कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

भ्रष्टाचार न्युनिकरणका लागि अझ सशक्त रुपमा अघि बढ्नुपर्छ : राष्ट्रपति पौडेल

भाद्र ३०, २०८१
भ्रष्टाचार न्युनिकरणका लागि अझ सशक्त रुपमा अघि बढ्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धानसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य महत्त्वपूर्ण रहेको बताएका छन् ।

आईतबार शीतल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।

आयोगको संस्थागत क्षमता विकास र कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम, कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अति आवश्यक रहेको उनले उल्लेख गरे ।

‘सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान सम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्वपूर्ण हुन्छ । यसका लागि आयोगको संस्थागत क्षमता विकास र कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम, कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अति आवश्यक छ । आयोगले प्रतिवेदनमा उल्लेख गरेका र माननीय प्रमुख आयुक्तले उल्लेख गर्नुभएको भ्रष्टाचार नियन्त्रण सम्बन्धी काम, कारबाहीहरु प्रशंसनीय छन् । अब यसलाई अझ सशक्त रुपमा लैजानुपर्ने देखिन्छ । आयोगलाई आगामी दिनहरुमा नेपालको संविधान तथा प्रचलित कानून बमोजिमको जिम्मेवारी पूरा गर्न ससफलता मिलोस् भन्ने शुभकामना दिन्छु । प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयहरुलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्नेछ भन्ने मेरो विश्वास छ ।’

आयोगले प्रतिवेदनमा उल्लेख गरेका भ्रष्टाचार नियन्त्रणसम्बन्धी काम, कारबाहीहरु प्रशंसनीय रहेको पनि बताए ।

उनले अब यसलाई अझ सशक्त रुपमा लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गरे । आयोगलाई आगामी दिनहरुमा नेपालको संविधान तथा प्रचलित कानुन बमोजिमको जिम्मेवारी पूरा गर्न ससफलता मिलोस् भन्ने शुभकामना समेत दिए ।

राष्ट्रपति पौडेलले प्रतिवेदनमा उठाइएका महत्त्वपूर्ण विषयहरुलाई सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।



प्रकाशित : भाद्र ३०, २०८१ १३:४९
×