कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

सहकारी ठगीबारे संसदीय छानबिन नै गर्नुपर्छ भने पनि म तयार छु : सांसद गुरुङ

भाद्र २५, २०८१
सहकारी ठगीबारे संसदीय छानबिन नै गर्नुपर्छ भने पनि म तयार छु : सांसद गुरुङ

काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी छानबिन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानबिन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको जिकिर गरे ।

उपसभापति गुरुङले आफूमाथि आशंका भए तत्काल छानबिन गर्न पनि सरकार र संसद्को ध्यानाकर्षण गराए ।

उनले भने, ‘संसदीय छानबिन नै गर्नुपर्छ भने पनि म तयार छु । मेरो लागि यो सुवर्ण अवसर हुनेछ । तथापि प्रमाण लुकाउन सक्ने गृहमन्त्री जस्तो जिम्मेवार पदमा म छैन सभामुख महोदय । म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्दछु । मेराबारे लागेको आरोपको सत्य, तथ्य छानबिन गरिदिन म सम्माननीय सभामुख, माननीय गृहमन्त्रीजी, अनि संवद्ध निकायहरूलाई आग्रह गर्दछु ।'

उनले आफूले निष्ठा, नैतिकता र सुशासन प्रर्दशन गर्दै आएको भन्दै त्यसमा प्रतिवद्ध रहेको पनि दोहोर्‍याए । उपसभापति गुरुङले मितेरी सहकारीमा आफूले ठगी गरेको हो भने सो सहकारीको पदाधिकारीमाथि पनि छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरे ।

उनले भने, 'जुन मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, संचालक समितिका सदस्यहरू, को–कोलाई छानबिन गर्नुपर्ने हो ? तुरुन्तै छानबिन गरियोस् । यदि यस विषयमा म माथि कुनै आशंका छ भने तुरुन्तै म माथि पनि छानबिन गरियोस् । कुनैपनि गल्ती गर्ने व्यक्तिलाई उन्मुक्ति दिन हुन्न भन्ने मान्यतामा म सधैँ अडिक छु सभामुख महोदय ।'

विगतमा पनि कुनै आरोप लाग्दा सम्मानित अदालतबाट निर्दोष सावित भएको स्मरण गर्दै उनले भने, 'सहकारी ठगी सम्बन्धि प्रतिवेदन आउन लागेको अन्तिम समयमा विषयबस्तुलाई अन्तै मोड्न रचिएको यो घटनाको छिटो भन्दा छिटो छानबिन गर्न माग गर्दछु । जसले सुशासन कायम गर्नका लागि २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरू र नेपाल सरकारका कर्मचारीहरूको सम्पत्ति छानबिन हुनुपर्छ भनेर यसै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । उसैमाथि यत्रो आरोप ? जसले यसै संसदमा गैरकानुनी कारोबार रोक्नका लागिथ ५ सय र हजारका आवाज उठाइरह्यो । उसैमाथि यत्रो षडयन्त्र ? त्यसैले यो पुनः षडयन्त्रकारी कदमको निष्पक्ष छानबिनको माग गर्दछु । धनराज गुरुङ खुला किताव हो । जसले जताबाट अनुसन्धान थालेपनि हुन्छ । ’

उपसभापति गुरुङले आफूले श्रीमती ज्योति गुरुङसँग सम्बन्ध विच्छेद गरेको प्रष्ट्याए ।

प्रकाशित : भाद्र २५, २०८१ १४:४७
×