दक्षिण कोरियामा नेपाली श्रमिकको कोटा बृद्धिको पहल गर्छु : प्रस्तावित राजदूत तुम्बाहाङ्फे 

भाद्र १९, २०८१

कान्तिपुर संवाददाता

I will take the initiative to increase the quota of Nepali workers in South Korea: proposed Ambassador Tumbahangfe

काठमाडौँ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्बाहाङ्फेले दक्षिण कोरियामा नेपाली कामदारका लागि कोटा बढाउन पहल लिने बताएकी छन् । राजदूत नियुक्त भएपछि आफूले नेपालले ईपीएस प्रणालीमा अपनाएको निष्पक्षताको प्रचार गर्दै दक्षिण कोरियामा नेपाली श्रमिकका लागि कोटा बढाउन भूमिका खेल्ने बताएकी हुन् । 

संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा सुनुवाइका क्रममा प्रस्तावित राजदूत तुम्बाहाङ्फेले नेपाली कामदारका लागि दक्षिण कोरिया आकर्षक गन्तव्य रहेकाले त्यसमा कोटा बढाउन पहल लिने बताएका हुन् ।

'दक्षिण कोरिया नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य मुलुक हो । इमान्दार र मेहनती श्रमिकको मान्यता पाएका नेपाली श्रमिकको छवि कोरियामा राम्रो देखिएको छ । करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा छन् । जसका कारण ईपीएसमा नेपाली श्रमिकको कोटा वर्षेनि वृद्धि हुँदै आएको छ,' प्रस्तावित राजदूत तुम्बाहाङ्फेले भनिन्, 'ईपीएस प्रणालीमा नेपालले दर्शाएको निष्पक्षतालाई अझै प्रचार गर्दै कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल लिनेछु ।'

कोरियामा कार्यरत श्रमिकको स्वास्थ्यका विषयमा पनि ख्याल राख्न विभिन्न कार्यक्रम अगाडि बढाउने पनि तुम्बाहाङ्फेको भनाइ थियो ।

'मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारण कोरियामा रहेका नेपाली डिप्रेसनको शिकार हुने गरेको, आत्महत्याका घटनासमेत हुने गरेकाले मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि 'तनाव व्यवस्थापन' कार्यक्रमलाई प्रभावकारी बनाउन पहल गर्नेछु,' उनले भनिन् ।

लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन पहल गर्ने बताउँदै तुम्बाहाङ्फेले भनिन्, 'लुम्बिनीलाई ५ सय मिलियन बौद्धमार्गीहरूको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तिमा ०.५ प्रतिशत बौद्धमार्गीलाई नेपाल ल्याउन पहल गर्नेछु । लुम्बिनीलाई विश्व शान्ति सहरको रुपमा विकास गर्न कोरियन प्रोफेसर डा. क्वाक योङ हुनले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि पहल गर्नेछु । अत्याधुनिक सहरको परिकल्पना गरिएको उक्त गुरुयोजनाले लुम्बिनीलाई शान्ति र आध्यात्मिकसँगै अत्याधुनिक सहरको रुपमा विकास गर्ने उल्लेख छ ।'

नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्र्याउन काठमाडौँ–कोरिया सिधा उडान गर्न जरुरी रहेको पनि तुम्बाहाङ्फेको भनाइ थियो । उनले भनिन्, 'हाल कोरियाबाट नेपाल भित्रिने पर्यटकको संख्या १० औँ स्थानमा रहेको छ । सन् २०२३ मा २३ हजार ७४३ र कोरोना महामारीअघि ४७ हजारभन्दा बढी कोरियाली पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्कले देखाएको छ । कोरियाली पर्यटकको आगमन दर बढाउन नेपाल वायुसेवा निगमको काठमाडौँ–कोरिया सिधा उडानबाट उल्लेखनीय कोरियाली पर्यटक नेपाल भित्र्याउन सक्नेछ ।'

दक्षिण कोरियामा अध्ययन गर्न जाने विदेशी विद्यार्थीको संख्यामा वृद्धि भएसँगै त्यहाँको सरकारले भिसा नीतिमा कडाइ गरेको उल्लेख गर्दै तुम्बाहाङ्फेले नेपाली युवायुवतीलाई पनि विद्यार्थी भिसामा कामको लोभ देखाउँदै कोरिया लैजाने प्रवृत्तिविरुद्ध आवश्यक रणनीति निर्माण गर्ने पनि बताइन् । उनले नेपाली विद्यार्थीलाई सीप सिकेर स्वदेश फर्कन र नेपालमै उद्यम गर्ने वातावरण निर्माण गर्ने विशेष भूमिका निर्वाह गर्ने बताइन् ।

कोरिया र नेपालबाट एक-अर्को देशमा उच्चस्तरीय भ्रमणको आवश्यकता रहेको पनि तुम्बाहाङ्फेको भनाइ थियो । 'नेपाल र कोरियाबीच कूटनैतिक सम्बन्ध स्थापना भएको स्वर्ण वर्षको अवसर पारेर दुई मुलुकबीचको सम्बन्धलाई थप दरिलो बनाउन र कोरियाबाट विकासका लागि ज्ञान, प्रविधि र लगानी भित्र्याउनका लागि उच्चस्तरीय भ्रमण गराउन सकिन्छ । दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि उच्चस्तरको भ्रमणको आदानप्रदान अपरिहार्य हुन्छ । त्यसको साथै कोरियाली लगानीकर्तासँग नियमित भेटघाट, सम्पर्क र उनीहरूको नेपालमा लगानीप्रतिको विश्वास बढाउनका लागि नेपालबाट सरोकारवाला मन्त्री वा उच्चस्तरीय अधिकारीहरूको नियमित भ्रमण हुन आवश्यक देखिन्छ,' उनले भनिन् ।

नेपाल र दक्षिण कोरियाबीचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिनुपर्ने तुम्बाहाङ्फेको भनाइ थियो । 'कोरियाबाट नेपालतर्फ हुने आयातको तुलनामा नेपालको निर्यात निकै कम रहेकाले व्यापार सन्तुलन कायम गर्न नेपालमा कोरियाली लगानी आवश्यक छ । ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिन्छ । नेपाली अर्थतन्त्रको मेरुदण्ड पनि ऊर्जा, कृषि, पर्यटन नै प्रमुख हो,' उनले भनिन् ।

कोरियाबाट चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधार लगायत विभिन्न निर्माण कार्यको लागि प्रस्ताव गर्ने तुम्बाहाङ्फेको भनाइ थियो । त्यस्तै, सूचनाप्रविधिको क्षेत्रमा, फोहोर व्यवस्थापन, अर्गानिक मल उत्पादन कारखाना खोल्ने लगायतका विषयमा सहयोगको प्रस्ताव राख्ने पनि उनको भनाइ छ । कोरियामा नेपाली उत्पादनहरूको माग, प्रतिस्पर्धा र बजारको अवस्था अध्ययन गर्दै निर्यात गर्न सकिने उत्पादनहरूको पहिचान गर्ने पनि उनले बताइन् । उनले भनिन्, 'नेपालका कृषिजन्य उत्पादन तथा हस्तकलाका सामग्रीको निर्यात सम्भावना बढी रहेकाले ती सामग्रीको प्रबर्धनका लागि आवश्यक भूमिका निर्वाह गर्नेछु ।'

कान्तिपुर

Link copied successfully