कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

सहकारी रकम दुरुपयोगमा लामिछानेको संलग्नता रहेको पुष्टि : डा. महत

भाद्र ३१, २०८१
सहकारी रकम दुरुपयोगमा लामिछानेको संलग्नता रहेको पुष्टि : डा. महत

काठमाडौँ — कांग्रेस पार्टीका प्रवक्ता तथा सांसद डा.प्रकाशशरण महतले गोरखा मिडिया नेटवर्क प्रालि सम्पूर्ण रूपमा सहकारीको रकमबाटै सञ्चालित रहेको पुष्टि भएकाले त्यस मिडियामा संलग्न सञ्चालकहरू सहकारी रकम हिनामिनाका दोषी रहेको बताएका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीहरूबाटै लिएको भनेकाले त्यसले नै मिडियाका सञ्चालकहरू दोषी देखाएको उनले बताए । समिति सभापति सूर्य थापाले सोमबार प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गरेका छन् ।

संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले गोरखा मिडियाले सहकारीबाट मात्रै रकम लिएको र अन्य कहीँ कतैबाट रकम लिएको नदेखिएको प्रतिवेदनले भनेको उल्लेख गरे । ‘प्रतिवेदन सम्पूर्ण रूपमा पढ्न त पाइएको छैन । तर, समिति सभापति सूर्य थापाले प्रतिवेदन बुझाउँदा पढेको केही अंशले नै गोरखा मिडिया सहकारीकै रकमबाट चलेको देखिएको छ,’ उनले भने, ‘त्यही मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने बस्नु भएको थियो । सदस्य बाहेकले सहकारीबाट पैसा लिनै पाउँदैन । गोरखा मिडिया सहकारीको सदस्य पनि होइन । लिनै नहुने, लिनै नमिल्ने पैसा लिएर उहाँले मिडिया चलाउनु भएको रहेछ । ८५ करोड रुपैयाँ कहाँ कहाँ पुग्यो ? तैपनि, हामी त दोषी हुँदै होइनौं भनेर निर्धक्कतापूर्वक घोषणा गर्दै हुनुहुन्छ । त्यसभन्दा गैरजिम्मेवार कुरा के हुन सक्छ ?’

लामिछाने उक्त कम्पनीको जिम्मेवार तहमा रहँदा पनि सहकारीबाट पैसा आएको देखिएको उनले बताए । ‘प्रबन्ध निर्देशक भएपछि कसरी स्रोत साधन जुटाउने, कसरी खर्च गर्ने जिम्मा उहाँकै हो नि,’ उनले भने, ‘सम्पूर्ण खर्च गर्ने, तलब भत्ता खुवाउने, खाने । अनि त्यो त थाहै थिएन भन्न मिल्छ त ?’

तत्कालीन गृहमन्त्री लामिछाने सहकारी रकम दुरुपयोगमा मुछिएपछि कांग्रेसले लगातार संसदीय समितिको माग उठाएर प्रतिनिधिसभा बैठक स्थगित गरेको थियो । बजेट ल्याउन पनि मुस्किल भएपछि सरकार संसदीय समिति गठनका लागि तयार भएको थियो ।

प्रकाशित : भाद्र ३१, २०८१ १९:१८
x
×