कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

अंकगणितका आधारमा मात्र संविधान संशोधन गर्दैनौं : प्रधानमन्त्री

आश्विन ४, २०८१
अंकगणितका आधारमा मात्र संविधान संशोधन गर्दैनौं : प्रधानमन्त्री

Highlights

  • 'संविधान संशोधनप्रति निश्चय नै राष्ट्रको चासो छ । म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसद्को गणितीय संख्या मात्र हेर्ने छैनौं'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा संसद्को अंकगणित मात्रै नहेरिने बताएका छन् । उनले संविधानलाई समयानुकूल बनाउन संशोधनको आवश्यकता रहेको बताएका हुन् । संविधान दिवसका अवसरमा बिहीबार सरकारका तर्फबाट सैनिक मञ्च टुँडिखेलमा आयोजित औपचारिक कार्यक्रममा उनले राजनीतिक अस्थिरताको सम्बोधन पनि संविधान संशोधनमार्फत गर्न सकिने बताए ।

संविधान संशोधनमा संसद्को अंकगणित मात्रै नहेरिने बताएका छन् । संसद्भित्रका दुई ठूला दल कांग्रेस र एमाले संविधान संशोधन गर्ने मुख्य सर्तमै गठबन्धन बनाएका छन् । ‘संविधान संशोधनप्रति निश्चय नै राष्ट्रको चासो छ । म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसद्को गणितीय संख्या मात्र हेर्ने छैनौं,’ उनले भने, ‘सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबैको सहमित प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ ।’

प्रधानमन्त्री ओलीले संविधानलाई समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने रहेको बताए । ‘मेरो विचारमा संविधानको संशोधन भनेको लेटर एन्ड स्पिरिटअनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो,’ उनले भने, ‘विद्यमान संविधानका अमिल्दा पक्षलाई संशोधन गर्नु हो । राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन पनि केही हदसम्म हामीले संविधान संशोधनका माध्यमबाट पनि गर्न सक्छौँ ।’ ओलीले राजनीतिक अस्थिरता हटाउन संविधानमा के–के संशोधन गर्न सकिनेबारे भने खुलाएका छैनन् । उनले नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको बताउँदै राजीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता आवश्यक रहेको उल्लेख गरे ।

संविधानले दिएको संघीय लोकतान्त्रिक गणतन्त्र राज्य व्यवस्थाबाट देश पछाडि फर्किन नसक्नेसमेत बताए । ‘यो कुनै वंशको निरकुंश शासनको निरन्तरता होइन, जनताले आफ्नो शासन आफैंले छान्ने विधिद्वारा परिचालित प्रगतिशील प्रणाली हो । अब यो पछाडि फर्किंदैन,’ उनले भने, ‘यो अन्यायी राज्यव्यवस्था अन्त्य गरी हामी जनता आफैंले सिर्जना गरेको नयाँ राजनीतिक व्यवस्था हो । यस व्यवस्थालाई बलियो बनाउनु र यसको पक्षमा उभिनु हामी सबैको परम कर्तव्य र दायित्व हो ।’

युवा पुस्तातर्फ संकेत गर्दै उनले समाजलाई हुलमुल गराउन खोज्नेहरूबाट देशलाई जोगाउन पनि आग्रह गरे । ‘तपाईंहरूमा केही गरौं भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनुहोला । समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौं, गर्छौं,’ उनले भने ‘तर, याद गरौं । देश भाँडियो भने अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौं ।’

प्रकाशित : आश्विन ४, २०८१ ०५:४६
×