कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

उपसभामुखलाई बास्कोटाको सुझाव : पदबाट राजीनामा दिनुस्

भाद्र २५, २०८१
उपसभामुखलाई बास्कोटाको सुझाव : पदबाट राजीनामा दिनुस्

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

आफूमाथि पदीय आचरणको प्रश्न उठेपछि त्यसलाई गलत प्रमाणित गर्न पनि उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुने उनको सुझाव थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बास्कोटाले आफूले पनि सञ्चारमन्त्री हुँदा ७० करोड भिडियो प्रकरणबारे प्रश्न उठेपछि पदबाट राजीनामा दिएर लोकतन्त्रलाई सुदृढ बनाउन योगदान दिएको उल्लेख गर्दै उपसभामुख रानाले पनि सोही अनुसार अघि बढ्दा हुने बताए ।

'मैले सुने–संसदको उपसभामुखको विषयमा खासगरी बालबालिकाहरू अथवा अन्य देशमा जोडिएका कयौं मान्छेहरूको सन्दर्भमा अमेरिका पठाउने प्रकरणमा उहाँको बारेमा प्रश्न उठ्यो । र यहाँ कतिपय साथीहरूले भन्नु भयो– यो लोकतन्त्रको चीरहरण हुन्छ । उहाँमाथि प्रश्न उठाउन मिल्दैन । तर मेरो सामान्य ज्ञानले के भन्छ भने लोकतन्त्र नै त्यो व्यवस्था हो, जसले सबैमाथि प्रश्न उठाउन पाउँदछ । र जसलाई नैतिकताको कसीमा जाँचिनु छ,' उनले भने, 'उहाँले त्यसलाई चुनौति दिनका निम्ति आफूमाथिको निष्पक्षतालाई चुनौति दिनका लागि, सहीपनालाई चुनौति दिनका निम्ति र अरुलाई गलत प्रमाणित गरेर आफूलाई सही प्रमाणित गर्ने अवसर पनि लोकतन्त्र र कानूनी राजमा हुन्छ । त्यसो हो भने मेरो सामान्य सुझाव छ उपसभामुखज्यूलाई । जब यत्रो प्रश्न उठेर सदनमा पटक पटक कुरा उठिसक्यो भने यहाँ कयौ दृष्टान्तहरू छन । जसमध्ये म पनि एउटा हुँ । एउटा प्रश्न उठिसकेपछि मैले आफ्नो पदबाट राजीनामा दिएको थिए । म माथि छानबिन गरियोस, दोषी भए प्रमाणित गरियोस् ।'

उनले पदीय आचरणमाथि प्रश्न संसदमा पटक पटक उठेपछि त्यसलाई स्पष्ट पार्न पनि उपसभामुख रानाले पदीय दायित्व छोडेर छानबिनका लागि सहयोग गर्नु उचित हुने बताए ।

उनले भने, ‘ तथ्यका आधारमा सत्य प्रमाणित गरियोस र कारबाही गरियोस् । यो नैतिकता, यति आँट, यति साहस राजनीतिक मान्छेसित हुनुपर्छ, जसले लोकतन्त्रको दुहाई दिन्छौ । त्यसैले मेरो भन्नु के छ भने–जब यत्रो प्रश्न उठेको छ भने उहाँले आफ्नो पदबाट मार्ग प्रशस्त गरे के बिग्रिन्छ त ? बाँकि सबैलाई एकमुष्ट जवाफ भएन । अरु कुरा त कानूनले गर्ला । छानबिन कुनै भयो भने त्यसले गर्ला । त्यति गर्नका निम्ति मेरो सुझाव छ ।'

सांसद बास्कोटाले लोकतन्त्रको दुहाई दिनेहरूले आफूमाथि उठेको हरेक प्रश्नको जवाफ दिने आँट गर्न सक्नुपर्ने बताए ।

उनले भने, 'त्यसैले प्रश्न उठनु र जवाफदेहिता बोक्नु, जवाफदेहिता चाहिन्छ भनेर माग गर्ने कुरा लोकतन्त्रको हत्या हुँदैन । लोकतन्त्रको थप सुन्दर पक्ष के हुन्छ भने यसले लोकतन्त्रलाई बलियो बनाउन मद्दत पुग्छ । त्यसकारणले जब प्रश्नहरू उठछन्, आफ्नाबारेमा उठदा के, अर्कोको बारेमा उठदा के ? यो होइन, जब गम्भीर प्रश्न उठदछ । हाम्रो प्रणाली भित्र, व्यक्तिका आचरण भित्र वा उसका पदीय दायित्वभित्र रहेर गर्नुपर्ने काममा उहाँले पद छोडदा भई गयो नि । त्यसमा ठूलो पद, सानो पद के रह्यो र । म त भन्छु–सांसदहरूका बारेमा पनि त्यस्ता प्रश्न उठेभने के गर्ने भनेर कानुन, नियम बनाउन । त्यति आँट राखौन । त्यसले सबैभन्दा राम्रो काम गर्दछ भन्ने मलाई लाग्दछ । पारदर्शीताका लागि पनि मार्ग प्रशस्त गरे हुन्छ ।’

प्रकाशित : भाद्र २५, २०८१ १५:०६
×