तनहुँ: प्राकृतिक, ऐतिहासिक र ग्रामीण पर्यटनको संगम

धार्मिक तीर्थस्थल, प्राकृतिक छटा, कृषि, शिक्षा र पूर्वाधार विस्तारका साथ तनहुँ आर्थिक, सांस्कृतिक र सामाजिक समृद्धिको दिशातर्फ अघि बढिरहेको छ।

फाल्गुन १९, २०८२

सम्झना रसाइली

Tanahun: A confluence of natural, historical, and rural tourism

What you should know

तनहुँ — तनहुँ नेपालको मध्यपहाडी जिल्लामध्ये एक जिल्ला हो । धार्मिक, प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, साहित्यिक जस्ता विविध आयमले भरिपूर्ण तनहुँ बत्तिमूनिको अध्यारो जस्तै अवस्थामा रहेको छ ।

तनहुँको सदरमुकाम दमौली हो जुन प्रशासनिक, शैक्षिक र व्यापारिक हिसाबले जिल्लाको मुख्य केन्द्रका रुपमा रहेको छ । ऐतिहासिक गाथा र गरिमामय इतिहास बोकेको यो जिल्लाको नामकरण सम्बन्धमा विभिन्न किम्बदन्ती छन् ।

तत्कालीन तनहुँ राज्यको राजधानी तनहुँसुर आसपासमा एकैखालका तीन वटा चुचुरालाई त्रितुङ्ग (संस्कृत भाषामा : त्रि अर्थान तीन, तुङ्ग अर्थात चुचुरा) नामकरण भई क्रमश: तनुङ्ग बनेको र सोही शब्द अपभ्रंश भई ‘तनहुँ’ नाम रहेको भनिन्छ । यस भेगका कतिपय गाउँका नामहरू मानहुँ, किहुँ, काहुँ आदिको अन्त्यमा समेत ‘हुँ’ आउँछ ।

हिन्दु धर्मग्रन्थ वेद र पुराणका रचायिता वेदव्यासको जन्मभूमि पनि तनहुँको दमौली रहेकाले यस क्षेत्रलाई हिन्दु धर्मालम्बीको तपोभूमिका रुपमा लिइने गरिएको छ । धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण व्यास परासर क्षेत्र अहिले बत्तिमूनिको अध्याँरो जस्तै अवस्थामा रहेको छ । मादी र सेती नदीको संगमस्थलमा रहेको व्यास परासर क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने प्रतिक्षमा बसेको छ ।

Tanahun: A confluence of natural, historical, and rural tourism

व्यास ऋषिको जन्मस्थललाई विश्वमा परिचित गराउने उद्देश्यले १०८ फिट अग्लो व्यास ऋषिको शालिक निर्माण प्रक्रिया अगाडि बढाइए पनि बजेट अभावका कारण यसले पूर्णता पाउन सकेको छैन । वेदव्यासको नामले नामकरण गरी व्यास नगरपालिकाको स्थापना गरिएको छ । व्यास नगरपालिका जिल्लाकै जेठो नगरपालिका हो ।

१ हजार ५४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस जिल्लाभित्र ४ नगरपालिका र ६ गाउँपालिका छन् । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, घिरिङ गाउँपालिका र रिसिङ्ग गाउँपालिका । 

राष्ट्रिय जनगणना २०७८ अनुसार तनहुँको जनसंख्या करिब ३ लाख २१ हजार १५३ रहेको छ । जसमा पुरुष १ लाख ४६ हजार ८८९ र महिला १ लाख ७४ हजार २६४ रहेको छ । यस जिल्लाका प्रमुख जातजातिमा मगर,  क्षेत्री, ब्राम्हण, गुरुङ, विश्वकर्मा, नेवार, मिजार, परियार, दरै, तमाङ, भुजेल कुमाल, ठकुरीलगायत रहेका छन् ।

यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलमा देवघाटधाम, छाब्दीबाराही, ढोर बाराही, थानीमाई मन्दिर, अकला मन्दिर, तनहुँ भगवती मन्दिर, पराशर आश्रम, तनहुँसुर दरबार, भानुजन्मस्थल, घाँसीकुवा, कोटदरवार, ऋषिङरानी पोखरी, व्यास र पराशर ऋषिको तपोभुमी, आँधीमूल, छिम्केश्वरी लेक, मिर्लङकोट, मानुङकोट, सिद्ध गुफा, ढुन्दुर सिद्ध गुफा, मिलेनियम गुफा, व्यास गुफालगायत रहेका छन् । 

Tanahun: A confluence of natural, historical, and rural tourism

तनहुँ प्रकृतिक छाटाले भरिपूर्ण जिल्ला हो । यस जिल्लाको मुख्य पर्यटकीय गन्तव्यको रुपमा बन्दीपुर रहेको छ । पहाडकी रानी उपनामले परिचित बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । कोलाहलमुक्त शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि उकृष्ट गन्तव्यका रुपमा बन्दीपुर परिचित छ । बन्दीपुर परम्परागतशैलीमा निर्माण गरिएका घर, यहाँका ऐतिहासिक, धार्मिक, साँस्कृतिक, प्राकृतिलगायतका विविध आयमले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गर्दछ ।

बन्दीपुर बजार क्षेत्रमा ढुंगा विछ्याएका सुन्दर सडक, भक्तपुरे शैलीमा बनेका घर, थानीमाई मन्दिर, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, घोडा सयर, तीन धारा, पुष्पलाल स्मृति उद्यान, मुकुन्देश्वरी उद्यान, मिनि ग्रेट वल, केबलकारलगायतका संरचना यहाँका मुख्य आकर्षण हुन् । पृथ्वीराजमार्गको डुम्रेबाट करिब ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । 

यस्तै, व्यास गुफा, देवघाटधाम, थानीमाई मन्दिर, ऋषि पराशरको आश्रम, देवि मत्स्यकन्याको मन्दिर छाब्दी बाराही मन्दिर, अकलादेवी मन्दिर, ढोरबराही, छिम्केश्वरी मन्दिर, आदिमुल आदि जिल्लाका महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र हुन् । यी धार्मिक क्षेत्रलाई स्थानीय पालिकाहरुले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्दै प्रवद्र्धनका कार्यक्रम अगाडि बढाएका छन् ।

तनहुँ प्राकृतिक सौन्दर्य र धार्मिक महत्व मात्र नभई नेपाली साहित्य तथा भाषिक एकीकरणका रुपमा परिचित आदिकवि भानुभक्त आचार्यको जन्मभूमि पनि हो । नेपाली साहित्यका नक्षेत्र आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ मा भानु नगरपालिका–४ स्थित चुँदी रम्घामा भएको थियो । भानुभक्त नेपाली साहित्यका प्रथम महाकवि अर्थात् आदिकवि हुन् । उनले संस्कृतको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषालाई साहित्यिक स्वरूप दिएका थिए ।

तनहुँ जिल्ला नेपाली साहित्यको इतिहाससँग गहिरो रूपमा गाँसिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मभूमि र व्यास ऋषिसँगको सम्बन्धले यस जिल्लालाई साहित्यिक र धार्मिक तीर्थस्थलका रूपमा परिचित गराएको छ । त्यसैले तनहुँ केवल भौगोलिक क्षेत्र मात्र नभई नेपाली भाषा र साहित्यको गौरवपूर्ण धरोहरका रुपमा पनि लिन सकिन्छ ।

समुद्र सतहबाट १८४ मिटरदेखि २,१३४ उचाईबीच रहेको तनहुँको होचो भूभागमा देवघाटधाम र अग्लो भूभागमा छिम्केश्वरी पहाड हो । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा अवस्थित यस छिम्केश्वरी मन्दिरलाई गाउँपालिका र गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा प्यागोडा शैलिको मन्दिरमा पुर्ननिर्माण तथा पदमार्ग निर्माण गरी धार्मिक तथा प्राकृतिक छटामा रमाउने पर्यटकहरुको आकर्षक गन्तव्यका रुपमा विकास गर्दै लगिएको छ । गोरखा मनकामना माताको जेठी दिदीका रुपमा रहेकी छिम्केश्वरी मन्दिर धार्मिक पर्यटकको आकर्षण गन्तव्यको रुपमा विकास गर्दै लगिएको छ । 

Tanahun: A confluence of natural, historical, and rural tourism

जिल्लाको मुख्य पेशा कृषि हो । उर्वर भूमि, प्रशस्त वर्षा र नदीको उपलब्धताले यहाँ धान, मकै, गहुँ, कोदो, मास, पिडालु, सुन्तला, अदुवा जस्ता अन्नबाली उत्पादन हुन्छ । तरकारी खेती, फलफूल उत्पादन र पशुपालन पनि यहाँका आम्दानीका मुख्य स्रोत हुन् । विशेषगरी सुन्तला, कागती, अदुवा तथा तरकारी खेतीले किसानलाई नगदे आम्दानी दिने गरेको छ ।

जिल्लाका ठूला फाँट सत्रसय, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, म्याग्दे, तनहुँसुर, गजरकोटको अत्रौली, पुट्टार, आँबुखैरेनी, साँगेफाँट लगायतका स्थानमा धान खेती हुने गर्छ । जिल्लामा करिब ५१ हजार ५५० हेक्टर क्षेत्रफलमा खेती गरिने भए पनि ६ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ । १३ हजार ५८३ हेक्टर सिञ्चित क्षेत्र र ७ हजार २३६ हेक्टर क्षेत्रफलमा बेमौसमी सिँचाइ सुविधा रहेको हुँदा आकाशे पानीको भरमा पनि कृषकले धान खेती गर्छन् ।

पछिल्लो समय व्यवसायिक कृषि, बाख्रा पालन, कुखुरापालन र दुग्ध उत्पादनमा पनि वृद्धि भएको छ । ग्रामीण क्षेत्रमा सहकारी संस्था र कृषक समूहको सक्रियताले बजार पहुँच विस्तार हुँदै गएको छ । कृषि आधुनिकरण, सिँचाइ सुविधा विस्तार र प्रविधिको प्रयोगले तनहुँको कृषि क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको छ । तर, सरकारद्वारा उपलब्ध अनुदानका कार्यक्रम भने व्यवसायिक कृषि पेशा अंगालेका कृषकले सहज रुपमा प्राप्त गर्न नसेकको गुनासो बढ्ने गरेको छ ।

शैक्षिक क्षेत्रमा पनि तनहुँ अब्बल नै देखिन्छ । जिल्लामा विद्यालय र क्याम्पसहरूको संख्या बढ्दै गएका छन् । सदरमुकाम दमौली तथा जिल्लाका बजार क्षेत्रमा निजी विद्यालय तथा उच्च शिक्षाका संस्था सञ्चालनमा छन् । पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा ४४५ सामुदायिक र ११७ निजी विद्यालय रहेका छन् । दमौलीसहित विभिन्न स्थानमा क्याम्पस र प्राविधिक शिक्षालयहरू पनि सञ्चालनमा छन् । शिक्षा क्षेत्र सुधारात्मक भए पनि महिला साक्षरता अझै पुरुषभन्दा कम छ । 

शिक्षाको गुणस्तर भने अझै चुनौतीपूर्ण छ । ग्रामीण विद्यालयमा विषयगत शिक्षक अभाव, विद्यार्थी संख्या घट्दै जानु तथा युवा विदेश पलायन हुनु प्रमुख समस्या बनेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा अझै पर्याप्त रूपमा विस्तार हुन सकेको छैन । शिक्षा क्षेत्रलाई थप सुदृढ बनाउन दीर्घकालीन योजना, प्राविधिक तथा व्यावसायिक शिक्षामा लगानी र विद्यार्थीमैत्री वातावरण आवश्यक रहेको छ । 

यस्तै, जिल्लामा स्वास्थ्य सेवाको पहुँच विस्तार हुँदै गएको छ । जिल्लाका स्थानीय तहमा स्वास्थ्य चौकी, आधारभूत अस्पताल तथा निजी स्वास्थ्य संस्था सञ्चालनमा छन् । सम्बन्धित स्थानीय सरकार तथा संघसंस्थाले ग्रामीण क्षेत्रमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने अभ्यासले स्थानीय बासिन्दालाई केही राहत दिएको छ । तथापि विशेषज्ञ चिकित्सकको अभाव, उपकरणको कमी र ग्रामीण क्षेत्रमा गुणस्तरीय सेवा नपुग्नु अझै चुनौतीको रूपमा रहेको छ ।

सदरमुकाम तथा बजार क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सेवा सहजै पहुँच भए पनि विशेषज्ञा सेवाको लागि पोखरा, चितवन, काठमाडौंलगायतका स्थान जानुपर्ने बाध्यता छ । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, वेलचौतारामा सञ्चालनमा आए पनि यसले आफ्नो सेवा फराकिलो बनाउन सकेको छैन । भौतिक पूर्वाधार, विषेशज्ञा चिकित्सक, दक्ष जनशक्तिको अभावलगायतको चुनौती झेल्नुपरेको छ । 

विकास र सडक सञ्जाल
पृथ्वी राजमार्गले करिब ७२ किलोमिटर दुरी तनहुँ जिल्लामा पर्दछ । यातायात पहुँच तुलनात्मक रूपमा राम्रो देखिए पनि ग्रामीण क्षेत्रका बासिन्दाले भने अझै सहज रुपमा सडक यातायतको उपभोग गर्न पाएका छैनन् । २०७९ सालबाट पृथ्वीराजमार्गको स्तरोन्नतिसँगै यातायातमा अझ सहज बन्दै गएको छ अहिले आँबुखैरेनीबाट पोखरासम्मै चार लेनको सडक विस्तार कार्य अन्तिम चरणमा पुर्‍याइएको छ ।

पर्यटकीय नगरी पोखरासँगै जोडिएको पृथ्वीराजमार्ग स्तरोन्नतिसँगै तनहुँको प्राकृतिक तथा धार्मिक पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ । तनहुँको कला संस्कृति, प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र उजागर गर्न यस राजमार्गले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

यस्तै, ग्रामीण सडक विस्तारले गाउँलाई बजारसँग जोडेको छ । तर धेरै ग्रामीण सडक अझै कच्ची अवस्थामा छन् । निर्माणमा ढिलाइ र कमसल सामाग्रीको प्रयोगले वर्षातको समयमा सडक हिलाम्मे हुनु र हिउँदको समयमा धुलाम्मे हुने समस्याले सर्वसाधारणले सास्ती झेल्दै आएका छन् ।

जिल्लाका ग्रामीण सडक सञ्जाल सुधार गर्न सके कृषि उत्पादनको बजारीकरण बढ्नुका साथै ग्रामीण क्षेत्रमा पर्यटकको चहलपहल पनि बढ्ने थियो । तर, आधारभूत आवश्यकता सहज रुपमा उपभोग गर्न नपाउँदा तनहुँका अधिकांश ग्रामीण क्षेत्र बसाइँसराइका कारण उजाडिँदै गएका छन् भने खेतीयोग्य जमिन बाँझिदै गएका छन् ।

जिल्लामा १४० मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । एसियाली बिकास बंैंकको ऋण सहयोगमा निर्माणधीन जलविद्युत आयोजनाले जिल्लाका अधिकांश युवाहरुलाई रोजगारी दिनुका साथै पर्यटक बृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

खानेपानीमा स्रोत प्रशस्त, व्यवस्थापन कमजोर
तनहुँ जलस्रोतमा पनि धनी जिल्ला हो । यहाँका नदी, खोल्सा र मुहानहरूले खानेपानी तथा सिँचाइका लागि पर्याप्त सम्भावना देखाएका छन् । कालीगण्डकी नदी, मादी नदी, सेती नदी, मस्र्याङ्दी नदी, त्रिशूली नदी तथा अन्य साना ठूला खोला तथा नदीहरु यही जिल्ला हुँदै बग्छन् ।

जलस्रोतले धनी भए पनि यसको उचित व्यस्थापन हुन नसक्दा उच्च भू–भागमा रहेका क्षेत्रमा खानेपानीको अभाव रहेको छ । धेरै ठाउँमा खानेपानी योजना सञ्चालन भए पनि वर्षायाममा मुहान धमिलिनु र सुक्खा मौसममा पानी कम हुने जस्ता समस्या पनि देखिन्छन् । कति योजनाहरुको सुरुवात भए पनि बजेट अभाव र ठेकेदारले काम सम्पन्न नगरिदिँदा अलपत्र अवस्थामा रहेका छन् । 

Tanahun: A confluence of natural, historical, and rural tourism

अन्य जिल्लाजस्तै यस जिल्लामा पनि बैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या उल्लेखनीय छ । तर पछिल्लो समय युवाहरु स्वदेशमै उद्यम–व्यवसायतर्फ आकर्षण हुन थालेका छन् । साना उद्योग, व्यापार, कृषि क्षेत्रमा युवाहरु आकर्षित हुन थालेका छन् । साथै महिलाहरु पनि स्वरोजगार बन्न थालेका छन् । विभिन्न तालिम तथा प्रशिक्षण लिएर साना उद्योग तथा व्यवसाय संचालन गरी आर्थिक आत्मनिर्भरता बढाउँदै गएका छन् । 

यस्तै, जिल्लाका बजार क्षेत्रका पालिकाहरुले व्यवस्थित ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्न नसक्दा बजार क्षेत्रबाट उत्सर्जन हुने फोहोरमैलालाई उचित व्यवस्थापन गर्न सकेका छैनन् । ल्याण्डफिल्ड साइट निर्माणका लागि प्रयास भएपछि उपयुक्त जग्गा प्राप्त गर्न नसक्दा यो कार्यले पूर्णता पाउन सकेको छैन । जिल्लाका व्यास नगरपालिकाले भने पछिल्लो समय संकलित फोहोरलाई वर्गाीकरण गरी विक्री वितरण गरी आम्दानी लिन समेत सुरु गरेको छ ।

प्राकृतिक सौन्दर्य, धार्मिक महत्व, कृषि उत्पादन, पर्यटकीय आकर्षण र रणनीतिक सडक सञ्जालले तनहुँलाई गण्डकी प्रदेशको एक महत्वपूर्ण जिल्ला बनाएको छ । जनसंख्याको विविधता, सांस्कृतिक समृद्धि र विकासका सम्भावनाले यस जिल्लालाई भविष्यमा अझ समुन्नत बनाउन सक्ने आधार तयार गरेको छ । उचित योजना, पूर्वाधार विस्तार र स्थानीय स्रोतको सदुपयोग गर्न सके तनहुँ नेपालकै अग्रणी जिल्लामध्ये एक बन्न सक्ने देखिन्छ ।

सम्बन्धित अन्य समाचारहरु 

सडक, बिजुली र स्वास्थ्य सुविधाको पर्खाइमा हुम्ली

चितवनका चुनावी मुद्दा : निकुञ्ज, नदी कटान र पूर्वाधार

पूर्वाधार अभावले ओझेल परेको पाल्पाको कृषि र पर्यटन क्षेत्र

अछामको विकासका बाधक : अधुरा पूर्वाधार, बेरोजगारी र बसाइँसराइ

राजधानीसँगै जोडिएको काभ्रेमा विकास भने सहरमै सीमित

अरुणदेखि मकालुसम्म फैलिएको संखुवासभामा अपेक्षित विकास भएन

पूर्वाधारकै अभाव झेलिरहेको कालीकोट

बर्दियामा सधैंको चुनावी एजेन्डा: मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण र मल-बीउको व्यवस्थापन

आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको दोबाटोमा झापा

‘विपन्न’को परिचय फेरिने पर्खाइमा बाजुराबासी

सुनसरीका दुई मुहार: विकसित सहर, पछाडि परेका गाउँ

रामेछापमा जनसंख्या घट्दै, विकासका पूर्वाधार अधुरै

बझाङ: सम्भावनाको खानीभित्र समस्याले जेलिएको जिल्ला

रोजगारी र पूर्वाधार अभावले रित्तिँदै गोरखाका गाउँ

मधेश र हिमाल जोड्ने सेतु बन्दै धनकुटा

मधेशको महोत्तरीमा सधैंको एउटै मार- डुवान र खडेरी

बसाइँसराइ कम हुने डोल्पामा जडीबुटी र पर्यटनको सम्भावना

सुक्खा बन्दरगाह र महाकाली करिडोरले आस देखिरहेको कञ्चनपुर

खेतीमा बाँदरको अवरोध खेपिरहेको बागलुङ मासु चीन निर्यात गर्ने तयारीमा

पूर्वाधारकै अभावमा प्रदेश राजधानी सुर्खेत

बाँदर आतंक र पूर्वाधार अभावले रित्तिँदै स्याङ्जाका गाउँ

विकासका पूर्वाधार बढिरहेको मकवानपुरमा युवा टिकाउन सकस

लुम्बिनीको राजधानी दाङमा विकास अपुग

जाजरकोटमा सडक, रोजगारी, खानेपानी र विद्युतको समस्या उही, भूकम्पपछि थपियो पुनर्निर्माणको एजेण्डा 

 

पूर्वाधार विस्तारले डडेल्धुरामा बसाइँसराइ घट्ने आस

 जलविद्युत र पर्यटनले फेरिँदै लमजुङको मुहार

पर्यटनको प्रशस्त पूर्वाधार बोकेको कपिलवस्तु जहिल्यै सुनसान

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully