कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना हुन्छ : मन्त्री पाण्डे

भाद्र २३, २०८१
हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना हुन्छ : मन्त्री पाण्डे

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना गर्ने घोषणा गरेका छन् । नेपालमा हवाई दुर्घटनापछि गठित छानबिन समितिको विश्वसनियतामाथि प्रश्न उठाउने काम भइरहेका बेला मन्त्री पाण्डेले यो घोषणा गरेका हुन् । 

मन्त्री पाण्डेले हवाइ दुर्घटना छानबिनका लागि आवश्यक ऐन बनाउनका लागि सरकारले गृहकार्य गरिरहेको पनि जानकारी दिए । भक्तपुरमा आयोजित ‘नेपालमा हवाई सुरक्षा’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री पाण्डेले हवाई दुर्घटना छानबिनको लागि जाँचबुझ गर्ने छुट्टै निकाय बनाउने अभ्यास अन्य देशहरूमा पनि भएकाले सरकारले पनि त्यसलाई बनाउने तयारी गरेको बताए ।

हवाई सुरक्षालाई ध्यानमा राखेर सरकारले गैर सैनिक हवाई ऐनलाई परिमार्जन गर्ने कामलाई पनि अघि बढाएको मन्त्री पाण्डेले बताए । ‘गैरसैनिक हवाई ऐन त्यो पनि निकै पुरानो रहेको छ र हामी हामी समसामयिक परिमार्जन गर्नेगरी मन्त्रालयले आफ्नो काम गरिरहेको अवस्था छ,' मन्त्री पाण्डेले भने, 'दुर्घटना हुन्छ, दुर्घटनापछि जाँचबुझका लागि समिति बन्छन् । त्यो समितिले काम त गर्दछन् तर त्यसको निरन्तरता, त्यसको अविछिन्न उत्तराधिकार बोक्ने संस्था हुँदैन र जाँचबुझ हुने सन्दर्भमा प्रोफेसनालिज्म पनि रहँदैन भनेर अरु देशमा पनि भएको प्राक्टिस जाँचबुझका लागि एउटा स्थायी प्रकृतिको संस्था चाहिन्छ, संरचना चाहिन्छ भनेर त्यसका निम्ति पनि अलग ऐनको आवश्यकता परेको छ भन्ने हामीलाई लागेरै त्यसको ड्राफ्ट पनि बनाउने क्रममा छौँ ।'

मन्त्री पाण्डेले हवाइ दुर्घटनाको छानबिन गर्ने स्थायी संयन्त्र गठनको गृहकार्य भइरहेको स्पष्ट पारे ।

मन्त्री पाण्डेले सरकारले हवाई दुर्घटनामा परेकाहरूलाई बीमाको दायरामा ल्याउने नीतिगत व्यवस्था गर्नका लागि पनि सरकार अगाडि बढेको जानकारी दिए ।

प्रकाशित : भाद्र २३, २०८१ १८:४१
×