कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

किसानको उधारो तिर्न दुग्ध विकास संस्थानलाई सरकारले दियो ६० करोड ऋण

भाद्र २०, २०८१
किसानको उधारो तिर्न दुग्ध विकास संस्थानलाई सरकारले दियो ६० करोड ऋण

काठमाडौँ — किसानको उधारो तिर्न सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । 

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले दूध किसानहरूको बाँकी रकम दशैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । बिहीबारको मन्त्रिपरिषद्ले कृषि मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस भएको थियो । अब यो रकमबाट डीडीसीले तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानी दिनुपर्नेछ।

बैठकपछि सञ्चारमन्त्री गुरुङले भने, 'पेरिस पाराओलम्पिक २०२४ को तेक्वान्दोमा काँस्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्नुहुने खेलाडी पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ, प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय भएको छ ।'

प्रकाशित : भाद्र २०, २०८१ २०:१३
x
×