कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

सरकारविरुद्ध संघर्ष गर्ने तयारीमा छौँ : माओवादी केन्द्र

भाद्र १८, २०८१
सरकारविरुद्ध संघर्ष गर्ने तयारीमा छौँ : माओवादी केन्द्र

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारविरुद्ध संघर्ष गर्ने तयारी भइरहेको बताएको छ । पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण, लोकतन्त्र र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागि परेको जिकिर गर्दै त्यसका विरुद्ध सदन र संघर्ष दुवै संघर्ष चर्काउने तयारीमा आफूहरु रहेको बताएका हुन् । 

मंगलबार पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले सरकार र सत्तारुढ दलका नेताहरुविरुद्ध जनमत उर्लेको भन्दै आफ्नो पार्टीले प्रतिरोध गरेर अघि बढ्ने बताए । उनले संविधान संशोधनको नाममा दुई दल सम्मिलित सरकारले जनताको अधिकार खोज्ने चेष्टा गरेकाले त्यसको विरुद्ध जमेर प्रतिवाद गर्ने नीति पार्टीले लिएको पनि बताए ।

'जनताको अधिकार खोस्ने कुनै चेष्टा गरिन्छ भने त्यसको विरुद्ध हामी जमेर प्रतिवाद गर्छौं । सदनमा पनि प्रतिवाद गर्छौं । र सडकमा पनि हामी प्रतिवाद गर्छौं । अहिले त्यसको तयारी हामीले गरिरहेका छौं,’ प्रवक्ता सापकोटाले भने ।

कांग्रेस एमाले नेतृत्वको सरकार इमान्दार नभएकाले विभिन्न कार्यक्रममा प्रधानमन्त्री र सत्ता साझेदार नेताका विरुद्धमा जनमत उर्लिन थालेको उनको दाबी थियो ।

‘भ्रष्टाचारका फाईलहरु बन्द भइराखेका छन् । लोकतन्त्रको पक्षमा पनि दुई दलीय यो सरकार त्यति इमान्दार देखिएन । जनजीविकाको सवालमा पनि त्यति इमान्दार र गम्भिर देखिएन । त्यसकारण यी तीनवटै पक्षमा जनताका असन्तुष्टिहरु बढ्दैछन्,' उनले थपे, 'विभिन्न कार्यक्रमहरुमा प्रधानमन्त्री तथा सत्ता साझेदारहरुको नेताका विरुद्ध जनमत उर्लिन थालेको छ ।'

प्रकाशित : भाद्र १८, २०८१ २०:०७
x
×