कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी हो : सभापति देउवा

भाद्र २३, २०८१
खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी हो : सभापति देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा लिनुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गर्दै सभापति देउवाले यस्तो बताए । कास्यपदक विजेता गोवर्द्धनलाई कांग्रेसले नगद ५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

खेलाडीहरु राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीहरुको सम्मान गर्न सक्नुपर्ने बताए । उनले नेपाली कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको भन्दै आगामी दिनमा अझ बढी पहलकदमी लिने विश्वास समेत व्यक्त गरे । उनले नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कास्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवर्द्धनको प्रशंसा गरे ।

‘पलेशा गोवर्द्धनजी जो हुनुहुन्छ, उहाँले नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कास्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको छ । त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडीहरुले अझ बढी सफलता प्राप्त गरुन् भन्ने हार्दिक कामना गर्दछु,' उनले भने, 'खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैव सहयोग गरिरहेको छ । आगामी दिनमा पनि अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । खेलाडीहरु राष्ट्रका गहना हुन् । नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्छ ।’

कांग्रेसले अर्का सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार र प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

प्रकाशित : भाद्र २३, २०८१ १९:०७
×