कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

'पत्रकारितामा वीपीको योगदान अविस्मरणीय'

भाद्र २३, २०८१
'पत्रकारितामा वीपीको योगदान अविस्मरणीय'

काठमाडौँ — वीपी कोइरालाले नेपालको पत्रकारिता क्षेत्रको विकासका लागि पुर्‍याएको योगदान अविस्मरणीय रहेकोमा वक्ताहरूले जोड दिएका छन् । १११ औँ वीपी जयन्तीको सन्दर्भमा आइतबार काठमाडौंमा नेपाल प्रेस युनियनले गरेको 'पत्रकारिताका सन्दर्भमा वीपी' विषयक कार्यक्रममा वक्ताहरूले राजनीति र साहित्यसँगै पत्रकारिता क्षेत्रको विकासमा समेत वीपी कोइरालाको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । 

वरिष्ठ पत्रकार कमल कोइरालाले वीपी कोइरालालाई साहित्यिक पत्रकारको रुपमा चित्रण गरे । तत्कालीन अवस्थामा शारदा नामक साहित्यिक पत्रिकामा वीपीले साहित्यिक पत्रकारको रुपमा लेख, रचनाहरु प्रकाशित गर्ने गरेको स्मरण गर्दै उनले वीपीले नेपालको राजनीतिक, साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदान नयाँ पुस्ताले भुल्न नहुने धारणा राखे ।

उनले भने, 'वीपी कोइराला नेपालको पत्रकार पनि हो । शारदालगायतका साहित्यिक पत्रिकाको उहाँ गुप्त प्रकाशक नै हुनुभयो । वीपी कोइरालाले सशस्त्र क्रान्तिको सुरु गरेर गल्ती गर्नुभयो । तर पछि फेरि फर्केर स्वदेश आउनुभयो । उहाँले मुलुकको राजनीतिक र साहित्यिकसँगै पत्रकारिता क्षेत्रमा पनि योगदान दिनुभएको थियो ।'

अर्को वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले वीपीले सबै पत्रकारहरुलाई सम्मानजनक व्यवहार गरेको स्मरण गरे । 'उहाँमात्रै त्यस्तो नेता हो, जसले पत्रिका निकाल्ने खर्चको बन्दोबस्त गरेर आफ्नो विरुद्धमा लेख्न लगाउनुहुन्थ्यो । पत्रकारितालाई प्रोत्साहन गर्नुहुन्थ्यो,' उनले भने, 'वीपीले लोकतन्त्रलाई स्थापित गराउनका लागि एउटा मुखपत्रको रुपमा पत्रिका संचालन गर्ने सोच राखेपनि त्यो अधुरो रह्यो ।'

वीपीले पत्रकारिता क्षेत्रलाई सम्मान, सहयोग र सल्लाह दिएका थुप्रै उदाहरण उनले सुनाए । 'यो आफ्नो र यो अरुको भनेर उहाँ सोच्नु हुन्नथ्यो । वनारसमा यहाँबाट कयौं पत्रकारहरु उहाँको विचारलाई बुझ्नका लागि जाने गर्नु हुन्थ्यो । तर उहाँले शंकास्पद मान्छे हो भन्ने थाहा पाएर पनि उहाँ सहज रुपमा भेट्नुहुन्थ्यो । कुराकानी गर्नुहुन्थ्यो । यताको जानकारी लिनु हुन्थ्यो । आफ्नो विचार निर्धक्कसँग भन्नुहुन्थ्यो । र ती मेरो विचारहरु छाप्न सक्दैनौं होला पनि भन्नुहुन्थ्यो । तर उल्टै आएर वीपी शानले बसेको रहेछ । सुरक्षा गार्ड पनि भारत सरकारले दिएको रहेछ भनेर उल्टो कुरा यहाँ लेखिरहेका हुन्थे,' विरहीले स्मरण गर्दै भने, 'त्यही गर्लान् भन्ने थाहा पाउँदा पाउँदै पनि वीपीले यो भेदभाव गर्नुभएन कि यो कम्युनिष्ट हो । अथवा यो राजावादी हो । अथवा यो को हो भनेर उहाँले व्यक्ति हेरेर भन्नुभएन । उहाँले सबैलाई समान रुपको व्यवहार गर्नुहुन्थ्यो ।'

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् वरिष्ठ पत्रकार किशोर नेपालले वीपी कोइरालाले मुलुकका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै नयाँ पुस्ताले समेत त्यसबाट सिकेर अघि बढ्नुपर्ने बताए । उनले नयाँ पुस्ताका पत्रकारहरुले नेपाली भाषाको दोहन हुन नदिने गरी पत्रकारिता गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘वीपी कोइरालाले धेरै ठूलो काम गरेर जानुभयो । हामीले त्यस्तो केही काम गर्न सकेका छैनौं । जे जति ठूला काम भएका छन् । त्यो पनि भत्किने बेला भएको छ जस्तो लाग्छ कहिलेकाँही । अहिलेको सामाजिक सञ्जालको अवस्था हेर्दाखरी, पत्रपत्रिकाको अवस्था हेर्दाखेरि, अहिलेका रेडियोहरु हेर्दाखेरि यो देशमा देशप्रतिको जवाफदेहिता नै छैन ।'

प्रकाशित : भाद्र २३, २०८१ १५:४८
×