कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

सत्ताको चरित्रमा पनि परिवर्तन गर्न राष्ट्रपतिको आग्रह

आश्विन ४, २०८१
सत्ताको चरित्रमा पनि परिवर्तन गर्न राष्ट्रपतिको आग्रह

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्य सत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरेका हुन् ।

‘हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगको अपेक्षा पूरा हुँदैनन्, यसका लागि राज्य सत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ । अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन,’ राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न एकजुट हुन प्रेरणा दिने अपेक्षा गरेका छन् ।

संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेका छन् । संविधानद्वारा प्रत्याभूत गरिएका सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित र सामाजिक सुरक्षाको प्रत्याभूत गर्न आवश्यक रहेको बताएका छन् ।

प्रकाशित : आश्विन ४, २०८१ ०५:४३
×