कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सहकारी छानबिनको माग गर्ने कांग्रेसले आफ्नै उपसभापति गुरूङमाथि के गर्ला ?

भाद्र ३०, २०८१
सहकारी छानबिनको माग गर्ने कांग्रेसले आफ्नै उपसभापति गुरूङमाथि के गर्ला ?

काठमाडौँ — सहकारीको बचत अपचलन तथा ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको चर्को माग राखेको कांग्रेसले आफ्नै पार्टी उपसभापति धनराज गुरुङमाथि भने के गर्ला ? यस विषयमा कांग्रेसले औपचारिक धारणा बनाएको छैन ।

तर, कांग्रेस महामन्त्री गगन थापाले केही दिनअघि सार्वजनिक मञ्चबाटै छानबिनको माग उठाएका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा दल र अनुहार नहेरिने प्रतिक्रिया दिएका छन् ।

प्रतिपक्षमा रहेका बेलामा सहकारीको बचत अपचलन र हिनामिनामा चर्को आवाज उठाउने मध्येकै नेता रमेश लेखक नै अहिले गृहमन्त्री छन् । उनकै मातहतमा रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले गुरुङ जोडिएको ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलन र ठगी सम्बन्धमा सुरु गरिसकेको छ ।

महामन्त्री शर्माले सीआईबीले थालेको छानबिनको स्वागत गरे । ‘अरु पार्टीको नेतामाथि आरोप लाग्दा छानबिन हुनुपर्छ भनेका थियौं भने आफ्नो पार्टीको नेतामाथि आरोप लाग्दा छानबिन हुन पर्दैन भनेर कसैले सोचेको छ भने त्यो गलत हो,’ शर्माले कान्तिपुरसँग भने,‘हामी आरोपलाई हेर्छौं, अनुहारलाई हेर्दैनौं । दोषलाई हेर्छौं, दललाई हेर्दैनौं ।'

सार्वजनिक भएका विभिन्न तथ्य र प्रमाणहरुले सहकारीको रकम अपचलन र ठगीबाट जोगिनकै लागि गुरुङले श्रीमती ज्योतिसँग कागजी ‘डिभोर्स’ मात्रै गरेका हुन् वा उनले दाबी गरेजस्तै यसैका कारण सम्बन्ध बिग्रेर डिभोर्स गरेका हुन् भन्ने मूल प्रश्न उठेको छ । यो प्रश्नसहित बाहिर आएका जतिपनि विषयहरु छन् सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग कांग्रेसको छ ।

सहकारीका संस्थाका सञ्चालकबाटै उजुरी परेपछि कांग्रेस उपसभापति गुरुङ यस प्रकरणमा तानिएका हुन् । सीआईबीले आफूसहित पूर्वपत्नी ज्योति गुरुङ र सञ्चालक तथा कर्मचारीहरुविरुद्ध अनुसन्धान अघि बढाएकोमा स्वयं उनले समेत स्वागत गरेका छन् ।

‘म माथि लागेको आरोप चाडै प्रष्ट होस भनेरै संसद बैठकमा छानबिनको माग गरेको हुँ, सीआईबीले अनुसन्धान थालेको भनेर तपाईंकै पत्रिकामा समाचार आएको छ । निष्पक्ष छानबिन गरेर जस्ताको तस्तै ल्याईदेओस् भन्नेनै मेरो कामना छ’ उनले भने ।

यता तीन महिनाअघि सांसद सूर्य थापाको सभापतित्वमा गठन भएको संसदीय छानबिन विशेष समितिले बिहीबार यसको स्थलत अध्ययन समेत गरेको थियो । समितिका सभापति थापा र अन्य सदस्यहरुले संस्थाका अध्यक्ष कुम्भराजसंँग स्थलगत सोधपुछ गरेका थिए । उनले समितिका सभापति तथा सदस्यहरुको प्रश्नको जवाफमा धनराज गुरुङले वास्तविक नभएर सहकारीको रकम हिनामिनबाट जोगिनकै लागि ‘कागजी’ डिभोर्स गरेको कुरा बताएको एक सदस्यले बताए ।

‘संकटग्रस्त अवस्थामा रहेका सहकारीको अध्ययन गर्दा यस्ता डिभोर्स १० वटा जति भएका रहेछन् । त्यसमा धनराजजीले गरेको ‘डिभोर्स’ जोडिन आइपुगेको छ’ ती सदस्यले भने,‘सहकारीको अपचलन र ठगीबाट बच्नकै लागि डिभोर्स भएको हो कि, वास्तविक हो भन्नेबारेमा थप अनुसन्धान गर्नुपर्ने देखिन्छ । सिआईबीबाट यसको बास्तविक छ छानबिन होस् भनेर गृहमन्त्रीलाई भनेका छौं ।’

गुरुङले ०७६ फागुन २९ मा ज्योतिसँग सम्बन्ध बिच्छेद गरेका छन् । सम्बन्धविच्छेद गरेपछि ०७७ फागुन ३ मा ज्योतिलाई श्रीमतीकै हैसियतमा हकवाला राखेको १२ लाख रुपैयाँ ऋण लिएको तमसुक सार्वजनिक भएपछि ज्योतिसँगको सम्बन्धबिच्छेदलाई लिएर प्रश्न उठेको हो ।

सम्बन्धबिच्छेद हुनु अगाडि घर बनाउने प्रयोजनका लागि करिब १ करोड ८० लाख रुपैयाँ सोही सहकारीबाट गुरुङले ऋण लिएका थिए । उक्त ऋण भुक्तानी नहुँदै गुरुङले ०७७ फागुनमा थप १२ लाख ऋण लिएको कुरा स्वीकारेका छन् । त्यसो भए किन श्रीमती ज्योति गुरुङ भनेर हकवाला राख्नु भयो भन्ने प्रश्नमा गुरुङले भने,‘मैले छोरालाई अष्ट्रेलियामा पढाउन पठाउँदा पैसा नभएर ऋण लिएको हो । त्यतिबेला कर्मचारीहरुलाई श्रीमतिसँग डिभोर्स गरिसकेको छु, ज्योतिको नाम नलेख्नु भनेर आफूले सहीछाप गरेर निस्केको हो । तर, पछि ज्योतिको नाम श्रीमतिकै रुपमा राखेर कर्मचारीले बदमासी गरिदिएछन’ गुरुङले भने,‘यसमाथि पनि छानबिन गरियोस् भन्ने मेरो माग छ ।’

ज्योतिसँग सम्बन्धबिच्छेद हुनुअघि लिएको १ करोड ८० लाख रुपैयाँको ऋण ०८१ वैशाखमा भुक्तानी गरिसकेको गुरुङले बताएका छन् । सम्बन्धबिच्छेद नै गरेको हो भने चार महिना अघि मात्रै उक्त ऋणको साँवा व्याज तिर्दा उनले ज्योतिको दायित्व समेत किन तिरे भन्ने अर्को प्रश्न पनि उठेको छ । यसबारेमा गुरुङले सम्बन्धबिच्छेद भइसकेपछि ऋणपनि छुट्टाईदिनुपर्छ भनेर धेरैचोटी आग्रह गर्दा सहकारीका सञ्चालकहरुले नमानेको दाबी गरे । ‘सम्बन्धबिच्छेद भएपछि ऋणको दायित्व पनि अलग–अलग पारिदिनिुपर्छ भनेर धेरै चोटी आग्रह गरे ।

सहकारीका सञ्चालकहरुले जमानी बसेर सयुक्त ऋण लिएकाले छुट्टाउन मिल्दैन भने । त्यसपछि मैले तिर्दै गए । तर, जति तिरेपनि ऋण घटेन, व्याजेले बढेको बढ्यै गर्‍यो । ब्याजमाथि ब्याज थपिँदै गयो । अनि ०८१ को वैशाखतिर हुनुपर्छ सहकारीले हिसाब मिलान गरेर राखेको ९१ लाख २६ हजार १४ रुपैयाँ एकैचोटी भुक्तानी गरेको हो ।’ उक्त रकम तिर्दा गुरुङ कानून, न्याय तथा संसदीय मामिलामन्त्री थिए । ज्योतिसँगको सम्बन्धबिच्छेदपछि सहकारीबाट ऋण लिएर बनाएको घर बिक्री गरेको र त्यहि रकमबाट सहकारीको ऋण तिरेको गुरुङले बताए ।

मितेरी सहकारी ब्रिटिस र भारतीय सेनाबाट अवकाश पाएका लाहुरेहरूको पहलमा खोलिएको हो । उक्त सहकारीमा नेता गुरुङकी पत्नी ज्योति २०५७ जेठ १२ मा सहायक स्तरको कर्मचारीबाट प्रवेश गरेकी थिइन् । त्यसको २ महिनापछि साउन २५ मा ज्योति सहकारीको लेखापाल, २०७० वैशाख ४ मा वरिष्ठ लेखापाल र २०७५ वैशाख ४ मा महाप्रबन्धक बनेकी थिइन् ।

महाप्रबन्धक बनेपछि उनले ज्योतिबहादुर भण्डारीलाई सहकारीको रकम मिटरब्याजमा लगाएको पनि खुलेको छ । आफू महाप्रबन्धक भएपछि भण्डारीलाई उनले पटक–पटक सहकारीको रकम मिटरब्याजमा लगाएकी थिइन । सुरुमा ज्योति गुरुङले सहकारीबाट ३० लाख रुपैयाा झिकेर ज्योति भण्डारीलाई एक साताका लागि सापटी दिएकोमा भण्डारीले ५ लाख थपेर फिर्ता गरेका थिए ।

दोस्रो चरणमा ४० लाख दिएकोमा त्यसको अर्को साता १० लाख थपेर भण्डारीले रकम फिर्ता गरेको पनि खुलेको छ । एक पटक ५० लाख दिएकोमा ६० लाख फिर्ता भयो । यसरी हप्तैपिच्छे मिटरब्याजमा सहकारीको रकम लगाउादा आकर्षक पैसा आउन थालेपछि यो क्रम बढ्दै गएर उनले भण्डारीलाई करिब साढे ३ करोड रुपैयाा मिटरब्याजमा लगाएकी थिइन् ।

कांग्रेस महामन्त्री शर्माले सीआइबीले आरोपमाथि निष्पक्ष छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए । ‘एउटा नयाँ पार्टीको अध्यक्षमाथि ठगीको आरोप लाग्यो, छानबिन गर्न पाईंदैन भन्नुभयो, । तर, कांग्रेसको उपसभापतिमाथि आरोप लाग्यो, संसदबाटै ममाथि छानबिन होस् भनेर माग गर्नुभयो’ शर्माले भने,‘तथ्य के हो सार्वजनिक हुनुपर्छ । निर्दोष ठहरिन्छन् भने रविलाई पनि फूलमाला लगाईन्छ, दोषी ठहरिन्छन् भने धनराज गुरुङ पनि जेल जाउन् ।’

पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माले पनि गुरुङमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् । ‘कुनै पनि आरोपको जिम्मेवारी व्यक्ति आफैं हुने हो । कांग्रेसको प्रष्ट दृष्टिकोण पार्टीका कुनैपनि नेतामाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्छ, सत्यतथ्य आउनुपर्छ भन्नेनै हो’ उनले थपे,‘अनुसन्धानको प्रकृयामा उपसभापतिले सहयोग गर्न तयार छु भन्नुभएको छ । आफैंले अनुसन्धानको माग गर्नुभएको छ । जहाँसम्म पदीय जिम्मेवारीबाट अलग हुने नहुने भन्ने प्रश्न छ, भर्खरै अन्सुन्धान अघि बढिरहेका बेला यस विषयमा बोल्न बोल्न अहिल्यै हतारो हुन्छ ।’

प्रकाशित : भाद्र ३०, २०८१ १३:२२
×