कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

आमाको मिर्गौला पर्खिरहेका राकेश [भिडियोसहित]

आमाको मिर्गौला पर्खिरहेका राकेश [भिडियोसहित]

Highlights

  • चिकित्सकले मिर्गौला प्रत्यारोपणका लागि ५ लाख रुपैयाा खर्च लाग्ने बताएका छन्, तर राकेशको परिवारले रकम जोहो गर्न सकेको छैन

कपिलवस्तु — एक वर्षअघिसम्म आफू कस्तो देखिन्थे भनेर चिनाउन कपिलवस्तुको शुद्धोदन गाउँपालिका–४ रमुवापुरका ३० वर्षीय राकेशप्रसाद पासीले राहदानीमा टाँसिएको तस्बिर देखाए । तस्बिरमा उनका गाला पुक्क फुलेका छन् । शरीर खाइलाग्दो छ । राहदानीको खापामा काठमाडौंको एक फोटो स्टुडियोमा खिचेको पासपोर्ट साइजका अरू तस्बिर खामभित्र राखेका छन् ।

हालखबर बुझ्न घरमा आउनेहरूलाई उनी पुराना दिनको सम्झना सुनाउन त्यही राहदानीमा टाँसिएको तस्बिर देखाउँछन् ।

मार्बल मिस्त्रीको काम गर्ने राकेश आफ्नो कमाइबाट खुसी थिएनन् । परिवारको गरिबीको चिन्ताले १३ महिनाअघि उनी श्रम गर्न साउदी अरब हान्निए । उनको कमाइ थियो, मासिक १२ सय रियाल । सुरुका एकाध महिना काम राम्रैसँग चलेको थियो । तर स्वास्थ्य समस्या सुरु हुन थालेपछि काम गर्न नसक्ने भए । खाना नपच्ने, पेट दुख्ने र छटपटी लाग्ने समस्याको उपचार उनले साउदीकै अस्पतालमा पनि गर्ने प्रयास नगरेका होइनन् । तर स्वास्थ्यमा सुधार आएन । एकातिर बिग्रँदो स्वास्थ्य, अर्कोतिर साउदी जाँदा गाउँका एक व्यक्तिबाट लिएको २ लाख १५ हजार रुपैयाँ कर्जाको बढ्दो ब्याज । एक लाख रुपैयाँको प्रतिमहिना ८ हजार रुपैयाँ ब्याज सम्झिँदा राकेश आत्तिन्थे । स्वास्थ्य बिग्रँदै गएपछि झन्डै ७ महिनाअघि स्वदेश फर्किए ।

भिडियो

नेपाल फर्किएपछि पनि उनको स्वास्थ्यमा कुनै सुधार आएन । उताबाट फर्केपछिका महिनामा राकेश पूरै फेरिएका छन् । किनकि उनको शरीरमा अहिले बल छैन । हातखुट्टा सुक्न थालेका छन् । पेट डल्लो परेको छ । टाउको ठूलो देखिन्छ । गन्जी र जाङ्गे पहिरिए पनि जीउलाई नै भारी भएजस्तो लाग्छ । ६ महिनादेखि खर र जस्ताले छाएको झुपडी नै उनका निम्ति संसार भएको छ । उपचारका लागि अस्पताल धाउनेबाहेकको समय उनी यही झुपडीभित्रको ओछ्यानमा थलिएको अवस्थामा भेटिन्छन् । ‘राम्रो शरीर थियो, अहिले त सुक्यो,’ राकेशले भने ।

नेपाल फर्किंदा सुरुमा उनको परिवारको आशंका थियो क्षयरोग । तर स्वास्थ्य परीक्षणपछि पत्तो लाग्यो, उनका त दुवै मिर्गौला बिग्रिसकेको रहेछ । मिर्गौलाको समस्याकै कारण अहिले राकेश पेट पोल्ने, लहरे खोकी चल्ने र मुख दुख्ने समस्याले आजित छन् । हिजोआज उनी साताको दुई पटक भैरहवाको अस्पतालमा डायलसिस गर्न पुग्छन् । त्यहाँसम्म पुग्न पनि सजिलो छैन । किनकि उनको घरसम्मै एम्बुलेन्स आउने बाटो छैन । त्यसैले हरेकपल्ट बाबु तिलकराम छोरा राकेशलाई बोकेर घरभन्दा २/३ किलोमिटर पश्चिम रहेको सडकसम्म पुर्‍याउँछन् । यसरी प्रत्येक पटक उपचारका लागि भैरहवा पुगेर फर्किंदा उनको तीन हजार रुपैयाँ खर्च हुन्छ ।

उनको समस्या यतिमै सकिँदैन । कहिलेकाहीं त ओछ्यानमा पल्टिरहेका बेला सास नपुगे जस्तो महसुस हुन्छ । त्यस्तो बेला उनी चिच्याउँछन् । अनि त्यति नै बेला उनको पेट फुल्छ । परिवारका सदस्य हतारहतार उनलाई अक्सिजन चढाउन नजिकैको लवनी बजार पुर्‍याउँछन् । प्रत्येक पटक अक्सिजन चढाउँदा ५ सय रुपैयाँ खर्च लाग्छ । ‘गाउँमा ऋण काढेर र चन्दा उठाएर डायलसिस गराउन लैजान्छौं,’ तिलकरामले भने, ‘दबाइले पनि काम गर्न छाडिसक्यो ।’

राकेशको बिग्रँदो स्वास्थ्यकै कारण बाबु तिलकराम कामको खोजीमा भारत पस्न पाएका छैनन् । समय पहिलेको जस्तै भएको भए उनी यतिबेला काठ फ्याक्ट्रीमा काम गर्न भारत पुगिसकेका हुन्थे । मासिक १२ हजार रुपैयाँ कमाइरहेका हुन्थे । छोराको उपचारका लाग्ने खर्च जुटाउन नसकेपछि र साउदी जाँदा लागेको कर्जा बढ्दै गएपछि तिलकरामले ६ कट्ठामध्ये ३ कट्ठा खेत बेचिदिए । अहिले त उनीसँग जग्गा बेचेर हात परेको पैसा पनि छैन । अब छोराको उपचार खर्च कसरी जुटाउने र उब्जाउ जमिन बेचेपछि के खाने भन्ने दोहोरो चिन्ताले उनलाई सताएको छ ।

राकेशको परिवारको दुःख देखेर स्थानीय जनकल्याण युवा क्लबले पनि सार्वजनिक अपिल गरेर सहयोग जुटाएको थियो । तिलकरामले सुनाए, ‘क्लबले २०–२१ हजार र पालिकाले १५ हजार रुपैयाँ सहयोग गरे । तर त्यतिले मात्रै पुग्ने देखिएन । त्यसैले बाँकी जग्गा पनि बेच्ने सुरमा छु ।’

राकेशकी आमा रामकान्ती छोराका लागि मिर्गौला दिन तयार छिन् । चिकित्सकले मिर्गौला प्रत्यारोपणका लागि ५ लाख रुपैयाँ खर्च लाग्ने बताएका छन् । तर उनीहरूले त्यति रकमको जोहो गर्न सकेका छैन । राकेशले ओछ्यानबाटै ढल्केर सुनाए, ‘पैसा जुटाउन सकियो भने आमाको मिर्गौला हालेर केही समय बाँच्न सकिन्छ कि भन्ने सोचेको छु ।’

प्रकाशित : भाद्र २१, २०८१ ०६:३०
x
×