कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

नारायणगढ-बुटवल सडक खण्ड विस्तारले यात्रुलाई सास्ती : वैकल्पिक मार्गको खोजी 

भाद्र १९, २०८१
नारायणगढ-बुटवल सडक खण्ड विस्तारले यात्रुलाई सास्ती : वैकल्पिक मार्गको खोजी 

परासी — नारायणगढ–बुटवल सडक खण्ड विस्तारका क्रममा खनिएका खाडल र निर्माण सामग्रीले पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्न निकै कठिन हुने गरेको छ । धूलो र हिलोले यात्रुले सास्ती खेप्नुपर्ने अवस्था छ । खाल्डाखुल्डीका कारण सवारीसाधन बिग्रने तथा दुर्घटनाको जोखिम छ । धेरै सास्ती खेप्नुपरेपछि यात्रुले यो सडकको विकल्प खोज्न थालेका छन् । 

बर्दघाटबाट बुटवल र भैरहवा जानुपर्ने सवारी पूर्व–पश्चिम राजमार्गको विकल्पस्वरूप भित्री सडक हुँदै निकस्ने गरेका छन् । भैरहवा जाने यात्रु बर्दघाटबाट दक्षिण चौपत्ता हुँदै नारायणचोक पुग्ने गर्छन् । त्यहाँबाट पश्चिम १३ किमि हुलाकी सडकको यात्रा गरेपछि सदरमुकाम परासी बजार आइपुग्छ । त्यसपछि २४ किमिको दूरीमा भैरहवा पुगिन्छ । बुटवल जाने यात्रु पनि यही रुट भएर जाने गर्छन् ।

बर्दघाटबाट चौपत्ता, नारायण चोक हुँदै जमुनिया बजार, भटौलिय, मनहरि हुँदै परासी पुगिन्छ । अझ छोटो बाटो जान्छु भन्नेहरू बर्दघाटबाट त्रिवेणी सडक हुँदै चौपत्ता बजारबाट जमुनिया निस्किएर हुलाकी सडक हुँदै परासी निस्कन्छन् ।

पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डको विकल्पका रूपमा पश्चिम नवलपरासीको बर्दघाटमा सडक निर्माणको काम सुरु भएको छ । लुम्बिनी प्रदेशको बर्दघाट नगरपालिकादेखि गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकाको दुम्कीबास जोड्ने गरेर सडक बनाउन थालिएको हो ।

बर्दघाट नगरपालिका–१० देखि पहाडी क्षेत्र जोड्नका लागि पहुँच मार्गका रूपमा विस्तार गर्न लागिएको यो सडक निर्माण भएपछि दाउन्ने खण्डको वैकल्पिक मार्ग बन्ने छ । दाउन्नेमा दैनिक हुने ट्राफिक जामबाट यात्रुले केही हदसम्म मुक्ति पाउने छन् ।

दाउन्ने खण्डमा पहिरो तथा अन्य कारणले सडक अवरुद्ध हुँदा घण्टौं ट्राफिक जाम हुने समस्या छ । यो समस्या हटाउन बहुवर्षीय योजनाका रूपमा पक्की सडक निर्माणको काम अगाडि बढेको छ । पहाडी बाटोमा बर्खामा भल पानी र पहिरोले सडक बगाउने तथा हिउँदमा समेत सुक्खा पहिरो जान थालेपछि सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । दिनहुँ दुर्घटनाको जोखिम बढेपछि स्थानीय बासिन्दा, यातायात व्यवसायी र यात्रुले समेत यस सडकको वैकल्पिक उपाय खोज्नुपर्ने माग गर्दै आएका थिए ।

नारायणगढ–बुटवल सडक खण्डमा खाल्डो र धूलोले कुन समयमा दुर्घटना हुने हो भन्ने डरमा सवारी चलाउनुपर्ने अवस्था आएको सवारी चालक दुर्गाबहादुर नेपालीले गुनासो गरे । ‘यात्रुले त बरु कहीलेकाहीँ यात्रा गर्ने हो, हामी दैनिक रूपमा यो रुटमा हिँड्नुपर्दछ, कहाँ कतिबेला जाम पर्ने हो, थाहा छैन,’ उनले भने, ‘धूलो र खाल्डाखुल्टीले घाँटी खसखस गर्ने र खोकी लाग्ने समस्या बल्झिरहन्छ । यो सडक नबन्दासम्म राम्रोसँग चल्ने वैकल्पिक मार्ग खोजिनुपर्छ ।’

बर्दघाट नगरपालिकाको विकट पटुके बस्तीका स्थानीयलाई नगरपालिकाको केन्द्रसम्म पहुँच पुर्‍याउन केही वर्ष अघि कच्चि सडक निमार्ण गरीएको थियो । अहिले त्यही सडकलाई पक्कि सडकका रुपमा विकास गरेर दाउन्ने सडकको बैकल्पिक मार्गका रुपमा प्रयोग गर्न लागिएको हो । बर्दघाट नगरपालिका १० भुताहा देखी विनयी त्रिवेणीको दुम्किवास सम्म १४ किलोमिटर सडक निमार्ण गर्नुपर्ने छ । अहिले सम्म ४ किलोमिटर सडक मात्र बनेको छ ।

प्रकाशित : भाद्र १९, २०८१ ०५:४५
x
×