुँ, मकैलगायतका खाद्यान बाली उत्पादन हुन्छन् ।

जिल्लामा कृषिपछि प्राकृतिक स्रोतबाट प्रत्यक्ष उत्पादन वा संकलन गर्ने क्षेत्र हो । प्राथमिक क्षेत्रमा १८ दशमलब ५७ प्रतिशत नागरिक आवद्ध छन् भने तेस्रो नम्बरमा थोक एवं खुद्रा व्यापार गर्नेहरु छन् । यो क्षेत्रमा काम गर्नेहरु ११ दशमलब ४९ प्रतिशत छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाले सडकलगायतका पूर्वाधारको समस्या झेल्दै आएको छ । योसँगै आधारभूत सेवा पूर्वाधार, सामाजिक, सञ्चार र आर्थिक पूर्वाधारका कारण स्थानीयले दुःख पाइरहेका छन् । 
जिल्लाको विकासको लागि मुख्य बाधक अधुरा सडक बनेको छ । जिल्लालाई अन्य प्रदेशका जिल्लासँग जोड्ने सडकहरु अलपत्र छन् ।

Surkhet, the provincial capital, lacks infrastructure

जिल्लाका गौरवका आयोजना वर्षौंसम्म बन्न नसक्दा सहज रुपमा यातायात सुविधा छैन । यात्राको लागि नागरिकले सास्ती भोग्नु परिरहेको छ । यो सँगै व्यापारिक रुपमा पनि जिल्ला पछि परेको छ । यसले जिल्लाको विकासलाई नै पछि धकेलेको बताउँछन् वीरेन्द्रनगर नगरपालिका–१ का दुर्गा बोगटी । 

करिब ६ दशकदेखि सञ्चालन हुँदै आएको सुर्खेतदेखि बर्दिया जोड्ने भुरीगाउँ–तेलपानी सडकको काम अझै पूरा हुन सकेको छैन । बर्दियाको भुरीगाउँदेखि पैदल हिँडेर एकै दिनमा सुर्खेत पुग्न सकिने यो सडकको काम विसं २०२५ मा हुलाकी सडकका रूपमा पनि विकास भएको हो । यहाँबाट सुदूरपश्चिम जानका लागि निकै छोटो दुरी पर्ने र कर्णाली र लुम्बिनी प्रदेश जोड्ने यो सडकको दुरी ५२ किमीको हो । चुनावको बेला चुनावी एजेण्डा बन्ने यो सडकमा बेवास्ता हुँदा विशेषगरी दुई जिल्ला सुर्खेत र बर्दियाका बासिन्दाले सास्ती भोग्नु परेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र रानीघाटको भेरी नदीमा पुल बन्न नसक्दा आवतजावतमा समेत समस्या हुने गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पाँच किलोमिटर र सुर्खेतको रानीघाट भेरी नदीमा पुल निर्माण हुन नसक्दा वीरेन्द्रनगर–तेलपानी–भुरीगाउँसडक निर्माणले गति लिन सकेको छैन । 

५७ वर्षसम्म सडककै आश गरेर बसिरहेको तेलपानीका बासिन्दा टोपबहादुर कडायतले बताए । चुनावको बेला मात्र चुनावी नारा बन्ने सडक पूरा हुन्छ भन्ने विश्वास लाग्नै छोडेको उनको भनाइ छ । यहीँ सडक गाउँको विकासको बाधक बनेको उनले बताए । सडक अभावकै कारण बजार विस्तार हुन नसकेको बताए ।

अहिले सुर्खेततिरका मानिसलाई बर्दिया तथा सुदूरपश्चिम जान बाँकेको कोहलपुर हुँदै घुमेर जानुपर्ने बाध्यता छ । २०४६ सालदेखि यो सडकमा आवतजावत सुरु गरिएको थियो । आर्थिक वर्ष २०६४/६५ बाट भुरीगाउँ–तेलपानी खण्डमा सरकारले बजेट विनियोजन गर्न थालेको शिक्षक गोविन्दबहादुर हमाल बताउँछन् । 

अहिले यो सडकमा कर्णाली प्रदेश सरकारले काम गरिरहेको छ । वीरेन्द्रनगरबाट रानीघाटसम्म काम भइरहेको छ । ३ किलोमिटर जति कालोपत्रे पनि भइसकेको छ । अरु पनि कालोपत्रको काम हुने तयारी छ । आधा सडक प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेपनि राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र भेरी नदीको रानीघाट पुल नबनेसम्म यो सडकले पूर्णता पाउने छैन । 

उता बड्डीचौर–बाबियाचौर–कुइने–चिसापानी सडकको अवस्था पनि उस्तै छ । सुर्खेतबाट सुदूरपश्चिम पुग्नको लागि यो सबैभन्दा छोटो मार्ग हो । बाबियाचौरबाट कुइनेसम्म झण्डै २० किलोमिटर सडकको काम सुर्खेतको पूर्वाधार विकास निर्देशनालयबाट भइरहेको छ ।

२०७८ बाटै कालोपत्रको लागि अनक जयदेवी सनलाइट जेभी र जलजला जेभीसँग निमार्ण सम्झौता भए पनि अझै काम सम्पन्न भएको छैन । समयमै काम सम्पन्न नहुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । वर्षायाममा हिलोका कारण र अघिपछि धुलोका कारण याक्रुलाई कठिन हुने गरेको यो बाटो आवतजावत गर्दै आएका चत्र हमाल बताउँछन् । उनका अनुसार अफ्ठेरो सडकमा ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता छ ।

अनक जयदेवीको ठेकेदारले सन्तोषजनक काम नगरेरै पुस मसान्तमा म्याद सकिसकेको छ । निर्देशनालय काम ढिलो गर्नुको कारणसहित स्पष्टीकरण पेश गर्नको लागि १५ दिनको सूचना नै निकालेको छ । १६ किलोमिटर कालोपत्र र अरु स्तरोन्नतिका लागि ठेक्का पाएको निमार्ण कम्पनी सम्पर्कमै नआएको निर्देशनालयका सूचना अधिकारी वीरेन्द्र शाहीले बताए । उनका अनुसार ३ किलोमिटर सडक मात्र पहिलो चरणको कालोपत्र भएको छ । जलजलाले भने ११ किलोमिटरमा काम गरिरहेको उनले बताए ।

अहिले सुर्खेत पूर्णत कोहलपुर–सुर्खेत सडकमै निर्भर छ । स्तरोन्नति नहुँदा यो सडकको अवस्था पनि जीर्ण छ । तिनै तहका सरकारका पदाधिकारीहरु धेरै पटक यात्रा गर्ने रत्नराजमार्ग अर्न्तगतको कोहलपुर–सुर्खेत सडकखण्ड सुर्खेतको मात्र नभएर कर्णालीलाई अन्य प्रदेशसँग जोड्ने मुख्य एक मात्र सडक हो । तर यो सडकको स्तरोन्नति टाढाको कुरा राम्रोसँग मर्मतसम्म हुँदैन । जीर्ण सडकमा साघुरो मोडका कारण दुर्घटना भइरहेको हुन्छन् । वर्षातमा पहिरो गएर सडक ठप्पै हुन्छ ।

Surkhet, the provincial capital, lacks infrastructure

२०४६/०४७ मा ट्रयाक खोलिएको यो सडकको साढे तीन दशकसम्म पनि स्तरोन्नति गरिएको छैन । साँघुरो सडकका कारण जोखिमको यात्रा गर्नुपर्ने बाध्यता भएको यो सडकमा सवारी चलाउँदै आएका चालक अर्जुन नेपाली बताउँछन् । मुख्य सडकको यो अवस्था हुनु दुःखद भएको उनको भनाइ छ । टर्निङहरु धेरै भएको सडकमा बचेर सवारी चलाउनु बाहेकको विकल्प नभएको उनले सुनाए ।

गाडीको चाप सबैभन्दा बढी भए पनि सडक साँघुरो भएको बताउँछन् अर्का चालक दिनेश सुनार । पानीपर्दा माथिबाट पहिरो, ढुंगा खस्ने जोखिम पनि उत्तिकै रहेको छ । उनी भन्छन्,‘ सडकको कारण समय पनि बढी लाग्छ । जोखिम उस्तै छ । अब त यो सडकबारे सोच्न पर्ने अवस्था आएको छ ।’

सुर्खेतसँगै कर्णालीका दैलेख, रुकुम पश्चिम, सल्यान, मुगु, डोल्पा, जाजरकोट, कालीकोट, जुम्लाको पश्चिम भेग भएर चल्ने सवारीसाधन कोहलपुर–सुर्खेत सडकखण्ड भएर आउजाउ गर्छन् । कर्णाली प्रदेश राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार यो सडकमा दैनिक १२ सय सवारीसाधन गुड्छन् । 
सडकको कोहलपुर–हर्रेसम्म सडक डिभिजन कार्यालय नेपालगञ्ज र हर्रेबाट–बांगेसिमलसम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ । सडक स्तरोन्नति नहुँदा मर्मतमा वार्षिक करोडौं बजेट खर्च हुँदै आएको छ ।

पर्यटकीय गतव्यको सूचीमा परेको गिद्धे डाँडा ओझेलमा

सरकारले आर्थिक वर्ष २०७५/०७६ मा देशभरका पर्यटकीय सम्भावना बोकेका १०० स्थानको सूची सार्वजनिक गर्दा सुर्खेतको गिद्धे डाँडा पनि यसमा पर्न सफल भएको थियो । भेरीगंगा नगरपालिका–५ हात्तिखालस्थित गिद्धे डाँडा पूर्वाधार अभावकै कारण ओझेलमा परेको छ ।

चुरे क्षेत्रको मध्यभागमा उभिएर उत्तरतर्फको हिमशृंखला र दक्षिणतर्फको तराई एकैपटक अवलोकन गर्न सकिन्छ । यहाँबाट उत्तरी क्षेत्रका हिमश्रृखलादेखि तराईका दाङ, बाँके, बर्दियालगायतका क्षेत्र अवलोकन गर्न सकिने नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए । सिद्धबाबा मन्दिरको दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वास पनि रहेको उनले बताए ।

भूगोलका कारण नगरपालिकाको बजेटले मात्र पर्यटक लक्षित पूर्वाधार निर्माण सम्भव नभएको उल्लेख गर्दै नगरप्रमुख ढकालले संघ सरकारले बेवास्ता गरेको बताए । यहाँसम्म पुग्नको लागि छिन्चुदेखि लेखहात्तीखाल जोड्ने सडकको स्तरोन्नति प्रयास थालेको भए पनि बजेट अभाव झेल्नु परेको छ । उनले भने,‘ नगरपालिका, प्रदेश र संघ सरकारको संयुक्त लगानीमा छिन्चु–लेखहात्तीखाल सडक स्तरोन्नति कार्य अघि बढेको थियो । जेन–जी आन्दोलनपछि संघीय सरकारले बजेट कटौती गर्दा काम रोकियो । संघीय सरकारले खर्च कटौतीका नाममा उक्त सडकमा विनियोजित ६ करोड रुपैयाँरोकेपछि सडक अलपत्र परेको छ ।’

गिद्ध बस्ने भएकोले गिद्धे डाँडा नामाकरण गरिए पनि पछिल्लो समय संरक्षणको अभावमा गिद्धको संख्या घट्दै गएको वडाध्यक्ष प्रेमबहादुर सारुले बताए । उनका अनुसार सरकारले सुरुका दुई आर्थिक वर्षमा विनियोजन गरेको १ करोडबाट डाँडासम्म पुग्न ९४५ वटा सिाढीसहितको पदमार्ग, सिद्धबाबाको मन्दिर, पर्यटकका लागि धर्मशाला र प्रतीक्षालय निर्माण गरिएको थियो ।

१६ वर्षसम्म पनि चौकुने सिमेन्ट उद्योगको काम अघि बढ्न सकेन
हरेक पटक चुनावी मुद्दा बन्ने चौकुने गाउँपालिकामा स्थापनाको लागि इजाजत पाएको चौकुने सिमेन्ट उद्योगको काम अझै अघि बढ्न सकेको छैन् । २०६६ सालमा खानी तथा भूगर्भ विभागले चौकुने क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनका लागि व्यवसायी अजय सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री इण्डष्ट्रिज प्रालिलाई इजाजत दिएको थियो । सोही अनुसार मुक्तिश्रीले आयोजनास्थलमा सम्पर्क कार्यालय खोल्यो तर अहिलेसम्म खानी नवीकरण गर्नुबाहेक अरु काम अघि बढ्न सकेको छैन । ठूला उद्योगहरु नभएको सुर्खेतमा यो एक महत्वपूर्ण योजना थियो । यहाँका नागरिकहरु पनि खुसी थिए । तर उनीहरुले आश्वासन बाहेक केही पाएनन् । अब त उद्योग संञ्चालनमा आउने विश्वासै नभएको स्थानीय जीवन देवकोटा बताउँछन् । उद्योग सञ्चालन पछि सडक, विद्युतलगायतका सुविधाका साथै गाउँमै रोजगारी पाउने आशा हराएको गुनासो उनले गरे ।

खानी विभागले २०३५ देखि ०३९ सालसम्म चौकुनेको चुनढुंगा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो । विभागले पहिलो पटक २०७४ मा लाइसेन्स रद्द गरेको थियो । तर, उच्च अदालत पाटनको आदेशपछि विभागले पुनः नवीकरण गरेको थियो ।

९ वर्षसम्म पनि सुर्खेत मेडिकल कलेजको काम अघि बढ्न सकेन
सरकारले २०७३/०७४ को बजेटमा सुर्खेत मेडिकल कलेजको अवधारणा अघि सारेको हो । शिक्षा र स्वास्थ्यको सहज पहुँच नागरिकसम्म पुगोस् भन्ने उदेश्यले अघि बढाइएको योजनामा अहिलेसम्म काम हुन सकेको छैन ।

घोषणा भएको तीन वर्षपछि अर्थात् १९ जेठ २०७६ मा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ मा सुर्खेत मेडिकल कजेल पूर्वाधार निर्माण विकास आयोजना कार्यालय स्थापना गरिएको थियो । तर कार्यालय स्थापना भएको ६ वर्ष बितिसक्दा साइनबोर्ड झुन्ड्याउनुबाहेक केही प्रगति हुन सकेको छैन । हालसम्म आयोजना बन्ने क्षेत्र वीरेन्द्रनगर नगरपालिका–११ र १३ मा वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न गरेको कार्यालय विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणकै क्रममा छ ।

पानीको समस्या पनि उस्तै
सुर्खेतको चौकुने गाउँपालिका–५ को उत्तरी भेगमा पर्ने रेक्चा गाउँ पानी व्यवस्थापनको लागि चौकीदार राख्दै आएको छ । भएको थोरै पानी सबैलाई पुगाउन सहज होस् भन्ने उद्देश्यले गाउँका कुवामा चौकीदार बस्छन् । उनीहरुकै निगरानीमा स्थानीयले आफूलाई भाग परेको पानी लिन्छन् ।

पानीको चरम अभावबाट पिल्सिएका धेरैले थातथलोनै छोडिसकेका छन् । पानी अभावकै कारण १० वर्षको अवधिमा ५० प्रतिशत स्थानीय गाउँबाट अन्यन्त्र बसाइँ सरिसकेका छन् । अहिले गाउँमा ७० घरधुरी मात्र छन् । रेक्चाबासीलाई खानेपानीकै अभाव छ । गाईवस्तुको लागि पनि पर्याप्त पानी छैन ।

१८ कुवा भएकोमा १० वटाबाट मात्र पानी निकाल्ल्न मिल्छ । अरु जीर्ण छन् । १ कुवाबाट दिनमा तीन गाग्री जति मात्र पानी आउने गरेको वडा सदस्यसमेत रहेका तपेन्द्र बुढाक्षेत्री बताउँछन् । सबै कुवाको पानी स्थानीयले भाग लगाएर लिन्छन् । कसैको घरमा अलिक ठूलो काम पर्दा भने थपेर पानी दिने गरिएको उनले बताए ।

रेक्चा गाउँमा भइरहेको पानीको समस्याबारे सबै निकाय जानकार छन् । तर अहिलेसम्म काम गर्न कोही गएका छैनन् । उनले भने,‘अदालतले खानेपानीको व्यवस्था गर्न आदेश दिँदा पनि सम्बन्धित निकाय बेखबरजस्तै छन् । पानी पनि अड्कलेर खाइरहेका छौं । भएको पानीमा पनि भ्यागुता, सर्पको बासस्थान बनेको छ । यस्तो अवस्था हुँदा पनि कसैले चासो देखाएका छैनन् ।’

कादुरी नामक संस्थाले गाउँमा पानीको समस्या समाधान गर्न केही समयअघिबाटै डिप बोरिङ खन्ने तयारी गरेको थियो । तर मेसिन पुगाउने सडक नहुँदा काम अघि बढ्न सकेको छैन् । गाउँमा विद्युत् नपुग्दा पनि डिप बोरिङ गर्ने कामसमेत हुन सकेको छैन । पालिकाका अध्यक्ष खड्क विकका अनुसार रेक्चाको लागि सडक र बत्तिको काम अघि बढेको छ । अब डिप बोरिङ खन्नको लागि बाटो खुल्नेछ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले पनि खानेपानीको समस्या भोगिरहेको छ । प्रायः बाह्रै महिना खानेपानीको अभाव हुने वीरेन्द्रनगरमा गर्मीयाम सुरुभएपछि हाहाकार हुने गरेको छ । पलिकाका सबै वडामा धाराको पानी छैन । स्थानीयले कुवा र डिप बोरिङ खनेर पानीको जोहो गर्दै आएका छन् । 

Surkhet, the provincial capital, lacks infrastructure

सधैं पानीको अभाव हुन थालेपनि स्थानीय मिलेर बोरिङ खनेको वीरेन्द्रनगर–७ कि स्थानीय नर्मला हमालले बताइन् । उनका अनुसार अघिपछि दिन बिराएर धारामा आउँने पानी चैतपछि हप्ता बिराएर आउँछ । बोरिङ खनेबाट सहजता भएको उनले बताइन् ।

पानीको लागि खनेका कुवा पनि गर्मीमा सुक्छन् । वीरेन्द्रनगर नगरपालिका–२ कि पविसरा भण्डारी भन्छिन्,‘बजार छेउमा बसेर पनि सधैं पानीको दुःख छन् ।छिमेकी सँग मागेर पानीको जोहो गर्नपर्छ । पैसा भएकाले किनेर चलाए पनि आफूहरुलाई समस्या हुने गरेको उनले बताइन् ।

वीरेन्द्रनगरमा पानीको आपूर्ति कम र पानी उपभोग गर्नेहरूको संख्या बढी छ । पानीको स्रोतको कमी हुदाा स्थानीयले पानीको अभाव भोग्नुपरिरहेको वीरेन्द्रनगरमा पानी उपलब्ध गराइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्बरबहादुर गौतमले पानीको उत्पादन कम हुँदा समस्या भएको बताए । उनका अनुसार वर्षायामभन्दा खडेरीमा झण्डै ५० प्रतिशत पानीको उत्पादन घट्छ । अहिले वीरेन्द्रनगरमा झुप्राखोला, खरीबोरीखोला, इत्रामखोला, खोर्केखोला र बुलबुलेको पानी प्रयोग भइरहेको छ । यी खोलाबाट प्रतिसेकेन्ड १ सय ३६ लिटर मात्र पानी उत्पान भइरहेको छ । माग भने प्रतिसेकेन्ड २ सय ७५ लिटर भएको उनको भनाई छ । उनका अनुसार सस्थाले वीरेन्द्रनगरमा करिब २० हजार धारा वितरण गरेको छ ।

वीरेन्द्रनगर बजारभित्र झण्डै ३८ हजार ३ सय ७७ घरधुरी रहेको राष्ट्रिय जनगणना–२०७८ को तथ्यांक छ । 
पानीको समस्या समाधानको लागि वीरेन्द्रनगर नगरपालिकाले ‘ड्रिम प्रोजेक्ट’ भेरी लिफ्टिङ खानेपानी आयोजनाको काम अघि बढाएको छ । संघीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीबाट आयोजना वीरेन्द्रनगर नगरपालिकाले कार्यान्वयन गरिरहेको छ ।

वीरेन्द्रनगरमा लागुऔषधको चुनाैती 
पछिल्लो समय सुर्खेतको वीरेन्द्रनगर लागुऔषधको केन्द्र बन्दै छ । जिल्लामा हरेक दिन लागुऔषध प्रयोग र ओसारपसार आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हुन्छ । १५ दिनमा  मात्र १८ जना लागुऔषध प्रयोगकर्ता र सेवनकर्तालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । यो तथ्यांक माघ ११ देखि २६ गतेसम्मको हो । सुर्खेतमा १८ देखि ३० वर्षसम्मका युवायुवती लागुऔषधको जालोमा फसेका छन् ।

वीरेन्द्रनगरमा दिनप्रतिदिन लागुऔषध सेवनकर्ता बढिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापा बताउँछन् । उनका अनुसार लागुऔषध सुर्खेतको सुरक्षा चुनौती बनेको  छ । ‘यसले व्यक्तिगत, सामाजिकदेखि पारिवारिक जीवनसमेत प्रभावित भएको उनले बताए ।

लागुऔषधको कारोबार अत्याधिक बढेको पाएइपछि सुर्खेत प्रहरीले विशेष अप्रेशननै चलाएको छ । लागुऔषध दुर्व्यसनीलाई नियन्त्रण गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘द्रुत लागुऔषध परीक्षण किट’ सञ्चालनमा ल्याएको छ । उक्त विधिमार्फत सेवनकर्ता पहिचान गर्न सहज हुने प्रवक्ता बुढथापाले बताए ।

पश्चिम क्षेत्रका पालिकाको मुख्य चुनौती बेरोजगारी
सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पालिकाहरुको मुख्य समस्या बेरोजगारी बनेको छ । बेरोजगारीको समस्याले स्थानीयले गाउँ छोडेका छन् । यो क्षेत्रका धेरै स्थानीय रोजगारीको लागि भारतका विभीन्न स्थानमा जान्छन् । यहाँका चौकुने, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाले बेरोजगारीको ठूलो समस्या भोगिरहेको पालिकाले जनाएका छन् । यो सँगै बसाइँसराइ पनि यि पालिकाको मुख्य चुनौती बनेको छ । 

चौकुने गाउँपालिकाले पालिकाको सबैभन्दा ठूलो बेरोजगारी समस्या भएको निष्कर्षमा पुगेर बेरोजगारीको तथ्यांक संकलन गरेको छ । अब केही दिनमा सार्वजनिक गर्ने तयारी भइरहेको अध्यक्ष विक बताउँछन् । उनका अनुसार पुरानो सर्वेक्षणमा पालिकामा ५३ सय घरधुरी भएको तथ्यांक थियो भने अहिले ४७ सय घरधुरी मात्रै भएको पालिकाले पत्ता लगाएको छ । यसमध्ये ४ सय घरधुरीमा मान्छेको बसोबास नभएको घर मात्र भएको मोटामोटी खाका आएको छ । उनले भने,‘१० दिन जतिमा एकिन तथ्यांक सार्वजनिक गर्ने छौं ।’ 

स्थानीयले गाउँमा बसेर भविष्य नदेखेको बताउँदै उनले पालिकाका नागरिकहरु कामको लागि भारतका विभिन्न ठाउँ जाने गरेका बताए । पश्चिम क्षेत्रका पालिकाका घर रित्ता भइसकेको उनी बताउँछन् । कामको लागि भारत जाने स्थानीय पछिल्लो समय परिवारै सहित जान थालेका अध्यक्ष विकले बताए । 

सडक पूर्वाधार र बिजुली, पानीको कारण पनि बेरोजगारीको समस्या भएको पालिकाले जनाएको छ । यीसुविधा मात्र हुने हो भने १५ प्रतिशत बेरोजगारीको समस्या हट्ने विश्वास पालिकाका अध्यक्ष विकले गरे । उनका अनुसार पालिकाले पछिल्लो समयमा नागरिकलाई सहजता हुने गरी सबै क्षेत्रमा काम गर्दै आएको छ ।
१० वडा भएको पालिकामा ५ वडामा बिजुली पुगेको छ भने ५ वडामा ४० प्रतिशत नागरिकले अझै बत्ती बाल्न पाल्न नपाएको पालिकाको तथ्यांक छ । ठेक्का लिएको कार्यालयले पर्याप्त काम नर्गदा पालिकाका सबै ठाउँमा बिजुलीको पहुँच पुर्याउन अझै कठिनाइ भइरहेको पालिकाका अध्यक्ष विक बताउँछन् ।

बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी पालिकाको मुख्य समस्याकै रुपमा बेरोजगारी, बसाइँसराइ भएको बताउँछन् । उनका अनुसार पालिकाका बासिन्दा भारतको राजगारीको भरमा छन् । स्थानीयको रोगजारीको लागि जाने ठाउँ भनेकै भारत हो । उनले भने,‘गाउँमा शिक्षा, स्वास्थ्य सुविधाको अभाव छ । जमिनमा सिँचाइ सुविधा छैन । यस्तै कारणस्थानीय गाउँमा बस्न चाहदैनन् ।’ पालिकाले सक्दो काम गरिरहेको उनी बताउँछन् ।

Surkhet, the provincial capital, lacks infrastructure

जिल्लाको पश्चिमी क्षेत्रका बासिन्दा परिवारैसहित बैङ्गलोर जाने गरेका स्थानीय जिवन तिरुवा बताउँछन् । उनका अनुसार हिउँदमा महाराष्ट्रको रत्नागिरी र वर्षातमा मनाली जाने गरेका छन् । चुनावको बेला गाउँ घुम्दा मतदाता नै कम भेटिएको उनले सुनाए ।

यो क्षेत्रमा यातायात, स्वास्थ्य, शिक्षालगायतका कुराको अवाव झेल्दै आएका छन् । उनले भने,‘हाम्रोतिर स्वास्थ्य चौकी मात्र छन् । अलिक बिरामी भए पनि वीरेन्द्रनगर पुगाउनु पर्छ । उपचारभन्दा बढी खर्च सवारीसाधनको लाग्छ । गाडीको व्यवस्थापन गर्दा गर्दै बिरामीलाई गाह्रो भैहाल्छ । यहाँबाट वीरेन्द्रनगरसम्म पुग्न ५ घण्टासम्म लाग्ने गाउँ पनि छन् ।’

लाजपूर्जाकाे माग पुरानै मुद्दा
सुर्खेतका केही स्थानीय लालपूर्जाविहीन छन् । लामो समयपछि लाजपूर्जा पाउने आशामा रहेका उनीहरु अहिले निराश बनेका छन् । सरकार फेरबदलको असर सुकुम्बासी सम्बन्धी समस्या समाधनका लागि गठन गरिने आयोगमा पर्दा लालपुर्जा वितरणले अपेक्षित गति लिन सकेको छैन ।

पछिल्लो समय जिल्लामा भूमि आयोग गठन पछि केही पालिकाका स्थानीयले लालपूर्जा हात पार पनि अझै धेरै नागरिक लालपूर्जाको पर्खाइमा छन् । जिल्लाबाट उम्मेदवार बन्ने दलहरुको चुनावी नारा पनि सधैं लालपूर्जा बन्दै आएको छ । यो चुवानमा पनि उम्मेदवारहरुको एक मुख्य चुनावी एजेण्डा यो पनि हो ।

Surkhet, the provincial capital, lacks infrastructure

भूमि आयोग सुर्खेतको तथ्यांक अनुसार जिल्लाभर ४६ हजार ६ सय २३ जनाले जग्गाधनी पुर्जाका लागि नयाँ आवेदन दिएका छन् । जसमा भूमिहीन दलित तीन हजार ५ सय २९, भूमिहीन सुकुम्बासी २ सय १७, अव्यवस्थित बसोबासी २८ हजार २ सय सात र अधुराअपूरा शीर्षकमा १४ हजार ६ सय ७० जग्गाधनीले लालपुर्जाका लागि नयाँ आवेदन दिएका छन् । अघिल्लो भूमि आयोग विघटनपछि गठन भएको नयाँ आयोगले गएको २९ जेठमा जारी गरेको सूचनामा आवेदनहरु थपिएका छन् ।

हालसम्म सुर्खेतका ६ पालिकामा २ हजार ६ सय ८९ जनालाई लालपूर्जा वितरण गरिएको छ । जसमा पञ्चपुरी नगरपालिकामा ६ सय, चौकुने गाउँपालिकामा तीन सय ५५, बराहताल गाउँपालिकामा ५ सय ३५, लेकवेंसी नगरपालिकामा ९३, भेरीगंगा नगरपालिकामा ४ सय ६६, गुर्भाकोट नगरपालिकामा ३ सय ३४ जनालाई जग्गाधनीपूर्जा वितरण भएको छ । जिल्लाका अन्य तीन पालिका सिम्ता गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकामा लालपूर्जा वितरणको काम सुरु नै हुन सकेको छैन ।

सरकार परिवर्तन हुने बित्तिकै आयोग विघटन हुने परिपाटीका कारण नागरिक जग्गाको मोही हुनबाट बञ्चित हुनुपरेको भूमि आयोग सुर्खेतका निवर्तमान अध्यक्ष श्रीधर पौड्याल बताउँछन् । फेरबदल भइरहने सरकारका कारण आयोगले पूर्णरूपमा काम गर्न नपाएको उनले बताए । भूमि समस्या समाधान गर्न गठित आयोगलाई अस्थिर राजनीतिभन्दा पर राख्न नसकिए नागरिकलाई राज्यले कहिल्यै पनि जग्गाको धनी बनाउन नसक्ने पौड्यालको भनाइ छ ।

चुनावी मुद्दा बनिरहने सुर्खेत विमानस्थल विस्तार  
सुर्खेत विमानस्थल सधैंको चुनावी मुद्दा हो । यहाँ प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मुख्य एजेण्डा बन्ने विमानस्थल विस्तारको काम भने अझै सुरु हुन सकेको छैन । साँघुरो विमानस्थलका कारण ठूला जहाजहरु बस्न समस्या भएपछि स्तरोन्नतिको कुरा उठ्दै आएको हो ।

Surkhet, the provincial capital, lacks infrastructure

एक पक्षले काम अघि बढाउनको लागि पहल गर्दा अर्को पक्षले काम रोक्छ । फेरि एजेण्डा भने सबैको बन्दै आएको छ । २०७७ मा विस्तारको लागि जग्गा अधिग्रहण काम अघि बढ्ने बताइएको थियो तर भएन ।
वर्तमान विमानस्थलको उत्तरतर्फको धावनमार्ग १ हजार २ सय ५५ मिटरको छ । धावनमार्ग साँघुरो हुँदा ठूला जहाज अवतरणमा समस्या छ । अहिले काठमाडौंबाट बुद्ध र श्रीएयरलाइन्सका दुई वटा जहाज नियमित रुपमा चल्छन् । तर यात्रुको चाप बढी भएको बेला नेपालगञ्जनै पुग्नपर्ने नागरिकको बाध्यता छ ।

सुर्खेतस्थित रंगशाला चलायमान हुन सकेन

कर्णाली प्रदेशकै गौरवको रुपमा रहेको सुर्खेत वीरेन्द्रनगरस्थित रंङ्गशाला चलायमान हुन सकेको छैन । २०८१ मंसिरमा ९९ प्रतिशत काम सकिएको रंगशाला चलायमान नहुँदा जीर्ण बनिरहेको छ । ९ करोड भुक्तानी पाउन बाँकी भएको भन्दै १ प्रतिशत काम सकेर प्रदेश सरकारको जिम्मा लगाउनको लागि निर्माण कम्पनी अग्रसर बनेको छैन । यहीँ रंगशालामा १० औं राष्ट्रिय खेलकुद गर्ने भनेको लामा समय भइसक्दा पनि हुन सकेको छैन ।

सामाजिक सुरक्षा कोषमा कर्णालीकै अवस्था निकै कमजोर
विशेषगरी अनौपचारिक क्षेत्रका श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरी रोजगारदातालाई सामाजिक सुरक्षा प्रदान गर्नको लागि ११ मंसिर २०७५ बाट सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको थियो ।

मानव विकास सूचांकको पुछारमा सूचीकृत कर्णालीमा सामाजिक सुरक्षा कोषको दायरा फराकिलो हुनुपर्ने भए पनि निकै न्यून रहेको छ । कर्णालीमा हालसम्म २९४ रोजगारदाता मात्रै कोषमा आवद्ध छन् । सामाजिक सुरक्षा कोषको तथ्याङ्क हेर्ने हो भने कर्णालीबाट २ हजार ६ सय ९५ जना मात्रै अनौपचारिक क्षेक्रका मजदुर र स्वरोजगार व्यत्ति कोषमा आबद्ध छन् । यो अन्य प्रदेशको तुलनामा निकै कम हो । 

आउँदै गरेको प्रतिनिधीसभा चुनावको लागि सुर्खेतबाट उम्मेदवार बनेका दलका प्रतिनिधीले सडक, स्वास्थ्य, शिक्षालगायतका कुरालाई आफ्ना चुनावी एजेण्डा बनाएका छन् । तर अहिलेसम्मको अवस्था हेर्ने हो भने घोषणा पत्रमा भएका कुरा कार्यान्वयन नभएको बताउँछन् नागरिक समाजका अगुवा एवं मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन पिताम्बर ढकाल । जनतालाई प्रलोभनमा पारेर चुनावको बेला मतदातालाई आफूतिर तान्ने उपायको खोजी मात्र दलहरुका घोषणा पत्र बनेको उनले बताए ।  ‘दलहरुले ल्याएका घोषणापत्र सबै निरर्थक हुन भन्न सकिँदैन । उनले भने,‘विगतका धेरै चुनाव हामीले देखिसकेका छौं । तर दलहरुले घोषणापत्र अनुसार काम गर्न सकेका छैनन् । बजेट, कानुन, योजनालाई नबुझेरै ल्याइएका घोषणा पत्र नामका मात्र भएका छन् ।’

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully