कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

एमालेको वार्षिक कार्ययोजना पारित : ४० वर्ष मुनिका युवाको राष्ट्रिय समिट गर्ने

भाद्र २८, २०८१
एमालेको वार्षिक कार्ययोजना पारित : ४० वर्ष मुनिका युवाको राष्ट्रिय समिट गर्ने

काठमाडौँ — एमालेले पार्टीलाई युवामा स्थापित गर्ने भन्दै ४० वर्ष मुनिका युवा सहभागी भएको राष्ट्रिय समिट गर्ने भएको छ । एमालेले वार्षिक कार्ययोजना पारित गर्दै युवालाई देश निर्माणमा जोड्ने उद्देश्यका साथ राष्ट्रिय समिट गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

‘युवाको भूमिकालाई राष्ट्र निर्माणमा केन्द्रित गर्ने उद्देश्यले ४० वर्ष मुनिका युवाको युथ समिट गर्ने कार्ययोजनामा छ,’ उनले सचिवालय बैठकपछि भने, ‘यसले एमालेलाई युवामाझ जोड्ने छ ।’

उनले सचिवालय बैठकले वार्षिक कार्ययोजना पारित गरेको जानकारी दिँदै १८ विषय समेटेर पार्टी सदस्यता विस्तार, अभिलेखीकरण, संगठनका नियमित अधिवेशन गर्ने, जिल्ला कमिटी बैठक कात्तिकभित्र सक्नेलगायत कार्ययोजनामा उल्लेख छ ।

एमालेले पार्टी प्रवेश गरेको नेतालाई गृहकार्य गरी जिम्मेवारी दिने भएको छ । ‘कार्ययोजनमा पार्टी कमिटीमा देखिएको अन्तरविरोध व्यवस्थापन, पार्टी स्कुल अभियानका रुपमा चलाउने, प्रत्येक वर्ष पार्टीका सदस्य स्कुलमा सहभागी हुने कार्ययोजनमा छ,’ महासचव पोखरेलले भने ।

सचिवालय बैठकले सरकार र जनप्रतिनिधिको काम प्रभावकारी बनाउने कार्ययोजनामा समेटेको छ । ‘जनप्रतिनिधिको भूमिकालाई अझै प्रभाकारी बनाउने गरी काम हुनेछ,’ उनले भने ।

त्यस्तै एमालेले केन्द्रदेखि वडासम्म व्यवस्थापन कार्यालयहरुलाई प्रभावकारी व्यवस्थापन गर्न जोड दिएको छ । हरेक पार्टी कमिटीलाई सोसल मिडियामा जोड्ने उल्लेख गर्दै सबै कमिटीले आफ्ना गतिविधि सर्वसाधारणसमक्ष पुर्‍याउने निर्णय पनि गरेको छ । सचिवालयले पारित गरेको कार्ययोजनमा हरेक कमिटीले वार्षिक बजेट बनाई खर्च र स्रोत व्यवस्थापना गर्ने उल्लेख छ ।

पार्टीका नेता तथा कार्यकर्तामा देखिएको अराजकता, सांस्कृतिक विचलनलाई नियन्त्रण गर्ने सुदृढीकरण गर्ने कार्ययोजनामा रहेको छ । ‘पार्टी सुदृढीकरण जीवनशैली, आर्थिक अनुशासन, चारित्रिक विचलनलाई नियन्त्रण गर्ने गरी कार्ययोजना छ,’ महासचिव पोखरेलेको भनाइ छ ।

आगामी निर्वाचनमा एकल बहुमत ल्याउने भन्दै सुरु गरेको ‘मिसन ०८४’ लाई सफल बनाउने वार्षिक कार्ययोजनमा भनिएको छ ।

प्रकाशित : भाद्र २८, २०८१ १९:००
×