कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

माओवादी मुख्य नेतृत्वलाई प्रदेशका नेताको प्रश्न : ‘अब सच्चिने कि सक्किने ?’

भाद्र १८, २०८१
माओवादी मुख्य नेतृत्वलाई प्रदेशका नेताको प्रश्न : ‘अब सच्चिने कि सक्किने ?’

काठमाडौँ — माओवादी केन्द्रका प्रदेश नेताहरूले अध्यक्ष पुष्पकमल दाहाललाई ‘अब सच्चिने कि सक्किने ?’ भन्दै प्रश्न गरेका छन् । आगामी केन्द्रीय समितिले तय गर्ने कार्यदिशाबारे आयोजना भएको परामर्श बैठकमा पाँच प्रदेशका साढे तीन सय नेताहरूले मुख्य नेतृत्वलाई वैचारिक, राजनीतिक र कार्यशैली सच्याउन सुझाव दिएका हुन् ।

हरेक निर्वाचनमा पार्टी ओरालो लागिरहेका बेला अब पनि नेतृत्व नसच्चिए सिंगो पार्टी नै सक्किनुको विकल्प नरहेको उनीहरूको चेतावनी छ । ‘पार्टी बिग्रिएको माथिबाट हो । माथिको नेतृत्व नसच्चिए सक्किनुको विकल्प छैन,’ उनीहरूको सामूहिक सुझाव छ ।

उपमहासचिव जनार्दन शर्माले साउन चाैथो साताको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने, कार्यशैलीगत सुधार गर्नुपर्ने लिखित प्रस्ताव पेस गरेपछि माओवादीभित्र त्यसबारे तीव्र छलफल चलेको छ । यसै गरी प्रदेश बैठकमा ३६ वर्षदेखि नेतृत्वमा रहेका दाहालले महाधिवेशनबाट विधि बनाएर नयाँ पुस्तालाई पार्टी जिम्मा लगाउनु पर्ने सुझाव पनि आएको छ ।

माओवादी पार्टी सत्ताबाट प्रतिपक्षमा पुगेपछि प्रदेशमा सुझाव लिन पुगेका अध्यक्ष दाहालले नेताहरूको सुझावलाई स्विकार गर्दै नेतृत्वले निर्मम ढंगले समीक्षा गर्ने र पार्टी पुनःनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश केन्द्रित नेताहरूले अब बोलीमा मात्रै नभई व्यवहारमा पनि यी कुरा उतार्न नेतृत्वलाई चुनौती दिएका छन् । ‘म पार्टी पुनःनिर्माणका लागि इमानदारीका साथ प्रतिबद्ध छु । निर्मम समीक्षा गरेर भए पनि अब बलियो पार्टी बनाउनु पर्छ,’ प्रदेश परामर्श बैठकमा भनेका थिए ।

वाग्मती, गण्डकी, कर्णाली, सुदूर पश्चिम र लुम्बिनी प्रदेशमा गत दुई सातामा भएका बैठकमा आफ्ना धारणा राख्ने क्रममा नेताहरूले नेतृत्वले आठौं महाधिवेशन, विधान सम्मेलन र केन्द्रीय समितिले गरेका निर्णय मिचेर ‘स्वच्छाचारिता’ प्रदर्शन गरेको बताएका थिए । उनीहरूले नेतृत्वले विधि मिचेर पार्टी जिम्मेवारी र निर्वाचनमा टिकट वितरण गरेको, संघ र प्रदेश सरकारमा निकट व्यक्तिहरूलाई मन्त्री बनाएको, पार्टी निर्माणका लागि खट्ने नेता तथा कार्यकर्ताभन्दा आसेपासेलाई पटक–पटक अवसर दिएको भन्दै नेतृत्वको चर्को आलोचना गरेका थिए । आगामी दिनमा नेतृत्व चयनदेखि पार्टी जिम्मेवारी, टिकट वितरण र अन्य अवसरहरूमा विधि र प्रणाली बनाएर संगठन संचालन गर्न पनि उनीहरूको सुझाव छ ।

लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आफ्नो प्रदेशमा धारणा राखेका ७० नेताले पार्टीमा विधि र प्रणाली भत्किएको औल्याउँदै माथिबाट सच्चिन सुझाव दिएको बताए । भदौ १६ र १७ मा नेपालगन्जमा भएको लुम्बिनी प्रदेश स्तरीय बैठकमा प्रदेश नेताहरूले केन्द्रीय नेतृत्वले आफ्नो धरातल छाड्दै गएको र सत्ताका लागि गठबन्धनको नीति लिँदा हाल अप्ठ्यारोमा परेकाले नीति तथा कार्यक्रम स्पष्ट गरेर जान सुझाव दिएको बताए ।

‘पार्टी नेतृत्व बिग्रिएको माथिबाट हो । जुन ठाउँबाट बिग्रिएको हो, त्यही ठाउँबाट सच्चिनुपर्छ भन्ने हाम्रो मुख्य सुझाव छ,’ प्रदेश अध्यक्ष बरालले पार्टीमा व्यक्तिवादी चरित्र हावी भएको निष्कर्ष पनि सुनाए, ‘काम गर्नेलाई पुरस्कार, नगर्नेलाई सजाय हुनुपर्नेमा नेतृत्वले वरिपरिका व्यक्तिलाई प्रश्रय दिएको पाइयो ।’ उनले अध्यक्ष दाहाल निकट नेताहरूप्रति उदार हुँदा पार्टीमा अराजकता मौलाएकाले सुधार गर्न आफ्नो प्रदेशबाट सुझाव आएको पनि सुनाए ।

लुम्बिनीमा नेतृत्वको कार्यशैली बिग्रिएको कुरा उठेको बताउँदै उनले सुविधाको पदमा रहेका नेताको सम्पत्ति सार्वजनिक गर्न पनि माग भएको सुनाए । ‘पार्टी नेतृत्व प्रत्यक्ष छान्नु पर्‍यो । सर्वहारा जीवनशैली अपनाउनु पर्‍यो,’ उनले भने, ‘सुविधामा रहेका नेताहरूको सम्पत्ति सार्वजनिक गर्न पनि प्रदेश नेताहरूले चर्को ढंगले आवाज उठाएका छन् ।’

कर्णाली प्रदेशको भदौ १४ र १५ मा भएको बैठकमा पनि मूल नेतृत्व ‘आत्मकेन्द्रित’ भएको भन्दै ‘रगतको नाताभन्दा पार्टी नातालाई प्राथमिकतामा राख्न’ सुझाव आएको छ । कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार नेतृत्वको स्वच्छाचारिताका कारण नीति निर्माणमा कमजोरी भएकाले पार्टी बलियो हुन नसकेको निष्कर्ष प्रदेश भेलाले निकालेको छ ।

‘पार्टीमा आत्मकेन्द्रित व्यक्तिवाद हावी छ । नेतृत्व विधिमा भन्दा स्वेच्छाचारी ढंगले चलेको छ,’ उनले प्रदेश नेताहरूको निष्कर्ष सुनाउँदै भनिन्, ‘यसका कारण पार्टी जिम्मेवारी, बढुवा, नियुक्ति विधि अनुसार भएको छैन ।’ उनले मुख्य नेतृत्व आफूतिर फर्कनुभन्दा जनताबीच जान सुझाव दिएको पनि बताइन् ।

‘जनताको मनोविज्ञान, जीवनशैलीलाई राम्ररी आत्मसात् गर्ने नीति अपनाउन ढिला गर्नु भएन,’ उनले भनिन्, ‘नेता र जनताबीच वर्गीय खाडल बढ्दै गएको अवस्थामा माओवादीलाई भरोसा गर्ने आधार रहँदैन ।’ कर्णालीमा ६५ जनाले सुझाव दिंदै पार्टीको मुहान सफा गर्न सुझाव दिएको उनले सुनाइन् ।

गण्डकी प्रदशमा चाहिँ नेताहरूले गर्ने अमूर्त रूपान्तरणको भाषालाई जनताले बुझिने गरी लागू गर्न सुझाव दिएका छन् । भदौ ९ र १० मा पोखरामा भएको बैठकमा मुख्यगरी ६१ नेताहरूले नेतृत्वको कार्यशैली सुधार गर्न सुझाव दिएको प्रदेश अध्यक्षले बताइन् । गण्डकी अध्यक्ष गायत्री गुरुङले सिंगो पार्टीका नेता तथा कार्यकर्ताको व्यवहारमा रूपान्तरण नभएसम्म पार्टी पुनःनिर्माण कठिन हुने भन्दै ठोस कार्ययोजना ल्याउन सुझाव दिएको पनि बताइन् ।

‘विचार, कार्यशैलीको रूपान्तरण माथिदेखि तलसम्म हुनुपर्‍यो । यो काम विशेष गरी नेतृत्वबाट सुरु गर्नुपर्छ,’ उनले प्रदेशको सुझावको निष्कर्ष सुनाइन्, ‘व्यवहार कम्युनिस्ट आचरण अनुसार भयो कि भएन ? माओवादी र अरुमा किन फरक देखिएन ? यी प्रश्नको उत्तर खोज्न पनि गण्डकीका नेता कमरेडहरूले सुझाव दिनुभएको छ ।’

उनले पार्टीभित्र अन्तरसंघर्ष हुनु स्वाभाविक भएको भन्दै आन्तरिक छलफल गरी निष्कर्षमा पुग्न सुझाव दिएको बताइन् । ‘आन्तरिक एकता भए मात्र पार्टी बलियो हुन्छ, आपसमा लडे झन् कमजोर भइन्छ भन्ने सुझाव पनि आएको छ,’ उनले भनिन् ।

वाग्मती प्रदेशमा भदौ ५ र ६ मा भएको परामर्श बैठकमा ८२ नेताले पार्टीमा मुख्य गरी वैचारिक र राजनीतिक प्रश्नको हल गरी विधि अनुसार नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएको अध्यक्ष सरल सहयात्रीले बताए । ‘नेतृत्व हस्तान्तरण प्राविधिक मात्र नभएर वैचारिक र राजनीतिक विषय पनि हो । त्यसैले पहिले वैचारिक र राजनीतिक प्रश्नको हल गर्नुपर्छ,’ उनले भने, ‘अहिले प्रचण्डको विकल्प खोज्ने बेला हो कि होइन ? कतै नेतृत्व र आन्दोलनकै रि–ब्रान्डिङ गर्नुपर्ने त होइन ? वैचारिक दिशानिर्देश भइसकेपछि नेतृत्व हस्तान्तरण गर्नुपर्छ । प्रचण्डलाई यो अवसर पनि छ भन्ने सुझाव पनि आएको छ ।’

उनले पार्टी बिग्रिनुमा सिंगो नेतृत्वले संस्थागत जिम्मेवारी लिनुपर्ने धारणा पनि प्रदेश छलफलमा आएको बताए । ‘संगठनात्मक मार्गनिर्देशनमा हिंडेपछि कार्यशैली आफैं सुधार हुन्छ । अनुशासनमा ढाल्यौं भने आफैं सुधार हुन्छ,’ सहयात्रीले भने ।

सुदूरपश्चिम अध्यक्ष हरि चौधरीले पार्टी संगठनलाई नेतृत्व चयनको विधि विकास गरेर जान सुझाव आएको बताए । ‘सर्वसम्मत नभए निर्वाचनमा जाने विधि हुनुपर्‍यो । सबै प्रकारको मतलाई सम्मान गरेर जानुपर्छ,’ उनले भने, ‘अब विधिसहितको महाधिवेशन गर्नुपर्छ ।’ उनले विगतमा आठौं महाधिवेशन र विधान महाधिवेशनले गरेका निर्णय कार्यान्वयन नगर्दा समस्या आएकाले चुस्त सांगठनिक संरचना बनाएर काम गर्नुपर्ने सुझाव मुख्य नेतृत्वलाई दिएको बताए । बैठकमा ६७ जना सुदूरपश्चिम प्रदेश नेताले पार्टीको अन्तरसंघर्ष हल गरी पार्टी निर्माणमा लाग्न सुझाव दिएको पनि उनले बताए ।

पार्टी विधान अनुसार चल्न नसकेको सर्कुलरमै स्वीकार

माओवादीले सोमबार प्रदेश कमिटीमा पठाएको सर्कुलरमा पार्टीभित्र व्यक्ति केन्द्रित चरित्र हावी भएको र विधान अनुसार पार्टी संगठन चल्न नसकेको स्वीकार गरिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङले हस्ताक्षर गरेको सर्कुलरमा उक्त कुरा स्वीकार गरिएको हो । ‘कार्यदिशाअनुरूप कार्यक्रम र कार्यनीतिलाई कार्यान्वयन गर्नाका लागि मुख्यतः पार्टी संगठनमा निर्भर रहन्छ । परन्तुः पार्टी संगठनको क्षेत्रमा जुन गतिमा अगाडि बढ्नु पर्थ्यो, त्यस रूपमा अगाडि बढाउन सकेनौं । पार्टीमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू बढ्न थाल्यो,’ सर्कुलरमा उल्लेख छ, ‘त्यसले गर्दा निजी स्वार्थ समूहहरूको गुट–उपगुटहरू क्रियाशील हुने जस्ता नकारात्मक चिन्तन प्रवृत्ति तथा गतिविधिहरू देखिए । पार्टीको विधान र विधि पद्धतिलाई अवलम्वन गर्ने कुरा कमजोर बन्दै गयो र एक प्रकारको अराजक स्थिति पनि पैदा भयो । विगतमा त्यस प्रकारका चिन्तन प्रवृत्तिप्रति उदार सोचहरूले गर्दा त्यसलाई निरूत्साहित गर्न सकेनौं ।’

सर्कुलरमा पार्टीको कार्यदिशाबारे, दस वर्षको जनयुद्ध लगायत विगतको आन्दोलन र बृहत् शान्ति सम्झौताबाट प्राप्त उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै नेपाली विशेषताको समाजवादी क्रान्ति सम्पन्न गर्ने भन्दै नीति लिने बताइएको छ ।

२०७८ सालमा सम्पन्न पार्टीको आठौं महाधिवेशनबाट पारित प्रस्तावमा ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ मा उल्लेखित कार्यदिशा नै अहिलेको सन्दर्भमा सही र वस्तुसम्मत कार्यदिशा रहेको छ,’ सर्कुलरमा भनिएको छ, ‘परन्तु आउने महाधिवेशनसम्म यस कार्यदिशालाई समृद्ध गर्दै लैजानु पर्ने छ ।’

माओवादीले सदन र सरकारमार्फत पार्टीले अपनाएका कार्यक्रम तथा कार्यनीतिहरूमा कतिपय सीमा, कमी–कमजोरीका बाबजुद मूलभूत रूपमा सही रहेको निष्कर्ष तल्ला समितिमा पठाएको छ ।

माओवादीले वाम एकता लागि प्रयास गर्ने नीति रहेकाले त्यसको तयारीमा लाग्ने निष्कर्ष पनि पठाएको छ । ‘पार्टीलाई नयाँ उचाइमा एकताबद्ध गर्नुको साथ–साथै समान विचार मिल्ने अन्य वाम घटकहरूसँग पनि वाम ध्रुवीकरण तथा बृहत् कम्युनिस्ट पार्टी एकतामा जोड दिनु पर्दछ,’ सर्कुलरमा भनिएको छ, ‘तत्काल पार्टी एकता हुन नसके अन्य वाम घटकहरूसँग समाजवादी मोर्चा निर्माण र विस्तार गर्दै लैजाने नीति लिनुपर्ने छ ।’

पार्टीभित्रको अन्तरसंघर्षलाई जथाभावी नबोल्न पनि परिपत्र गरिएको छ । ‘पार्टी कमिटीमा अन्तर–जनवादको पूर्ण स्वतन्त्रता छ र हुनेछ । तर पार्टी कमिटीभित्रका हरेक कुरा सार्वजनिक गर्नु पार्टीको सामान्य मूल्य–मान्यताको समेत गम्भीर उल्लंघन हुन जान्छ,’ दाहाल र गुरुङले पठाएको सर्कुलरमा भनिएको छ, ‘अतः आगामी दिनमा त्यस प्रकारका कार्यहरू हुन नदिन सतर्क रहँदै पार्टीको कार्यदिशा, पार्टीको आन्तरिक एकता र पार्टी नेतृत्वको पक्षमा एकताबद्ध भएर उभिनुपर्छ ।’

प्रकाशित : भाद्र १८, २०८१ २२:३६
x
×