अरुणदेखि मकालुसम्म फैलिएको संखुवासभामा अपेक्षित विकास भएन

पछिल्लो पाँच वर्षमा संखुवासभामा करिब ४० अर्ब रुपैयाँ विकास खर्च हुँदासमेत आर्थिक, सामाजिक र संरचनागत परिवर्तनले उल्लेख्य फड्को मार्न सकेको छैन।

फाल्गुन ७, २०८२

दीपेन्द्र शाक्य

Expected development has not been achieved in Sankhuwasabha, which stretches from Arun to Makalu.

What you should know

संखुवासभा — कोशी प्रदेशको हिमाली जिल्ला संखुवासभा भूगोल, संस्कृति र प्राकृतिक सम्पदामा धनी मानिए पनि जनअपेक्षा अनुसार विकासले गति लिन सकेको छैन।

विश्वकै होचो ४ सय ५७ मिटरको अरुण उपत्यकादेखि विश्वकै पाँचौं अग्लो ८ हजार ४ सय ६३ मिटर उचाइको मकालु हिमाल यही जिल्लामा पर्दछ। तर पछिल्लो पाँच वर्षमा करिब ४० अर्ब रुपैयाँ विकास खर्च हुँदासमेत आर्थिक, सामाजिक र संरचनागत परिवर्तनले उल्लेख्य फड्को मार्न सकेको छैन। १ लाख ५९ हजार २ सय ६ जनसंख्या रहेको जिल्लामा पाँच नगरपालिका, पाँच गाउँपालिका र ७६ वडा छन्।

प्रतिनिधि सभा क्षेत्र–१ रहेको यस जिल्लामा १ लाख १९ हजार ६३० मतदाता छन्। संघ र प्रदेशसभामा ३ जना जनप्रतिनिधि भए पनि स्थानीयवासीले आशालाग्दो परिणाम नदेखिएको गुनासो गर्दै आएका छन्।

जिल्लाका १२ प्रतिशत नागरिक अझै गरिबीको रेखामुनि छन्। शून्य दशमलव ३६ प्रतिशत जनशक्ति रोजगारीका लागि तेस्रो मुलुकमा रहेको तथ्यांक छ। कृषि, पशुपालन, पर्यटन र साना उद्योगले स्थानीय आम्दानीमा सघाए पनि रोजगारी सिर्जनामा ठोस उपलब्धि देखिँदैन।

Expected development has not been achieved in Sankhuwasabha, which stretches from Arun to Makalu.

रुद्राक्ष, अलैंची, अल्लोको कपडा र चैनपुरे करुवा जिल्लाको पहिचान भए पनि उत्पादनको संरक्षण, ब्रान्डिङ र बजार विस्तारमा अपेक्षित पहल नहुँदा स्थानीय अर्थतन्त्रमा उल्लेख्य योगदान हुन नसकेको स्थानीय छत्रमणि पन्त बताउँछन् ।

जिल्लाको मुख्य आयस्रोत कृषि, पशुपालन, पर्यटन र साना उद्योग हुन्। रुद्राक्ष, चिराईतो, अलैंची, अल्लोको कपडा र चैनपुरे करुवा यहाँका मौलिक उत्पादन हुन्। चैनपुरे करुवा र काँसबाट निर्माण हुने भाँडावर्तन  नेपाली धातुकलाको अनुपम नमुना मानिन्छ। तर उत्पादनको बजारसम्मको पहुँच ब्रान्डिङ, प्रशोधन र निर्यात व्यवस्थापन नहुँदा किसान र कालीगढले उचित मूल्य पाउन सकेका छैनन्।

अलैंची र रुद्राक्षको उत्पादन राम्रो भए पनि मूल्य अस्थिरता, भण्डारण अभाव र बजार पहुँच समस्याका कारण कृषक निराश छन्। स्थानीय तहहरूले सहकारी र कृषि पूर्वाधारमा लगानी बढाए पनि समग्र आम्दानीमा ठूलो परिवर्तन देखिँदैन।

ऊर्जा क्षेत्रमा भने ठूला आयोजना अघि बढिरहेका छन्। ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको झण्डै ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ। यसैगरी १ हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना, अरुण ४ जलविद्युत आयोजना र तल्लो अरुण जलविद्युत आयोजना निर्माणाधीन छन्।

यी आयोजनाले राष्ट्रिय ऊर्जा उत्पादनमा योगदान पुर्‍याउने अपेक्षा गरिए पनि स्थानीय तहसम्म यसको प्रत्यक्ष लाभ अझै देखिन सकेको छैन। १० स्थानीय तहमध्ये भोटखोला गाउँपालिकामा अझै विद्युत प्रसारण लाइन पुगेको छैन। जिल्लाको करिब ६० प्रतिशत क्षेत्रमा मात्र विद्युत पहुँच पुगेको छ।

सडक पूर्वाधार अधुरै छन् । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको जोगवनी–किमाथांका उत्तर–दक्षिण कोशी सडक पाँच वर्षदेखि सुस्त गतिमा छ। ३ सय ६२ किलोमिटर सडकको ट्र्याक खुले पनि निर्माण कार्य पूर्ण हुन सकेको छैन।

भोटखोलाका केही क्षेत्र र सिलिचोङ बाहेक ८ स्थानीय तहमा सडक सञ्जाल पुगेको छ। तर निर्माणाधीन ठूला–साना एक दर्जन सडक अधिकांश अधुरै छन्। सडक पूर्वाधार अधुरो हुँदा कृषि उत्पादन बजारसम्म पुर्‍याउन, स्वास्थ्य सेवा पहुँच बढाउन र पर्यटन प्रवर्द्धन गर्न कठिनाइ भएको स्थानीय बताउँछन्।

संखुवासभा पर्यटनका दृष्टिले  पनि महत्वपूर्ण जिल्ला मानिन्छ। विश्वको पाँचौँ अग्लो शिखर मकालु हिमाल, मकालु–वरुण राष्ट्रिय निकुञ्ज, गुराँसका लागि प्रसिद्ध तीनजुरे–मिल्के–जलजले क्षेत्र, तथा चीनसँग जोडिएको किमाथाङ्का पर्यटकका लागि आकर्षणका केन्द्र हुन्।

यसका अतिरिक्त सभापोखरी, दूधपोखरी, गुफापोखरी, गुप्तेश्वर गुफा, सिद्धकाली मन्दिर, मनकामना धाम र शिवधारा, ख्याम्पालुङ धार्मिक तथा प्राकृतिक पर्यटनका सम्भावित गन्तव्य हुन्। तर पर्याप्त पूर्वाधार र प्रचार–प्रसार अभावमा पर्यटनले अपेक्षित आम्दानी दिन सकेको छैन।

Expected development has not been achieved in Sankhuwasabha, which stretches from Arun to Makalu.

भौगोलिक चरमताले जिल्लालाई जैविक विविधता, जलस्रोत र पर्यटनको केन्द्र बनाएको छ। मकालु–वरुण राष्ट्रिय निकुञ्ज भित्र पर्ने जैविक विविधताले सम्पन्न वरुण उपत्यका मानिन्छ । यो क्षेत्र दुर्लभ वन्यजन्तु र वनस्पतिको आवास हो। मकालु हुँदै सोलुखुम्बुको मेरापिक हिमालसम्म पुग्ने पदमार्गले विदेशी पर्यटक तान्ने सम्भावना बोकेको छ।

खाँदबारीका जीवनाथ खनाल भन्छन्, 'लगानी धेरै भयो, तर जीवनस्तर उकासिने गरी परिवर्तन देखिएन।' यदि ऊर्जा आयोजनाबाट प्राप्त लाभ स्थानीय समृद्धिमा रूपान्तरण गरियो, पर्यटन पूर्वाधार सुदृढ बनाइयो, कृषि उत्पादनलाई बजारसँग जोडियो र सुशासन सुदृढ गरियो भने संखुवासभाले परिवर्तनको अनुभूति गर्न सक्ने उनले बताए ।

सडक नहुँदा कृषकले उत्पादन बजारसम्म पुर्‍याउन सास्ती खेप्नुपरेको छ उनले भने  दुर्गम क्षेत्रमा बिरामीलाई समयमै अस्पताल पुर्‍याउन कठिनाइ छ। पर्यटन क्षेत्रसम्म सहज पहुँच नहुँदा सम्भावित आम्दानी गुमिरहेको उनले बताए ।

शिक्षा र स्वास्थ्यमा पहुँच चुनौतीपूर्ण
जिल्लामा ४ सय १३ शैक्षिक संस्था र १ सय २५ सरकारी स्वास्थ्य संस्था छन्। ७४ माध्यमिक विद्यालय, २ सय ४५ आधारभूत विद्यालय, १४ संस्थागत विद्यालय र सात क्याम्पस र विदुसी योममाया हिमालयन आयुर्वेद विश्व विद्यालय सञ्चालनमा छन् ।

संख्या पर्याप्त देखिए पनि दुर्गम गाउँमा शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच छैन। खाँदबारी साना शहरी खानेपानी उपभोक्ता समिति र ग्रामीण क्षेत्रमा केही ठूला खानेपानी आयोजना अलपत्र अवस्थामा छन्। ७० प्रतिशत क्षेत्रमा खानेपानी र ५० प्रतिशत नागरिकमा इन्टरनेट पहुँच पुगेको सरकारी तथ्यांकमा उल्लेख छ।

पछिल्लो पाँच वर्षमा तीनै तहका सरकारबाट करिब ४५ अर्ब रुपैयाँ खर्च भएको तथ्यांक छ। तर आर्थिक अनियमितता र बेरुजु बढ्दो रहेको छ। खर्चको प्रभावकारिता र पारदर्शितामाथि प्रश्न उठिरहेको छ।
स्थानीय तहबाट सेवा प्रवाह बढेपछि केही राहत महसुस भए पनि दिगो विकासका सूचकमा उल्लेख्य सुधार देखिँदैन।

संखुवासभा प्राकृतिक स्रोत, जलविद्युत, पर्यटन र कृषि सम्भावनाले सम्पन्न भए पनि कार्यान्वयन कमजोरी, पूर्वाधारको सुस्त प्रगति र सुशासन अभावले अपेक्षित परिवर्तन रोकिएको देखिन्छ। अरुणको गहिराइ र मकालुको उचाइ, जस्तै सम्भावनाले भरिएको संखुवासभा अहिले विकासको स्पष्ट दिशाको खोजीमा छ।

दीपेन्द्र शाक्य

Link copied successfully