कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

माओवादी सरकार बनाउने र भत्काउने खेलमा लाग्दैन : दाहाल

भाद्र ३०, २०८१
माओवादी सरकार बनाउने र भत्काउने खेलमा लाग्दैन : दाहाल

झापा — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने बताएका छन् । माओवादी केन्द्र झापाले आइतबार बिर्तामोडमा गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताए ।

'नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ । सत्ताको खेलमा लाग्दैन,' अध्यक्ष दाहालले भने । उनले नेकपा (एमाले) र नेपाली कांग्रेससहितको सरकार अगाडि बढ्ने र फेरि आफूहरूसँग मिल्न नआइदिए हुन्थ्यो भन्ने लागेको धारणा राखे ।

उनले गलत विचार र प्रवृत्तिविरुद्ध झापाबाटै पुनः विद्रोह सुरु हुन सक्ने चेतावनी दिए। २०२८ सालको 'झापा बिद्रोह' को स्मरण गरेका दाहालले त्यही आन्दोलनबाट उठेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उनकै गृह जिल्लामा कडा शब्द बाँण प्रहार गरे । उनले भने,'ओलीलाई सुधार्न धेरै कोसिस गरियो । तर सम्भव भएन ।'

उनले एमाले नेतृत्वलाई सुधार्न निकै कोसिस गरेको, मिलेर चुनाव लड्ने प्रस्ताव समेत राखेको बताए । 'पार्टी एकता पनि भयो । तर, ओलीजी संविधान मिचेर दलालसँग मिलेर पार्टीभित्रै अन्तर्घात गर्नेतर्फ अग्रसर हुनुभयो । पछिल्लो पटक वामपन्थी एकताले जनमत बढ्नुका साथै जनचाहना समेत सम्बोधन हुने अवस्था थियो । तर अहिले पनि एक्कासी उहाँले नै घात गर्नुभयो,' उनले भने ।

कार्यक्रममा पुराना कम्युनिष्ट नेता झापा बिर्तामोडका लोकबन्धु कन्दङवासहित विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका जनाइएको छ । कन्दङ्वा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुन् । कार्यक्रममा पार्टी अध्यक्ष दाहालसहित उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित : भाद्र ३०, २०८१ १९:१७
×