कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

प्रविधिको विकास र उर्वरताको खोजी

भाद्र २६, २०८१

कृष्णप्रसाद पौडेल

पौडेल कृषिविज्ञ हुन् ।

प्रविधिको विकास र उर्वरताको खोजी

Highlights

  • अघिल्लो दिनसम्म गरिबी र अभाव के हो भन्ने सुइँको समेत नपाएका आममानिस बाहिरी सहायताको आसमा आफ्नै समुदायलाई धनी र गरिब, हुने र नहुनेका कित्तामा विभाजित गर्न उद्यत् छन् । आफैंलाई अविकसितको प्रमाणपत्र थमाउँदै गरिब र विपन्नताको असली दाबेदार बनाएर हीनताबोधको सिकार भइरहेका छन्।

आजको हाम्रो खेती कर्मको चेत हिमयुगको अन्त्यसँगै मेसोपोटामियामा सुरु भएको मानिन्छ । गहुँ र गाईसँगै सुरु भएको खेती कर्म मल, पानी, बीउ र ब्याडको जतन गर्ने खेती प्रविधिसँगै उन्नत भएको छ । यो स्थान विशेषमा थप परिष्कृत हुँदै फैलिएको खेती कर्म उत्तर लाग्दा युरोपको कठाङ्ग्रिँदो चिसो मैदानभरि फैलियो ।

यस्तो चिसोमा कृषि कर्म गर्न मात्र कठिन भएन, वर्षैभरिका लागि चाहिने कृषि उत्पादनको जोहो गर्नसमेत समस्या भयो । खाद्य अभाव झेल्न मान्छेले फराकिलो क्षेत्र खेती कर्म र आदानप्रदान गर्ने यान्त्रिक प्रविधिको विकासमा जोड दिए ।

मान्छेको श्रमबाट गरिने कामलाई सजिलो बनाउन घरपालुवा जनावर, हावा र पानीको वेगबाट मात्र सम्भव भएन बाफबाट चल्ले यन्त्र बनाउन सफल भए । यो प्रकृतिको अन्तरनिहित ऊर्जाबाट गति नियन्त्रण गर्ने मानवीय चेतनाको कोसेढुंगा बन्यो । प्रकृति र मानवीय आयाममा भइरहेका अरू समानान्तर खोज र आविष्कारले विज्ञानसम्मत खोजको दायरा थप फराकिलो बनाउँदै औद्योगिकीकरणको नयाँ जग बसाल्यो ।

मानवीय उपयोग र उपभोगका लागि चाहिने उत्पादन बढाउन ठूल्ठूला कलकारखाना बने । कच्चा पदार्थ ओसारपसारका लागि यातायातका साधन र पूर्वाधार बने । प्राकृतिक तथा खनिज स्रोतको उत्खनन तीव्र भयो । यही प्रविधिका बलमा खानेकुरा र अन्य आवश्यकता पूरा गर्न स्रोतको खोजीमा दक्षिणतरि आँखा लगाउन थाले । यो अभावलाई प्रचुरतासँग साट्ने अचुक हतियार बन्यो । दक्षिण लागेका किसानले प्रकृतिको प्रचुरतासँगै संग्रह होइन गुजाराको बाटो समाते । यसले उत्पादन वृद्धिका लागि उर्वर जमिनको खोजीलाई प्राथमिकतामा राख्यो । बाहिरबाट ल्याएर संग्रह गर्न नपर्ने भएपछि सामान्य प्रविधिकै सहायताले उत्पादन सम्भव थियो । यसरी उत्तर र दक्षिण दुवैले खेती कर्मका लागि क्रमशः प्रविधि र जमिनको विस्तारलाई खानेकुरा जोहो गर्ने मुख्य हतियार बनाउँदा प्रकृति दोहनको बाटो समाते ।

दुवै खेती प्रणालीमा प्रकृति पुनर्भरणको सोचले प्राथमिकता नै पाएन । उत्तरले स्रोतकै खोजीमा भौतिक उपनिवेशको यात्रा तय गर्‍यो । दक्षिण स्रोत दिन र अभावको संस्कृति लिन अभ्यस्त भयो । यसैका सहायताले उत्तरी समाज अभावको जिन्दगी प्रचुरतासँग साट्न मात्र सफल भएन, दक्षिणी समाजको चेतनामै अभाव संस्कृतिको अभियन्त्रण गरेर सदाका लागि यसैमा वशीभूत बनाउन सफल भयो ।

स्रोत नियन्त्रणका लागि आविष्कार र खोज भए । स्रोत खोसाखोसका लागि प्रकृति दोहनको होडबाजी र दुरुपयोग भयो । परिणामतः दुई ठूला युद्ध भए । विश्वयुद्धको अन्त्यले प्रकृति दोहनको भौतिक उपनिवेशको यात्रामा रोक लगायो । यो बाध्यकारी रोकले दुनियाँभरको स्रोतको भरमा निर्माण भएको विरासत भत्किने भय पालेको उपनिवेशी सत्ताले विकासलाई ज्ञान, विज्ञान र प्रविधिलाई योजनाबद्ध विकासको अस्त्र बनाउँदै उपनिवेशी यात्राको विश्व भ्रमण निरन्तर जारी राख्यो । ज्ञान र प्रविधिको बलमा समाजको अभियन्त्रण नै भौतिक उपनिवेशी साम्राज्यको विस्तार गर्ने सबैभन्दा उपयुक्त विकल्प थियो ।

जसरी चिसो र खाद्य अभाव झेल्न यान्त्रिक प्रविधिको विकास भयो, त्यसरी नै टाढैबाट नियन्त्रण गर्न सकिने उपायको खोजी स्वाभाविक थियो । यो प्रविधि विकास नै युद्धमा सबै हारेर पनि जितेका साम्राज्यवादीको सबैभन्दा अचुक र बलियो हतियार बन्यो । यसका लागि आधुनिक शिक्षालाई यसको मुख्य हतियार बनाउनु सहज उपाय थियो । किनकि मानवीय चेतनाको अचुक हतियार बनेको औद्योगिक शिक्षा विकाससँगै फैलिरहेको थियो । आफू अनुकूलको शिक्षा विस्तारले विकासे राम्रो भन्ने भाष्य थप बलियो बनाउँदै लग्यो ।

युद्धपछिको पुनर्निर्माणको सोच यिनै उपायको खोजीको मार्गचित्र थियो । यसका लागि औद्योगिक युगको प्रविधि, शिक्षा, योजना र विकासको भौतिक अवधारणालाई समाजको योजनाबद्ध विकास गर्न उपयोगमा ल्याइयो । यिनको क्रमिक विकासले कालान्तरमा टाढैबाट बाह्य नियन्त्रण गर्ने अचुक हतियारका रूपमा काम गर्‍यो । यसले बाह्य स्रोतमा आधारित औद्योगिकीकरणको जग नै विकासे हुनुको मूल आधार हो भन्ने मान्यता स्थापित गर्न सफल भयो । दोस्रो विश्वयुद्ध अन्त्यसँगै यसका विजेताले मच्चाएको ध्वंसको क्षतिपूर्ति गर्ने र युद्धलाई सर्वकालीन शान्तिमा फर्काउने उद्घोष गरियो । योसँगै भौतिक उपनिवेश कालभरि आफैंले थोपरेको अभावको मनोविज्ञानमा टेकेर ‘अविकसित’ क्षेत्रको उन्नतिका लागि वैज्ञानिक उपलब्धि र औद्योगिक प्रगतिको भरपूर उपयोग गर्ने वाचा गरियो ।

यो अविकसितलाई विकसित बनाउने कुरा उपनिवेश र प्रभुत्वको प्रायोजित व्याख्या थियो । यसरी विकास उनीहरूकै एकाधिकारका रूपमा व्याख्या भयो भने अविकासे भनिने अन्य सबै तिनै विकासेको सिको गरेर मात्र आधुनिक, सभ्य, सुखी र समृद्ध मानिस हुन सक्छन् भन्ने विश्वव्यापी मान्यता स्थापित गर्न सफल भयो । हुन त यो ‘अविकसित’ भन्ने शब्द समाज विकासको सन्दर्भमा यसभन्दा पहिले पनि प्रयोग भएको थियो । गुस्ताभो इस्तिभाका अनुसार १९४२ मा वाइल फ्रेड बेन्सनले पछौटे क्षेत्र र १९४४ मा रोसेन्टाइन रोडानले आर्थिक रूपले पछौटे क्षेत्र र त्यसै वर्ष अर्थुर लुइसले धनी र गरिबबीचको खाडल भनी अविकासको समाजशास्त्रीय सन्दर्भ उठाएका थिए ।

युद्धको उत्सर्ग रहेको समाजले उनीहरूका विचारलाई त्यति महत्त्व दिएन । तर यसको ५ वर्षपछि अमेरिकी राष्ट्रपतिले उठाएको अविकासको प्रसंगले भने यो शब्दलाई समाजको उन्नति र प्रगतिको अर्थमा मात्र सीमित राखेन । यसले प्रचुरतामा बाँचेको समाजलाई असभ्य र अमर्यादित जिन्दगी बिताउने अविकासेको भारी बोकाउँदै विकासे हुनैपर्ने लघुताभास थोपर्न सफल भयो । यसका लागि, पश्चिमी ज्ञानसत्ताको केन्द्र बनेको विश्वविद्यालय र यसले उत्पादन गरेका बौद्धिकहरू उपनिवेशी साम्राज्य फैलाउन कटिबद्ध व्यापारीहरू लामबद्ध भए । उनीहरूले योजना नामको सामाजिक अनियन्त्रणको ढाँचालाई थप उन्नत बनाउँदै फेरिएको अवतारमा विश्व भ्रमणमा निस्किए । उनीहरूको यो यात्रा क्रिस्टोफर कोलम्बसको अगुवाइमा स्पेनिस साम्राज्यले गरेको विश्व यात्राको नयाँ रूप थियो । यो यात्राले स्रोतको आकलन मात्र गरेन, समाज र सामाजिक मनोविज्ञानमा उपनिवेशी विकासे भाष्यको जग बसाल्यो ।

त्यसपछिका दिनमा विकास धेरैका लागि आर्य विचार बन्यो । यो अहिलेसम्म सबैभन्दा धेरै बोलिने र लेखिने शब्दजाल मात्र बनेन, सभ्य–असभ्य, मर्यादित–अमर्यादित मानिस, समुदाय र क्षेत्रबीचको लक्ष्मणरेखा कोर्ने मूल मापदण्ड बन्यो । यसले विकसित र अविकसित, उच्च र नीच, हुने र नहुने, ठूलो र सानो, राम्रो र नराम्रो, धनी र गरिब छुट्याउँदै मानिस, समाज र प्रकृतिबीच मान र अपमानको रेखा कोर्न सिकायो । जसका कारण मानव सभ्यतामा कहिल्यै पुर्न नसकिने विभेदको खाडललाई झनै गहिरो बनाउँदै लग्यो ।

यसले विभेदका रंगलाई अझ गाढा बनाउँदै सामाजिक समूहलाई एकआपसमा विभाजित हुन र निहित स्वार्थका आधारमा पक्षपोषण गर्न उक्सायो । यसले समग्र प्रकृतिको दोहनलाई सत्ताशक्तिको आडमा वैधतामात्र दिएन, यस्तो बिगार नगर्ने अभ्यास, सभ्यता र संस्कृति भएका समुदाय, समाज र क्षेत्रलार्ई अविकसित र पछौटेको संज्ञा दियो । यो दिनदेखि संसारभरका आदिवासी, जनजाति र फरक जीवन पद्धति भएका अन्य लाखौं समुदाय रातारात अविकसित र पाखे हुन पुगे । विकासको यो जोड–घटाउले हजारौं वर्षको प्रकृतिसँगको सहअस्तित्व र पारस्परिक अन्तरसम्बन्धबाट उन्नत भएको विविधतापूर्ण मानव सभ्यता र संस्कृतिलाई ७ दशकमै जगैदेखि हल्लाइदियो ।

अहिले विकसित हुनु भनेको पश्चिमी जीवनशैली जस्ताको तस्तै नक्कल गर्नु हो भन्ने आममान्यता स्थापित भएको छ । यसले अहिलेको उपनिवेश र प्रभुत्वमा आधारित पश्चिमेली मूलतः भौतिक विकासको ढाँचामात्र ठीक र अरू सबै प्रचुरता, विविधता र समताका मूल मर्ममा आधारित समाज, सभ्यता र संस्कृति बेठीक भन्ने परनिर्भर मानसिकताको लघुताभास थोपरेको छ । यस्तो विकासको असर र प्रभाव अहिलेका अविकसित भनिने समाजमा झनै पेचिलो छ । अघिल्लो दिनसम्म गरिबी र अभाव के हो भन्ने सुइँको समेत नपाएका आममानिस बाहिरी सहायताको आसमा आफ्नै समुदायलाई धनी र गरिब, हुने र नहुनेका कित्तामा विभाजित गर्न उद्यत् छन् ।

त्यतिमात्र कहाँ हो र, आफैंलाई अविकसितको प्रमाणपत्र थमाउँदै गरिब र विपन्नताको असली दाबेदार बनाएर हीनताबोधको सिकार भइरहेका छन् । यी सबै कुराले विज्ञानको आडमा प्रकृति र मानिसको दोहन मात्र भएन, प्रकृतिको ऊर्जा चक्र र बहन क्षमता नै प्रभावित हुने क्रम सुरु भयो । अहिले देखिएका माटो र मानिसको स्वास्थ्य जटिलता यसैका परिणाम हुन् । जलवायु परिवर्तन, जैविक विविधताको नाश त सतहमा आएका र देखिएका संकट मात्र हुन् । सबै परिणामको जग युरोपको समाजमा भएको स्रोतको अभावले सिर्जना गरेको विश्व दृष्टिकोणमा अन्तरनिहित छ । यो प्रकृतिको यस्तो प्रतिकूलताको सामना गर्न चाहिने स्रोतको जोहो गर्न गरेको रणनीतिक मार्गचित्र हो । आजको समृद्धि दृष्टिकोण यही विकासे भाष्यको सामाजिक अभियन्त्रण मात्र हो ।

यसले विकसित हुने नाममा खानेकुरा जस्तो आधारभूत उत्पादनमा समेत बेवास्ता गर्दै आयातमा रमाउने दास मानसिकता थोपरेको छ । बाह्य स्रोतमा आधारित वैभवको वर्चस्व कायम गर्न लगाइएको विकास (समृद्धि) रटानले समृद्ध हुने असम्भवप्राय हठप्रति नतमस्तक बनाएको छ । खेती कर्म छाडेर मरुभूमि यात्रामा पाइला घिसार्न बाध्य बनाएको छ ।

यस्तो अभावको विश्व दृष्टिकोण फेरेर प्रचुरताको फराकिलो दृष्टिकोणमा आधारित प्रकृति मानव सम्बन्धको ढाँचा बनाएर मात्र उन्नत भविष्यको यात्रा तय गर्न सम्भव छ । तसर्थ अबको समाजको नेतृत्व औद्योगिक विकासको जगमा भासिएर निरन्तर पलायन हुँदै गएको मानव मात्र केन्द्रित समृद्धिको साँघुरो घेराभन्दा माथि उठेको हुनुपर्नेछ । उन्नतिको ढाँचा प्रचुरताका लागि पुनर्उत्पादन गर्ने प्रकृतिको व्यवहारसम्मत हुनुपर्नेछ । यसको मूल्य मान्यता मानवको मात्र हितमा केन्द्रित साँघुरो घेराबाट हैन मानव संस्कृति, सामाजिक व्यवहार र दिगो प्रकृतिको पुनर्उत्पादनका सन्तुलित मापदण्डबाट निर्धारित हुनुपर्नेछ ।

प्रकाशित : भाद्र २६, २०८१ ०७:५१
×