कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

रेडक्रससम्बन्धी अलग्गै ऐन बनाउन माग

भाद्र १९, २०८१
रेडक्रससम्बन्धी अलग्गै ऐन बनाउन माग

काठमाडौँ — नेपाल रेडक्रस सोसाइटीले नेपालमा मानवीय कामहरुलाई व्यवस्थित बनाउनको लागि छुट्टै रेडक्रस कानून आवश्यक रहेको जनाएको छ । बुधवार सोसाइटीको ६२ औं स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सरकारले रेडक्रस र यसका कार्यहरूलाई व्यवस्थित गर्न अलग्गै कानून बनाउन आवश्यक रहेको बताए ।

मुलुकमा समयअनुसार फरक प्रकृतिका मानवीय संकटहरु देखा पर्दै गएकाले समयानकुलको सेवा प्रदान गर्नेको लागि कानून आवश्यक रहेको बताए ।

महामन्त्री श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले कानूनको अभावमा पछिल्लो समय धेरै समस्याहरु भोग्दै आएको बताए । उनले सबै रेडक्रसकर्मीहरुको चाहना रेडक्रस कानूनमार्फत रेडक्रसका कामहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले कानूनी रुपमा रेडक्रसका कामहरुलाई व्यवस्थित बनाउनसके मात्रै मानवीय सिद्धान्त र आधारभुत मान्यताहरु पूरा गर्न सकिने बताए ।

उनले भने, ‘नेपाल रेडक्रस सोसाइटीले पछिल्लो समय भोग्दै आएका अनुभवहरु छन् । सबै रेडक्रसकर्मीहरुको चाहना रेडक्रस कानूनमार्फत रेडक्रसका कामहरुलाई व्यवस्थित गर्नुपर्छ । कानूनी रुपमा रेडक्रसका कामहरुलाई व्यवस्थित बनाउन सक्यौं भने मात्रै मानविय सिद्धान्त र आधारभुत मान्यताहरु पूरा गर्नसक्छौं । समुदायमा सहज रुपमा सेवा प्रवाह गर्न पनि रेडक्रस कानूनको अपरिहार्य आवश्यक छ । कानून बनाउने सन्तोषजनक प्रगति हुन सकेको छैन । स्थापना दिवसको अवसरमा रेडक्रसकर्मीहरुले रेडक्रस कानून आवश्यक रहेको सन्देश जारी गरेका छौं । सोसाइटीले सबैको सद्भावपूर्ण सहयोगको अपेक्षा राख्ने छ । नेपाल रेडक्रस सोसाइटीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कमाएको खातीहरु र उपलब्धीहरु धेरै गरेको छ ।’

सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले अहिलेको नेतृत्व कमिटी निर्वाचित भएर आएको भन्दै काम नगर्ने भन्ने विषयमा दुविधामा नरहन आग्रह गरे ।उनले अहिलेको कमिटी तदर्थ समिति नभई निर्वाचित भएर आएको भन्दै सबैले सम्मान गर्नुपर्ने बताए ।

उनले सोसाइटीले समाजमा परिणाम देखिने गरी काम गर्नु आवश्यक रहेको बताए । उनले समाजमा परिणाम देखिने गरी काम गरे मात्रै समाजले फाइदा पाउने बताए ।

प्रकाशित : भाद्र १९, २०८१ १६:४९
x
×