कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

पहिरोपीडितलाई गाँस न बास

भाद्र २२, २०८१
पहिरोपीडितलाई गाँस न बास

Highlights

  • त्रिपालमा बसिरहेका सुत्केरी, नाबालक र वृद्धवृद्धा बिरामी पर्न थाले

दोलखा — तीन साताकी सुत्केरी सीता थामी त्रिपालमुनि चिसो भुइँमा अनिँदो रात बिताइरहेकी छन् । नवजात शिशुलाई रुघाखोकीले च्यापेको छ । १७ दिनकी सुत्केरी मञ्जु थामीको पनि त्रिपालको बास छ ।

‘चिसो भुइँमा त्रिपालको बास छ, न्यानो–तातो गर्न आगो बाल्न मिल्दैन,’ उनले भनिन्, खाद्यान्न पनि सकिएको छ । राहतमा पाएको एक/डेढ केजी चामल थियो त्यो पनि सकियो ।’ गत भदौ ८ मा शनिबार मध्यराति पहिरोले गाउँको घर बस्न नमिल्ने गरेर क्षति गरेपछि उनी २ सातादेखि त्रिपालको सहारामा कष्टसात रात काटिरहेकी छन् ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका ४३ परिवार पहिरोले विस्थापित बनाएपछि २ सातादेखि त्रिपालको सहारामा कोही सडकमा कोही डाँडामा बसिरहेका छन् । डडुवाको मुझुवा सल्लेटारका अल्पसंख्यक थामी समुदायका ३२ परिवारसहित मंसिरेका ६, पात्लेका ३ र नागी २ परिवार पहिरोले विस्थापित बनेका हुन् । यी घरका १ सय ९३ जना सुरक्षित स्थान खोजेर त्रिपालको भरमा रात काटिरहेका छन् ।

‘७ दिनकी सुत्केरी हुँदा पहिरोले उठीबास बनायो, न खाने सामल छ, त्रिपाल पनि चुहिएर बालकलाई जोगाउन कष्ट परेको छ,’ सीताले भनिन्, ‘बनिबुतोले घर चलाउँथ्यौं, त्यो पनि छैन्, पाकेका मकै भाँच्न नपाई पहिरोले बारी पनि लग्यो कसरी बाँच्ने होला ।’ सोही राति दोरम्बा शैलुङ–३ लेखर्कको पहिरोमा परेर ८ जनाको मृत्यु भएको थियो भने २ जना बेपत्ता छन् । मान्छे मरेको परिवारलाई मात्रै राहत र बासको व्यवस्थापन भएको उनले बताइन् । ‘पहिरोले घरबारविहीन बनाएका हामी गरिबलाई त्रिपालसम्म आउँदो रहेनछ,’ सीताले भनिन्, ‘पहिरोले थिचिएको भए हेर्ने आउथे होलान्, पानी र बतासले त्रिपाल पनि च्यातिन थालिसक्यो ।’

गाउँपालिकाले डडुवाका पहिरोपीडितलाई ८ बोरा चामल, २ बोरा चिउरा, १० कार्टुन खाने तेल, १२ थान ब्ल्यांकेट र एक रोल ओछ्याउन म्याटिस दिएको थियो । त्यही राहत सबैले बाँडेको मञ्जुले बताइन् । ‘पालिकाले दिएर भागमा परेको एक/डेढ केजी चामल मात्रै पाएका छौं,’ उनले भनिन्, ‘पहिरोले विस्थापित बनाउँदा हेर्नसमेत कोही आइपुगेनन् ।’ लेखर्क पहिरो पीडितलाई राहत दिनेको लर्को भए पनि डडुवाका पीडितलाई हेर्ने कोही नभएको उनले गुनासो गरिन् । लगाएको मकै र कोदो पनि पहिराले बारी बगाएपछि थप संकटमा परेको उनको भनाइ छ ।

‘बनिबुतो गरेर घर परिवार चलाउँदै आएका थियौं,’ मञ्जुले भनिन्, ‘पहिराले घरबाविहीन बनाएपछि बनिबुतो गर्ने गएका छैनौं, त्यसमाथि सुत्केरी भएँ, संकट आइलाग्यो ।’ गाउँको पसलबाट उधारोमा खाद्यान्न ल्याएर चलाउँदै गरेको उनले सुनाइन् । लगाएको मकै र कोदो पनि पहिरोले बारीसहित लगेपछि खानलाई केही नभएको गर्भवतीसमेत रहकी लक्ष्मी थामीले बताइन् । ‘राहतमा पाएको टेन्ट र त्रिपालमा बसेका छौं,’ उनले भनिन्, लेकको गाउँ हो, चिसो पस्न थालेको छ, बास त जसोतसो काटौंला गाँसको समस्याले सताएको छ ।’

तीनधारा खोलाको झोलुंगेपुल बिहीबार राति पहिरोले बगाएपछि गाउँको वडासहित पालिका र सदरमुकाम मन्थलीसँगको सम्पर्क टुटेको वडा सदस्य मंगले थामीले बताए । उनका अनुसार झोलुंगे पुल बगाएपछि गाउँका ३२ बालबालिका विद्यालय जान पाएका छैनन् । पहिरोले विस्थापित बनाएकालाई पालिकाले पठाएको थोरै राहत दिएको उनले बताए । त्रिपालमा बसेकाहरू अधिकांश बिरामी परेको उनले बताए । ‘म आफैं पनि विस्थापित भएर त्रिपालको गोठ हालेर बसेको छु,’ उनले भने, ‘सुत्केरी, नाबालक र वृद्धवृद्धाको बिजोग भएको छ, अधिकांश बिरामी परेका छन् ।’ झोलुंगे पुल बगाएपछि स्वास्थ्य संस्था लैजाने बाटो पनि बन्द भएको उनले बताए ।

पालिकाका सबै वडामा पहिराले क्षति गरेकाले विस्थापितलाई व्यवस्थापन गर्दै लगेको अध्यक्ष मैनकुमार मोक्तानले बताए । ‘पालिकाका ७ वटै वडामा पहिरोले क्षति गरेको छ, आवश्यकताअनुसार व्यवस्थापन गरिरहेका छौं,’ उनले भने, ‘हरेक वडाका अध्यक्षलाई समस्या के कस्तो छ लिएर आउन भनेका छौं ।’ तत्कालका लागि डडुवाका पहिरोपीडितलाई ७० थान त्रिपाल, केही टेन्ट र खाद्यान्न दिएको उनले बताए ।

प्रकाशित : भाद्र २२, २०८१ ०६:०२
x
×