कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

नेपाल भ्रमणमा आएका नर्वेका सांसदसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल 

भाद्र २७, २०८१
नेपाल भ्रमणमा आएका नर्वेका सांसदसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल 

काठमाडौँ — नर्वेका सांसदहरूको एक टोली नेपालमा भ्रमणमा आएको छ । नर्वेका पूर्वविदेशमन्त्री तथा रक्षामन्त्री समेत रहेकी सांसद इने म्यारी एरिक्सन सोरेइडको नेतृत्वमा १४ सदस्यीय टोली भ्रमणमा आएको हो । उक्त टोलीलाई बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले स्वागत गर्दै पाहुना सांसदहरूसँग छलफल समेत गरेको छ । 

समितिका सभापति राजकिशोर यादवले दुई देशका संसदीय समितिबीच पहिलोपटक छलफल भएको बताए । उनले संसदीय कूटनीतिका रुपमा भ्रमण र भेटभाट भएको उल्लेख गरे । बैठकमा दुवै संसदीय टोलीका सदस्यहरुले नेपाल र नर्वेबीचको मैत्रीपूर्ण र सुमधुर सम्बन्ध तथा सहकार्यबारे चर्चा गरेका थिए ।

बैठकमा संसदीय शासन प्रणालीको सञ्चालन, लोकतान्त्रिक प्रक्रिया तथा साझा विश्वव्यापी एजेन्डाका लागि सहकार्य गर्नेबारे छलफल भएको थियो । लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका साझा मूल्यमान्यतामा मिलेर काम गर्ने प्रतिबद्धता दुवै देशका सांसदहरुले जनाएका छन् । यस्तै, जलवायु परिवर्तनका प्रभावहरुको न्यूनीकरण र दिगो विकास लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्य गर्ने सहमति नेपाल र नर्वेबीच भएको छ ।

नर्वेका संसदीय मन्त्रीले शान्ति स्थापनामा नेपालको योगदानको प्रशंसा गरेका थिए । यस्तै, नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न नर्वे इच्छुक रहेको उनको भनाइ थियो । आगामी दिनमा दुई संसदबीच संसदीय अभ्यासका सिकाइ र अनुभव साटासाट गर्नेबारे सैद्धान्तिक सहमति पनि त्यस अवसरमा भयो ।

त्यस क्रममा सभापति यादवले नेपालको संघीय संसदको गठन प्रक्रिया, संख्या तथा संसदीय समितिहरुको काम र क्षेत्राधिकारबारे भ्रमण टोलीलाई जानकारी दिएका थिए । उनले नेपालको संसद्‌मा जनताका आवाजले ठाउँ पाउनुका साथै त्यहाँ उठेका सवालहरुको सम्बोधन गर्ने गरिएको बताए ।

प्रकाशित : भाद्र २७, २०८१ १८:३६
×