कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

सर्वसाधारणका लागि धरहरा खुला [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — भूकम्प गएको ९ वर्षपछि काठमाडौंको धरहरा सर्वसाधारणका लागि फेरि खुला भएको छ । बिहीबार संविधान दिवसको अवसर पारेर नवनिर्मित धरहरा चढ्न खुला गरिएको हो । अर्को व्यवस्था नहुँदासम्म सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउनेछन्। अहिले परीक्षणका रूपमा धरहरा चढ्न खुला गरिएको हो ।

अब हरेक दिन बिहान साढे १० देखि दिउँसो साढे ४ बजेसम्म सर्वसाधारणले धरहरा चढ्न पाउनेछन्। त्यसका लागि सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको वेबसाइट धरहरा डटजीओभीडटएनपीमा गएर बुकिङ गर्न सकिनेछ। केही प्राविधिक समस्याका कारण वेबसाइटमा तत्कालका लागि बुकिङ खुला भएको छैन। केही दिनमै यो समस्या समाधान हुने विभागले जनाएको छ। अहिले छुट्टै बुकिङका लागि एप तयार भइनसकेकाले वेबसाइटमार्फत नै यो सुविधा उपलब्ध गराइने विभागका उपमहानिर्देशक कोषनाथ अधिकारीले बताए।

धरहरा चढ्न अघिल्लो दिन नै बुकिङ गर्नुपर्नेछ। तर अनलाइन बुकिङ सुरु नहुँदासम्म कुपनमार्फत धरहरा चढ्ने व्यवस्था गरिने अधिकारीले सुनाए। अनलाइन बुकिङ गर्दा भने क्यूआर कोड आउने र त्यो लगेर धरहराको गेटमा देखाएपछि चढ्न पाइनेछ। परिवारमा आमा–बुबा, छोरा–छोरीसहित चार जनासम्मले एकै पटकमा अनलाइन बुकिङ गर्न सक्नेछन्।


प्रकाशित : आश्विन ३, २०८१ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्