कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

संविधानको मर्मविपरीत ‘जनयुद्ध’लाई अपमानित गर्ने छुट कसैलाई छैन : सांसद बस्नेत

भाद्र ३१, २०८१
संविधानको मर्मविपरीत ‘जनयुद्ध’लाई अपमानित गर्ने छुट कसैलाई छैन : सांसद बस्नेत

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले आफ्नो पार्टीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई अपमान गरिएको र यो विगतमा भएका सहमति सम्झौता तथा संविधानको मूल मर्मविपरीत रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै धारणा राख्दै उनले विगतको सहमति तथा सम्झौता विपरीत सांसदहरुले शब्द प्रयोग गरेको बताए । ‘जनयुद्ध’ले उठाएको एजेण्डाका आधारमा मुलुक आजको दिनमा आइपुगेको स्पष्ट पार्दै उनले गलत भाष्य स्थापित नगर्न ध्यानकर्षण गराए ।

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका बस्नेतले अरुण तेस्रो जलविद्युत् आयोजनालाई समयमा बन्न दिइएको भए लोडसेडिङ २०६५ सालमै अन्त्य हुने उल्लेख गरे । उनले भने, 'सो आयोजना कस्ले किन बन्न दिएन ? कस्को कारण रोकियो ?'

उनले सत्तारुढ दलका तर्फबाट सदनमा व्यक्त भएको धारणाप्रति स्पष्ट पार्नसमेत अनुरोध गरे । माओवादी केन्द्रका उपमहाससचिव समेत रहेका नेता बस्नेतले इतिहासमा सीमित भएको संविधानसभालाई जनयुद्धले नै स्थापित गरेको बताए । क्रान्तिलाई हिंसाका रुपमा मात्रै लिने हो भने २००७ सालको संघर्षलाई के भन्ने ? २०२८ सालको झापा विद्रोहलाई के भन्ने ? भन्दै उनले प्रश्न गरे ।

उनले सांसदहरुबाट व्यक्त भएको धारणाप्रति आफ्नो दलको तर्फबाट आपत्ति, विरोध कायम नै रहेको सांसद बस्नेतको भनाइ छ । उनले केही महत्त्वपूर्ण विधेयक अगाडि बढाउनुपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्न लागेको सन्दर्भलाई जोड्दै सदनलाई सञ्चालन गर्न दिने निर्णय गरिएको स्पष्ट पारे ।

सांसद देवेन्द्र पौडेलले केही दिन पहिले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्षलगायत तीन जनाको निधन भएको जानकारी दिँदै त्यस्ता दुर्घटना कम गर्न लागि सरकारको ध्यानकर्षण गराए । उनले सडक दुर्घटनालगायतका अन्य विपदमा परेका नागरिकलाई तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरे । सांसद माधव सापकोटाले केही दिन पहिले सिन्धुपाल्चोकमा बलेरो गाडी दुर्घटनामा परी बेपत्ता हुनुभएका सोनु शेर्पाको खोजीलाई तीव्र पार्न आग्रह गरे ।

सांसद सुशीला थिङले सिन्धुलीको पहिचानको रुपमा स्थापित जुनार खेतीमा कीराको प्रकोप बढेका कारण किसान प्रभावित भएकाले तत्काल नियन्त्रण गर्न र प्राविधिक खटाउन आग्रह गरिन् । किसान चिन्तित र आतंकित भएको जानकारी दिँदै उनले एक प्रकारको पुतली नियन्त्रण गर्न, पीडित किसानलाई राहत दिन माग गरिन् ।

सांसद सूर्यप्रसाद ढकालले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विपरीत गएर जनप्रतिनिधिले आफ्ना धारणा राख्न नहुने उल्लेख गरे । उनले एक सांसदले एक टेलिभिजन कार्यक्रममा कालापानी र लिम्पियाधुराको सन्दर्भमा दिएको धारणाप्रति आपत्ति प्रकट गरे ।

अशोककुमार चौधरीले सुनसरीको एक उद्योगले बिना प्रशोधन फोहर पानी स्थानीय बूढीखोलामा फालिँदा जनजीवन प्रभावित भएकाले तत्काल नियन्त्रण गर्न माग गरे । उनले बेरोजगार युवालाई गलत प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पुर्‍याएर ठगी गरेको भन्दै सम्बन्धित म्यानपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

सांसद ज्ञानबहादुर शाहीले जुम्लाको स्याल बिक्री वितरण हुन नसकेको उल्लेख गर्दै विदेशी स्याउ बिना अवरोध व्यापार व्यवसाय भइरहेकामा सरकारको ध्यानाकर्षण गराए । उनले नेपाली नागरिकको स्वास्थ्य प्रभावित भइरहेको भन्दै त्यसमा ध्यान दिन आग्रह गरे । सांसद डा धवलशमशेर जबराले शिख समुदायको धर्मअनुसार कपाल तथा दाह्री राख्ने प्रबन्धअनुसार सुरक्षा निकायमा भर्तीका लागि आवश्यक व्यवस्था गर्न आग्रह गरे ।

सांसद तारा लामा तामाङले अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा जनधनको क्षति भएका जानकारी दिँदै प्रभावित नागरिकलाई उचित क्षतिपूर्ति र राहतको प्रबन्ध गर्न माग गरिन् । बाढीपहिरोले कञ्चनपुरको हुलाकी सडक प्रभावित बनाएको, हजारौँ बिघामा लगाइएको धानखेती बगरमा परिणत भएको भन्दै राहतको प्रबन्ध गर्नुपर्नेमा जोड दिइन् ।

सांसद लालवीर चौधरीले कर्णाली नदीका कारण बर्दियाका विभिन्न स्थानमा कटान गरिरहेको जानकारी दिँदै जनधनको सुरक्षाका लागि आवश्यक बजेटको प्रबन्ध गर्न माग गरे । सांसद राजेन्द्र बजगाइँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतका कारण उडान अवतरणमा रोक लगाइएका कारण स्वदेश फर्कन खोज्ने नागरिकले महँगो भाडा तिर्नुपरेकामा गुनासो गरे ।

सांसद हर्कमाया विश्वकर्माले झापाको बिर्तामोडमा शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गर्न माग गरिन् । उनले झापामा जातीय विभेद्को घटनामा वृद्धि भएको भन्दै दोषी उपर कारबाहीको माग गरिन् ।

सांसद रञ्जुकुमारी झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार भएको पाइएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् ।

सांसद प्रकाश अधिकारीले तराई–मधेशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको जानकारी दिँदै यही भदौ २८ गते सिरहाको गोलबजारमा एक पत्रकारको घरमा आक्रमण भएको र स्थानीय प्रशासनले ध्यान नदिएको गुनासो गरे ।

सांसद गङ्गाराम चौधरीले पछिल्ला दिनमा भएको अविरल वर्षाका कारण कैलाली र कञ्चनपुर जिल्लामा जनधन प्रभावित भएकाले पीडितलाई उचित राहतको प्रबन्ध गर्न माग गरे ।

सांसद कृष्णकुमार श्रेष्ठले बाराको गढीमाइमा आगामी मंसिरमा लाग्ने मेलाको उचित व्यवस्थापन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सो मेला सञ्चालनमा आउने समय आएपछि अनावश्यक प्रचार भएकामा आपत्ति जनाए ।

सांसद वासुदेव घिमिरेले फोहरमैलाको उचित प्रबन्ध गरी स्वच्छ र मर्यादत व्यवस्थापन गर्न माग गरे । फोहर व्यवस्थापनका लागि आवश्यक जग्गाको प्रबन्ध गर्नुपर्नेमा जोड दिए । सांसद डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा जनताको अपेक्षा विपरीतको गतिविधि भएको र नेपाली जनतालाई विश्वस्त बनाउन नसकिएको बताए । सहकारी प्रकरणमा सत्तापक्षका सांसद नै जोडिएको उनले आरोप लगाए ।

सांसद प्रेम सुवालले राजनीति देश र जनताको सेवा गर्ने महत्त्वपूर्ण काम रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीले राख्नुपर्ने केही विषयवस्तुमाथि सुझाव दिए । सांसद रामहरि खतिवडाले बाढीपहिरोका कारण देशभरका सडक समस्यामा परेको, पहिरो आएको तथा खाल्डाखुल्डी परेको उल्लेख गर्दै तत्काल मर्मत सम्भार गर्न माग गरे ।

प्रकाशित : भाद्र ३१, २०८१ १५:११
x
×