राजधानीसँगै जोडिएको काभ्रेमा विकास भने सहरमै सीमित

पछिल्ला वर्षमा जिल्लाका सहरी क्षेत्रमा जनसंख्या बढ्दो रुपमा रहेको पाइन्छ भने ग्रामीण बस्ती रित्ता भइरहेका छन् ।

फाल्गुन ५, २०८२

ज्योती श्रेष्ठ

In Kavre, which is connected to the capital, development is limited to the city.

What you should know

काभ्रे — राजधानी काठमाडौंसँगै जोडिएको काभ्रे कृषि उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । यो जिल्लाका अधिकांश मानिस कृषि पेशामा निर्भर छन् । यो जिल्लाबाट काठमाडौं उपत्यकामा दूध, तरकारी र कुखुरा तथा अण्डा अधिकमात्रामा निर्यात हुने गरेको छ ।

दूधमा आत्मनिर्भर रहेको काभ्रे चितवनपछि सबैभन्न्दा बढी कुखुरा उत्पादन गर्ने जिल्लाको रुपमा चिनिन्छ । कृषिपछि यो जिल्लाका बासिन्दाको मुख्य पेशा व्यापार हो । 

पछिल्ला वर्षमा जिल्लाका सहरी क्षेत्रमा जनसंख्या बढ्दो रुपमा रहेको पाइन्छ भने ग्रामीण बस्ती रित्ता भइरहेका छन् । जिल्लाका ग्रामीण क्षेत्रका पालिकाहरुको जनसंख्या र मतदाताको तथ्यांक अध्ययन गर्ने हो भने पनि ती पालिकाका धेरैजसो मानिस अस्थायीरुपमा सहरी क्षेत्रमै बस्ने गरेको पाइन्छ । 

पछिल्ला वर्षमा कृषितर्फ युवाको केही आकर्षण भने बढेको छ । परम्परागत खेतीबाट किसानहरु आधुनिक तरिकाले खेतीपाती गर्न थालेका छन् । यद्यपि कृषि उत्पादनको बजार अझै राम्रोसँग पाउन सकेका छैनन् । मानिसको जीवनशैली प्रविधिमैत्री बन्दै गइरहेको छ । गाउँगाउँसम्म बिजुली र इन्टरनेट सेवा पुगेसँगै उनीहरुको जीवनशैलीमा पनि परिवर्तन आइरहेको छ ।  

ग्रामीण क्षेत्रमा जनसंख्या भन्दा मतदाता बढी 
जनगणना २०७८ अनुसार काभ्रेको जनसंख्या ३ लाख लाख ६४ हजार ०३९ रहेको छ । शिक्षा र रोजगारीको खोजीमा जिल्लाका हजारौं मानिस आफ्नो थातथलो छाडेर बाहिरै बसिरहेका छन् । कतिपय पालिकामा जनसंख्याको तुलनामा मतदाताको संख्या बढी देखिएकाले आफ्नो स्थायी ठेगाना छाडेर अन्यत्र बसिरहेकाको संख्या धेरै भएको पाइएको हो । विशेषगरी ग्रामीण क्षेत्रमा जनसंख्या भन्दा मतदाता बढी देखिएका छन् । 

सहरी क्षेत्रमा भने जनसंख्याको तुलनामा मतदाताको संख्या बढी देखिएको छ । विशेषगरी जिल्लाको व्यापारिक केन्द्रको रुपमा मानिने बनेपा नगरपालिकामा यस्तो देखिएको छ । जिल्लाकै व्यापारिक नगरी र शैक्षिक केन्द्रको रुपमा चिनिने बनेपा नगरपालिकामा शिक्षा र रोजगारीका लागि बसोबास गर्नेहरुको संख्या निकै रहेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार २०८२ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेमा ३ लाख २६ हजार ६ सय ११ जना मतदाता रहेका छन् । 

जिल्लाको चौरीदेउराली गाउँपालिकाको जनसंख्या १४ हजार ०७६ रहेको छ । यो गाउँपालिकाको मतदाता संख्या भने २२ हजार २ सय ७८ रहेको छ । जिल्लाकै भुम्लु गाउँपालिकाको जनसंख्या १५ हजार ६ सय ७८ रहेको छ । यो गाउँपालिकामा मतदाताको संख्या भने १८ हजार १ सय५६ रहेको छ । ३० हजार ३ सय ८१ जनसंख्या रहेको मण्डनदेउपुर नगरपालिकामा मतदाताको संख्या ३० हजार ४ सय ९४ रहेको छ । यस्तै बनेपा नगरपालिकाको जनसंख्या ६७ हजार ६ सय ९० रहेको छ ।

यो गाउँपालिकामा मतदाताको संख्या ४० हजार ९ सय १० रहेको छ । खानीखोला गाउँपालिकाको जनसंख्या १२ हजार २ सय १ रहेकोमा मतदाताको संख्या १० हजार ६ सय १० रहेको छ । तेमाल गाउँपालिकाको जनसंख्या १६ हजार ९ सय ५७ रहेकोमा मतदाताको संख्या २२ हजार ९ सय ५ रहेको छ । यस्तै धुलिखेल नगरपालिकाको जनसंख्या ३३ हजार ७ सय २६ रहेकोमा मतदाताको संख्या २७ हजार ९ सय १५ रहेको छ ।

२६ हजार १ सय ७० जनसंख्या रहेको नमोबुद्ध नगरपालिकामा मतदाताको संख्याल २७ हजार ६ सय ७५ रहेको छ भने ५१ हजार ५ सय ४ जनसंख्या रहेको पनौती नगरपालिकामा मतदाताको संख्या ४० हजार ७ सय १० रहेको छ ।

पाँचखाल नगरपालिकामा ३५ हजार जनसंख्या रहेकोमा मतदाताको संख्या ३२ हजार ४ सय ७, बेथानचोक गाउँपालिकामा १४ हजार ९ सय ५९ जनसंख्या रहेकोमा १५ हजार ३ सय ३५ मतदाता रहेका छन् । जिल्लाको महाभारत गाउँपालिकाको जनसंख्या १६ हजार ६९ रहेकोमा १२ हजार ९ सय २५ जना मतदाता रहेका छन् । यस्तै रोशी गाउँपालिकामा २३ हजार ७ सय ९० रहेकोमा २४ हजार २ सय ९१ मतदाता रहेका छन् । 

In Kavre, which is connected to the capital, development is limited to the city.

चुनावसँगै आश्वासनको बाढी, कार्यान्वयन भने शून्य
२०६४ देखि मुलुकमा लगातार निर्वाचन भइरहेका छन् । हरेकपटक उम्मेदवारहरु आश्वासनले भरिएका घोषणापत्र लिएर चुनावमा उत्रन्छन् । तर, कार्यान्वयन भने फितलो छ । किसानको बाहुल्यता रहेको काभ्रेमा सबैभन्दा बढी मारमा किसान नै देखिएका छन् । यहाँका किसानले दूधको समयमै भुक्तानी त पाइरहेका छैनन् भने मल र बीउको अभाव सधैं खेपिरहेका छन् । पछिल्ला वर्षमा विपद्का कारण पूर्वाधारमा ठूलो क्षति पुगेको छ । तर, पुननिर्माणको सवालमा भने राजनीतिक नेतृत्वले जति भूमिका निर्वाह गर्नुपर्ने हो गरेका छैनन् । 

चाहिने बेला सधैं मल अभाव      
बाली लगाउने बेला भयो कि पनौती–५ की किसान सुब्बागाउँकी सुकुमाया श्रेष्ठलाई एउटै चिन्ता हुन्छ, ‘बाली लगाउन मलको जोह कसरी गर्ने ?’ ‘हामीले पाउने भनेको जम्मा ५ किलो युरिया मल हो, त्यही पनि सजिलै कहाँ पाइन्छ र ?, घण्टौं लाइन बसेर पाइन्छ, एक बाली लगाउन एक बोरा मल चाहिन्छ,’ उनले भनिन् । उनका अनुसार धान होस् कि आलु रोप्ने बेला किसानले ५ केजी मल पाउन अनेकन सास्ती खेप्नुपर्छ । 

पनौती–५ की पवित्रा थापाले २/३ वर्षयता पर्याप्त मल नपाएको गुनासो गरिन् । ‘बल्लतल्ल ५ किलो मल पाइन्छ,’ उनले भनिन्, ‘त्यति ५ किलो मल लिन १० पनि ठाउँ धाउनुपर्छ, कागजात हुनुपर्ने, अनेकन निकै सास्ती खेप्नुपर्छ ।’ पर्याप्त मल नपाइएकाले बाली राम्रो उत्पादन नहुने उनले बताइन् ।  ‘मल नपुगेपछि बाली नै राम्रो हुँदैन,’ उनले भनिन्, ‘पाँच वर्षयता मकै, आलु, धानमा पर्याप्त मात्रामा मल हाल्नै पाइएको छैन, पहिला मल पुग्थ्यो, बाली पनि राम्रो हुन्थ्यो, अहिले त मल पाउनै गाह्रो छ ।’ बाली लगाउने बेलामा कहिले बीउ नपाउने त कहिले मल नपाइने समस्या रहेको उनले सुनाइन् । 

रासायनिक मल वितरणमा सरकारले लागू गरेको कोटा प्रणालीका कारण आवश्यकताअनुरूप काभ्रेका किसानलाई मल वितरण गर्न नसकिएको कृषि सामग्री कम्पनी काभ्रेका प्रमुख आलोक कुमारले बताए । उनका अनुसार यहाँका किसानको आवश्यकताअनुसार २२ हजारदेखि २५ हजार टन रासायनिक मल चाहिन्छ । कार्यालयमा १६ सय ७२ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको उनले जानकारी दिए । त्यसकारण पनि किसानलाई आवश्यक मात्रामा मल वितरण गर्न नसकिएको उनको भनाई थियो । कार्यालयसँग ३४८ मेट्रिक टन डिएपी र २० टन पोटास मल मौज्दात रहेको उनले बताए । 

उनका अनुसार काभ्रेका लागि सरकारले छुट्याएको कोटाअनुरूप मल किसानलाई पर्याप्त मात्रामा मल वितरण गर्न सकिएको छैन । ‘यहाँका किसानले विशेष गरेर आलु, मकै, धान लगाउने गर्छन्, २/३ बाली त आलु लगाउँछन्, जसमा किसानले रासायनिक मल धेरै प्रयोग गर्ने गर्छन्,’ उनले भने, ‘आवश्यकभन्दा बढी मात्रामा युरिया प्रयोग गर्ने किसानको अभ्यास छ, यसको मलको अभाव सृजना हुनुको साथै माटोको उर्बराशक्ति कम गर्छ, यसबारे पनि किसानलाई सचेत गराउन आवश्यक देखिन्छ।’

दूध किसानले समयमा भुक्तानी पाउँदैनन् 
दैनिक २५–२६ लिटर दूध उत्पादन गर्दै आएका मण्डनदेउपुर नगरपालिका–१० आँपघारीका किसान सुन्दर नेपालले असोजदेखि हालसम्म आफूले दूधको भुक्तानी पाएका छैनन् । यसअघि नियमित रुपमा भुक्तानी हुने गरे पनि डेढ वर्षयता भुक्तानीमा ढिलासुस्तीको समस्या देखिएको उनले बताए ।  ‘असोज, कात्तिक, मंसिर र पुष गरी चार महिना भइसक्यो, अझै पैसा आएको छैन,’ उनले भने, ‘करिब डेढ लाख रुपैयाँभन्दा बढी रकम लिन बाँकी छ, कहिले पैसा आउने हो थाहा छैन ।’

उनका अनुसार दूध बिक्रीबाटै परिवारको जीविकोपार्जन चलाउने आफू किसानका लागि समयमै भुक्तानी नहुँदा ठूलो समस्या हो । ‘बच्चाको स्कुल फि, घरखर्च र गाईबस्तुको आहार सबै यही आम्दानीमा भर पर्छ,’ नेपालले भने, ‘समयमै भुक्तानी नआउँदा सबै व्यवस्थापन गर्न गाह्रो भएको छ ।’ 

दूध सहकारीमार्फत डीडीसीलाई बिक्री हुँदै आएको भए पनि नगद अभावका कारण भुक्तानी रोकिने गरेको सहकारीले बताउँदै आएको उनले सुनाए । उनका अनुसार पशु आहारका लागि भने डीडीसीबाटै दाना उपलब्ध गराइने र पछि भुक्तानी हुँदा त्यसको रकम कट्टा हुने व्यवस्था भएकाले केही सहज भएको छ ।

तर त्यसबाहेकका खर्च धान्न सहकारी तथा समूहबाट ऋण लिन बाध्य भएको उनले बताए । ‘आफ्नै पैसा पाउन ऋण लिनुपरेको अवस्था छ,’ उनले भने, ‘उता पेन्डिङ रकममा ब्याज आउँदैन, यता ऋणको ब्याज तिर्नुपरेको छ ।’ उनका अनुसार यसरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा किसान नै मारमा परिरहेका छन् । यो समस्या उनी एक्लैको मात्रै नभएर मण्डनदेउपुर नगरपालिका–१० र १२ का अधिकांश दूध किसानको साझा समस्या रहेको छ । 

निजी डेरीबाटै ठगीः ३ महिनादेखि रोकियो भुक्तानी
मण्डनदेउपुरका किसान जस्तै पाँचखाल नगरपालिका–२ का किसान पनि दूधको भुक्तानी ढिलाइको मारमा छन् । पाँचखाल नगरपालिका–२ का वडाध्यक्ष तथा दुग्ध व्यवसायी रामेश्वर दाहालका अनुसार एक दुग्ध सहकारीमार्फत दूध आपूर्ति गर्ने किसानको करिब चार महिनाको भुक्तानी बाँकी रहेको छ । 

वडाध्यक्ष दाहालले आफूले सञ्चालन गर्दै आएको महादेवस्थान दुग्ध सहकारी संस्थामार्फत सञ्चालित डेरीले दूध किसानलाई कात्तिकयताको भुक्तानी दिन सकेको छैन । भुक्तानी अड्किनुको मुख्य कारण निजी डेरीको ठगी रहेको दाहालले बताए । ‘पहिले हामीले विजय डेरी नामको निजी डेरीसँग कारोबार गरेका थियौं,’ उनले भने, ‘उक्त डेरीले करिब २०–२५ लाख रुपैयाँ लिएर भाग्यो, पछि कम्पनी नै बन्द भयो ।’

उक्त घटनापछि रकम उठाउन खोज्दा प्रक्रिया जटिल बनेको र त्यसको असर किसानको भुक्तानीमा परेको उनले स्वीकारे । ‘कर्मचारी समात्ने, मुद्दा प्रक्रिया अगाडि बढाउने प्रयास भयो,’ उनले भने, ‘तर तत्काल रकम व्यवस्थापन गर्न नसक्दा झुक्तानी अड्किन गयो ।’ दाहालले किसानको रकम चुत्ता गर्ने जिम्मेवारी आफूले नै लिने र ऋण प्रक्रिया गरेर भए पनि किसानलाई भुक्तानी दिने तयारी भइरहेको बताए । सो डेरीसँग आवद्ध ३० देखि ३५ जना किसानबाट दैनिक ३ सय लिटर दूध संकलन हुने गरेको उनले जानकारी दिए । 

दूग्ध उत्पादन काभ्रेका किसानको प्रमुख आम्दानीको स्रोतका रूपमा रहेको छ। यस क्षेत्रमा करिब २ लाख किसान प्रत्यक्ष रूपमा दुग्ध उत्पादनमा आबद्ध छन् । जसले हजारौं परिवारको रोजगारी र नियमित आम्दानी सुनिश्चित गर्दै आएको छ । जिल्लाका विभिन्न स्थानबाट दैनिक करिब ३ लाख लिटर दूध संकलन भई काठमाडौं उपत्यकालगायतका बजारमा आपूर्ति हुने काभ्रे जिल्ला दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडले जनाएको छ । 

तर यति ठूलो उत्पादन र योगदान हुँदाहुँदै पनि पछिल्लो समय किसानले दूधको भुक्तानी समयमै पाउन नसकेको संस्थाका पूर्वअध्यक्ष एवं धुलिखेल नगरपालिका–११ का वडाध्यक्ष नारायणप्रसाद बडालले बताए । उनका अनुसार काभ्रेका १३ वटा स्थानीय तहमध्ये  मण्डनदेउपुर र पाँचखाल नगरपालिकामा दूध किसानले समयमै भुक्तानी पाइरहेका छैनन् । निजी डेरी, सहकारी र दुग्ध उद्योगबीचको कमजोर वित्तीय व्यवस्थापन तथा निगरानी अभावका कारण किसानले पटक–पटक यस्तै समस्या भोग्दै आएको उनले बताए । 

समयमै भुक्तानी नहुँदा किसान ऋण लिन बाध्य हुने, ब्याजको चाप बढ्ने र दीर्घकालमा दूध उत्पादन नै जोखिममा पर्ने अवस्था सिर्जना हुनेमा किसान चिन्तित छन् । किसानहरूले दुग्ध क्षेत्रको दीगो विकासका लागि सम्बन्धित निकायले समयमै भुक्तानी सुनिश्चित गर्ने प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने किसानको सुझाव छ । 

डाँडापारि, विकासमा सधैंपारि
पूर्वाधार विकास नहुँदा यहाँका स्थानीयले दैनिक जीवनमै अनेक समस्या भोग्दै आएका छन् । खानीखोला र महाभारत गाउँपालिकाका धेरै बस्तीमा पक्की सडक र पुल नहुँदा वर्षातको समयमा स्थानीयले अनेकन सास्ती खेप्न बाध्य भएका छन् । बिरामी, गर्भवती महिला र सुत्केरीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउन नसक्दा ज्यान जोखिममा पर्ने अवस्था बारम्बार दोहोरिन्छ । सामान्य औषधि उपचारका लागि समेत घण्टौं पैदल हिँड्नुपर्छ भने गम्भीर अवस्थामा स्ट्रेचर वा डोकोमै बोकेर लैजानुपर्ने बाध्यता अझै पनि उस्तै छ ।

यातायात सहज नहुँदा कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन नसक्दा किसानको आम्दानी प्रभावित भएको महाभारत गाउँपालिका–१ का मेखबहादुर थिङ बताउँछन् । उनका अनुसार वर्षातका कारण बाटो अवरुद्ध हुँदा दूध, तरकारी र फलफूल खेर जाने हुदाँ तरकारी खेती र पशुपालन गर्ने किसानको संख्या घट्दै गएको छ । ‘वर्षातको समयमा यहाँ गाडी चल्दैन,’ उनले भने, ‘गाडी नचल्दा किसानलाई मात्र नभएर बिरामीलाई औषधिमूलो उपाचार गर्न जान पनि घण्टौं हिँड्नुपर्ने अवस्था छ ।

महाभारत गाउँपालिकामा गतिलो सडक सञ्जाल, पुल, सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुँदा यस पालिकाका १६ हजार ६९ बासिन्दा प्रभावित हुन्छन् । यहाँ वर्षातको समयभरि यातायातका साधन चल्दैनन् । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार महाभारत जोड्ने पिन्थली–रजबास–चारकिल्ला–देवीटार सडक खण्ड बर्खामा पहिरोले कारण अवरुद्ध हुने गर्छ । ‘वर्षासँगै आउने पहिरो र पालिका जोड्ने सडक खण्डमा पुल पनि बनिसकेको छैन,’ उनले भने, ‘त्यसकारण पनि वर्षातको समयमा यातायात सञ्चालन हुन सक्दैन ।’ हिउँदको समयमा भने यातायात सञ्चालन गर्न सकिने उनले जानकारी दिए ।

आकस्मिक बिरामी र स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको अवस्थामा हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने बाध्यता रहेको उनले बताए । उनका अनुसार साउन महिनामा मात्रै ४ जना गर्भवती तथा सुत्केरीलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ । ‘पहिरोले सडक अवरुद्ध, पुल नभएकाले गाडी चल्ने अवस्था छैन, जिल्ला सदरमुकाम पुग्नै ८/१० घन्टा लाग्छ,’ उनले भने, ‘बिरामीको अवस्था जटिल भइसकेको अवस्थामा हेलिकोप्टरबाट उद्धार गर्नुबाहेक विकल्प हुँदैन ।’ उनका अनुसार पालिकाबाटै सुविधा सम्पन्न स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न पूर्वाधार तथा जनशक्ति अभावको समस्या देखिएको छ । यद्यपि पालिकाले गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रयास गरिरहेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/७८ मा २, २०७८/७९ मा ५, २०७९/८० मा ४, २०८०/८१ मा ५ र २०८२/८३ को एक महिनामै ४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । महाभारत गाउँपालिकामा गत आर्थिक वर्षमा भने कसैको पनि हवाई उद्धार गर्नुपरेको थिएन । सरकारले ज्यान जोखिममा रहेका दुर्गम जिल्लाका गर्भवती तथा सुत्केरीलाई सुविधायुक्त अस्पताल पुर्‍याउन राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हवाई उद्धारको सुविधा प्रदान गर्दै आएको छ ।

२०७५ मा जारी भएको कार्यविधिमा लगातार लामो प्रसव बेथा लागेका, बच्चा जन्मिन कठिनाइ भएको, गर्भमै बच्चाको मृत्यु भएको, गर्भावस्थामा हातखुट्टा शरीर सुन्निएको, अधिक रक्तस्राव भएको, रक्तअल्पता भएका महिलालाई ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको रुपमा व्याख्या गरिएको छ । सुत्केरीको उद्धार जहाज तथा हेलिकोप्टरमार्फत गरिने उल्लेख छ । उक्त कार्यविधि अनुसार काभ्रेको महाभारत गाउँपालिकाका बासिन्दाले यो सुविधा पाएका छन् । 

स्ट्रेचर वा डोकोमा बोकेर स्वास्थ्य संस्था पुर्‍याउनुपर्ने बाध्यता
महाभारत गाउँपालिका जस्तै भौगोलिक रुपमा काभ्रेको अर्को विकट क्षेत्रको रुपमा परिचित छ, खानीखोला गाउँपालिका । सडक, पुल, स्वास्थ्य शिक्षा लगायतका पूर्वाधारमा पछि रहेकाले यहाँका १२ हजार २०१ नागरिकले सामान्य सेवा लिन पनि अनेकन सास्ती खेप्न बाध्य छन् । वर्षातको समयमा पनि यातायातका साधन नचल्दा विशेष गरेर अशक्त, बृद्ध–बृद्धा सुत्केरी, गर्भवती महिलाहरुलाई स्वास्थ्यमा समस्या भएमा उपचार गराउन घण्टौं पदैल हिँडेर, स्ट्रेचर वा डोकोमा बोकेर स्वास्थ्य संस्था पुर्‍याउनुपर्ने अवस्था छ । 

गत भदौ ४ गते २४ वर्षीया गर्भवती सजिना गोले सुत्केरी पीडामा तालढुंगा स्वास्थ्य चौकी पुगेकी थिइन् । स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भयो । त्यस समयमा खानीखोला गाउँपालिकाले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हवाई उद्धारको सुविधा पाएको थिएन । उनको स्वास्थ्य अवस्था निकै भएकाले उनलाई काठमाडौंसम्म कसरी पुर्‍याउने चिन्ताको विषय भएको थियो । 

वर्षा र बिग्रिएको सडकका कारण साधारण यातायात चल्न सक्ने अवस्था थिएन । पालिका अध्यक्ष इन्द्रबहादुर थिङ र गाउँका युवाहरूले गर्भवती सजिनालाई स्ट्रेचरमा बोकेर वडा ६ माझटारदेखि मकवानपुरको बागमती गाउँपालिका–५ भोर्लेनीसम्म दुई घण्टा पैदल हिँडे। त्यहाँबाट हेटौंडासम्म गाडीमा र हेटौंडादेखि काठमाडौंसम्म एम्बुलेन्समार्फत लैजानुपरेको थियो । 

‘वर्षाको समयमा यातायातका साधन चल्दैनन्,’ उनले भने, ‘हवाई उद्धार गर्न यस पालिकालाई सरकारले कार्यक्रम स्वीकृत गरेको थिएन, त्यसकारण पनि बिरामीलाई समयमै अस्पताल पुर्‍याउन कठिन भयो ।’ उनका अनुसार त्यसकारण पनि बिरामीलाई स्ट्रेचरमा बोकेरै उपचारका लागि लैजानुपर्ने अवस्था रहेको थियो । ‘खानीखोला गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिका जोड्ने पुल नबन्दा पनि पैदल हिँड्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि पुल बन्न सकेको छैन, जिल्ला सदरमुकाम पुग्न ६/७ घण्टा लाग्छ, वर्षातको समयमा त्यहीँ पनि त्यहाँसम्म सहजै पुग्न सक्ने अवस्था छैन ।’ 

खानीखोला गाउँपालिकाले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हलिकप्टर मार्फत उद्धार गर्ने सरकारी स्वीकृति गएको भदौ दोस्रो साता पाएको उनले बताए । यसले भौगोलिक कठिनाइका बाबजुद उद्धारमा थप सहजता ल्याउने विश्वास गरिएको उनले बताए ।  

स्वास्थ्य, शिक्षा र रोजगारीका अवसर अभावले यी दुई पालिकाका अधिकांश युवा वैदेशिक रोजगारी वा शहरतिर पलायन हुन बाध्य भएका छन् । दीर्घकालीन रूपमा सडक, पुल र सुविधा सम्पन्न स्वास्थ्य संस्था निर्माण नगरेसम्म खानीखोला र महाभारतका बासिन्दाले जोखिमपूर्ण जीवन बिताउनुपर्ने बाध्यता कायमै रहने देखिन्छ । 

सहरका सडक फराकिलो बन्दै, गाउँका पुल अलपत्र
महाभारत गाउँपालिका जोड्ने  वडा–३ र ४  को सिमामा अवस्थित ‘तीन खुट्टे पुल’ निर्माण कार्य वर्षौंदेखि अलपत्र रहेको छ । जहाँ दुई वटा पुल ‘खानी खोला र पार्वती खोला’ निर्माण कार्य २०७८ सालमै अघि बढाइएको थियो । निर्माण सुरु गरिएको खानी खोला पुलको लम्बाइ १६ मिटर रहेको छ भने पार्वती खोलाको पुल २५ मिटरको छ । महाभारत गाउँपालिका–४ तीनखुट्टेस्थित खानीखोला र पार्वती खोलामा पुल निर्माणका लागि २०७८ असारमा मृत सञ्जीवनी प्रदेज जेभीसँग सम्झौता भएको थियो। 

In Kavre, which is connected to the capital, development is limited to the city.

खानीखोला र पार्वतीखोलामा समयमा नै पुल निर्माण नहुँदा वर्षायाममा आवतजावत गर्न समस्या भएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छा लाल जिम्बाले बताए । उनका अनुसार यस विषयमा सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराए पनि समयमा काम सम्पन्न हुन सकेको छैन । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख विरेन्द्र बज्रचार्यका अनुसार सम्झौता अनुसार समयमै काम सम्पन्न नसकेपछि म्याद थप भएर काम अघि बढेको छ ।

पछिल्लो म्याद थप चौथो संशोधनअनुसार २०८३ वैसाख २९ सम्म म्याद थप गरिएको उनले जानकारी दिए । २०८१/०८२ मा म्याद थप भएपछि हालसम्म ७० प्रतिशत भौतिक र ६२ प्रतिशत वित्तिय प्रगति भएको उनले बताए । हालसम्म दुबै पुलको डेक स्ल्याबको ढलानको काम बाँकी रहेको उनले जानकारी दिए । दुवै पुल एउटै प्याकेज अर्न्तगतमा काम भइरहेका छन् । 

महाभारत जोड्ने थानसिङबेंसीको पक्की पुलको स्रोत सुनिश्चित
काभ्रेको विकट क्षेत्र महाभारत गाउँपालिका जोड्ने थानसिङबेंसीको पक्की पुलको स्रोत सुनिश्चित भएको छ । महाभारत पुग्ने सबैभन्दा सजिलो चौकीडाँडा–सिपाली–महाभारत सडक जाने नमोबुद्ध–६ र रोशी–७ जोड्ने थानसिङबेंसीको पक्की पुल गत वर्ष असोजमा आएको बाढीले बगाएको थियो । त्यसपछि रोशीमा हृयुमपाइप राखेर सडक सञ्जाल जोडिए पनि रोशीमा बहाव बढ्नेबित्तिकै हृयुमपाइप बगाउने गरेको छ । सामान्य वर्षामै गाउँपालिकासँगको सडक सम्पर्क विच्छेद हुने गरेको छ ।

पुल बगाएको स्थानमा अर्को पक्की पुल निर्माणका लागि गाउँपालिकाले गत वर्षदेखि नै पहल गर्दै आएको थियो । यस विषयलाई सम्बोधन गर्न पटक–पटक प्रदेश र संघीय कार्यालयमा धाउँदा बल्ल स्रोत सुनिश्चित भएको गाउँपालिकाका अध्यक्ष कान्छा लाल जिम्बाले जानकारी दिए ।

उनका अनुसार थानसिङबेंसीमा बेलिब्रिज निर्माणको लागि ५ करोड र पक्की पुल निर्माणका लागि ३४ करोड रुपैयाँ अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको छ । तत्कालीन भौतिक तथा पूर्वाधार विकास मन्क्री कुलामान घिसिङले सो क्षेत्रको अनुगमन गर्ने त्रममा तत्कालका लागि बेलीब्रिज राख्ने र पक्की पुल निर्माणका लागि पनि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । 

दुई जिल्ला जोड्ने सुनकोशी पुल पाँच वर्षदेखि अलपत्र
काभ्रे र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की मोटरेबल पुल पाँच वर्षदेखि अलपत्र परेको छ ।

काभ्रेको भुम्लु गाउँपालिका–१ स्थित सापिङका विभिन्न बस्ती र सिन्धुपाल्चोकको चेहेरेलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले सडक विभाग र अमर कन्स्ट्रक्सन प्रालिबिच २०७७ भदौ १० गते पुल निर्माणको सम्झौता भएको थियो । निर्माणको लागि सम्झौतामा भ्याटसहित ११ करोड ७ लाख ४२ हजार २०० रुपैयाँ लागत तोकिएको थियो । सम्झौताअनुसार २०८० जेठ २ सम्म निर्माण सम्पन्न गर्नुपर्नेमा निर्माण कम्पनीले समयमै काम नगर्दा पुल अहिलेसम्म अधुरै रहेको छ । 

पुल निर्माणमा ढिलाइ हुनुको मुख्य कारण ठेकेदार कम्पनी र बगर सामग्री प्रयोगसम्बन्धी विवाद भएको वडा अध्यक्ष लेखबहादुर श्रेष्ठले बताए । उनका अनुसार ठेकेदारले पुलको र्याम्प उठाउन नदी बगरकै ढुंगा–माटो प्रयोग गर्न खोजेपछि विवाद चर्किएको थियो । बगरबाट सामग्री झिक्न नपाइने कानुनी प्रावधानका कारण काम रोकिएको थियो।

पालिकाका जनप्रतिनिधि, वडाध्यक्षलगायतको टोलीले ठेकेदारलाई आफ्नै स्रोतबाट माटो तथा सामग्री ल्याएर काम गर्न निर्देशन दिँदै पटक–पटक स्थलमै पुगेको थियो । निर्माण व्यवसायीले आफ्नै स्रोतमा काम गर्ने सहमतिसहितको प्रतिबद्धता जनाएपनि वर्षायाम नजिकिँदा खोलामा पानीको बहाब बढ्ने जोखिमका कारण पनि अघिल्लो वर्ष काम रोकिएको उनले जानकारी दिए । वर्षौंदेखि रोकिएको कामको एक महिनादेखि भने सुरु गरिएको छ । 

अहिले पुलमा पिलर उठाउने, र्याम निर्माण र क्याभिङ जाली भर्ने काम भइरहेको उनले बताए । उनका अनुसार हालसम्म दुई वटा पिलर निर्माण भइसकेको छ भने एकतर्फ ढलान सकिएको छ । अर्कोतर्फको ढलान तथा ग्याबिन, मेसिनरी वाल र पहुँच मार्ग निर्माण भने बाँकी नै रहेको छ । हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ ।

निर्माण व्यवसायीले कामको पुनः सुरुवात गरेको भएपनि नियमित रुपमा भने नगरेको उनको भनाई थियो । ‘यहीँ अवस्थामा काम हुने हो भने, यो पुल निर्माणको सम्पन्न हुन अझै केही वर्ष लाग्न सक्ने देखिन्छ ।’ पुल निर्माणको ठेक्का अमर कन्स्ट्रक्सनले लिएको भए पनि वडासँग नियमित समन्वय नभएको उनले गुनासो गरे । उनका अनुसार निर्माण व्यवसायीले कामको इस्टिमेट, म्याद थप र सम्पन्न मितिबारे वडालाई कुनै औपचारिक जानकारी दिने गरेको छैन । 

९ वर्ष बितिसक्दा पनि बनेन पुल
काभ्रे र मकवनपुर जोड्ने सिक्रेदोभान वाग्मती खोलाको पक्की पुल सिलान्यास गरेको ९ वर्ष बित्यो । पुल निर्माण सम्पन्न नहुँदा डाँडापारि क्षेत्र (खानी खोला र महाभारत) का स्थानीयलाई प्रदेश राजधानी हेटौंडा आवतजावतमा समस्या भएको छ । खानीखोला गाउँपालिका–५ स्थित सिक्रेदोभान वाग्मती खोलाको किनारसम्म दुवै जिल्लातर्फबाट कच्ची सडक पुगेको छ । पुल नबन्दा दक्षिण भेगका स्थानीयलाई समस्या भएको स्थानीय अर्जुन लामाले बताए । ‘यो पुलले प्रदेश राजधानी हेटौंडा पुग्न नजिक हुन्छ, दुई घण्टामै हेटौंडा पुगिन्छ,’ उनले भने, ‘हिउँदमा जसोतसो कच्ची बाटो हिँडिन्छ, पुल बनेको छैन, वर्षामा गाडी चल्दैन, कामकाजका लागि ६ घण्टाको बाटो धाएर बनेपासम्म पुग्नुपर्छ ।’ पुल बनेमा स्थानीय उत्पादनले बजार पाउने र खाद्यान्न ढुवानी र आकस्मिक उपचार सेवाका निम्ति सहज हुने उनले बताए ।

काभ्रेको खानीखोला–५ र मकवानपुरको बागमती–५ सिक्रेदोभानको बागमती खोलामा पक्की पुलका लागि पटकपटक म्याद थप्दासमेत ९ वर्षमा बल्ल ४० प्रतिशत मात्रै काम भएको खानीखोला गाउँपालिका–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङताङले जनाए ।

१ सय १५ मिटर लम्बाइको पक्की पुल निर्माणका लागि महावीर/शिखर/तामाकोशी जेभी कम्पनीले पुल निर्माण ठेक्का २०७४ असार ३० गते सम्झौता गरेको थियो । उक्त पुल २०७६ भदौ ३० मा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । काम अघि नबढेपछि पुनः २०७७ फागुन १४ सम्मका लागि म्याद थप गरेको थियो । पछिल्लो पटक म्याद थप भएपछि भने काममा केही तीब्रता आएको उनले बताए ।  

उनका अनुसार ९ वर्षपछि पक्की पुल बन्न लागे पनि पुलसम्म पुग्ने हात्तीसार–सिग्रदोभान बाटो २०८१ असोज दोस्रो साताको बाढीले बगाएपछि स्थानीयलाई थप समस्या भएको छ । पुलसम्मको पहुँचमार्ग निर्माणको लागि स्थानीय, प्रदेश र संघीय गरी तीनै तहको सरकारबाट बजेट व्यवस्थापन नभएकोमा उनले गुनासो गरे । २०७३ मा जिल्ला विकास कार्यालय मकवानपुरबाट बोलपत्र आहृवान भएर पुल निर्माण कार्य अगाडि बढेको थियो । यो पुललाई अहिले भौतिक पूर्वाधार कार्यालय मकवानपुरले हेरिरहेको छ । 

‍‍रोशीको बाढीले विपी राजमार्गमा वर्सेनि क्षति 
२०८१ असोज दोस्रो साताको बाढीले विपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्णरूपमा क्षति पुगेको थियो । पूर्णरुपमा क्षति भएको राजमार्गलाई अस्थायी मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । सामान्य वर्षातमै पनि राजमार्ग अवरुद्ध हुदाँ राजगमार्ग हुदैं यात्रा गर्ने हजारौं यात्रुले अनेकन दुःख झेल्नुपरेको थियो । 

२०८१ असोजको घटना २०८२ असोजमा पनि दोहोरियो । असोज १८ को निरन्तर वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गअन्तर्गत भकुन्डे–नेपालथोक सडक खण्डको करिब ९ किलोमिटरमा रोशी खोलाले क्षति पुर्‍यायो । उक्त सडक खण्डको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमा क्षेत्र चौकीडाँडादेखि बोक्सेकुना, घुमाउने, डालाबेंसी, पिप्ले, माम्तीमा अस्थायी रूपमा बनाइएको डाइभर्सनमा १८ गतेको निरन्तर वर्षाले पुनः क्षति पुर्‍याएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

In Kavre, which is connected to the capital, development is limited to the city.

गत वर्ष क्षतिग्रस्त राजमार्ग करिब १० करोडको लगानीमा सञ्चालनमा ल्याइएको थियो । पटक–पटक क्षतिग्रस्त बनेको विपी राजमार्गको अहिले पुनर्निर्माण काम तीव्र गतिमा अघि बढेको छ  । सडक डिभिजन भक्तपुरले दुई वर्षभित्र राजमार्ग पुनर्निर्माणको काम सक्ने लक्ष्य राखेको छ । अहिले राजमार्गमा डबल लेनमा पुर्नःनिर्माणको गरिरहेको छ । 

सडक डिभिजन भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार विपी राजमार्गको पुनर्निर्माणका लागि हाल तीन वटा खण्डमा काम भइरहेको छ । पुनर्निर्माणका तीन वटा खण्डमा ठेक्का सम्झौता विवरण अनुसार डालाबेशीदेखि चारसय बेंसीसम्मको ८.५ किलोमिटर सडक पुनर्निर्माणको लागि खानी/कमलजीत/एवान जेभीसँग १ अर्ब २२ करोड सम्झौता भएको छ । यहाँ अहिलेसम्म १३ प्रतिशत काम सम्पन्न भएको छ । चारसय बेंसीदेखि भकुण्डेबेंसीसम्मको ११ किलोमिटर सडकका लागि लामा/नवकान्तिपुर जेभीसँग १ अर्ब १४ करोडमा सम्झौता भएको छ । यहाँ अहिलेसम्म १४ प्रतिशत काम सम्पन्न भएको छ ।

त्यस्तै, डालाबेशीदेखि सुख्खापहिरोसम्मको २.२ किलोमिटर सडक पुनर्निर्माणको लागि उमा/भण्डारी/अमरज्योती जेभीसँग ६८ करोड ५८ लाख रुपैयाँमा सम्झौता भई काम सुरु भइसकेको छ । यहाँ अहिलेसम्म १० प्रतिशत काम सम्पन्न भएको छ । सडक डिभिजन भक्तपुरका अनुसार बर्खेखोलादेखि सुक्खा पहिरोसम्म सडक पुनर्निर्माणको योजना अध्ययनको चरणमा रहेको छ । ‘गत वर्षको बाढीले क्षति गरेको स्थानमा आरसीसी पर्खाल लगाउने काम सुरु भइसकेको छ,’ उनले भने, ‘चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल पनि लगाउने तयारी भइरहेको छ, चारसय बेंसी र भकुण्डेबेंसीमा आरसिसि पर्खालसहित सडक चौडा बनाउने काम भइरहेको छ ।’

उनका अनुसार राजमार्गको विभिन्न खण्डमा काम विस्तार गर्दै, डालाबेंसी–मंगलटार खण्डदेखि चारसय बेंसीसम्म सडक चौडा बनाउने काम भइरहेको छ । आगामी वैसाखसम्म संरचना निर्माण पूरा गरेर, सडक सञ्चालन सुरु गर्ने लक्ष्य राखिएको उनले बताए । यही गतिमा काम बढाएर दुई वर्षभित्र सडक पुनर्निर्माण सक्ने योजना उनले सुनाए । 

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ मा निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

६ लेनमा बिस्तार हुँदै अरनिको राजमार्ग 
काठमाडौंलाई पूर्वी जिल्ला जोड्ने जिल्लास्थित अरनिको राजमार्ग ६ लेनमा बिस्तार भइरहेको छ । अरनिको राजमार्ग अर्न्तगत निर्माणाधीन साँगा–धुलिखेल सडक खण्ड बिस्तार कार्य हालसम्म ५३ प्रतिशत काम भएको छ । सूर्यविनायक–धुलिखेल सडक आयोजना कार्यालयका प्रमुख विजयकुमार महतोका अनुसार हालसम्म सूर्यविनायक–धुलिखेल खण्डमा ५३ प्रतिशत काम भएको छ । साँगा–धुलिखेल खण्डमा ६३ प्रतिशत र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम भएको उनले जानकारी दिए ।

उनका अनुसार सूर्यबिनायक–जगातीमा अहिले पेभमेन्ट वर्क भइरहेको, जगाती–बाँसघारीमा पेभमेन्टको तयारी, बाँसघारी–नलिन्चोकमा पोल सार्न कठिनाई भएकाले त्यहाँ काम प्रभावित भएको छ, नलिञ्चोक–साँगामा पेभमेन्टको तयारी भइरहेको छ । त्यस्तै, साँगामा अहिले अन्डर पासको काम भइरहेको र त्यसको ७० प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।

साँगा–धुलिखेल सडक खण्डमा अहिले तिब्र गतिमा काम भइरहेको उनले बताए । उनका अनुसार धुलिखेल–बाँघारी १ किलोमिटर सडकखण्ड र पुलबजार–जनागाल सडक खण्डमा १ किलोमिटर कालोपत्रको काम सम्पन्न भइसकेको छ । बाँसघारी–२८ किलो खण्डमा अहिले कालोपत्रको काम भइरहेको उनले बताए । उनका अनुसार बनेपाको पुलबजार–२८ किलो सडक खण्ड र जनागाल–साँग खण्डमा अहिले पेभमेन्टको तयारी भइरहेको छ । 

उनका अनुसार पहिलो खण्ड साँगा–धुलिखेल ८ किलोमिटर सडक विस्तार कार्यका लागि लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले तीन वर्षभित्र सक्न ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । २०७९ मंसिर २७ गते निर्माण व्यवसायीसँग सम्झौता भए अनुरुप २०८२ मंसिर २६ गते पहिलो खण्डको विस्तार कार्यको ठेक्का म्याद सकिएको थियो ।

योजनाअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा ७.५ किलोमिटर बिस्तारका लागि ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लागेको आयोजनाले जनाएको छ । २०८२ पुस १८ गते उक्त खण्ड विस्तारको म्याद सकिएको थियो । दुवै खण्डमा म्याद थप गरी काम अघि बढेको र विस्तार गर्नको लागि बजेटको अभाव भने नभएको उनले बताए । उनका अनुसार  ठेक्काको म्याद थप भएर अहिले तिब्र गतिमा काम भइरहेको र आउँदो असारसम्म दुवै खण्डको काम सम्पन्न लक्ष्य राखिएको छ । 

धुलिखेल–खावा सडकलाई नयाँ ठेक्का, कामको गति पुरानै  
निर्माण व्यवसायीको लापरवाहीका कारण समयमै काम सम्पन्न नभएपछि पूर्वी नाका जोड्ने अरनिको राजमार्ग अर्न्तगत धुलिखेल–खावा सडकको लागि नयाँ ठेक्का लागेको छ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकका लागि नयाँ ठेक्का सम्झौता भएको छ । उक्त सडकको ४ किलोमिटर सडक खण्डको विस्तार कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुरले नयाँ ठेक्का लगाएको हो । 

गौरी पार्वती निर्माण सेवा प्रालिले २०७९ जेठ २० गते २० करोड १९ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर काम गरेको भए पनि सम्झौताअनुसार २०८० चैत १९ सम्म काम सकिनु पर्नेमा त्यसको ११ महिनासम्म म्याद थपिँदा पनि २५ प्रतिशत मात्रै काम भएपछि सडक विभागले ठेक्का रुद्द गरेको थियो । ठेक्का रुद्द भएपछि गौरी–पार्वती निर्माण सेवा कम्पनी उच्च अदालत पाटनमा मुद्दा हालेको थियो । उक्त मुद्दा गत असार २५ गते खारेज भएपछि डिभिजनले नयाँ प्रक्रिया अनुसार पुनः ठेक्का लगाएको थियो ।

कार्यालयका अनुसार एवन काली जेभी काठमाडौंले उक्त कार्यको लागि ३१ करोड ५६ लाखको बजेटमा ठेक्का लिएको हो। सो कम्पनीले १४ महिनामा काम सक्ने प्रतिबद्धता जनाएको छ। आगामी २०८२ कात्तिक २७ गते एवन काली जेभी काठमाडौंसँग सम्झौता भएको हो । 

सम्झौता अनुसार चार किलोमिटर सडक खण्डको विस्तार कार्य अन्तर्गत अहिले मेसिनरी वाल, प्लम कंक्रिट, स्लोप प्रटोक्सनलगायतको कामहरू भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । 

उनका अनुसार विस्तार कार्य अर्न्तगत बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने, दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने, स्लोप प्रोटेक्सनको काम गरिनेछ । जसमा स्लोप प्रोटेक्सनको काम अलि चुनौतीपूर्ण रहेको उनले बताए । ‘१४ महिनाको समय सीमा तोकिएको छ,’ उनले भने, ‘त्यो भन्दा अघि नै सक्ने योजना रहेको छ, आगामी जेष्ठसम्म काम सक्ने हाम्रो योजना रहेको छ, हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको छ।’ 

विपद्ले बासस्थानकै समस्या
काभ्रेको पनौती नगरपालिका–१२ स्थित कलाँती, सिमपानीमा महाकाल आधारभूत विद्यालयको जीर्ण भवन छ। विद्यालयको कक्षा ४ मा बस्छन्, कृष्णबहादुर तामाङ । उनी त्यहाँ पढ्नका लागि नभई आश्रयस्थलको लागि बस्दै आएका छन् ।

२०८१ असोज १२ को भारीले वर्षाका कारण पहिरोबाट आफ्नो ज्यान जोगाउन परिवारसहित घर निस्केका थिए । उनीहरु केही दिन आफन्तको घरमा बसे । आफ्नै घरमा बस्नको लागि पहिरोको जोखिमको डर थियो । ‘आफन्तकोमा त केही दिन पो बसिन्छ त,’ उनले भने, ‘सधैं बस्न पनि मिलेन, आफ्नो घर पहिरोको जोखिममा थियो, कहाँ जाने, कसरी परिवार पाल्ने भएको थियो, वडा कार्यालयमा आफ्नो समस्या सुनाएपछि, बन्द भएको विद्यालयमा बस्ने व्यवस्था भयो, त्यसपछि अलि सहज भएको छ ।’

उनका अनुसार आफ्नो जमिन भएको ठाउँमा आवास बनाउन सुरक्षित छैन । नयाँ जग्गा किनेर घर बनाउनको लागि पैसा नभएको उनले बताए । ‘त्यसकारण पनि डेढ वर्षयता यही स्कुलमा बस्दै आएका छौं,’ उनले भने, ‘सधैं यही स्कुलमा बसेर पनि हुँदैन, यहाँ पनि निकै चिसो, बालबच्चालाई चिसोबाट जोगाउनै गाह्रो हुन्छ ।’ उनका अनुसार घर बनाउने भनेर त सोच बनाएको छु, सुरक्षित स्थान नभएकाले कसरी बनाउने भन्नेमा अन्यौल भएको छ । ‘सरकारले अस्थायी टहरा बनाउनको लागि दिएको पहिलो किस्ता बापतको २५ हजार रुपैयाँ त पायौं,’ उनले भने, ‘त्यति पैसाले अस्थायी टहरा कसरी बनाउन सकिन्छ र ? त्यही टहरा बनाउन पनि सुरक्षित स्थान छैन, कसरी र कहाँ बनाउने भएको छ ?’ 

पनौती–१२ रोशीकी भवानी केसीको परिवार बनेपामा डेरा गरी बस्दै आएको डेढ वर्ष भयो । २०८१ असोज दोस्रो साताको बाढीपहिरोपछि घरबार गुमाएर डेढ वर्षदेखि भवानीको परिवार भाडाको कोठामा बस्न बाध्य छ। बाढीले घरसँगै खेतीयोग्य जमिनसमेत बगाएपछि परिवारको मुख्य आम्दानीको स्रोत पनि गुमेको उनले बताइन्। ‘अहिले बनेपामा मासिक १२ हजार रुपैयाँ भाडा तिरेर डेरामा बस्दै आएका छौैं,’ उनले भनिन्, ‘रोशीमा त अब बस्ने बास पनि छैन, बनाउन जग्गा पनि बाँकी रहेन ।’ बाढीपछि सरकारले दिने भनिएको आवास अनुदानको पहिलो किस्तासमेत नपाएको उनले गुनासो गरिन् । 

उनका अनुसार रेडक्रस र स्थानीय संस्थाको सहयोगमा गाउँ अस्थायी टहरा बनाइएको छ । ‘गाउँ गएको बेलामा कहिलेकाँही बसिन्छ,’ उनले भनिन्, ‘यहाँ घर बनाउनको लागि केही छैन, पनौती एउटा सानो घडेरी छ, त्यही घर बनाउने सोच बनाएका छौं, तर तत्कालै बनाउन भने सक्ने अवस्था छैन ।’ 

गत वर्षको बाढी र पहिरोबाट काभ्रेका १३ वटा पालिकामध्ये बेथानचोक, रोशी, पनौती, तेमाल र नमोबुद्ध नगरपालिकामा धेरै मानवीय तथा भौतिक क्षति भएको जिल्ला प्रशासन कार्यालयको विवरणमा उल्लेख छ । विवरण अनुसार त्यो बाढीपहिरोमा परेर काभ्रेका ७९ जनाको मृत्यु, ८८ घाइते र ६ जना बेपत्ता भएका छन् । त्यस्तै, २ हजार ९ सय ७९ घर पूर्ण रुपमा क्षति भएको विवरण कार्यालयसँग छ ।

बाढीपहिरोले पूर्णरुपमा क्षति भएपछि हजारौं बेघर भएका छन् । केही आफन्तको शरणमा, केही डेरा गरी बस्दै आएका छन् भने केही जोखिम मोलेरै भत्किएको घरमा बस्दै आएका छन् । प्रभावितहरुलाई सरकारले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता अर्न्तगत २५ हजार रुपैयाँ उपलब्ध गराए पनि सुरक्षित स्थानमा अस्थायी बासको व्यवस्थापन भने गर्न सकेन ।

अस्थायी आवास निर्माणका लागि जिल्लाका १३ पालिकाका ३ हजार १ सय ४३ परिवारका लागि पहिलो किस्ताबापत ७ करोड ८५ लाख ७५ हजार रुपैया निकासा भएको प्रशासनको विवरणमा उल्लेख छ । त्यस्तै, जिल्लाको पनौती, बनेपा, मण्डनदेउपुर र चौरीदेउराली गाउँपालिकाबाहेक अन्य ९ वटा पालिकाका १ हजार ४१२  प्रभावितले दोस्रो किस्ता बापतको रकम पाइसकेका छन् । जसको लागि कार्यालयमा ४ करोड ८२ लाख २५ हजार प्राप्त भएकोमा ३ करोड ५३ लाख रुपैयाँ प्रभावितहरुलाई निकासा भएको कार्यालयको विवरणमा उल्लेख छ ।  

सुशासन गफमै, मनपरी गर्ने खानी निष्फिक्री चल्दै
विशेष गरेर काभ्रेको बेथानचोक गाउँपालिका र पनौती नगरपालिकामा खानी तथा क्रसर उद्योग धेरै छन् । सञ्चालनमा रहेका खानी तथा क्रसर उद्योग मापदण्ड अनुरुप नरहेको एक प्रतिवेदनले देखाएको छ । मापदण्ड विपरीत सञ्चालित खानी तथा क्रसर उद्योगको मनपरी उत्खननले मानवीय क्षति समेत भएको छ ।  

पुष ८ गते साँझ ५ः३० बजे पनौती–१२ स्थित रोशीमा ढुंगा उत्खनन् गर्ने क्रममा पहिरो झर्यो । उत्खनन् गर्नेमा क्रममा एक्स्काभेटर चालकको घटनास्थलमै मृत्यु भयो । मृतक एक्स्काभेटर चालक खानीखोला गाउँपालिका–२ घर भई हाल पनौती नगरपालिका–९ स्थित सुनथान बस्दै आएका अन्दाजी ३५ वर्षीय रामबहादुर तिमल्सिना थिए ।

In Kavre, which is connected to the capital, development is limited to the city.

उक्त घटनापछि त्यस स्थानका बासिन्दा त्रसिद छन् । २०८१ असोज दोस्रो साताको बाढी र पहिरोले गाउँ नै पूर्णरुपमा क्षतिग्रस्त भएपछि त्रसित स्थानीयलाई यो घटनाले झन् चिन्तित बनाएको थियो । खानी र क्रसरले मनपरी उत्खनन गर्दा पोहोर साल ठूलो क्षति भएको पनौती–१२ स्थित गुरुङ गाउँकी एक स्थानीयले बताइन् । ‘खानीबाट निस्कने डस्ट सिधैं खोलामा हाल्छन्,’ उनले भनिन्, ‘डस्टले खोला थुनिएर पोहोर त्यस्तो विपति आइलाग्यो, उनीहरुको मनपरीले हामी सधैं डरै–डरमा बाँच्नुपरेको छ ।’ पनौती नगरपालिका उपप्रमुख गीता बञ्जारा साँझ ५ बजेसम्म मात्रै खानी उत्खनन् गर्न पाइने प्रावधान रहेको बताउँछिन् । तर, खानी सञ्चालकले त्यो व्यवस्थालाई अटेर गर्दै आइरहेका छन् । 

गत असार २७ को बिहान चलाल गणेशस्थानमा सञ्चालित गणेशस्थान खनिज उद्योगमा सुक्खा पहिरो झर्‍यो । सुक्खा पहिरो प्राकृतिक नभइ कृत्रिम रुपमा झारिएको हुँदा स्थानीय झनै त्रसित भए । खानीको उत्खनन् गर्दा माथिबाट तलतिर झर्दै खन्नुपर्नेमा तलतिर कपेर खन्दा सुक्खा पहिरो खसेको स्थानीयले बताएका छन् । खानी उत्खनन् गर्दा माथिबाट खनेर तलतिर झर्दै खन्नुपर्ने भए पनि तलबाटै कपेर उत्खनन् गरिएको उक्त खानीका सञ्चालक मध्येका एक सेयरधनीले बताए । ‘माथिबाट खनेर तलतिर झर्दा त्यसमा श्रम, लागत र स्रोतसाधनको उपयोग बढी हुन्छ,’ उनले भने, ‘लागत कम गर्न तलतिरबाट कपेर उत्खनन् गरिएको हो ।’ खानीमा झरेको सुक्खा पहिरो पनि यही प्रक्रियाबाट उत्खनन् गर्दा भएको उनले स्वीकारे ।

बेथानचोक गाउँपालिकाका इन्जिनियर ज्ञानप्रसाद तिमल्सिनाले खानी उत्खनन् गर्दा अपनाउनुपर्ने मापदण्ड स्पष्ट गर्दै सुरक्षित उत्खनन् विधि नअपनाउँदा गम्भीर जोखिम बढ्ने बताए । उनका अनुसार खानी उत्खनन् पहाडको माथिल्लो भागबाट क्रमशः स्लोप बनाउँदै, क्षेत्र क्लियर गर्दै तलतर्फ झर्दै गर्नुपर्ने प्रावधान छ । यसरी उत्खनन् गर्दा कामदार, आसपासका बस्ती र समुदाय सुरक्षित रहने उनको भनाइ छ ।

तर तलबाट कपेर उत्खनन गर्दा पहिरोको जोखिम अत्यधिक बढ्ने र त्यसले कामदार तथा बस्ती नै असुरक्षित बनाउने इन्जिनियर तिमल्सिनाको ठम्याइ छ । ‘यसरी उत्खनन् गर्दा पहिरो झर्ने सम्भावना उच्च हुन्छ, जसबाट ठूलो मानवीय र भौतिक क्षति हुन सक्छ,’ उनले भने, ‘सञ्चालकलाई सजिलो र तत्काल फाइदा हुने देखिए पनि यस्तो कार्यले समग्र बस्ती र समुदायलाई जोखिममा पार्छ ।’
बेथानचोक गाउँपालिका–४ स्थित चलाल दोभानका ६७ वर्षीय शेरबहादुर तामाङको दैलो आडैमा रामकृष्ण निर्माण सेवा नामक खानी उद्योग दिनरात चलिरहन्छ । आफ्नै जग्गामा सञ्चालित खानी उद्योगले निम्त्याउन सक्ने जोखिमको त्रासले उनलाई चिन्तित बनाएको छ । खानीबाट उत्खनन् भएको सामग्रीबाट प्रत्येक ट्रिप उनले २ हजार रुपैयाँ पाउँछन् । ‘बर्खाको समयमा अलि डर हुन्छ, पानी पर्नै लाग्दा अलि चिन्ता हुन्छ,’ उनले भने, ‘खानीबाट पहिरो खस्ने र छेउकै खोलाबाट बाढी पस्ने डर हुन्छ ।’

२०८१ कात्तिकमै जिल्ला सुरक्षा समितिले कानुन विपरीत सञ्चालित ढुंगा तथा क्रसरबाट ठूलो जनधनको क्षति भएको जनगुनासो आएको ठहर गर्दै अवैध सञ्चालन रहेका ढुंगा र क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो । बाढीपहिरोपछि खोलाको बहावले धार परिवर्तन गरेको, बस्तीहरू जोखिममा परेको, वरिपरिका भूभागसमेत भत्किएको र बगाएको र पहिरो गएको, डस्ट र गेग्रानले खोलाहरूको सतह बढेको उल्लेख गर्दै हालको अवस्थामा बस्ती, खानी, खोला वन क्षेत्र भौगर्भिक अवस्था लगायत सरोकार राख्ने सबै पक्षमा गम्भीर एवं विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

दुवै निर्णयको कार्यान्वयन नगरी कानुन विपरीत सञ्चालित ढुंगा तथा क्रसर उद्योग सञ्चालनमा आएको पाइएमा कानुन अनुसार कावार्ही गरिने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए । ऊनका अनुसार जिल्ला सुरक्षा समिति र जिल्ला अनुगमन समितिको संयुक्त टोलीले खानी तथा त्रसर उद्योगहरुको अनुगमन गर्दै आएको छ । 

सरकारले बाढीपहिरोबाट अति प्रभावित क्षेत्र घोषणा समेत गरेका पालिकाहरुमा भौगोलिक तथा वातावरणीय मूल्यांकन समेत नगरी सञ्चालन भइरहेका छन् । यो क्षेत्रका प्रायः खानी र क्रसर उद्योगहरु मापदण्ड अनुरुप सञ्चालनमा नभएको पाइएपछि जिल्ला अनुगमन समितिको स्थलगत निरीक्षणपछि मापदण्ड विपरीत सञ्चालनमा रहेका ५ वटा खानी र क्रसर उद्योगलाई बन्द गराइएको जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले बताए ।

उनका अनुसार जिल्ला प्रशासनको समन्वयमा गठित कार्यदलले गरेको अनुगमनबाट केही खानी तथा क्रसर उद्योगले स्वीकृति नलिई उत्खनन् गर्दै आएको, कतिपयले तोकिएको मापदण्ड पालना नगरेको पाइएको थियो । सोही प्रतिवेदनका आधारमा सम्बन्धित पालिका र उद्योगलाई सुधारका लागि निर्देशन दिइएको र मापदण्ड उल्लङ्गन गर्ने खानी तथा क्रसर उद्योगलाई बन्द गराइएको उनले बताए । 

उनका अनुसार अनुगमनका क्रममा पनौती नगरपालिकामा तीन वटा, मण्डनदेउपुर नगरपालिकामा एउटा र रोशी गाउँपालिकामा एउटा खानी बन्द गराइएको छ । ‘विपद् हुनुका धेरै कारण छन्, तर खानी तथा क्रसर उद्योग पनि ती कारणमध्ये एक रहेको अध्ययनबाट देखिएको छ,’ उनले भने, ‘नागरिकको ज्यान–धनको क्षति हुन नदिन अब दोहन हुने खानीलाई कडाइका साथ नियन्त्रण गरिन्छ ।’

विपदबाट अति प्रभावित पालिकाहरुमै खानी तथा क्रसर उद्योग सञ्चालनमा आएका छन् । २०८१ मा विपदको ३ महिनापश्चात नै पालिकामा रहेका खानी तथा क्रसर उद्योग सञ्चालनमा आउन थाले । बेथानचोक गाउँपालिकामा ४ वटा खानी तथा क्रसर उद्योग सञ्चालनमा रहेको ३ वटा पालिकामा दर्ता र कानुनी प्रक्रिया अनुरुप सञ्चालनमा रहेको पालिका उपाध्यक्ष तारा राणा तिमल्सिनाले बताइन् । उनका अनुसार बाँकी १ वटा खानी तथा क्रसर उद्योगलाई कानुनी प्रक्रिया पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको उनले बताइन् । 

त्यस्तै, पनौती नगरपालिकामा रहेका १३ वटा खानी तथा क्रसर उद्योगमध्ये ८ वटा मात्रै पालिकासँग स्विकृृती लिएर कानुनी प्रक्रिया पूरा गरेको नगरपालिकाका उप–प्रमुख गीता बञ्जाराले जानकारी दिइन् । ‘स्थानीय निकायले उद्योग सञ्चालन गर्न स्विकृती दिने र खानी विभागको मापदण्ड पालना गरे/नगरेको अनुगमन मात्रै गर्ने हो,’ उनले भने, ‘खानी विभागले अनुमति दिएपछि हामीले उद्योग सञ्चालन गर्न स्विकृती मात्रै दिने हो, मापदण्ड पालना नगर्ने, दर्ता, नवीकरण तथा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका ५ वटा खानी तथा क्रसरलाई पटक–पटक निदेर्शन गरिएको छ ।’

त्यस्तै विपदपछि नमोबुद्ध नगरपालिकामा १ वटा र रोशी गाउँपालिकामा १ वटा खानी तथा क्रसर उद्योग सञ्चालनमा रहेका छन् । त्यस्तै, विपदपछि मण्डनदेउपुर नगरपालिकामा १ वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् । भुम्लु गाउँपालिकामा विपदपछि ५ वटा क्रसर उद्योग सञ्चालनमा रहेको र सबै उद्योगहरुले पालिकाबाट स्विकृति लिएर कानुनी प्रक्रिया सबै पूरा गरेको पालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले जानकारी दिए । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully