कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो : मन्त्री पाण्डे

भाद्र २३, २०८१
नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो : मन्त्री पाण्डे

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा मन्त्री पाण्डेले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताए । उनले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने बताए । मन्त्री बनेपछि मन्त्रालयका सम्बन्धमा सम्पूर्ण जानकारी लिइसकेको बताउँदै उनले अब सुधारका कार्य गर्नुपर्ने बताए ।

मन्त्री पाण्डेले सत्य र निष्ठाबाट विचलित नभई नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने बताए । ‘हामीले नागरिक उड्डयन क्षेत्रलाई सुधार्नुपर्ने छ । नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने भनेको सरकारी एयरलाइन्सले नै रहेछ, नेपाल एयरलाइन्सले नै रहेछ । नेपाल एयरलाइन्स जबसम्म सशक्त हुँदैन, जबसम्म प्रभावकारी हुँदैन, जबसम्म विश्वसनीय हुँदैन, तबसम्म अरु सुधार्न सक्दैन,' उनले भने, 'अहिले एनएसी भन्छौँ, अब मैले त्यसलाई आरएनएसी नै भन्ने विचार गरेको छ । आरएनएसी भनेको पुरानो रोयल होइन कि, रिफर्म्ड नेपाल एयरलाइन्स हो । रिफर्म गरेपछि मात्रै यो नेपाल एयरलाइन्सले एउटा बाटो लिन्छ ।'

नेपाल एयरलाइन्सको पुनर्संरचना गरेपछि मात्रै अन्य एयरलाइन्सलाई नियमन गर्न सक्ने मन्त्री पाण्डेको भनाइ थियो । नेपाल एयरलाइन्सलाई पुनर्संरचना गरी अन्य एयरलाइन्सलाई नियमन गर्ने उनको भनाइ छ । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय सुधारको दिशामा गएको र पुनर्संरचनाको दिशामा जाने लक्ष्य रहेको पनि उनले बताए ।

प्रकाशित : भाद्र २३, २०८१ १२:१८
×