कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

नारीवादी परराष्ट्र नीतिको सरोकार

जेष्ठ २३, २०८१
नारीवादी परराष्ट्र नीतिको सरोकार

Highlights

  • नारीवादी परराष्ट्र नीतिसँगै नेपालले सामाजिक–राजनीतिक रूपान्तरणका अद्भुत अनुभव विश्वका सबैभन्दा प्रजातान्त्रिक, समृद्ध र समतावादी देशसँग साझा गर्न सक्छ । उनीहरूको शासनशैली र मानव विकासका अनुभवबाट सिक्न अनि नजिकबाट संलग्न हुन नयाँ प्लेटफर्म र नेटवर्क प्राप्त गर्न सक्छ ।

युद्धप्रति मानिसमा वितृष्णा हुँदाहुँदै पनि युद्ध किन हुन्छ ? किन केही निश्चित सामाजिक समूह र लिंगलाई युद्धले असमान रूपमा प्रभावित गर्छ ? युद्धग्रस्त क्षेत्रमा सहायता र सहानुभूतिको असमान वितरण किन छ ? जलवायु परिवर्तन किन सम्पूर्ण मानवता र विशेषतः सीमान्तकृत सामाजिक समूह र लिंगका लागि अस्तित्वकै खतरा हो ? सार्वजनिक स्वास्थ्य किन राष्ट्रिय सुरक्षाको अभिन्न मुद्दा हो ? लोक–विमुख वैदेशिक नीति किन बाह्य र आन्तरिक रूपमा असफल हुन्छ ? नारीवादले यी प्रश्नहरूमा गहिरिएर विचार गर्न र समाधानका फरक र नवीन दृष्टिकोण दिन सक्छ । 

नारीवाद बहुल छ र प्रायः एकै मुद्दामा पनि यसका विविध धारणा हुने गर्छन् । तथापि, विविधताका बीच नारीवादसँग केही साझा चासो र सवालहरू छन् । लामो समयदेखिका नारीवादी सरोकार र विभिन्न अभियानबाट प्रेरित हुँदै नारीवादी परराष्ट्र नीतिले देशभित्र र बाहिर लैंगिक समानताको प्रवर्द्धन र यथोचित कार्यान्वयनतर्फ जोड दिन्छ । अहिलेसम्मको अध्ययनले लैंगिक समानता सुरक्षित, स्थिर, शान्तिपूर्ण, न्यायपूर्ण र समतामूलक समाजका लागि पूर्वसर्तमात्र नभएर महत्त्वपूर्ण आधार हो भन्ने देखाउँछ ।

सेन्टर फर सोसल इन्नोभेसन एन्ड फरेन पोलिसीले ७ मे २०२४ मा ‘नेपालको भविष्य निर्माण : नारीवादी परराष्ट्र नीतिका सम्भावना र रोडम्याप’ शीर्षकमा एक सम्मेलन आयोजना गर्‍यो । यो नारीवादी परराष्ट्र नीतिमा छलफलका लागि एक प्रस्थानबिन्दु थियो । जहाँ नारीवादी परराष्ट्र नीतिको संवैधानिक आधार, स्वदेश र तथा विदेश नीतिहरूमा महिलाको सरोकार, प्रतिनिधित्व र द्वन्द्वपछिको नेपालजस्तो संवेदनशील देशका लागि प्राथमिकता र उपलब्ध मार्गउपर गहिरो मन्थन एवं विवेचना भयो । नेपाली विदेश नीतिको बोली र व्यवहार दुवैमा पुनः कल्पना गर्दा नारीवादी सिद्धान्तहरूसँग मेल खाने विषयमा बढ्दो चासो र समर्थन देख्नु आफैंमा उत्साहजनक थियो ।

यस स्तम्भमा हामीले नारीवादी परराष्ट्र नीति, यसका मुख्य विशेषता, नेपाल जस्ता देशमा यसको सान्दर्भिकता र नारीवादी परराष्ट्र नीतिले नेपालको राष्ट्रिय हितलाई कसरी सम्बोधन र प्रवर्द्धन गर्छ भन्ने कुराको सारांश प्रस्तुत गर्नेछौं । साथै नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न मुद्दाउपर नारीवादी वैदेशिक नीतिको महत्त्वलाई प्रकाश पार्दै सम्भावित चुनौती र नारीवादी परराष्ट्र नीतिले ती समस्यालाई कसरी बुझ्न र समाधान गर्न मद्दत पुर्‍याउँछ भन्नेमा चर्चा हुनेछ । नारीवादी परराष्ट्र नीतिको संक्षिप्त पृष्ठभूमि र रूपरेखा, यसको परम्परागत वैदेशिक नीतिको विशिष्टता र यसबारे नेपालको परराष्ट्र नीतिमा समयसापेक्ष बहस जरुरी भइसकेको छ ।

स्वीडेनले सन् २०१४ मा नारीवादी विदेश नीति अपनाएपछि ‘नारीवादी परराष्ट्र नीति’ शब्दले प्रमुखता पाएको हो । तथापि विश्वव्यापी राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा नारीवादी दृष्टिकोणको विचार झन्डै एक शताब्दी पुरानो हो । सन् १९१५ को हेग सम्मेलनमा महिला शान्ति अभियन्ताहरूले शान्तिपूर्ण, न्यायपूर्ण र समतामूलक संसारको परिकल्पना गर्दै २० वटा प्रस्ताव पारित गरे । विभिन्न संयुक्त राष्ट्र विश्व महिला सम्मेलन भए । जस्तैः १९९५ को बेइजिङ कार्ययोजना र महिला, शान्ति र सुरक्षा एजेन्डाबारे संयुक्त राष्ट्र सुरक्षा परिषद् प्रस्ताव १३२५ लगायतका नारीवादी योगदान नारीवादी परराष्ट्र नीतिका पूर्वाधार हुन् ।

नारीवादी परराष्ट्र नीतिले समसामयिक विश्वव्यापी राजनीतिबारेको मूलधार सोचलाई प्रभावित र सञ्चालन गर्ने लैंगिक संरचना, विज्ञता र अभ्यासहरूको खोज–अन्वेषण तथा उजागर गर्छ । यसले विश्व राजनीतिमा गहिरो जरा गाडेका मूल यथार्थवादी दाबीहरूमाथि प्रश्न गर्छ । पुरुषप्रधान ज्ञान यथार्थवादको मूल स्तम्भ हुनुका साथै समानुभूति, न्यायपूर्ण सहअस्तित्व, हेरचाह र परस्पर सहयोगमा आधारित प्रगतिशील संसारको परिकल्पनाको मुख्य बाधक पनि हो । नारीवादी परराष्ट्र नीतिको बोधार्थ राष्ट्रिय हितको सवाललाई त्याग्ने भन्ने कदापि होइन । बरु, नारीवादी परराष्ट्र नीतिले राष्ट्रिय सुरक्षाको रूपमा सुरक्षाको संकीर्ण र अमूर्त अवधारणाबाट बाहिर आएर राष्ट्रिय सुरक्षालाई बलियो बनाउन सुरक्षाको प्राथमिक सन्दर्भवस्तुको रूपमा मानव/जनता हुनुपर्ने अडान राख्छ । मानव हित यसको मूल मुद्दा हो ।

त्यसैगरी, नारीवादी परराष्ट्र नीतिले लैंगिक–उत्तरदायी नीति अपनाएको छ, जुन अन्तरराष्ट्र तथा परराष्ट्र दुवै परिप्रेक्ष्यमा लागू हुने गर्छ । समावेशिता र स्थानीयतालाई प्राथमिकतामा राख्दै नारीवादी विदेश नीतिले शान्ति, लैंगिक समानता र पर्यावरणीय सन्तुलनमा जोड दिन्छ । अन्तर्राष्ट्रिय तथा परराष्ट्र नीति निर्माण प्रक्रियालाई लोकतन्त्रीकरण गर्छ । सबैको मानवअधिकारको सुनिश्चितता, संरक्षण र प्रवर्द्धन गर्छ । औपनिवेशिक, जातिवादी, पितृसत्तात्मक र पुरुषप्रधान शक्ति संरचनालाई विघटन गर्छ । र, यी प्राथमिकताहरू प्राप्त गर्न खोज–अनुसन्धानको साथै अत्यावश्यक स्रोतलाई एकत्रित गर्छ । अन्तर्विच्छेदन दृष्टिकोण, हेरचाहको नैतिकता, समानुभूतिपूर्ण परस्पर सहयोग केही विषयवस्तु हुन्, जुन नारीवादी विदेश नीति छलफलको दायराभित्र पर्छ ।

यद्यपि नारीवादी परराष्ट्र नीतिको सर्वमान्य परिभाषा, नीति र कार्यक्रमहरूमा एकरूपता वा यसको कार्यान्वयनका लागि सुसंगत ढाँचाको अभाव छ । अझ नीति, कार्यक्रम र जवाफदेहिता संयन्त्रको सन्दर्भमा त विभिन्न राज्यहरूको नारीवादी विदेश नीति फरक–फरक रूपमा मुखरित भएका छन् । फ्रान्स र क्यानडाजस्ता केही देशले महिला र केटीहरूको सशक्तीकरणलाई प्राथमिकता दिन्छन् । जबकि लक्जमबर्ग र नेदरल्यान्ड्सको सवालमा एलजीबीटीआई (लेस्बियन, गे, उभयलिंगी, ट्रान्सजेन्डर, इन्टरसेक्स) परिप्रेक्ष्य समावेश छन् । मेक्सिकोले २०२४ सम्ममा सबै विदेश नीति स्थिति, संकल्प र जनादेशहरूमा रोजगारीको सवालमा पूर्ण लैंगिक समानताको अलावा लैंगिक दृष्टिकोण अँगाल्ने वाचा गरेको छ । स्वीडेनले आफ्नो नारीवादी परराष्ट्र नीतिका बारेमा वार्षिक अद्यावधिक जारी गर्ने गरेको छ । त्यसैगरी, केही नारीवादी परराष्ट्र नीति (जस्तैः मेक्सिको र चिलीमा) आन्तरिक रूपमा केन्द्रित छन्, जबकि अरू (जस्तैः फ्रान्स, क्यानडा, स्वीडेन र नेदरल्यान्ड्स) राष्ट्रहरूको नारीवादी परराष्ट्र नीतिमा अन्तर्राष्ट्रिय सोच हाबी छ भने स्पेनले यी दुईबीच सन्तुलन ल्याउन कोसिस गरेको देखिन्छ ।

नेपालतर्फ फर्किंदा पछिल्लो दुई दशकमा उल्लेखनीय सामाजिक–राजनीतिक परिवर्तन हासिल भएको छ । यसअघि सन् १७६८ मा स्थापना भएदेखि नै नेपालमा विभिन्न प्रकारका शासन प्रणाली प्रयोग भए । विश्वमा भूराजनीति, अर्थतन्त्र, प्रविधि, सामाजिक–सांस्कृतिक मापदण्ड र अभ्यासहरूको सन्दर्भमा मूलभूत परिवर्तन आएको छ । तर, नेपालको परराष्ट्र नीति भने भू–अखण्डता, क्षेत्रीय सन्तुलन र सीमा नियन्त्रणका रूपमा राष्ट्रिय सुरक्षाको पुरातन बुझाइमा अल्झिएको छ ।

समसामयिक नेपालले जलवायु परिवर्तन, भू–अखण्डताभन्दा पृथक् डिजिटल/साइबर स्पेसको खतरा, सम्भावित साम्प्रदायिक द्वन्द्व, खाद्य सुरक्षा, बौद्धिक वर्ग तथा युवा जमातको पलायन, समाजमा असमानता, लोकतान्त्रिक उल्झन तथा क्षयीकरणजस्ता धेरै नयाँ चुनौतीहरूको सामना गरिरहेको छ । सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रतिको चुनौती सर्वकालीन भए तापनि यस्तो चुनौतीलाई अति–राजनीतीकरण र सुरक्षाकरण गर्दा वास्तविक र नयाँ युगका सुरक्षा खतराले हाम्रो दैनिकीलाई प्रत्यक्ष असर परिरहेका छन् । यस सन्दर्भमा, नारीवादी परराष्ट्र नीतिले परिवर्तित विश्वव्यापी, क्षेत्रीय र स्थानीय राजनीतिक यथार्थलाई प्रतिबिम्बित गर्दै हाम्रो विदेश नीतिलाई पुनः परिकल्पना र परिष्कृत गर्ने बलियो सम्भावना प्रदान गर्छ । यसले हामीलाई मानव पुँजीमा लगानी गर्न र सीमान्तकृत लैंगिक र सामाजिक समूहहरूलाई प्राथमिकता दिएर मानव सुरक्षा अभिवृद्धि गर्न प्रेरित गर्छ । तर यो परिकल्पना हठात् र आयातित भने पक्कै होइन ।

नेपाल महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि, महिला, शान्ति र सुरक्षा एजेन्डाजस्ता सबै प्रमुख महासन्धिको पहिले नै पक्ष भइसकेको छ । जसले महिला अधिकारको प्रवर्द्धन गर्ने, लैंगिक समानताप्रति प्रतिबद्धता देखाउने र जीवनका सबै क्षेत्रमा महिला सहभागिता बढाउने लक्ष्य राख्छ । त्यसैगरी, हाम्रो नयाँ संविधानको समावेशी र समतामूलक कल्पना र लोककेन्द्रित प्रगतिशील महत्त्वाकांक्षाले नारीवादी परराष्ट्र नीतिलाई बलियो आधार प्रदान गर्छ ।

नारीवादी परराष्ट्र नीतिसँगै नेपालले सामाजिक–राजनीतिक रूपान्तरणका अद्भुत अनुभव विश्वका सबैभन्दा प्रजातान्त्रिक, समृद्ध र समतावादी देशसँग साझा गर्न सक्छ । उनीहरूको शासनशैली र मानव विकासका अनुभवबाट सिक्न अनि नजिकबाट संलग्न हुन नयाँ प्लेटफर्म र नेटवर्क प्राप्त गर्न सक्छ । यसले नेपालको राष्ट्रिय हितका लागि अहम् सवालहरू लैंगिक समानता, सुशासन, सामाजिक न्याय, जनस्वास्थ्य, मानव विकास र जलवायु परिवर्तन लगायतमा नवीन र समयसापेक्ष नीति निर्माणमा मार्ग प्रशस्त गर्नेछ ।

प्रकाशित : जेष्ठ २३, २०८१ ०८:१०
x
×