कञ्चनपुर — गृहमन्त्री रमेश लेखकले बलात्कारपछि हत्या गरिएका बालिका निर्मला पन्त घटनाको अनुसन्धान थप सूक्ष्म ढंगले गरिने बताएका छन् । उनले निर्मला घटना देशकै लागि चासो र चिन्ताको विषय भएकाले अनुसन्धान निरन्तर भइरहने बताए ।
‘अनुसन्धान यहाँ पुग्यो, त्यहाँ पुग्यो भनेर म भन्दिनँ,’ बिहीबार नेपाल प्रेस युनियनले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले भने, ‘यसलाई थप गम्भीरता र थप सूक्ष्म ढंगले अनुसन्धान अगाडि बढ्छ ।’ मन्त्री लेखक आफै पनि निर्मला घटनापछि भएको आन्दोलनमा सहभागी भएका थिए ।
निर्मला हत्या घटनापछि भएको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्चलगायत अन्य सहयोग पनि उपलब्ध गराइने मन्त्री लेखकले बताए । गृह मन्त्रालयले उनीहरुलाई उपचार खर्च दिने भनेपछि पछिल्लो समय रोकिएको छ । उपचार खर्च तत्काल उपलब्ध गराइने उनले बताए ।
मन्त्री लेखकले नेपाली कांग्रेस र एमालेबीच बनेको समिकरण २०८४ सम्मै जाने बताए । ‘सात बुँदे सहमतिअनुसार सरकार फेरिन्छ, तर समिकरण यही रहन्छ,’ उनले भने, ‘जसरी सम्झौता भएको छ, त्यहीअनुसार समीकरण अगाडि बढ्छ ।’
उनले कांग्रेस र एमाले मिलेरमात्रै संविधान संशोधन नहुने पनि बताए । यसका लागि सबै मुख्य दलहरुलाई सहमतिमा ल्याइने बताए । ‘जसरी मुख्य दलहरु मिलेर संविधान निर्माण भएको थियो, त्यसैगरी सबै मिलेर संशोधन पनि गरिन्छ,’ उनले भने, ‘वार्ता, संवाद र सहमतिबाटै संशोधन गरिन्छ, यसमा कसैले झस्किनुपर्दैन ।’
मन्त्री लेखक महेन्द्रनगरमा निर्माण भएको प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको उद्घाटनसँगै असार अन्तिम साता आएको बाढीले जिल्लाका विभिन्न स्थानमा भएको क्षतिबारे जानकारी लिए गृहजिल्ला पुगेका हुन् ।